कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

गर्छौँ गौरव सर्वदा

अनन्तराज न्यौपाने

न्यौपाने वंशका हाम्रा कुल-भूषण हे कवि !

साहित्याकाशमा चम्की बनायौ तेजिलो छवि

भई समाजसेवामा आजीवन समर्पित

शिक्षा-ज्योति जगाएर भयौ दैवज्ञ ! जीवित।

भयौ उज्ज्वल नक्षत्र अर्चनामय हे छवि !

बन्यौ आदर्श आस्थाका वात्सल्यभावका कवि

तिम्रो प्रीतिकथा गाई सजाई प्रेरणा-सुधा

शिक्षा-सौरभ सम्झेर गर्छौँ गौरव सर्वदा।

तिम्रो देह कथा भैगो देदीप्यमान सुन्दर

सच्चा कीर्तिकथा बाँचून् कृतिमा अजरामर

अजेय शब्दश्रद्धाको जलाञ्जलि छ अर्पण

यी शब्दपुष्पका साथ श्रद्धाञ्जलि समर्पण।