खोसेर मेरा गुरु
देख्दा देख्दैको सुन्दर आकृति
के के पोतिदिएर कसले
बिरूप बिरूप पारिदिएछ
त्यो आकृति जो
कहिले यता डुल्थ्यो
कहिले उता घुम्थ्यो
मधुर मुस्कान छोड्दै अधर खोल्थ्यो
चम्किला नयनहरू बिस्तार बिस्तार खोल्थ्यो
ज्ञान विज्ञानले भरिपूर्ण थियो
अध्यात्म चेतनाले परिपूर्ण थियो
भत्काएर आकृति के गर्न खोजेको ?
मासेर परिपूर्णता के गर्न रोजेको ?
बिगारिरहने को हौ तिमी !
छिपेर बस्छौ कहाँ नि तिमी !!
तेर्स्याइरहन्छु सवालहरू
फर्काउँदै फर्काउँदैनन् जवाफहरू
ओ लुटिरहने स्रष्टा
ओ भत्काइरहने संहारकर्ता
ओ छिपिइरहने स्रष्टा
सुन्दर आकृतिहरू सिर्जन गर्दै
धरामा म मेरो हामी हाम्रो सिकाउँदै
फेरि भत्काएर आकृतिहरू
यो धरालाई टुहुरोझैं किन बनाइरहन्छौ ?
सुन्दर आकृतिहरू खोसेर
विकृत आकृतिहरू किन उपस्थित गर्छौ ?
डरलाग्दा रूप रंगहरू किन पठाइरहन्छौ !!
थमाएर आश्रयहरू फेरि भत्काइदिने ?
दिलाएर गुँडहरू पुनः क्षणभरमै उडाइदिने ?
भन को हौ तिमी ??
भन किन यस्तो गर्छौ तिमी ???
दिएर सुन्दर शान्त मुस्कान
बसाएपछि रमणीय संसार
आफन्तपनमा र्हुिर्कदै हुर्किदै गर्दा
प्रेमले चुमेर शिखर
आनन्द विभोरमा हराँउदै गर्दा
पार्दै चटयाङ्ग, गडगडाँउदै बिजुली
यो सुन्दरपन किन भत्काइदिन्छौ ?
के तिमीलाई संसारी लीला मन पर्दैन ?
के तिमीलाई आनन्द विभोर स्वीकार हुँदैन ??
मेरा अनगिन्ती आकृतिहरू खोसिसक्यौ
मेरा प्रिय प्रिय आकृतिहरू लुटिसक्यौ
खोसेर मेरा गुरु किन अन्धतामा फँसाइरहेछौ !
छिपाएर मेरा आदरणीय गुरु कता कता पठाइरहेछौ ?
धेरैका मान्यवर गुरु धेरैका श्रद्धेय गुरु
जो मधुरवाणी छर्दै पढाइरहन्थे
दिव्य कविताहरूमा मुस्काइरहन्थे
सबैका प्रिय प्रिय कवि, दिव्य दिव्य सुन्दर छवि
दैत्यहरूका विरुद्ध कुर्लिइरहन्थे
देवताहरूका पक्षमा उर्लिइरहन्थे
उनी दैवज्ञ, साक्षात् दैवज्ञ थिए ।
टपक्क टिपेर कहाँ पुर्यायौ
हामीबाट छुटाई कहाँ लुकायौ
भूल के थियो ? अपराध के थियो
सच्चि नै नपाउने जघन्य भयो के
संसारी हामीले बुझन सकेनौ
जुरुक्क लैजानेलाई चिन्न सकेनौ
रुवाएर दिलहरू किन बेचैन बनाइरहेछौ
खोसेर आफन्तहरू किन टुहुरो बनाइरहेछौ
प्रेमी हृदयहरू खोसेर
सहयोगी आकृतिहरू लुटेर
विकृत विकृत आकृतिहरू पठाइरहेछौ
भन किन यसरी सताइरहेछौ
विकृत विकृत आकृतिहरू
डरलाग्दा डरलाग्दा आकृतिहरू
कहिले भूत प्रेत पिशाच झैं उभिइरहन्छन्
कहिले बोक्सी, डन, जुडो, कराँते बनेर तेर्सिइरहन्छन्
यी आकृतिहरूले
सनातन धर्मलाई मासिरहेछन्
मन्दिर, चैत्य, गुम्बा, धर्मशाला नासिरहेछन्
लुटिरहन्छन्, तर्साइरहन्छन्, रुवावासी मच्चाइरहन्छन्
कोलाहल कोलाहल तर्साइरहन्छन्
मेरा प्रिय आकृतिहरू बाहेक
भो म यस्ता आकृतिहरू हेरिरहन सक्दिन
मुन्टो बटार्दै यिनीहरूसँग रमिरहन सक्दिन
ओ दिव्य आकृति
ओ भव्य आकृति
ओ सर्व द्रष्टा
ओ सर्व स्रष्टा ।
गुरुपूर्णिमा २०६९, बुद्धनगर, काठमाण्डौ