ढुङ्गा पगाल्थ्यौ तिमी
चौरासी ऋषिका वंश हामी गौरवका धनी
राम्रा बाटा बनेका छन् हिँड्दै छौँ अहिले पनि
सधैँ चिन्तनमा डुब्थे प्राणीको हित सोच्दथे
हाम्रो जीवनका निम्ति नीति निर्माण गर्दथे
तिनै ऋषिहरूमध्ये कौण्डिन्य ऋषि वंशमा
जन्मे गणेश न्यौपाने कुलमा धन्य जीवन
उमा—गणेशले नित्य खोज्थे जीवन पद्धति
त्यो वंशवृक्षमा जन्मी लियौ जीवनको गति
रसिलो लेखनी तिम्रो दैवज्ञ कवि हौ तिमी
काव्यका फाँटमा कुद्ने काव्यसारथि हौ तिमी
सक्छौ समुद्रमा डुब्दै मोती टिप्न सरासर
इन्द्रेनी देख्दछौ प्यारो समाई ल्याउँछौ घर
तिमी शरदका शोभा कान्ति उस्तै वसन्तका
सँधै हेरिरहूँ जस्तै लाग्ने आनन्दका छटा
तिमीले बालुवा टेके माटो उर्वर बन्दथ्यो
मुढा छोयो भने लाग्छ छिट्टै श्रीखण्ड बन्दथ्यो
म मुढो ताक्छु लौ भन्दा घुँडो ताक्दछ बन्चरो
म खोज्छु पूफलका थुङ्गा भेटिन्छ विषको जरो
बिपना सपना जस्तो कसैको हुन्न रे यहाँ
पूफल फक्रिरहेका छन् किरो बस्दछ वृक्षमा
छन् ‘जोर मुरली” तिम्रा ‘संझनाको धरातल..”
‘शोभा” काव्य रची राम्रो पार्यौ जीवन निर्मल
इतिहास नियालेर रच्यौ ‘... त्रिभुवनै” अनि
‘शान्तिको कामना”साथै ‘चासो र चिन्तनै”पनि
‘तोतेबोली” निकै मीठो सुनिराखूँ सधैँ हुने
कविता गाउँखाने छन् सुन्दामा मन नै छुने
धर्तीभित्र ‘सबै हाम्रा साथी” नै छन् भनीभनी
छान्यौ हुने बिरुवाका चिल्ला पातहरू पनि
म हेर्छु ‘घामले ढोका खोल्यो” लाग्यो घमाइलो
‘पोल्टाका गीत” उस्तै छन् गाउँदा झन् रमाइलो
नियाल्यौ ‘बाल संसार’ बन्दै चञ्चल बालक
साहित्याकाशमा रम्दै दियौ बालकको हक
गायौ गीत किसानका कलमले हुन् ईश्वरै भन्दथ्यौ
पीडा दर्द बिसाउने गरिबका हातै चुमी रम्दथ्यौ
सच्चा काव्यसुधा दियौ नि कतिका उच्चा बने जीवनी
तिम्रा शब्दहरू सदा अमर छन् ढुङ्गा पगाल्थ्यौ तिमी
२०६९ साउन