कवि दैवज्ञ र उनको जोर मुरली
“कविता अन्तर्हृदयको शाश्वत अभिव्यक्ति हो । यसलाई प्राप्त गर्न आस्था र अनुभूतिको दीर्घ तपस्या चाहिन्छ । कुनै छन्द मिलाउँदैमा र मुक्त लयमा बौद्धिक बोझहरू बोकाउँदैमा कविता बन्दैन । भावात्मक अभिव्यक्ति भएका कविताहरूमा बालकको जस्तै निश्छल हाँसो, फूलको जस्तै सौन्दर्य र जीवनको जस्तै असीम, गति हुन्छ । त्यसलाई दर्शनले खार्नु र कलाले भर्नुपर्ने त्यति आवश्यकता रहँदैन । कविता पहिले आफैँ कविता हो र त्यसिपछि मात्र विचार वा दर्शन । विचारभित्र कविता होइन कविताभित्र दर्शन हुनु र त्यसलाई अझै सुन्दर कलाले सिँगार्नुचाहिँ त्यसको विशेषता हो । बाह्य आडम्बरमा होइन आन्तरिक सहज अभिव्यक्तिभित्र मुर्तिएको कला अझै सुन्दर र शाश्वत हुन्छ ।
माथिको लघु अनुच्छेद वार्णिक छन्दका सिद्धहस्त कवि एवम् गीतकार स्व. दैवज्ञराज न्यौपानेको कविताप्रतिको सूत्रात्मक सटीक सङ्कथन हो । जहाँ कविले कवितालाई सार्वकालिक बनाउन अनुभूतिको पारिपाक र लामो साधनाको तपश्चर्यालाई अनिवार्य ठम्याएका छन् । छन्दको लयमा ढाल्दैमा र दुर्गम्य पाण्डित्यको बोझिलो स्वर घन्कँदैमा त्यहाँ कविता आउने होइन भनेर ठोकुवा नै गरिदिएका छन् । उनी मूलतः कवितामा सहजता, निश्छलता, गतिमयता र सुन्दरताको घोलन हुनुपर्छ भन्ने मान्यता राख्छन् । हो, महाकवि देवकोटाले भनेझैं – कवि बोलोस् जसरी चराहरू बोल्छन् न कि सिपाहीहरू कसरत गर्छन् । हृदयले हृदयलाई बोलाओस् कवितामा न कि आडम्बरलाई ।” निश्चय नै हाम्रा प्रिय कवि दैवज्ञ साक्षात् दैवज्ञ बनेरै बाह्य आडम्बरलाई भन्दा आन्तरिक सरल एवं सहज अभिव्यक्तिभित्र कलाको सौन्दर्य र शाश्वतता कविताका अनिवार्य तत्त्व ठम्याउँछन् ।
माता उमादेवी र पिता गणेश न्यौपानेको पुत्ररत्न भएर भोजपुरको एउटा गाउँमा वि.सं. १९९९ साल मार्ग ३० मा आँखा खोलेका दैवज्ञ न्यौपाने २०६८ पुस २ गते शनिवार ६९ वर्षको उमेरमा पार्थिव शरीर छोड्न पुगेका छन् । ६ वर्षदेखि पक्षाघातले पीडित प्राध्यापक, कवि, गीतकार एवम् द्रष्टा–स्रष्टा व्यक्तित्व दैवज्ञले २०१४ देखि गीत कविता लेखनको थालनी गरेका हुन् । शोधमूलक समालोचना र बालसुलभ रचनासमेत पस्कने सामर्थ्य बटुलेका न्यौपानेप्रति कवि प्रह्लाद पोखरेल यसरी श्रद्धा पोख्छन् – दैवज्ञ दाइ छन्दोबद्ध कविताको उत्थान गर्ने एक सशक्त कलमजीवी हुनुहुन्थ्यो । भाषविद् डा. हेमाङ्ग अधिकारी दैवज्ञराजलाई – एक अग्रणी कवि जसको कविता, खण्डकाव्य र बाल साहित्यमा ठूलो योगदान छ, जसको भाषा सरल र सहज एवं हृदयस्पर्शी छ भनेर सम्मान पोख्छन् । संस्कृततर्फ मीमांसाजस्तो गहन विषयमा आचार्य तहसम्मको अध्ययन र नेपालीमा स्नातकोत्तर उपाधि हासिल गरेका प्रा. दैवज्ञका सिर्जनाका लहर, जोर मुरली, सम्झनाको घरतालबाट (कविता र गीत सङ्ग्रह) उम्दा कोटिका छन् भने तोतेबोली, गाउँखाने कविता, सबै हाम्रा साथी, घामले ढोका खोल्यो र पोल्टाका गीतजस्ता बालकविता सङ्ग्रह थुप्रै नानीहरूका प्रिय कृति बनेका छन् । हुने बिरुवाका चिल्ला पात जीवनीपरक निबन्ध र गुणराज उपाध्यायका खण्डकाव्यहरूको मूल्याङ्कन, नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरू उनका शोधमूलक ग्रन्थ हुन् ।
२०४६ सालमा तत्कालीन ने.रा.प्र.प्र. कमलादीबाट प्रकाशित जोर–मुरली कवितासंग्रह समस्त काव्यानुरागीका लागि प्रिय र उत्कृष्ट काव्यग्रन्थ हो । आफ्ना पिता पं. गणेशप्रसाद उपाध्यायका चरणकमलमा सानो बालक बनेर कवि भन्छन् – मैले साहित्यको मुरली बजाउन सिक्दासिक्दै मेरा स्वरलहरीहरूलाई राम्ररी सुन्न नपाउँदै यस संसारबाट बिदा हुनु भएका पिताज्यूमा पुत्र दैवुको उपहार.। जोरमुरली दुई खण्डमा पैतालीसवटा सिर्जनाले खुलेको मधुर रङ्गीचङ्गी भाव प्रवाह गर्ने काव्यसुर हो । ताजा भाषामा अन्तर्नादका बाजामा बहमुखी लयलाई संप्रेषण गर्ने यो कृति साँच्चै जोर मुरलीकै रूपमा स्थापित र प्रिय छ । मुरलीका पूर्वखण्ड २५ कविता शार्दूलबिक्रीडित, उपाजाति, अनुष्टुप्, मन्दाक्रान्ता, शिखरिणी जस्ता रागात्मक रञ्जनात्मक शैलीमा कुँदिएका छन् भने मुरलीको दोस्रो खण्ड २० वटा गीति छन्दका सौरभ भएर प्रीतिमा मुस्कुराएका छन् ।
शार्दूलबिक्रीडित छन्दमा समर्पण शीर्षक काव्यहारले सत्, चित् र आनन्दका पुञ्ज परमेश्वर परमात्माप्रति अत्यन्त शालीन र विनम्र उद्गार प्रकट गरेका छन् । मङ्गलाचरणको झझल्को दिने यो कविता साना नानीहरूले समेत वरण गर्न सक्ने र चित्तहरणको तागतमा मुस्कुराएको छ । अर्को ज्योतिष्मती छौ कता शीर्षकको खुल्दुलीपूर्ण निनादभित्र ज्योतिर्मय जुनेली रातले अज्ञानरूपी अन्धरातनाशक ज्ञानको आराधना गरेका छन् । दिलका तारजस्ता छन् । तिनै भावलाई गीतमा गुञ्जाउने प्रण गरेर धर्तीमा नवचेतनाले सिँगार्ने रहर सुसेलेका छन् कविले । चौथो म उपजाति छन्दमा प्रथम पुरुषप्रधान कविता आत्मालापीय शैलीले बाँसुरीको लयलाई बल दिँदै सुरिलो भाकामा छिरलिएको छ । कवि आत्मविश्वासका साथ कति मीठो सङ्कथन गर्छन् –
म साथ हर्दम् नव तिर्सना छ । मभित्र विस्फारित सिर्जना छ ।
कवि न्यौपाने म र मेरो देशमा अनुष्टुप् छन्दलाई माध्यम बनाएर देशभक्तिमा बर्सिएका छन् । प्रथम पुरुषको केन्द्रीयतामा कर्मवादको धरातल टेकेर माटोप्रति उच्च अभिवादनमा उनको मुरली धुन यस्तो अठोट पोख्छ –
माटो बोल्छ बने मान्छे, माटो मर्छ बने पशु
नेपाली घरको मान्छे म नेपाल बनी बसूँ ।
सङ्कल्प आफ्नै उत्साहको शीर्षकको कविताले देशप्रेमको अभिषेचन गर्दै राष्ट्रप्रति आफ्नो सङ्कल्पका मुरली गम्भीर ढङ्गले संवरण गरेको छ । उता प्रवासीको सम्झना कविताले नेपाल देशको प्राकृतिक वैभव ऋतुहरूका कलात्मक सौरभलाई उद्घाटन गर्न पुगेको छ । नेपाल आमाको मातृत्वलाई बोध गर्ने उनको कवित्वभित्र साँच्चै जोर मुरलीका स्वरलहरी जिउँदो बनेर घन्किनसम्म घन्किएका छन् । कविताको खोजीमा भन्ने अर्को काव्यावलीमा मन्दाक्रान्ता छन्दलाई गति बनाएर कविताको यथार्थलाई यसरी मूर्तीकरण गर्न पुगेका छन् –
नौली रानी, नबस यसरी ओठ खोल्दै नखोली
बोलून् हाम्रा रहर रचना प्रेम सञ्चार बोली
रोपाईँको दबदब हिलोसाथ खेलाउँला म
छाया खोजी गहनतरुका फेदमा ल्याउँला म
माटो, तरु, बल्लरीजस्ता प्रकृतिका वरदानलाई उभ्याएर कवितामा ओठ खोल्न आह्वान गर्ने उनका काव्यलहर बहर बनेर उद्दीपनतिरको यात्रारोहणमा छन् । त्यस्तै अर्को कविता प्रियालाई सन्देश प्रणयचेतको अब्बल दर्जाको कलात्मक अभिव्यक्ति भएर शृङ्गार रसको प्रवाह छर्न सफल छ भने कल्पिएको लाहुरेले देशप्रेमलाई आलम्बन बनाएर परचक्रीहरूको दासतामाथि बिद्रोह बोल्न पुगेको छ । यस क्रममा “वैशाख” “शोभा” “शरद बाला” आषाढ, वसन्त, चौतारी जस्ता शीर्षकभित्र नेपाली अनुपम प्रकृतिको जादु मुस्कुराएको छ । प्राकृत भाषा र भाव लहरीहरू बाँसुरीबाट नयाँ–नयाँ सुरमा रङ्गीविरङ्गी भाव संप्रेषण गर्न सक्षम रहेका छन् । कलात्मक अभिव्यक्तिभित्र भावको सुमधुरता उच्च तहमा गुञ्जिएको छ । त्यसै गरी युवा आकाङ्क्षा, मै भाग कस्को झिकूँ, नेपाल काव्यका कवि, कवि र कविता, बालकहरूसित जस्ता शीर्षकमा जीवन दर्शन, सुविचारको प्रक्षेपण भावी सुनौला सपना क्षितिज उघार्ने चेष्टा गरेका छन् दैवज्ञका कलानिमज्जित कलमले । जहाँ शब्दालङ्कार र अर्थालङ्कारका टलकले कविताको उचाइ चुमेको छ । राष्ट्रियताका ऋचाहरू यत्रतत्र सर्वत्र घुमेका छन् ।
जोर मुरलीको दोस्रो खण्डमा २० वटा गीतिकविताहरू छन् । प्रायः यी गीतहरूले देशप्रेम, राष्ट्रियता, प्राकृतिक सम्पदामाथिको गौरव हाम्रा ओजस्वी इतिहास र संस्कृतिको परिचर्चा गर्दै जीवन दर्शनलाई छताछुल्ल बनाएका छन् । हेरूँ कहाँ बसी, माटो कति राम्रो जस्ता गीति कविताभित्र देशको सुन्दरतम चित्र छ भने उठ हे उठ तन्नेरीमा राष्ट्रका नव ऊर्जावान् तरुण विकासका सबल पुर्जा हुन् भनेर जागरण, उद्बोधन, विश्वास र भरोसामा सिरानी राखेका छन् । जस्तै–
तिमी हौ सिङ्गै नेपाल, तिम्रै हो देश नेपाल
सबैको साझा फूलबारी मिलेर माथि उचाल
यी पङ्तिहरूमा तन्नेरीहरूलाई देशप्रेमले सिँगार्दैं ओजिलो आह्वान गरिएको छ ।
अर्को गीतमा जिन्दगीका उकाली ओरालीलाई गीतकार दैवज्ञ यसरी मुर्त्याउँछन् –
पीर पनि जिन्दगी हो, खुसीजस्तै राम्रो
हामीलाई प्यारो लाग्छ, दुःख पनि हाम्रो
कहाँनेर राखूँ आफू आफँैलाई तानी
जिन्दगी त यस्तै नै हो खालि घामपानी
आफ्नी पे्रयसीको सुमधुर स्मृतिलाई कति चोटिलो शब्द र ओजिलो भावमा काव्य निनाद गुञ्जाएका छन् गीतकारले–
गुलाफका ओठ खुल्दा टोलाउँथ्यौ तिमी
वसन्तका गीत सुन्न बोलाउँथ्यौ तिमी
बतासमा बँैंस चढ्यो पालुवामा लाली
मेरो मान्छे तिमीलाई सम्झँदैछु खाली
प्रतीक्षाका संवेगलाई कलात्मकता प्रदान गरेर विप्रलम्भ शृङ्गारमा आशावादी स्वर दिने उनका पङ्तिहरू जिउँदा जाग्दा र कलात्मक अभिव्यञ्जनाका परिपाकमा कुँदिएका छन् । बाडुली, इन्द्रधनु, देवता, कल्ले चोर्यो मनजस्ता हृदय संवेद्य गीतहरूमा उनको काव्यात्मक गहिराइ देखिन्छ । त्यसैले ने.रा.प्र.प्र.का पूर्व उपकुलपति विजयबहादुर मल्लले बोले –“जोर मुरलीका दुबै तानमा छुट्टा छुट्टै र आ–आफ्नै प्रकारका मोहकता र मादकता रहेका छन् ।” प्राध्यापक एवं गीतकार डा. कृष्णहरि बराल भन्छन् –“बालबालिकालाई उत्साहित पार्ने, मख्ख बनाउने रचनाहरू वहँाले तिनकै बोलीमा लेखिदिनु भएको छ ।” सुललितता र सम्प्रेषणीयता न्यौपानेको काव्यकारिता हो ।
जोर मुरली काव्यसङ्ग्रहभित्र २०२१ देखि २०४२ सम्मका विशिष्ट गीत र कविताहरूको सङ्कलन भएको पाइन्छ । कविताहरूमा भावलाई मूर्त, स्फूर्त र स्पष्ट बनाउने रेखाचित्र अझ सुबोध एवं संवेद्य भएर रहेको छ । थुप्रै बाल पत्रिकाहरूमा सम्पादकीय भूमिका निभाएका न्यौपाने छिन्नलता गीत पुरस्कार, युवावर्ष मोती पुरस्कार, भारती खरेल व्याख्यान पुरस्कार, गुणराज व्याख्यान पुरस्कार, बाल हितकारी पुरस्कार, सम्मान र थुप्रै संस्थाबाट अभिनन्दन प्राप्त गरिसकेका छन् । पठनीय, श्रवणीय एवं मननीय जोर मुरली कृतिलाई साहित्यप्रेमीहरूले अनिवार्य बजाउन नभुलून् जसका स्वरलहरीभित्र काव्यिक सङ्गीतिको सुमधुर मोहकता मजैले चाख्न समेत पाइन्छ । वास्तवमा जोर मुरली कृतिका दुबै खण्ड मनोहारी हृत्तन्त्रीका भाव बोकेर कलात्मक शैलीमा पोखिएको युगल मुरलीकै मन छुने मर्मान्तकारी सङ्गीतको स्वरलहरी हो । जोरमुरली कृतिको शीर्षकले साँच्चै सार्थकता पाएको छ । उनको यो सार्वकालिक काव्य सदावहार भएर नेपाली काव्यबाटिकामा झाँङ्गिइरहनेछ ।
कराल कालले मोहक सिर्जनाका धनी प्रकृतिवादी सर्जक एवं देशभक्त कविलाई असमयमै टिपेर लग्यो । उनको अवसानले नेपाली सिर्जना संसारमा ठूलो झड्का पुगेको छ । हँसिला, रसिला, दीप्त शारीरिक एवं मानसिक अग्लाइ चुमेका मितभाषी मृदुभाषी आदरणीय अग्रजको इहलीला समाप्तिले हामी स्तब्ध भएका छौं । यो दुखद् घडीमा कवि न्यौपानेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा यो सानो लेखमार्फत् समवेदना चढाउँछु ।