कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक समीक्षा

शान्तिकामना : एक दृष्टिकोण

सविता अधिकारी

कवि दैवज्ञराज न्यौपाने भोजपुर जिल्लाको गोगने–१, धाइपाका स्थायी बासिन्दा हुन् । कविको पहिलो सिर्जना उनीमा निम्तो २०२० सालमा अरुणोदय पत्रिकामा प्रकाशित भएको हो । यसपछि उनका विभिन्न बाल साहित्य प्रकाशित भैसकेका छन् । यस्तै “सम्झनाको धरातलबाट”काव्य २०६३ सालमा प्रकाशित भएको छ । कविका अन्य समालोचनात्मक कृतिहरू समेत प्रकाशित भैसकेका छन् । कतिपय बाल कविता, कथा, गीत तथा जीवनीको उच्च मूल्याङ्कन हुँदै विभिन्न पाठ्यपुस्तकमा समेत समावेश भएका छन् । विभिन्न पत्रपत्रिका र पुस्तकको सम्पादनको काम पनि उनले गरेका छन् । यसरी कवि न्यौपानेले साहित्यका साथै समालोचनाका क्षेत्रमा समेत विशिष्ट योगदान पुर्‍याएका छन् । यसैले उनी विभिन्न पुरस्कार, सम्मानद्वारा विभूषित भएका हुन् ।

कवि न्यौपानेको सम्झनाको धरातलबाट काव्य संग्रहमा सो काव्यसहित ६ वटा काव्यहरू शोभा प्रकृति काव्य, राजा त्रिभुवन ऐतिहासिक काव्य, शान्तिकामना अर्धशतक काव्य, चासो र चिन्तन खण्डकाव्य र ती रोइन् त्यसरी किन ? खण्डकाव्य संकलित छन् । यी काव्यहरू पहिले कुनै न कुनै रूपमा पत्रपत्रिका स्मृतिग्रन्थका रूपमा प्रकाशित भैसकेका हुन् । ती कविता काव्यलाई पुनर्लेखन वा विस्तार गरी यस संग्रहमा पुनः संकलित गरिएको छ । सुकोमल भावका कविता तथा काव्य सिर्जना गरी कविले नेपाली साहित्यको भण्डारमा श्रीवृद्धि गरेका छन् ।

उपर्युतफ ६ वटा काव्यमध्ये यहाँ शान्तिकामना अर्धशतक काव्यको मात्र चर्चा गर्ने जमर्को गरिएको छ । जुन काव्य २०३४ सालमा आजको धर्तीलाई शान्तिको कामना शीर्षकमा मधुपर्कमा छापिएको कविताको विस्तारित रूप हो । यो काव्य वर्णमात्रिक छन्दमा रचना गरिएको छ । यस काव्यमा कविले यी भावहरू आफ्नो सम्झनाको धरातलबाट टिपेको कुरा आत्मकथनमा नै स्पष्ट पारेका छन् । यस काव्यमा राष्ट्रप्रेम, जातीय प्रेम, मानवतावाद, प्रकृतिचित्रण, स्वच्छन्दतावाद, परिष्कारवाद, आदर्श, नैतिक मूल्यमान्यता, परम्परा, संस्कृतिप्रतिको मोह, व्यङ्ग्यात्मकता, लयात्मकता, विम्ब प्रतीकको प्रयोग, भावको गहनता, भाषा शैलीगत सरलता जस्ता काव्यात्मक विशेषता रहेका छन् । यस काव्यमा कविले आजको एक्काइसौं शताब्दीका मानवहरूमा हराएको मानवताको खोजी गरेका छन् । आफ्नै आस्था र विश्वास, मूल्य र मान्यतामा आज तुषारो परेको छ । मानिसको जमात बढे पनि मानवता खण्डित बन्दै गएको छ । विकास र उन्नतिको शिखर चुमेको आजको युग बाहिरी रूपमा जति राम्रो टलक्क टल्केको देखिए पनि भित्रभित्रै खिया लागिसकेको छ । विज्ञानको उन्नति र विकास विश्वमा भइरहेको छ , जसले मानव जीवनलाई भौतिक रूपमा सुखी त बनायो तर आन्तरिक रूपमा भने खोक्रो बनायो । शिक्षाको ज्योति घर–घर दैलादैलोमा पुर्‍यायो । सिद्धान्तमा मात्र समानता, मानवता, भ्रातृत्वका कुरा गरियो तर व्यावहारिक रूपमा यी विषय उतार्न सकिएन । त्यसैले त शान्ति र कान्ति गुमेको अवस्थामा मानसिक छटपटी र वेचैनीमा मानिस वाँचिरहेको छ ।

सबै मानिसमा अभिमान बढेको छ । राजनीतिमा पनि छलकपट र अवसरवादले प्रश्रय पाएको छ । स्वार्थ, जालझेल र छलकपटले विषाक्त बनेको छ समाज । यहाँको पानी, हावा, धर्ती, आकाश, वायु सबै वस्तुलाई विषाक्त बनाइएको छ । चाकरी, चापलुसी र भ्रष्टाचारले गाँजेको समाजमा जो सक्षम छ उसले अवसर पाएको छैन । चाकरीवाजहरूकै राज छ । गरिब झन् गरिब बन्दै गइरहेको छ त धनी झन् धनी । फोस्रो धाक र आडम्बर बढेको छ । असमानता, विभेद बढ्दै गएको छ । विज्ञानको खोज अन्वेषण र आविष्कारले भौतिक सुख प्राप्त हुँदै गएर जीवनशैलीलाई सरल बनायो, विश्वलाई एउटै धु्र्रवको रूपमा विकसित गर्‍यो, तर पनि हाम्रो समाजमा शोषण, अन्याय अत्याचार, असमानतारूपी रोगहरू फैलिए । माया, ममता प्रेम कता हराए ? । नेपालको आफ्नै परम्परा, इतिहास दर्शन, संस्कृति, आदर्श, मूल्य, मान्यता सबै बिर्सिएर बाटो बिराएको यात्रीझैं अन्धकारमा नेपालीहरू रुमल्लिइरहेका छन् । आफैँ पौरख गरेर खाने हाम्रो वीर जाति नेपाली हो । नेपालको नाम विश्वमा वीरताका हिसाबले परिचित छ । त्यसको अनुसरण गरी जीवन सुखी र खुसी बनाउनुपर्छ । त्यसैले आपसी द्वेष, भेदभाव, कटुता त्यागेर सबै नेपाली एकजुट हुनुपर्ने भाव यहाँ व्यक्त भएको छ ।

हाम्रो धार्मिक ग्रन्थ वेद विश्वकै प्रथम ग्रन्थ हो, यसले हामीलाई सत्कार्य गर्न प्रेरित गरेको छ । शान्ति, मित्रता, मानवता, एकता नै हाम्रो चाहना हो । त्यसै विखण्डित भएको मानवतालाई जोड्ने योद्धा बनेर स्नेह सद्भाव, मित्रता र शान्तिको माधुर्य छर्नु पर्दछ । भाइभाइबीचको मित्रता, समाज, राष्ट्र हुँदै विश्वसम्म फैलियोस् । विश्वमा अणुबम, परमाणुबम अविश्वासले भइरहेको झै–झगडा, पीडा, सन्त्राश, कोलाहल नाश होस्, देखावटी क्रान्तिले शान्ति ल्याउँदैन, मानवीय जीवनलाई क्षतविक्षत बनाउँदछ । त्यसैले त्यस्ता ध्वंसात्मक कार्यलाई सिर्जनात्मक कार्यमा लगाएर गाउँ, टोल, समाज र विश्वमा नै शान्ति फैलाउनु पर्दछ भन्ने विचार प्रस्तुत गरेका छन् । कविले जबसम्म समाजमा अन्याय अत्याचार, थिचोमिचो, शोषण विद्यमान रहन्छ तबसम्म शान्तिको परिकल्पना नै गर्न सकिँदैन, त्यसैले सबै मानव एकजुट भएर अन्याय, शोषण, अत्यचारको अन्त्य गर्नु पर्दछ तब मात्र शान्ति छाउने छ भन्ने सन्देश व्यक्त गरेका छन् । कविता कोमल भावमा व्यक्त भएका छन् । भावको शृंखलाबद्धता केही टुटेको भए पनि समग्रमा काव्य संप्रेष्य रहेको छ । यस काव्यमा प्रकृतिचित्रण, राष्ट्रप्रेम, मानवतावाद, स्वच्छन्दतावाद, संस्मरणात्मक सजीवता, जातीय स्वाभिमान, आदर्श, नैतिक मूल्यमान्यता, भाषाशैलीगत सरलता, भावको गहनता, व्यङ्ग्यात्मकता, विम्बप्रतीक प्रयोग जस्ता विशेषता रहेका छन् ।

यसरी कविले यस कृतिमार्पफत आफ्नो परम्परा, संस्कृति, मूल्ःय र मान्यताप्रति अगाध आस्था राख्दै राष्ट्र र राष्ट्रियताको गान गाउँदै विश्वबन्धुत्वको भाव फैलाउन खोजेका छन् । विश्वबन्धुत्वले नै सबैतिर शान्तिको सुनौलो बिहानी ल्याउन सक्छ भन्ने विचार यस काव्यमा प्रस्तुत गरेका छन् ।

२०६९ साउन

उपप्राध्यापक, धनकुटा बहुमुखी क्याम्पस