कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

सम्पादकीय

दैवज्ञ गाथा : स्मृतिग्रन्थको स्वरूपमा

दैवज्ञराज न्यौपाने भन्नेबित्तिकै व्यक्तित्वको एउटा ज्योतिपुञ्ज सामुन्ने प्रकट हुन्छ । संसारमा थुप्रै मान्छेहरू जन्मेका छन्ः– कोही सुन्दर छन्, कोही हेर्नमा सुन्दर त कोही भित्री रूपमा सुन्दर । कसैको सौन्दर्यले क्षणिक मोहकता भर्छ भने कसैको सौन्दर्य नित्य निरन्तर । मानव जुनी अचम्मको देखिन्छ । दार्शनिक शुकरात हेर्नमा राम्रा थिएनन् तर उनको भित्री चमक बडो सुन्दर थियो । हाम्रै संसारमा पनि कोही बाहिर खुब उज्याला हुन्छन् तर अन्तर्मन त्यस्तो हुँदैन । कोही रूपका राम्रा हुँदैनन् तर भित्रका उज्याला । दैवज्ञराज न्यौपाने चाहिँ यस्ता स्फटिकका खम्बा हुन् जसको चमकदार उज्यालो भित्रबाहिर उत्तिकै छ ।

माधव घिमिरेकी पत्नी उनकै कृति गौरीका आधारमा भन्नु पर्दा बिफरले बिग्रेको अनुहारकी थिइन् तर वैंसैमा बितेर अमर बन्नपुगेकी एक गौरवशाली नेपाली नारी हुन् उनी । माधव घिमिरेजस्तो साहित्यकारकी पत्नी हुनुले गौरीलाई त्यो उच्च दर्जा मिल्यो नत्र वैंसमा ज्यान गुमाउने अनेकौं नेपाली नारीको नामोनिसान छैन । यसबाट स्पष्ट हुन्छ मान्छेलाई अमर बनाउने एउटा महत्त्वपूर्ण साधन हो– साहित्य । साहित्य अमरताको साधन त हो तर त्यो वरदान सबैलाई कहाँ प्राप्त हुन्छ र झ् कोही साहित्य लेखेर अमर हुन्छन् त कोही त्यसको पात्र भएर । मुना–मदन, सन्ते–गौरी आदि काल्पनिक अमर पात्र हुन् भने गौरी, राजेश्वरी आदि वास्तविक अमर पात्र हुन् । अब त नेपाली साहित्यमा साहित्यकारहरूलाई नै पात्र बनाएर थुप्रै महाकाव्यहरू लेखिएका छन् । तिनले अमरताको नौलो निसानी छाड्छन् । हामी सन्दर्भ मिलाएर यहाँ दैवज्ञराज न्यौपानेको कुरो कोट्याउन खोजिरहेका छौँ । उनी एउटा यस्ता सजीव पात्र हुन् जसलाई आधार बनाएर जे लेखे पनि हुन्छ, जे बनाए पनि हुन्छ । अथवा भनौँ, जसको जस्तो चित्र कोरे पनि र जस्तो मूर्ति कुँदे पनि त्यो सुन्दर नै हुन्छ ।

प्रथमतः दैवज्ञराज यो नामै पनि आपैफँमा ओजनदार, उल्लेख्य र महत्त्वपूर्ण छ । उनको आकृति हेरौँ– कहीँ केही खोट बाँकी राखेका छैनन् सृष्टिकर्ताले । उहाँभन्दा सुन्दर पुरुष अरू कोही देखेको छैन भन्नेहरू पनि थुप्रै छन् । उनको बोली झ् बोलीको के कुरो गर्ने, बोलीमा पाइने मधुरता, महकता र मिठासको त्रिवेणीले उनलाई अजातशत्रु नै बनाएको थियो । हामीले त दैवज्ञराजको लामो सङ्गत गर्‍यौँ, घुलमिल गर्‍यौँ, उठबस गर्‍यौँ, हिँडडुल गर्‍यौँ । दैवज्ञराजलाई देख्तै नदेख्नेहरूले उनको क्यासेटबद्ध बोली सुनेमा वाणीको त्यो मधुरता स्पष्ट भइहाल्छ । यसै ग्रन्थमा पनि प्रायः सबै लेखकले दैवज्ञको लावण्यलाई लिएर निकै चर्चा गरेका छन् ।

आज यस संसारमा दैवज्ञराज न्यौपानेको त्यो लावण्यमय शारीरिक उपस्थिति छैन । भगवान्ले असमयमै उनको लौकिक देहलाई चुँडेर लग्यो तर उनको स्मृति हामीमाझ नित्य नवीन छ । उनी अजर अमर छन्, कीर्ति शरीरमा र कृति शरीरमा । १९९९ मंसिर ३० मा जन्मेर २०६८ पुस २ गते इहलीला छाड्न बाध्य कवि दैवज्ञराजको स्मृतिलाई स्थायी रूप दिने दृष्टिले प्रस्तुत प्रेरणा पुरुष : कवि दैवज्ञ स्मृतिग्रन्थ प्रकाशन भएको हो । यहाँ भरिसक उनको समग्र चित्र आओस् भन्ने चाहना राखिएको छ । यदाकदा हुने अपवादलाई छाडेर प्रस्तुत ग्रन्थका रचनाहरूलाई लेखकीय वर्णानुक्रमका आधारमा राखिएको छ । आन्तरिक रूपमा ६ खण्डमा विभाजन गरी यसको समग्रतालाई समेट्ने प्रयास गरिएको छ । यस ग्रन्थमा संस्मरण, समालोचना र कविताका स्वरूपमा लेखकहरूबाट श्रद्धा र सम्मान प्रकट गर्ने कार्य भएको छ । संस्मरणहरू – जहाँ दैवज्ञराज न्यौपानेसँगका विभिन्न व्यक्तिका विभिन्न संस्मरणले उनको जीवनका उकालीओरालीका अनेकौँ पाटाको दिग्दर्शन भएको छ । त्यस्तै समालोचनाहरू – जसले दैवज्ञराजका विभिन्न कृतिको समीक्षा गरी उनको साहित्यिक व्यक्तित्वलाई खोतलेर विश्लेषण गर्ने काम भएको छ । त्यस्तै कविताबाट श्रद्धाञ्जलि दिनेले दैवज्ञको व्यक्तित्वको झल्कोलाई गद्य–पद्यमय ढंगले उतारेर प्रस्तुत गरेका छन् । संस्कृत भाषामा रचित दुई कविता र अंग्रेजी भाषामा रचित केही कविता तथा लेखहरू पनि यहाँ समाविष्ट छन् । यी बाहेक परिशिष्ट खण्डले दैवज्ञको जीवनका विविध पाटा र बान्कीलाई प्रस्तुत गर्नुका साथै दैवज्ञराजको योग्यता, दक्षता र शीपलाई समग्रतामा प्रस्तुत गरेका छन् भन्ने हामीलाई लागेको छ । नमुनाका रूपमा उनका दुइटा गद्य कविता यहाँ समाविष्ट छन् भने एउटा गीति कविता र एउटा छन्दोबद्ध कविताको अंग्रेजी अनुवाद पनि प्रस्तुत गरिएको छ । वर्तमान समयमा नेपाली वर्णविन्यासमा देखापरेको सङ्क्रमणकालीन स्थितिको छाप यस स्मृतिग्रन्थमा पनि परेको छ । जसअनुरूप केही लेखहरू सम्बन्धित लेखकका अनुरोधमा उहाँहरूकै वर्णविन्यास अनुसार राखिएका छन् । यस ग्रन्थमा जे जति रचना प्राप्त भए ती सबै कविलेखकप्रति हामी आभार प्रकट गर्दछौँ र जसका रचनाहरू हामीले र सम्बन्धित लेखकहरूले चाहँदाचाहँदै पनि नियतिवश समावेश गर्न सकेनौँ त्यसप्रति क्षमायाचना गर्दछौँ ।

मानवले गरेका सबै काम पूर्णतः दोषमुक्त हुँदैनन् । तसर्थ हामीले गरेका काममा पनि अनेकौँ त्रुटि होलान् । त्रुटि नै यस्ता हुन्छन् जो पहिले देखिदैनन् तर समय बितेपछि टुप्लुक्क प्रकट हुन्छन् । यस्तो विचित्रता छ त्रुटिको झ् तर, त्रुटि हुन्छन् भनेर कामै नगर्ने त कुरो आउँदैन । यसमा अझ स्पष्ट भनौँ, एक वर्षभित्र धेरै प्रयास, मिहिनेत र बुता कसेर काम गर्दा पनि यो बृहत् ग्रन्थले त्यसभन्दा बढी बुता खोज्न चाहेको स्पष्टै छ । जस अनुरूप हामीले यहाँ समाविष्ट र असमाविष्ट लेखकहरूसित र हितैषी मित्रहरूसित विनम्र भएर अनुरोध गर्नैपर्छ – सोचेजति कार्य गर्न अझ सकिएन । कतिपय लेखकलाई विविध कारणले समावेश गर्न सकिएन । त्यस्तै कतिपय लेखहरूलाई सम्पादन गर्नुपर्ने स्थिति भयो । दैवज्ञराज न्यौपानेसँग सम्बन्धित कयौँ अन्तरङ्ग मित्रहरू स्मृतिग्रन्थभन्दा बाहिरै पर्ने स्थिति रह्यो, कारण जस्तोसुकै होस् । साथै हामीले कस्सिएर काम गर्‍यौँ भनेर मनमनै जति पुफलेल भए पनि ग्रन्थमा देखिने अनेकौँ त्रुटि र कमजोरीले हामीलाई गिज्याइरहने छन् । यी सबै कमी कमजोरीप्रति विनम्रभाव देखाउनु सिवाय हाम्रो अर्को विकल्प छैन । समग्रमा यो ग्रन्थ के कस्तो भएको छ त्यो त पछि विज्ञ पाठकहरूले मूल्याङ्कन गर्नु नै हुनेछ ।

समष्टिरूपमा हामीले दैवज्ञराज न्यौपाने जस्तो राष्ट्रिय व्यक्तित्वलाई यहाँ अभिलेखबद्ध गर्न खोजेका छौँ । एक वर्षको अवधि पनि पार नगरेको दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानले यो एउटा स्मृति–पुष्प कवि दैवज्ञराज न्यौपानेलाई र पाठकहरूलाई सँगसँगै उपहार स्वरूप समर्पण गर्न लागेको छ । यस प्रतिष्ठानका कार्ययोजना अल्पकालीन र दीर्घकालीन गरी थुप्रै खालका छन् । तीमध्ये यो स्मृतिग्रन्थ पनि एक हो । यसमा जे उपलब्धि भए तिनलाई ग्रहण गरौँ, जे कमजोरी भए तिनलाई उल्लेख गरौँ । प्रतिष्ठान हार्दिक आभार प्रकट गर्दै र सच्याउँदै अघि बढ्न र अन्य थुप्रै काम गर्न तत्पर छ । यस सन्दर्भमा दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान शुभेच्छुकहरूको सल्लाह, सुझाउ र सहयोगको हार्दिक आकांक्षा रख्दछ ।

सङ्गच्छध्वं सम्वदध्वं सं वो मनांसि जानताम् ।