कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

कवि दैवज्ञलाई सम्झँदै

प्रभा भट्टराई

राष्ट्रकवि माधव घिमिरे

हाम्रो युगका सबभन्दा सुन्दर शरीर पाएका कवि, तेलको घैँटाबाट निकाले जस्ता स्निग्ध दैवज्ञराज न्यौपाने अब शारीरिक रूपले यस धर्तीमा छैनन् भन्दा पत्यारै लाग्दैन।मुस्कुराएर स्वीकार गर्न पनि सक्ने र हेपेर इन्कार गर्न पनि सक्ने स्वभावको यो कोसीको पानी खाएको व्यक्तिले मृत्युलाई कसरी स्वीकार गर्‍यो – म छक्कै छु।

दैवको लीला दैवज्ञले पनि टार्न सक्तो रहेनछ। जसले यहाँ केही रचेर जान्छ उसको प्रभामण्डल यहीँ रहिरहन्छ।सौन्दर्यवादी कविताका स्रष्टा दैवज्ञ आफ्ना सुन्दर रचनाभित्रबाट सधैँ च्याइरहनेछन्, जीवनवादी कवि दैवज्ञ आफ्ना जीवन्त रचनाभित्रबाट जीवन गाइरहनेछन्। जसले उनलाई जीवित अवस्थामा देख्‍न पाएनन्, तिनले पनि उनलाई हँसिलो, रसिलो र जोसिलो 'काव्यपुरुष' का रूपमा देख्‍नेछन् र देखिरहने छन्।

२०६९ असोज ४ अलका बस्ती, लैनचौर, काठमाडौँ

शुभाशिष

राष्ट्रकवि माधव घिमिरे

एकान्त शान्तस्थल गोगनेतिर त्यै इन्द्रिनीझैँ वनकर्कलामा

सदा सुसाई झरिरन्छ निर्झर दैवज्ञ ! आफ्ना कविता-कलामा

फिरी फिरी गोगनपातमा अनि छिटा छिटा अक्षर लेखि नै रहू

बिरी बिरी बर्सिरहन्छ इन्द्रिनी छटा छटा सुन्दर पोखि नै रहू

१ २

२०६६ चैत २४ (दैवज्ञ : पद्यध्वनि, २०६६ बाट)

(दैवज्ञराज न्यौपानेका कविगुरु राष्ट्रकवि माधव घिमिरे (१९७६ असोज ७) को आशीर्वचनप्रति आभारी छौँ – सम्पादक)