राजधानीमा मेरो पहिलो पाइलो
अन्जान सहरमा सबै अनुहार अन्जान छन् । सबै शङ्कालु छन् । मनमा भय छ, एकप्रकारको डर व्याप्त छ । मनौवैज्ञानिक डर । किनकि सहरले अर्थात् राजधानीले मलाई चिन्दैन, चिनेकै छैन र चिन्न आवश्यक पनि छैन । मलाई राजधानीको आवश्यकता छ । त्यसैले त म राजधानी आइपुगेको छु । मजस्ता असङ्ख्य मानिस गाउँदेखि राजधानीसम्म आइपुगेका छन् । भविष्य खोज्दै । आ–आफ्ना समस्याहरूको समाधान खोज्दै । शिक्षा, स्वास्थ्य र रोजगारी खोज्दै । किनकि राजधानी देशको मुटु हो । म यसबेला राजधानीमा पहिलो पाइलो राख्दैछु । यो मेरा लागि नितान्त नौलो अनुभव हो, अनौठो घटना हो र यो एक सपना पनि हो । कतै हराउने त हैन । कतै बाटो बिराएर गलत दिशा त लिने हैन । शङ्कै शङ्का छ मनमा । त्यसैले त डर पनि छ, कौतुहल पनि छ, र साथै रोमाञ्चकता पनि छ ।
राजधानी काठमाडौँ देशकै ठुलो सहर– विशाल सागरजस्तै लाग्ने कुनै छेउ किनाराको भेउ पाउनै कठिन । मेरो गाउँ भए एक एक घरको बेलिबिस्तार लाइदिन सक्थेँ । तर यहाँ एउटै घरमा बस्नेले अर्कोलाई नचिन्ने रहेछ, कस्तो ठाउँ । जसलाई सोधे पनि आफूले खोजेको मानिसको कुनै पत्तो नै नलाग्ने । गाउँदेखि सहरसम्मको यात्रा – मानौँ आकाश जमिनबीचको अन्तरझैँ लागेको छ यसबेला मलाई । म हराएको छु सहरभित्र र आफैँभित्र । खोज्दैछु म आफैँलाई राजधानीमा । तर चिन्दैन राजधानीले मलाई । मेरा आवश्यकता र कठिनाइलाई । किनकि राजधानी आफैँ समस्याग्रस्त छ । दीर्घरोगी छ राजधानी । अव्यवस्थाको, अविश्वासको, अमानवीयताको र संवेदनहीनताको । तर, राजधानी मैले अनुभव गरेजस्तो मात्र पनि रहेनछ । यो त सागर हो सबै अटाउने । सबै यहाँ पसेपछि एकाकार हुने । जसले जे खोजेको छ त्यही पाउने मनचिन्ते झोला पनि रहेछ राजधानी । असललाई असल र खराबलाई खराव रहेछ राजधानी । राजधानी गाउँ र सहरको सम्बन्धसेतु पनि रहेछ ।
राजधानीमा पहिलो पाइलो टेक्न आइपुग्दा विक्रमको पैँतीस सालमा मेरा आँखाले यस्तै कुनै परिचित अनुहार खोजिरहेथ्यो । त्यस्तो अनुहार जसले मेरो यात्राको लक्ष्यमा पुग्न सहयोग गरोस् । एउटा सानो कदको भर्खर जुँगाका रेखी बस्दै गर्दा आमालाई साथमा लिएर राजधानी आउँदा निःसन्देह मभित्र केही जिम्मेवारी बोध थियो र केही भय पनि । तर, कहिले काँही नसोचिएका घटनाक्रमहरू अगाडि आउने रहेछन् । राजदूत नामको त्यसबेलाको चर्चित दिवा बसबाट रातको आठ नौ बजे सुन्धारामा उत्रेपछि चुक घोप्ट्याएझैँ अन्धकारमा कतै भेउ पाउन नसकी नजिकैको व्यापारिक वासस्थलमा रात बित्यो । अर्को दिन त्यस्तै परिचित अनुहारको खोजीमा निस्क्यौँ म र मेरी आमा । सुन्धारादेखि गन्तव्यहीन र दिशाहीन यात्रा प्रारम्भ भयो । आजको स्थितिमा भन्दा सिंहदरवार हुँदै माइतीघरतर्फ (तर त्यसबेला थाहा थिएन कता जाँदैछौँ ) ।
एउटा लक्ष्य थियो यात्राको, एउटा मिसन अर्थात् आमा मैयादेवी उपाध्याय भट्टराईलाई मातृशिशु कार्यकर्ताका रूपमा देशले पुरस्कृत गर्दै थियो, वहाँको सामाजिक कार्यका लागि र पुग्नु थियो त्यो स्थानसम्म जहाँ पुरस्कार वितरण कार्यक्रम सम्पन्न हुँदै थियो अर्को दिन । सोही ठाउँसम्म पुग्न कुनै सूत्र थिएन मसँग । म र मेरी आमा हराएझैँ थियौँ राजधानी सहरमा । सुन्धारादेखि माइतीघरसम्मको यात्रा पनि कति लामो लागेको त्यसबेला । काँधमा झोला भिरेर लुखुरलुखर हिँडिरहँदा मनमा अनेक तर्कनाहरू खेलिरहने यस अन्जान र अपरिचित सहरमा । कतै कुनै बदमासको फन्दामा त परिने हैन ? यसरी हिँडिरहेर कहाँसम्म पुग्ने हो ? खोजेको ठाउँ कसैले बताइदिँदैन ।
बिहान ब्युँझिएर गन्तव्यको बाटो खोज्दाखोज्दै आश्चर्यजनक रूपमा लक्ष्यसम्म पुग्ने ढोका खुलेको अनुभूतिले अकस्मात् आमाको अनुहारमा घाम लाग्यो । झण्डै तीसवर्षपछि कवि दैवज्ञबाट लेखिएको यो कविता जस्तै –
सबै उठे ब्युँझिएर बग्दै थियो खोलो
हेर्दै थिएँ बिहानी म घामले ढोका खोल्यो
(घामले ढोका खोल्यो, पृ.२५)
माइतीघरको एउटा पसलमा तरकारी किन्न आउनुभएकी रीता दिदीसँग जम्काभेट भयो (त्यसबेला माइतीघरमा थुप्रै घर र पसलहरू थिए) । रीता दिदी अर्थात् कवि दैवज्ञराज न्यौपानेकी धर्मपत्नी । (जसको केही वर्षपछि असामयिक तथा दुःखद निधन भयो ।) मेरी आमालाई देख्नेबित्तिकै रीता दिदी आश्चर्यमिश्रित भावले चिच्याउनु भयो– “आम्मै दिदी कताबाट” । मेरी आमा र रीता दिदीबीच फुपू भदैको नाता हो । अन्जान सहरमा हामीलाई देउता नै भेटेजस्तो भयो । रीता दिदीको अनुरोधमा त्यो दिन बबरमहलस्थित वहाँको अस्थायी निवासमा पाहुना भयौँ हामी आमा छोरा । पहिलो पटक कवि दैवज्ञराज न्यौपानेसँगको यो मेरो साक्षात्कार थियो । विक्रमको पैतीस साल भदौमा ।
गोरो वर्ण, अग्लो कद र आकर्षक व्यक्तित्व, हेर्दै विद्वान्जस्तो लाग्ने, चम्किलो अनुहार – कवि दैवज्ञराज न्यौपानेलाई चिन्ने शारीरिक पहिचान जोसुकैका लागि लोभलाग्दो थियो । कवि दैवज्ञराज न्यौपाने मेरा लागि परिचित नाम थियो । नेपाली साहित्यप्रति विद्यालय तहमा छँदैदेखिको विशेष अभिरुचिले म परिचित थिएँ वहाँसँग । तर, यो मेरो पहिलो साक्षात्कार थियो वहाँसँगको ।
राजधानीमा एक दिन पूरै र एक रात कवि दैवज्ञराज न्यौपानेको निवासमा बिताएको समय आजपर्यन्त ताजा छ स्मृतिमा । १५ वर्षमा नै प्रवेशिका उत्तीर्ण गरी प्रमाणपत्र तहमा अध्ययन प्रारम्भ गरेको भए पनि अपेक्षाकृत सानो कदका कारण विद्यालयको विद्यार्थीजस्तो देखिन्थेँ म । बैठक कोठामा टेबलमा नेपाली पत्रपत्रिकाहरू छरिएका थिए । बिहान चिया खाँदै गर्दा नेपाली पत्रिका तानेर पढ्न थालेँ । कवि दैवज्ञले जिज्ञासा राख्नुभयो “पत्रिका पनि पढ्न आउँछ ?, कति कक्षामा पढछौ ?” “सि.एल.मा (त्यसबेला प्रमाणपत्र तहलाई भन्दा सि.एल. अर्थात् सर्टिफिकेट लेभल भनेर भन्ने प्रचलन थियो ।) भने । आश्चर्यमिश्रित स्वरमा वहाँको प्रतिप्रश्न रह्यो “सि.एल.मा !” मैले पुनर्पुष्टि गरेँ “हो ।” र वहाँले पढ्न लगाउनुभएको एउटा समाचार स्पष्ट भाषा र उच्चारणमा पढेर सुनाएँ । वहाँ छक्क पर्नुभयो मेरो वाचन शैली र शुद्ध उच्चारण देखेर र भन्नुभयो “स्याबास” । म गद्गद् भएँ वहाँको स्यावासी पाएर । वहाँको नरम र स्नेहमिश्रित वाणीहरूले मलाई पुलकित तुल्याइरह्यो ।
पुग्नुपर्ने गन्तव्यको बाटो अझै पहिल्याउन बाँकी नै थियो । तर, निश्चिन्तता थियो मनमा अब । आज सम्झना छ/छैन ? आदरणीय केदार सरलाई (कवि केदार न्यौपाने) मेरो वहाँसँगको पहिलो साक्षात्कार पनि त्यहीँ भएको थियो । त्यो अग्लो कद, पातलो जीउडाल तर धपक्क बलेजस्तो गोरो अनुहार हेर्दै लोभलाग्दो व्यक्तित्व वहाँको पनि, कवि दैवज्ञको जस्तै । भोलिपल्ट जानु थियो ललितपुरको महिला प्रशिक्षण केन्द्र जाउलाखेलमा । कवि दैवज्ञबाट नै हामीले त्यहाँसम्म पुग्ने मार्ग भेट्टायौँ र बिहानको खानापश्चात् हामी मीठो सम्झना र प्रेमपूर्ण आतिथ्यलाई ग्रहण गरेर बिदा भयौँ । रीता दिदी हामीलाई जाउलाखेल जाने साझा बसमा चढाउन माइतीघरसम्म आउनु भयो । यसपछिका घटनाक्रमहरूको सन्दर्भ यहाँ रहेन । एउटा अमिट छाप लिएर म र मेरी आमा त्यहाँबाट प्रस्थान गर्यौँ । मेरा मनमा कवि दैवज्ञप्रतिको असल र गुणी मानिसको छापलाई वहाँकै यस कविता पङ्क्तिबाट व्यक्त गर्दछु–
असल र गुणी भए को भन्दैन राम्रो
सधैँ भलो काम गर्नु बुद्धिमानी हाम्रो
(घामले ढोका खोल्यो, पृ. ४३)
संयोग पनि कस्तो ? पछि सँगै काम गर्ने अवसर जुट्यो कवि दैवज्ञसँग र सान्निध्य पनि बढ्यो (बानेश्वर क्याम्पसमा वहाँसँग करिब १३ वर्षको सङ्गत र सान्निध्य रह्यो) । नयाँ कविता लेखेपछि कलेजमा आउँदा मलाई सुनाउनु हुन्थ्यो र प्रतिक्रिया माग्नु हुन्थ्यो । वहाँमा पनि एउटा छाप बसेको रहेछ मप्रति कि यसले कविताको मर्म बुझ्छ भन्ने । वहाँको आकस्मिक अस्वस्थताले यो सान्निध्यलाई छिनेको थियो । यसलाई जोड्ने उत्कट अभिलाषा छँदाछँदै पनि पूरा नभइरहेको अवस्थामा एउटा संयोग जुर्यो कवि एवं अनन्य मित्र प्रह्लाद पोख्रेलमार्फत वहाँकै निवासमा वहाँप्रति नै समर्पित गरेर कवितावाचन गर्ने । यो नै वहाँसँगको अन्तिम भेट रहेछ । अन्त्यमा वहाँकै निम्न कविता पङ्क्ति उद्धृत गर्दै वहाँप्रति शब्द–श्रद्धाञ्जली अर्पण गर्दछु;
काम राम्रो गर्ने व्यक्ति गए पनि मरी
कीर्तिकथा उस्तै हुन्छ सधैँ अजम्बरी
(घामले ढोका खोल्यो, पृ. ५०