कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

गोगनेको फूल

डा. चन्द्रमणि नेपाल

हिजो बेलुका दैबु काठमाडौंबाट आइपुगेछ, पर्देशी खाना के खान्थ्यो, के गर्थ्यो । बाक्लो दहीसँग मकैको भात खान मन लाग्यो रे “पकाउनु है”, भन्दै गै र”छ, शिवालय डाँडातिर ! पूर्वपट्टिको घर पिँढीमा नाङ्लामा मकैको चामल केलाउँदै बस्नुभएकी ठुलीआमाले परदेशबाट बल्लबल्ल घर फर्किएको आफ्नो सन्तान प्रति पुत्रस्नेहको गहिरो सागर छचल्काउँदै एकै सासमा वाणीप्रवाह गर्नुभयो । अरू थप्नुभयो– यहाँबाट जाँदा राता, राता पोटिला गाला लिएर गएको थियो, अहिले त सेतो सेतो देखिन्छ, दुब्लाएछ पनि ।

यहाँ बरालिन्छस् होला, तँ पनि हिँड् ! भनेपछि बाबालाई पच्छाउँदै म पनि त्यस दिन बिहानै धाइपा मूल घर पुगेको थिएँ । ठुला बा, पिँढीकै खाटमा बसेर भागवत पढ्दै हुनुहुन्थ्यो । बस्नका लागि हामीलाई केवल हातले सङ्केत गर्नुभयो । हामी बस्यौँ । ठुलीआमाले आफ्ना परिवारका सदस्यमध्ये उहाँकै शब्दमा छोराहरू केदार, महेश्वर, ठुले (जयप्रसाद) अनि बुहारीहरूमा ठुली, माइली र कान्छी आदि संलग्न विभागहरू छरछिमेक, भोजपुरे खेत, पँधेरो, भान्सा, घाँस दाउरा आदिको सूची बताउँदै आपूफले चामल केलाउनु परेको कारण दर्साउनु भयो । अरू दाइहरूसँग मेरो पहिलादेखि नै साक्षात्कार भएको थियो । तर दैवज्ञ दाइसँग देखभेटका लागि दैवले मउपर दया देखाएका थिएनन् । त्यो दिन पनि दैवज्ञ दाइ कस्तो हुनुहुन्छ होला ! जिज्ञासा अङ्कुराएको थियो । कामकुरा सिध्याएर ठुलीआमाले नै खाना खान जाउँफ, भनेपछि हामी खाना खान गयौँ ।

ठुलीआमा मझेरीबाटै भाञ्जा बाबुहरूलाई यो ठेकीको नअमिलो दही, उस भाँडाको दुध, यो हर्पेको ताजा घिउ आदि परिकार दिने र यो चिज र ऊ चिज थपिदिने भन्दै चुलामा रहनुभएकी सानी भाउजू (जयप्रसाद दाइकी कान्छी) लाई निर्देशन दिँदै रहनुभयो । म पनि दैवज्ञ दाइ आएपछि देख्न पाउने प्रतीक्षामा रहँदै मझेरीमै बसेर खपाखप परिकारको आस्वादन लिन थालेँ । हामी घर फर्किन बाटो लाग्दासम्म दैवज्ञ दाइ आइपुग्नु भएन । उहाँको स्वरुचि भोजन कठ्याङ्ग्रिन थालेकोमा ठुलीआमा चिन्तित हुन थाल्नुभएको थियो । मेरो जिज्ञासा पनि आलै रह्यो ।

त्यस बेला नेपालकै प्रमुख शिक्षण संस्थाको रूपमा गनिने गोगनेको विद्येश्वर संस्कृत विद्यालय भोजपुर जिल्लामा दिङ्लाको प्रधान पाठशालापछिको दोस्रो शैक्षिक केन्द्र भएकै कारण गोगने धेरै जनताहरूको स्मृतिपटलमा रहेको छ । उहाँका भाइसहित दैवज्ञदाइले पनि यसै विद्यालयबाट प्राथमिक शिक्षाको जग सुदृढ बनाई भावी विशिष्टताको बीजारोपण गर्नुभएको रहेछ । शिक्षा आर्जनका लागि पनि पैतृक संस्कार, सत्प्रेरणा, घरेलु वातावरण एवं गुरुसँगको सान्निध्य आदि विविध कारक तत्त्व हुँदा रहेछन् । यी तत्त्व जुटाउने वा जुट्ने धेरैले यस शिक्षण संस्थाबाट आफ्नो जीवनलाई सौभाग्यशाली बनाए । अनि त्यहाँसम्म यस संस्थाले उपलब्धि दिइरह्यो जबसम्म यसलाई धक्का परेन । जब त्यहाँ संस्कृत सकियो तब सुसंस्कारले सुस्केरा हाल्न थाल्यो अनि सत्प्रेरणामा पहिरो गयो । अहिले त्यहाँ स्कूल छ तर किन ? त्यहाँको शैक्षिक जनशक्ति बाहिर निस्कन सकेको देखिदैन ।

दैवज्ञ दाइले यसरी धाइपाको पात्ले घारीमा ढुङ्गा हान्दै आरुबोटे खर्कमा बुर्कुसी मार्दै त्यहीँ विद्यालयमा जयदेव गुरूलाई, स्वौजसमौट्छस्टाभ्यांभिस् आदि सुनाए पनि दिङ्लाको पौवे टोक्रीमा भरिएको चन्द्रपुरे चामलका भातको अविस्मरणीय अर्धोदरी अनुभूति निकै नै लिँदै धराने धाराहरूको चिसो पानी चाख्तै चाख्तै दाङका तिल्की चामलमा समेत जिब्रो फट्कार्दै काठमाडौंमा गई उच्च शिक्षा अध्ययनको क्रम पूरा गर्नुभएछ । हामी दाजु–बहिनीका नाति । घर पनि पैदल १ घण्टाको दूरी मात्र । यसरी नाता र बसोबास दुवै दृष्टिबाट नजिक भए पनि दैवले दैवज्ञ दाइबाट मेरो नजर अझै छेल्दै लग्यो । अब उहाँको कार्यक्षेत्र र बसोबास नै काठमाडौं हुन थालेपछि त झन् टाढा भइयो । मैले रेडियो सुन्ने अवसर पाउन थालेपछि रेडियो नेपालबाट उहाँका कविता र गीत सुन्न थालेँ । हाम्रो नजिकैका मान्छेको नाम रचना रेडियोबाट सुन्दा मेरो कच्चा दिमागमा पनि प्रेरणाको बीजारोपण भएको थियो । गाई चराउन जाँदा म अरूले नदेख्ने गरी केही विनाशैलीका कथा र बिहा बटुलामा बुढापाकाले हाल्ने सिलोकको जबर्जस्त शैली र लयमा कविता लेख्न कोसिस गर्थेँ । तर नराम्रा होलान् भन्ने लाजले अरूलाई भने सुनाउदिनथेँ । पछि २०३० सालतिरको कुरा रहेछ, एकदिन बाबा र म नै मूलघर गएका थियौँ । ठुलाबा बिमारी हुनुहुँदोरहेछ । निन्द्रा पनि असाध्यै लाग्छ । भोक पनि छिनछिनमा लाग्छ । खान पनि कति हो कति रुच्छ, पेफरि सञ्चै पनि छ । मलाई त दशा लागेको छ कि क्या हो भाञ्जा बाबु !” ठुलीआमाले त्यसबेला आशङ्का व्यक्त गर्नुभएको थियो । नभन्दै यसै सालको हरिबोधनी एकादशीका दिन ठुलाबाको चोला उठ्यो । और्ध्वदेहिक कार्यका लागि सबै दाजुहरू भेला हुनुभएको थियो । अवश्य त्यतिखेर दैवज्ञ दाइलाई देख्नु पर्ने तर देखभेट हुन सकेन । कारण उहाँ आफैँ बिमारले थला परेर आउन सक्नुभएनछ ।

२०३९ सालतिर म पनि आचार्य पढ्न काठमाडौं गएँ । प्रारम्भिक बसाइ तोयराज दाइसँगै थियो । एकदिन तोयराज दाइले नयाँ बानेश्वरस्थित एक घरमा साँझसाँझमा मलाई पुर्‍याउनुभयो । मूल ढोकाबाट भित्र गल्लीमा पस्नासाथ अग्लो अग्लो गोरो, मिलाएर लगाएको नेपाली टोपी अनि सट पेन्ट र इस्टकोटमा सजिएको एक सुन्दर पुरुषको सम्मुख हामी अडियौँ । तोयराज दाइले नमस्ते गरेपछि मैले पनि नमस्ते गर्नुपर्ने बुभेफर दुवै हत्केला जोडेँ । काकाको छोरो कान्छो ! तोयराज दाइले मेरो परिचय दिनुभयो । गंगा भानिज बाको छोरो कान्छो ! उताबाट प्रश्न आयो । हजुर, मैले नै उत्तर दिएँ । मैले उहाँको अनुहार राम्रोसँग नियालेँ । ठुलीआमा तत्काल चन्द्रगढीमा बस्नुहुन्थ्यो, उहाँको अनुहार सम्झेँ । उक्त पुरोवर्ती सुन्दर महानुभावको अनुहारमा ऐनामा झैँ ठुलीआमाको अनुहार देखेँ । अब अन्दाज गर्न मलाई विलम्ब भएन । चिनेँ, उहाँ नै दैवज्ञ दाइ हुनुहुन्छ । आमाको अनुहार परेका छोराहरू भाग्यमानी हुन्छन्, भन्ने सुनेको थिएँ । उहाँ त्यस्तै हुनुहुँदो रहेछ, सोचेँ । दैवज्ञ दाइले मेरो पाउदेखि शिरसम्म नजर दिँदै प्रथम प्रतिक्रिया जनाउनु भयो – भानिज बाको कान्छो छोरो, सुनेको हो तर सानै होला ठानेको थिएँ, जुँगामुठे पो भइसकेको रहेछ । अलिकति हाँसो गुञ्जियो ।

म जुँगामुठेको अब दैवज्ञ दाइसँग धेरै सङ्गत हुन थाल्यो । म बारबार उहाँको घर जान थालेँ । रीता भाउजूको ममता र क्षमताले गर्दा उहाँको दाम्पत्य जीवन सुखमय थियो । उहाँ सामान्यदेखि विशिष्ट श्रेणीका विषय तथा व्यक्तिहरूसँग समान कुराकानी तथा व्यवहार गर्ने स्वभावको हुनुहुँदो रहेछ । त्यसैले सबै किसिमका मानिसहरू उहाँका नजिक हुने गर्दा रहेछन् । उहाँको सुमधुर वाणी र हँसिलो अनुहारले प्रायः जो सुकैलाई लोभ्याउँथ्यो । स्वयं विशिष्ट श्रेणीको भैकन अन्य विशिष्ट व्यक्तिहरूसँग उहाँको उत्तिकै पहुँच थियो । विद्यार्थी, साथीभाइ, साहित्यकर्मी, नातागोता तथा अन्य इष्टमित्रहरूको अभ्यागमनले उहाँको घर प्रायः खाली हुँदैनथ्यो ।

उहाँ विशिष्ट प्राध्यापक तथा एक सफल साहित्यस्रष्टा पनि हो । लेख, निबन्ध, समीक्षा, समालोचना तथा कविता एवं बालसाहित्यिक रचनामा उहाँको कलम बेजोड चलेको पाइन्छ । उहाँका कतिपय कृतिहरू पाठ्यपुस्तकमा नै समाविष्ट छन् । मैले एकताका उहाँसँग कुरा गर्ने सिलसिलामा आपूफले बालसाहित्यको महत्त्व नबुझेजस्तो अभिव्यक्ति दिएँछु । त्यसबेला उहाँले मलाई सम्झाउँदै साहित्यको परिभाषा दिँदै भन्नु भएको थियो – विशिष्ट साहित्य त्यो हो, जसले सर्वसाधारणको हृदयलाई स्पर्श गर्न सक्तछ । भानुभक्तीय रामायणलाई उदाहरणको रूपमा अगाडि सार्दै भन्नु भयो– यो निरक्षर व्यक्तिको पनि मुख–मुखबाट गुञ्जन्छ । बालसाहित्यका सम्बन्धमा मलाई अमिट छाप बस्ने गरी भन्नु भयो कि– बालसाहित्य भन्नु नाम मात्र हो त्यो त सबैको साहित्य हो । किनकि यो सबै तहका मानिसका लागि पढ्न आवश्यक हुन्छ । बालबच्चालाई खेलाउने, हुर्काउने र शिक्षा–दीक्षा दिने दायित्व सबैको हो । त्यसैले “चि मुसी चि, मुसाले खायो धान” अनि “तारा बाजी लै लै, मामा आए घोडा” आदि बालकविता बालबच्चाका सम्बन्धी सबैले जानेकै हुनुपर्दछ । त्यसपछि उहाँले आपूफले लेखेका केही बाल कविताहरू छानेर सुनाउनु भयो ।

दैवज्ञ दाइको दाम्पत्य जीवन निकै सङ्घर्षपूर्ण रह्यो । उहाँ यस सम्बन्धमा निकै भँुमरीमा रुमल्लिनु परेको प्रतीत हुन्छ । सन्तानप्राप्ति र सुखदुःखमा साथ नै दाम्पत्य जीवनको सफलताको कसी हो । उहाँका तीन विवाहमध्ये उत्तरोत्तर विवाहलाई मैले यथार्थमा सफल मानेको छु । पहिलो विवाहले उहाँलाई निकै खासखुसे विवादमा मुछ्यो, सम्बन्ध टुट्यो पनि । दोस्रो विवाहबाट रीता भाउजू आएपछि दैवज्ञ दाइले उहाँसँग नै आफ्नो अधिकांश उमेर बिताउनुभयो । आखिरमा रीता भाउजू पनि दुई पुत्र र एक पुत्री जिम्मा दिई परमधाम जानुभयो । उहाँ छँदै भएको अन्तिम विवाहबाट आउनुभएकी सुधा भाउजू स्वयं आत्मनिर्भर र सक्षम छँदाछँदै पनि दैवज्ञ दाइले निकै आँधी बेहरीको सामना गर्नु नपरेको होइन । पछि दैवज्ञ दाइ थला परेर सुधा भाउजूको सेवाप्रति नै पूर्ण निर्भर हुन बाध्य हुनुभयो । सायद सुधा भाउजूले दैवज्ञ दाइलाई सुखमा होइन दुःखमा मात्रै साथ दिनुपर्‍यो । यो विषम परिस्थितिले नै तेस्रो विवाहका कारण चलेको हुन्डरी व्रफमशः रोकिँदै शान्त भयो । मनसुन भने आयो आएन ? त्यो मलाई थाहा भएन । दैवज्ञ दाइको यो तेस्रो विवाहका कारण उब्जिएको उहाँका तत्कालीन गार्हस्थ्य पात्रका चरित्र र परिणाम देख्ने बुझने जो सुकैले राम्रोसँग शिक्षा पाएका र पाउने छन् भन्ने मलाई लाग्छ । यसरी सुधा भाउजूले जति दैवज्ञ दाइका निमित्त अरूले दुःख खेप्नु परेन । म रीता भाउजूसँग जति नजिक र आत्मीयताका साथ रहेँ, सुधा भाउजूसँग त्यो बर्ताबमा रहेको छैन । साँच्चै भन्ने हो भने अहिले सुधा भाउजूलाई भेटेँ भने चिन्दिन होला ।

जीवनको उत्तरार्धमा जब उहाँ प्रेसर र सुगरले पीडित हुनु भयो तब उहाँको स्वरुचि भोजन मकैको भात र चिउरा नै दैनिक ग्रहण गर्नुपर्ने बाध्यता भयो । उहाँको अवसानको निहुँ पनि आखिर यही हाइप्रेसर बन्यो । केही वर्ष अगाडि माताजीको पनि यही परिस्थितिमा निधन भएको थियो । हाम्रो घर आगनको प्रज्ञाज्योति अस्तायो । अब दैवज्ञ दाइसँगको भलाकुसारी एवं सानिध्यबाट वञ्चित भएकाले अहिले मलाई काठमाडौं सहरमा पनि रिक्तताको अनुभव हुन्छ । सम्बन्धी जनका पिँढीका पन्ना जति पल्टिँदै जान्छन्, त्यति आत्मीयताको ग्रन्थि बन्धनमा शिथिलता बढ्दै जाँदो रहेछ । शोकका विषयमा मैले उहाँका परिवारजनलाई हेरेर चित्त बुझाए पनि अब त्यो परिवारमा दैवज्ञ दाइले जति मलाई “आफ्नो मान्छे” का रूपमा बुझने चिन्ने को होला र ?

साँच्चै भन्ने हो भने दैवज्ञ दाइ एउटा कुना, खोँच, पाखा, भित्ताले बनेको तर विद्याको ज्योतिले उज्यालो नितान्त ग्रामीण परिवेशमा जन्मी हुर्की गरेर राष्ट्रको सर्वोच्च श्रेणीमा पुग्ने विशिष्ट व्यक्ति हुनुहुन्छ । गोगनेले अन्य पनि धेरै व्यक्तिहरूलाई राष्ट्रका प्रमुख पद प्रतिष्ठानमा पठाएको छ । तर विशिष्ट साहित्यिक प्रतिभासम्पन्न भएका कारण सुप्रसिद्ध कविका रूपमा समेत परिचित दैवज्ञ दाइ ग्रामीण परिवेशका जनताहरूका लागि विशेष गरी प्रेरणाको महान् अनि अमर स्रोत हुनुहुन्छ ।

आजकल पाखाभित्तामा धेरै धमिरा लाग्न थालेको महसुस हुन्छ । कुनाकाप्चाका कतिपय पुराना शिक्षण संस्थाहरूका नाम र काम सब माटामा मिले । आफ्नो हो भने जतन (संरक्षण) गर्नुपर्छ, त्यसका बाबुको (अर्काको) हो भने बिगार्नु हुँदैन, कुलङ्गार बाँदर ! एकताका सानो छँदा मैले गाईको किलो ठोक्ने भएर अनौँ भाचिदिँदा देउसे मिजार मलाई लक्ष्य गरेर भुत्भुताएथ्यो । अहिले यो गाली धेरैतिर लागु भएको देख्छु । मान्छे अति नै निराश छन् । भन्छन्– शासन नै बिगार्नेको छ । अहिले धेरै दिङ्ला र गोगनेहरू रोइरहेछन् । अब दीपकमा बर्तन सकिएर मधुरो भएको छ । अब ती गाउँबाट प्रा.दैवज्ञराज न्यौपानेजस्ता भाइ बहिनीहरू जन्मिने सम्भावना होला कि नहोला ! जे होस् इतिहासमा दैवज्ञ दाइ पारिवारिक सुसंस्कारले सिञ्चित गोगनेको पूफल हो, जसको प्राज्ञिक, साहित्यिक तथा सामाजिक सुवास सर्वत्र व्यापक रूपमा पैफलिएको र पैफलिरहने छ ।

धरान–१४, नारायणपुर

सुललित पद्यरचना र सुकोमल गीतका धनी तथा बालसाहित्यका स्रष्टाका रूपमा उनको योगदान नेपाली जगतमा प्रसिद्ध छ।

कृष्णप्रसाद पराजुली (दैवज्ञ : पद्यध्वनि, २०६६)