कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञजीलाई सम्झँदा

ध्रुव सापकोटा

तीसको दशकको कुरा हो । एउटा हल्ला चल्यो — दैवज्ञराज न्यौपाने भोलिका माधव घिमिरे हुन् । यो हल्लाको स्रोतको बारेमा म अहिले यकिन भन्न सक्तिनँ । कुनै समारोहमा राष्ट्रकवि माधव घिमिरेले आफ्नो उत्तराधिकारी घोषणा गर्नुभएको थियो कि ? दैवज्ञजी त्यतिखेर कविता लेख्नमा निकै सक्रिय हुनुहुन्थ्यो । छन्दमा कविता लेख्नुहुन्थ्यो । गोष्ठीहरूमा कविता पाठ गर्नुहुन्थ्यो । उहाँको कविताको गहिराइबाट प्रभावित भएर श्रोताहरूले उहाँलाई यो विशेषण दिएको हो कि ? जे होस् यस कथनले साहित्यिक वृत्तमा निकै तरङ्ग ल्यायो । त्यतिखेर साहित्यिक वृत्त साँघुरो थियो । अहिलेको जस्तो फराकिलो थिएन । न त अहिलेका जस्ता अखवारहरू नै थिए । मौखिक प्रचार भने राम्रै हुन्थ्यो । यो कथनको प्रभाव दैवज्ञजीमा राम्रै पर्‍यो । माधव घिमिरे गीत लेख्ने । दैवज्ञजीले पनि थुप्रै गीत लेख्नुभयो । उहाँका गीत रेकर्ड पनि भए । प्रसारित पनि भए । माधव घिमिरे बालकका लागि गीत, कविता लेख्ने । दैवज्ञजीले पनि बालकका लागि गीत, कविता लेख्नुभएको छ । उहाँका ती गीत र कविता पाठ्यक्रममा पनि समावेश गरिएका छन् । यसरी हेर्दा उहाँले माधव घिमिरेलाई पछ्याएको देखियो । साठीको दशकमा आइपुग्दा साहित्यिक वृत्त निकै फराकिलो भैसकेको थियो । दैवज्ञराज न्यौपाने पनि विश्वविद्यालयको प्राध्यापक भैसक्नुभएको थियो । उहाँले कविता लेख्ने समयमा र साठीको दशकमा निकै अन्तर आइसकेको थियो । भोलिको माधव घिमिरेको आफ्नै पहिचान बनिसकेको थियो । उहाँले कविता लेख्ने समयमा नै कविहरू दुई कित्तामा विभाजित भैसकेको थिए । छन्दमा कविता लेख्ने र गद्यमा कविता लेख्ने । गद्यमा कविता लेख्नेको प्रतिनिधित्व मोहन कोइरालाले लिइसक्नु भएको थियो । छन्दमा कविता लेख्नेलाई पुरातनपन्थी भन्न थालिएको थियो । यो कुराको जानकारी दैवज्ञराजजीलाई पर्याप्त थियो । छन्दबाट नै आधुनिकता दिन सकिन्छ, छन्दमा पनि आधुनिकता हुन्छ, यो विश्वास दैवज्ञराजजीमा थियो । छन्दमा नै रमाउनुभयो । मृत्युको केही समय अघिसम्म पनि छन्दमा नै कविता लेख्नुभयो । आफ्नो अडानबाट उहाँ विचलित हुनुभएन ।

विक्रम संवत् २०३० सालको म कुरा गरिरहेको छु । म बानेश्वरमा बस्न थालँे । त्यस समयमा उहाँ बबरमहलमा डेरामा बस्नुहुन्थ्यो । भिक्टर प्रधानको छेवैको घर । म उहाँको त्यो डेरामा धेरैपटक गएको छु । परशु प्रधानजीले नै मलाई उहाँको डेरामा लगेको हुनुपर्छ । पछि उहाँले पनि बानेश्वरमा नै घर बनाउनु भयो । अब भने नजिकको छिमेकी हुनुभयो । भेटघाट बाक्लै हुन थाल्यो । त्यतिखेर डा.धुव्रचन्द्र गौतम र म मिलेर कलिलो बाल अखबार निकाल्थ्यौँ । दैवज्ञराज न्यौपानेबाट हामीले त्यस अखबारका लागि रचनात्मक सहयोग पाएका थियौँ ।

मेरो अफिसमा एउटा कर्मचारी हुनुहुन्थ्यो । उहाँ छन्दमा कविता लेख्ने हप्तामा तीस चालिस पन्ना । दिँउसो अफिसमा कविता सुनाउने । केही हप्ता यसरी नै बित्यो । उहाँका कवितामा दैवज्ञराज न्यौपानेको पुरै प्रभाव देखेँ । केही दिन त मैले केही भनिनँ । पछि आफ्नो खसखस मेट्न सकिनँ । तपाईँ कवि दैवज्ञराज न्यौपानेलाई चिन्नुहुन्छ ? मैले प्रश्न गरेँ । म उहाँका घरमा गइरहन्छु । मलाई उहाँका कविता असाध्य मन पर्छन् उहाँले भन्नुभयो । तपाइँलाई कविता लेख्ने प्रेरणा कसले दियो ? मैले प्रश्न गरेँ । दैवज्ञराजजीले उहाँले भन्नुभयो ।

दैवज्ञराज न्यौपाने आपैँफमा सीमित रहने कवि होइन । अरूलाई पनि प्रेरित गर्ने कवि हो । यो सानो उदाहरण मैले यहाँ प्रस्तुत गरेको हो । त्यसो त नयाँ कुरा सिक्न आफू पनि पछि नपर्ने उहाँको बानी थियो । तिनताक डा.चूणामणि बन्धु नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य हुनुहुन्थ्यो । उहाँले बालसाहित्य सम्बन्धी सात दिने गोष्ठी गराउनु भयो । त्यस कार्यशाला गोष्ठीमा बालकथामा कलम चलाउने देशभरका लेखकहरू सहभागी थिए । दैवज्ञजी र म पनि त्यस गोष्ठीमा सहभागी थियौँ । त्यस गोष्ठीमा भारतकी प्रसिद्ध लेखिका मनोरमा जफा प्रमुख आकर्षक हुनुहुन्थ्यो । वालबालिकाका लागि उहाँले थुप्रै पुस्तक लेखिसक्नु भएको छ । उहाँ त्यस कार्यशाला गोष्ठीको प्रशिक्षक हुनुहुन्थ्यो । विशेषज्ञ भने हुन्छ । उहाँले आफ्नो अनुभव सुनाउनु भयो, ज्ञान बाँड्नुभयो । उहाँले हामी सबैसँग एक एक पुस्तक लेखाउनुभयो । दैवज्ञजी र मैले पनि पुस्तक लेख्यौँ । पुस्तकको कभर अन्तिम दिन प्रदर्शित गरियो । रानीबाट ती कभरको विमोचन पनि गरियो । पछि मेरो पुस्तक प्रकाशित भएन । दैवज्ञजीको पनि प्रकाशित भएन । म पाण्डुलिपि माग्न प्रज्ञा प्रतिष्ठानमा गएँ । मैले पाण्डुलिपि हराएको जवाफ पाएँ । दैवज्ञको पाण्डुलिपि के भयो ? पुस्तक अन्तैबाट नै उहाँले प्रकाशित गराउनु भयो कि ? यस विषयमा उहाँसग कहिल्यै कुरा भएन ।

उहाँ र म एउटा संस्थासँग आवद्ध थियौँ — छिन्नलता गुठी । परशु प्रधानको छिन्नलतासँग घनिष्ठता थियो । त्यस समयमा नेपालमा गीत—संगीत र गायन क्षेत्रमा योगदान दिने प्रतिभालाई पुरस्कृत गर्ने एउटा पनि गतिलो संस्था थिएन । परशुजीले छिन्नतालाई पुरस्कार स्थापना गर्ने सल्लाह दिनुभयो । छिन्नलता आपैँफ पनि गीत लेख्ने । उहाँलाई परशुजीको यो सल्लाह मन पर्‍यो । पुरस्कारको सञ्चालनको सम्पूर्ण जिम्मा परशुजीलाई दिनुभयो । परशुजी त्यस संस्थाको सचिव हुनुभयो । दैवज्ञजी र म सदस्य । वासुदेव त्रिपाठी, क्षेत्रप्रताप अधिकारी लगायत अरू सदस्यको छनोट पनि परशुजीले नै गर्नुभएको थियो । हामी संस्थापक सदस्य बन्यौ । हामीहरूको उद्देश्य स्पष्ट थियो — प्रतिभाको उचित कदर गन,े कुनै पनि गायक, संगीतकार र गीतकारले अपमानित हुन नपरोस् भन्ने । हामीसँग कुनै पूर्वाग्रह थिएन । प्रतिभालाई पुरस्कृत गर्नुअघि हामी बीच औपचारिक छलफल हुन्थे । परिणाम के भयो भने यो पुरस्कार प्राप्त गर्नेले गौरव र प्रतिष्ठाको अनुभव गर्ने वातावरण बन्यो । थोरै समयमा संस्थाले राम्रो चर्चा पायो । यसबीच परशु प्रधानको सरुवा विराटनगरमा भयो —क्षेत्रीय निर्देशकमा । यस गुठीको कार्यवाहक सचिव दैवज्ञराज न्यौपाने हुनुभयो । भीम विरागजी हेटौँडा बस्ने । उहाँलाई पुरस्कृत गर्नुपर्ने कुरा मैले दैवज्ञजीसँग राखेँ । दैवज्ञजीको पनि मेरो जस्तै विचार रहेछ । भीम विरागलाई पुरस्कृत गर्ने सबै वातावरण दैवज्ञजीले मिलाउनु भयो । अनौपचारिक रूपमा मैले भीम विरागलाई फोनबाट जानकारी दिएको थिएँ । औपचारिक निर्णय हुनुअघि यस्तो जानकारी दिने चलन छिन्नलता गुठीमा छ ।

पुरस्कार दिइने समारोहअघि हेटाँैडाबाट भीम विराग मेरो घरमा आउनु भयो । मैले यसको सूचना दैवज्ञजीलाई दिएँ । हामी दुवै जना दैवज्ञजीको घरमा गयौँ । चिया खायौँ । भीम विरागलाई त्यस दिन मन्तव्य दिन अनुरोध गर्‍यौँ । यो औपचारिक कुरा थियो । भीम विराग भने अत्यन्त नै खुशी हुनुभयो र आभार व्यक्त गर्नुभयो । हामीले चाहेजस्तो नै मन्तव्य समारोहमा दिनुभयो ।

कालान्तरमा दैवज्ञजीलाई पक्षाघात भयो । एउटा लेखक र प्राध्यापन पेसाको मान्छे । योभन्दा ठुलो चोट के हुन सक्छ ? उच्च रक्तचापको एलोपेथी ओखती खान छोडेर रामदेवको ओखतीमा भर परेको कारण यो अवस्था आयो । यस्तो हल्ला चल्यो । यो कुराको जिम्मा उहाँका परिवारलाई नै दिउँफ । एकदिन अन्तर्राष्ट्रिय भवन पछिल्तिरको सडकमा मैले दैवज्ञजीलाई भेटेँ, एउटा केटाले उहाँलाई साथ दिएको । दैवज्ञजीले मसँग कुरा गर्नु भयो । मैले केही पनि बुझिनँ । यो भन्दा दुःख लाग्दो कुरा के हुन सक्छ ? उहाँको परिवारले भारतमा पनि पुर्‍याएको खबर आयो । सबै किसिमको उपचार गराउँदा पनि दैवज्ञजी असमयमा नै जानुभयो । परिवारले उहाँका लागि गरेको सेवा सम्भँफदा शरीरका रौँ ठाडा हुन्छन् । त्यो दुःखलाई कर्तव्य ठाने र अन्तिम समयसम्म पनि आफ्नो प्रयत्न जारी राखे । कालको सामुन्नेमा सबै निरर्थक भयो । आर्यघाटमा हामी सबैको अभिव्यक्ति यस्तै थियो ।