कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

गोगनेमा कवि दैवज्ञलाई सम्झँदा

नरेन्द्रराज पौडेल

आधुनिक नेपाली कविताको छन्दोबद्ध प्रविधिलाई मनग्गे मलजल र बान्की दिने अब्बल स्रष्टा थिए– कवि दैवज्ञराज न्यौपाने । खास गरी छन्दोबद्ध कविता उनका प्रिय थिए । शृङ्गार र देशभक्तिको काव्यसाधना तथा गीतिसिर्जनाको क्षेत्रका जाँगरिला माली थिए । राष्ट्रियता, प्रकृति र सौन्दर्यचेतनाको दियो बालेर उनले थुप्रै कविता र गीत रचना गरेका छन् । नेपाली साहित्यका आशलाग्दा र भरिला अविराम सर्जक थिए उनी । राष्ट्रिय भावनाले ओतप्रोत गीत र रसिला कवितामा दन्दनाउँदो उनको कविव्यक्तित्व सुन्दर छवि लिएर सुनौलो आकृतिमा प्रदीप्त भइरहनेछ, नेपाली साहित्यजगत्मा चिरकालपर्यन्त चम्किँदै रहनेछ ।

दुई हजार एकाउन्न मङि्सरतिरको कुरो हो । आसन्न प्रवेशिका परीक्षालाई व्यवस्थित र मर्यादित बनाएर विद्यालयस्तरको पठनपाठनलाई स्वच्छता र स्तरीयता दिने अभियानमा थियौँ हामी । भोजपुर जिल्लाभरिका सबै परीक्षा केन्द्रहरूमा समान रूपले मर्यादापालन र शुद्धता कायम गर्नुपर्ने थियो । अरू कर्मचारीको मात्र भरविश्वासमा पर्दा कतै न कतै चुहिने प्वाल र चियाउने आँखीझयालको खाँचो हुन्नथ्यो । त्यसैले सबै परीक्षा केन्द्रहरूमा एक दुई दिनको पालो मिलाएर प्र.जि.अ.कै टिमले निरीक्षण र सुपरिवेक्षण गर्ने व्यवस्था मिलाएका थियौँ । यसै सिलसिलामा परीक्षा सुरु भएको दोस्रो दिन बिहानै प्रहरी र जनसम्पर्कको दलबलसहित भोजपुर बजारबाट सिधै पारि देखिने गोगने गाउँतिर लागेका थियौँ । म भोजपुरको प्रमुख जिल्ला अधिकारी छँदाको कुरो थियो यो ।

तल्लो बजारदेखि नै पैदल मार्चपास सुरु भयो । टक्सार बजार घाइते बूढो वाघभैँफ थला परेछ । एकाध भाँडापसल र खिच्रीमिच्री दोकानमा खुम्चिएको उजाड टक्सारलाई घरेलु शिल्पकला कार्यालय र हाइस्कूल लगायतका संस्थाहरूले थोरै भए पनि गति दिँदै रहेछन् । टक्सारको टारक्षेत्र नाघेर पिखुवातिर ओरालो लागेपछि भने साँच्चिकै थला परिनेरहेछ । अलिअलि नागबेली र धेरैजसो ठाडै बाटो पातला सल्ला र पिठौली ऐंसेलु धाइरोजस्ता पोथ्रापोथ्रीले यताउति छोपिएको र वनविनाशले बरबाद भएको खलपत्रे रातो पखेरो देखियो । बर्खे भेलले जथाभावी चिथोरेर, दर्पफर्‍याएरर छ्याकटे पारेको र कतै खोलखाल पारेर डन्डुर परेको पनि देखियो । कतै वर्षे भलले बढारेका दर्शनढुङ्गा गेँगर उरुङ लागेर थुप्रिदा हिँड्नै धौ धौ पर्ने । सधैँ मर्मतसम्भार हुन बाँकी नै रहेको अप्ठ्यारो ओरालो यताउता टेकेर बिस्तार बिस्तार पाइला सार्दै पिखुवा झरेका थियौँ । घोडा चढ्नै नमिल्ने ढुङ्ग्यान ओरालो बाटो पैदलै बल्लबल्ल पुछारसम्म छिचोलेका थियाँैं । डेढ घण्टाको दूरी रहेको. ठाढो ओरालो बल्लबल्ल दुई घण्टामा पार भएका थियौ ।

“जाँदा बाटैमा यो हालत छ, फर्किँदा के हालत होला ?” पिखुवाको झोलुङ्गे पुल तर्दै गर्दा भन्दै थिए डी.एस्.पी. विष्णुसुन्दरले । सिक्तेल र पिखुवा खोलाको दोभान पुग्दा त खुत्रुक्कै परिएछ पर्न पनि । दोभानको लघु जलविद्युत् केन्द्रले भोजपुर बजारलाई प्रकाश दिएको थियो । तर हिउँदमा पानी नपुग्ने र बर्खा लाग्यो कि घरिघरि बाढीले दुःख दिइरहने गर्दोरहेछ । दुईचार दिन लगाएर मर्मत गरेपछि बल्लतल्ल उज्यालो देख्न पाइने । त्यही विद्युत् गृहछेउको कार्यालयमा एकछिन सुस्ताएर चिया पान गर्‍यौँ । अनि आलीकान्ला उक्लँदै पुछारको नाँके डाँडाबाट गोगने गाउँतिर उँभो लाग्यौँ । यताको उकालो पारिको जस्तो खराव थिएन । तर जस्तै भए पनि उकालोमा उँभो लाग्नुपर्दा गोडा अल्छी मान्न थालेका थिए । तैपनि बीचबीचमा बाटैछेउ ससाना गाउँ पर्दा रहेछन् । पाहुना आए भन्दै घरघर पसेर मोही माग्दै खाँदै र उँभो लाग्दै गएथ्यौँ ।

गोगने गाउँको डिलैमा पुगेपछि एउटा घरको फलैँचा आवाद गर्दै बृद्ध घरधनीलाई मैले सोधेथेँ– कवि दैवज्ञराजको गाउँ यही हो ? मेरो प्रश्नले उनी त्यत्तिकै झसङ्ग भए । हातहतियार सहितका प्रहरी र सिभिल सुरक्षाकर्मीको ठुलै दलबलसहित थियौँ हामी । बहुदल उल्टाएर राजाले शासन हातमा लिएछन् कि भन्ने परेछ क्यार । हाम्रो सुरक्षा टोलीलाई गाउँ नै पक्राउ गरेर लैजान आएको ठानेछन् उनले । अँध्यारो अनुहार पारेर चिन्ताग्रस्त बनिरहे । नेपाल विद्यार्थी संघको संस्थापना भएदेखि नै पटकपटक जेल पर्दै आएका थिए रे दैवज्ञजी । बिसौँ वर्षअघिको त्यही कुरा सोचेर उनी डराएका रहेछन् । बिचरा गाउँघरका सोझा वृद्ध मान्छे, बन्दुक सहितका हाकिम पुलिस ग्वारग्वार्ती गाउँमा छिर्दा नडराऊन् पनि किन ? पछि हामीले सम्झाई बुझाई परीक्षाको निरीक्षणमा आएको स्पष्टोक्ति दिएपछि उनी अलि मत्थर त भए तर पत्याएनन् । जाबो एउटा परीक्षा चलाउन त्यत्रो दलबल किन आउनु पर्‍यो भन्ने उनको आसय रहेछ । हामीले पनि उनका सामु आफ्ना कुरा खुलस्त राख्यौं । यसै पालिदेखि प्रवेशिका परीक्षामा फिट्टो चोर्न नदिने र योग्यलाई मात्र पास गराउने उद्देश्यले आएको बतायौं । उनी पनि हो कि त भन्ठान्दै सामान्य मनोदशामा फर्किए । विद्यार्थी, शिक्षक, अभिभावक सबैतिर सामान्यजस्तै भैसकेको चोरीक्रिया एकाएक बन्द हुन्छ भन्नेमा विश्वस्त भएनन् । अँ अँ भनेर हाम्रा कुरामा सही मात्र थापिरहे । प्रत्येक वर्ष चोरीचकारी चल्दै आएको परीक्षापद्धतिमा एकाएक शुद्धता आउनेमा धर्मर मान्दै थिए । अनि हाम्रो सोधाइ अनुसार नै गाउँको हालखबर र पुराना कुरा उधार्न थाले । हामीले एकै छिन आराम लिएपछि अलि माथि पर्ने परीक्षा केन्द्रको निरीक्षण गरेर सम्पूर्ण विद्यार्थीलाई चीटविहीन बनायौं । अनि त्यसै घरको पिँडीमा आफ्नै केटाहरूलाई भान्छा तयार गर्न लगाएर अपराह्नको भोजन पनि भ्याएका थियौं । अनि त्यस दिनको परीक्षा समाप्त भएपछि विद्यार्थीहरूलाई आफ्नो अभियानको जानकारी गराउन र जाँच बिग्रिनेहरूलाई सम्झाई बुझाई गर्न केही समय अन्तरक्रिया समेत गरेका थियौं । कडाइ गरेकोमा कहीँ कसैबाट विरोध आएन । अनुशासन र भद्रताको नमुना देखाएका थिए विद्यार्थीले ।

ट्याम्के डाँडाको काखैमा बसेको दम्स्याइलो गाउँ रहेछ, गोगने । दुई तीन सय वर्षअघि दाप्चाबाट त्यता सरेका नेउपानेहरूको शिक्षादीक्षा र अरू हालहैकम पनि राम्रै हैसियतमा मौलाउँदै आएको रहेछ । वरिपरि नै सिमसार कुवा जरुवाहरू प्रशस्त भएको टारी खेत र उर्वर बारी सँगै भएकाले त्यो गाउँ बारै मास हरियालीपूर्ण हराभरा बन्दोरहेछ । ओल्लो पिखुवा र पल्लो सिक्तेल खोला बर्खे बाढीले मोटाएर जुवारी खेल्ने रहेछन् । गाउँको वरिपरि तलमाथि पोथ्रा बुटाहरूको राम्रै हरियाली रहेछ । गाउँभन्दा अलि माथि कटुस, चिलाउने, उत्तिस, फलेदो आदि रुखबिरुवाको बाक्लै जङ्गल देखिन्थ्यो । जङ्गलभित्रको उन्युघारी त झनै पटेर बाक्लो रहेछ । स्यालको कति बिगबिगी होला त त्यो गाउँमा ? यस्तै के के सोच्दो रहेँछु गाउँ हेर्दाहेर्दै म ।

पूर्व मोहडाको सधँै उज्यालो घमाइलो गाउँ कवि दैवज्ञराज न्यौपानेको बाल्यकाल बितेको रमाइलो ठाउँ रहेछ । छाँगाछहरामा उप्रिफँदै, अलिबेर सुस्त बग्दै अलिबेरपछि डन्डुर खोँचभित्र पस्दै सुसाउँदै सुसेल्दै गर्ने पिखुवा खोलो उनको बालमनमा गीतिमय संवेदना जगाउने ऊर्जा बन्यो होला । बर्खे घामपानी र चाडपर्वका रमिताहरू उनको मानसपटलमा सिर्जनाका आँकुरा उमार्ने उर्वर वीजाणु बने होलान् । पारिपट्टिको दलगाउँ, माथिको कटुञ्जे डाँडो, यता सुन्तलेको अग्लो लेकाली बस्ती, दिल्पा र बोखिमका हराभरा सुन्तलाघारी र सिमसारले उनलाई मिलीजुली श्रम र सीपमा रमाउने नेपालीपन चिनाए हुनन् । बाल्यकालको प्रारम्भिक शिक्षादीक्षा त्यही सुन्दर गाउँमा हासिल गरेछन् उनले । किशोर वयको थालनीसँगै माध्यमिक शिक्षाका लागि जिल्लार्कै दिङ्लाको षडानन्द पाठशालातिर लागेका थिए रे । अत्यन्त सुन्दर झर्झराउँदो उनको किशोर अनुहारले गोगनेदेखि दिङ्लासम्मको लामो उकाली ओराली धाउँदा निश्चय पनि धेरै पसिना बगायो होला । उनको बाल्यकाललाई अन्नपानी, हावा, घामजून दिएर हुर्काई बढाई गर्दै एउटा सफल कवि बनाउने त्यो गोगने गाउँलाई शतशत प्रणाम गर्दै अर्को परीक्षा केन्द्र निरीक्षण गर्न दिल्पातर्पफ लागेका थियौँ ।

लगत्तै अर्को दिन दिङ्लातर्पफ लागेका थियौँ । सुन्तले पुगेपछि झलक्क सम्झना भयो – कवि दैवज्ञको किशोरकाल यही बाटो ओहोरदोहोर गर्दैमा बित्यो होला । सुन्तले बजारसम्म मेजर साहेब पनि हामीलाई साथ दिन गएका थिए । बजारभन्दा अलि माथिको उच्च ठाउँबाट ह्लोत्स,े मकालु वरुण, कञ्चनजङ्घा लगायत हिमशृङ्खलाहरू नगिचै देखिने रहेछन् । तल हेर्दा अरुण नदीको नीलो प्रवाह फराक घाट र बगरमा एकनासले चलायमान देखिन्थ्यो । नगिचैको चारकोसे झाडी पनि कम आकर्षक थिएन । विभिन्न थरी चराचुरुङ्गी र पशुपक्षीको वासस्थान रहेको त्यो जङ्गल जति आकर्षक थियो त्यत्तिकै भयावह पनि । कवि दैवज्ञलाई यिनै शुभ्र हिमाल, कञ्चन निला नदी, बाक्ला वन, जङ्गलहरूले कविता–सिर्जनाको सुरुवातमा सघाए होलान् । सधँै सफासुग्घर, सुन्दर अनि विचारवान् बनिरहन सिकाए होलान्, अराए होलान् । यस्तै लाग्दै थियो कविलाई सम्झँदाखेरि । तर सुन्तलेबाट तिनतले नपुगेसम्मको बाक्लो जङ्गल भने असिनपसिन गर्दै दौडिएर पार हुन्थे होलान् । अहिलेसम्म त्यति बाक्लो बिहड लाग्ने जङ्गल झन्डै पाँच दशक अघि कस्तो खालको थियो होला ? अनि त्यहाँभित्र घण्टाभरको एकलासको बाटो हिँड्न कति डरमर्दो थियो होला ? यस्तै नाना थरी तर्कना गर्दै हामी पनि घोडा बड्काउँदै तिनतले बजार निस्किएका थियौँ । कविजीको सम्झना गर्दै काटेको त्यो जङ्गल र त्यो क्षण हिजोजस्तो लाग्दालाग्दै दुई दशक पो बित्न लागिसकेछ ।

श्रद्धेय कवि दैवज्ञराज न्यौपानेले यो संसारबाट बिदा लिएको पनि वर्ष दिन हुन लागेछ । कोमल, सरल व्यक्तित्व र मृदु स्वभावका ती महान् स्रष्टालाई शतशः श्रद्धाञ्जलि । अस्तु ।

सीपापोखरे– ८ सिन्धुपाल्चोक