कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञजीप्रति मेरा दुई शब्द

नवीनप्रकाशजङ्ग शाह

दैवज्ञजी एक असल व्यक्ति हुनुहुन्थ्यो । मैले वहाँलाई जुनबेलादेखि चिनँे वहाँको शालीनता, बौद्धिकता, शिष्टता, साहित्यिक एवं सुदर्शन व्यक्तित्वले मलाई सर्धै प्रभावित पारिरह्यो । भोजपुरदेखि काठमाडौंसम्म आइपुग्दा दैवज्ञजीले ज्ञान र अनुभव दुवैमा उच्चता हासिल गरिसक्नुभएको थियो । मिलनसार, सहयोगी र लेखनप्रति अगाध प्रेम वहाँका प्रमुख गुण थिए जसले गर्दा वहाँ सदैव सवैका प्रिय हुनुहुन्थ्यो ।

प्रजातन्त्रप्रति निष्ठावान् दैवज्ञजी मैले थाहा पाएसम्म विद्यार्थीकालदेखि नै राजनीतिक चेतना जगाउने कार्यमा सक्रिय रहनुभएको थियो । यसैको परिणामस्वरूप वि.सं. २०२१ सालतिर वहाँ करिब तीन महिना भोजपुरमा जेल समेत पर्नुभएको थियो । प्रजातान्त्रिक आदर्शप्रति निष्ठावान् दैवज्ञजी त्रिभुवन विश्वविद्यालयका एक कर्तव्यनिष्ठ प्राध्यापक हुनुहुन्थ्यो । वि.सं. २०२७ सालमा भक्तपुर कलेजबाट प्राध्यापन पेशा प्रारम्भ गर्नुभएका दैवज्ञजीले लामो समयसम्म पाटन संयुक्त क्याम्पसमा प्राध्यापन गर्नुभयो भने पछिल्लो समय वहाँ नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा कार्यरत रहनुभयो । विद्यार्थीहरूका माझ अत्यन्त लोकप्रिय दैवज्ञजीसँग अध्ययनका लागि विद्यार्थीहरू सदैव उत्सुक रहने गरेको मैले पाएको छु ।

दैवज्ञजी एक कुशल प्राध्यापक मात्र नभएर एक कुशल प्रशासक समेत हुनुहुन्थ्यो । वहाँले त्रिभुवन विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक क्षेत्रमा उल्लेख्य योगदान दिनुभएको थियो । पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक लेखनका साथसाथै सहायक क्याम्पस प्रमुख तथा क्याम्पस प्रमुख पदसमेत कुशलतापूर्वक सम्हालेर एक सफल प्रशासकको परिचय दिनुभएको थियो ।

मैले वहाँका कतिपय साहित्यिक रचनाहरूको अध्ययन गर्ने मौका पाएको थिएँ । वहाँमा प्रकृति, समाज, सामाजिक परम्परा, वालबालिकाप्रतिको स्नेह अगाध रूपमा रहेको मैले पाएको छु । वहाँका रचनाहरूमा यी तत्त्वहरू यत्रतत्र पाइन्छन् । बालगीत तथा बालकवितामा अधिक कलम चलाएका दैवज्ञजीका रचनाहरूले वालवालिकालाई नैतिकता, सदाचार, मान्यजनप्रति सम्मान, सामाजिक साँस्कृतिक परम्पराहरूप्रति आस्था जगाउने शिक्षा दिएका छन्, जुन कुनै पनि असल समाजको निर्माणका आधारस्तम्भ हुन् ।

विश्वविद्यालयको विभिन्न जिम्मेवारीमा छँदा मैले धेरैपटक दैवज्ञजीसँग साक्षात्कार गर्ने अवसर पाएको थिएँ । शालीन व्यक्तित्वका धनी वहाँको विनयशीलता र मधुर वाणी आजसम्म पनि मेरो मानसपटलमा ताजा नै छ । म ईश्वरसँग वहाँको अमर आत्माको चिरशान्तिको कामना गर्दछु ।