कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

भाइको सम्झनामा

नारायणप्रसाद न्यौपाने, झौखेल

झौखेल, भक्तपुर

प्राध्यापक दैवज्ञराज न्यौपाने कोमल कल्पनाका धनी कसैको आँखामा राखे पनि नबिझाउने प्रसिद्ध नेपाली उखान जस्तै थिए । जीवनको जस्तोसुकै कठोर क्षणमा पनि उनको अनुहारमा एउटा कहिल्यै नबिर्सने मुस्कान हुन्थ्यो । मुस्कान र अरूप्रति सद्भाव उनको बाहिरी चेहरामै देख्न सकिन्थ्यो । दैवज्ञ भाइ आज हामीलाई छोडेर अनन्तको यात्रामा निस्किसके । उनको अभाव मेरा लागि सबै वस्तुको अभाव जस्तो भइरहेको छ । उनको बोलीमा पनि अत्यन्त सरलता भेटिन्थ्यो । नेपाली साहित्यप्रतिको साधना र शिक्षाको क्षेत्रमा भाइ दैवज्ञराज न्यौपानेले पुर्‍याएको योगदानको बारेमा म विस्तृत चर्चा गर्न चाहन्न । त्यो समालोचनाको क्षेत्र मेरो हुँदा पनि होइन । न्यौपाने बन्धु समाजका लागि र न्यौपाने थरका मान्छे भन्ने बित्तिकै दैवज्ञ भाइ अत्यन्त सद्भाव राख्तथे । अब मलाई त्यति आदर र श्रद्धापूर्वक नारन दाइ भन्ने मान्छे कहाँ पाउँछु होला र ?

प्राध्यापक एवं साहित्यकार भाइ दैवज्ञराज न्यौपानेसँग मेरो प्रथम भेट काठमाण्डूको वानेश्वरमा वि.सं. २०३९ साल मंसिर १३ गते मर्निङ वाकको सिलसिलामा भएको थियो । त्यसबेला बिहानको सयरमा दैवज्ञ भाइसँग परशु प्रधान, वासुदेव त्रिपाठी र शिव सत्यालहरू पनि आउने गर्नुहुन्थ्यो । तर ती सबै विद्वान्हरूको बिचमा दैवज्ञ भाइको व्यक्तित्वको आकर्षणले सबैको ध्यान खिचेको हुन्थ्यो । त्यस दिनदेखि दैवज्ञ भाइसँग मेरो घनिष्ठता बढ्दै गयो । न्यौपाने बन्धु समाजको जन्मकालमा विशाल न्यौपाने वंशको मर्यादा र एकता वृद्धिमा पनि दैवज्ञ भाइको सिर्जनात्मक भूमिका थियो । उठबस बढ्दै जाँदा हाम्रो घनिष्ठता चरम सीमामा पुग्यो । मलाई जुनवेला पनि नारान दाइ भनेर श्रद्धा गर्दथे दैवज्ञ भाइ । त्यसको साथै जुनसुकै ठाउँमा साहित्यिक कार्यक्रम हुँदा पनि मलाई साथै लैजाने गर्दथे । साथै आपूफले प्रकाशित गरेको पुस्तक र पत्रपत्रिका पनि एउटा कपी मेरो नारन दाइलाई दिनुपर्छ भन्ने उनको मान्यता थियो । दुर्भाग्यवश दैवज्ञ भाइलाई कडा रोग लाग्यो । धेरै वर्षसम्म दैवज्ञ भाइको स्वास्थ्य राम्रो हुन सकेन । रोग र मृत्युसँग उनी धैर्य र मुस्कानको सहाराले लड्दै रहे । उनका भाइ दयाकृष्ण न्यौपानेले एक पटक दैवज्ञ दाइलाई उपचार गर्न दिल्ली लैजान खोज्दा मलाई पनि लैजान दयाकृष्णजीले जोड गर्नु भएको थियो । तर म घरायसी कारणले जान सकिन । केवल दैवज्ञ भाइको सुस्वास्थ्य र दीर्घायुको कामना गरेँ ।

दैवज्ञ भाइ र मेरो बिचमा जति घनिष्ठ सम्बन्ध भए पनि उनको जीवनको अन्तिम क्षणमा मैले उनलाई भेट्न समेत पाइन । एउटा नरमाइलो आकस्मिक घटनाले मेरो जीवनको त्यो उराठलाग्दो क्षण दैवज्ञ भाइको संझनामा मनमा अंकित भएर बसेको छ । एक पटक न्यौपाने बन्धु समाजको कार्यक्रम लिएर मलाई पश्चिमी जिल्लाहरूतर्पफ जानु पर्ने थियो । काठमाण्डूबाट मुग्लिन आइपुगेपछि मैले भाइ केदार न्यौपानेको फोनबाट दैवज्ञ भाइको स्वर्गारोहण भएको दुखद समाचार सुनेँ । म अचानक स्तब्ध भएँ । मुग्लिनबाटै न्यौपाने बन्धु समाजको कार्यक्रम स्थगित गरेर म पशुपति आर्यघाटमा आइपुग्न चाहन्थेँ । तर मुग्लिनबाट मेरो गाडी अलि अगाडि बढेपछि थाहा भयो कि काठमाण्डू जाने सबै सवारी साधनहरू पनि बन्दले बाटामै अलपत्र परेछन् । काठमाण्डू आउने अर्को कुनै उपाय मसँग थिएन । खल्लो मनले मुग्लिनको त्यस पहाडमुनि म दैवज्ञ भाइलाई मौन श्रद्धाञ्जली दिंदै रहें । तर दैवज्ञ भाइले हाम्रा बिच छोडेर गएका अमर प्रेरणाहरूले हामीलाई जीवनको कठोर बाटामा पनि विचलित नहुने धैर्य प्रदान गरेका छन् । म न्यौपाने बन्धु समाजको सहअध्यक्षको नाताले दैवज्ञ भाइको अमर आत्माको चिरशान्तिको कामना गर्दछु ।