आदरणीय दैवज्ञ : अनुकरणीय व्यक्तित्व
मानिस कुन हदसम्म नम्र र विवेकशील हुन सक्ने रहेछ भन्ने उदाहरण र पाठ मैंले आदरणीय कवि दैवज्ञराज न्यौपानेबाट सिकेको हुँ, भलै आफूले त्यो पालना गर्न नसके पनि। जस्तोसुकै परिस्थितिमा पनि आफूलाई अलिकति पनि विचलित देखाउन नचाहने र विकट परिस्थितिमा पनि मुसुक्क मुस्काएर सहजताको अनुभूति दिन सक्ने कमै मानिस मैले भेटेको छु जुन शक्ति उहाँमा थियो ।जिन्दगीमा जे छ त्यसैमा रम्न र रमाउन सक्नुपर्छ, उहाँ भन्ने गर्नुहुन्थ्यो ।व्यक्तिगत रूपमा जतिसुकै जटिल र अप्ठेरो परिस्थिति रहे।भए पनि यस पाटालाई कहिल्यै पनि गुनासाको रूपमा राखेर अरूलाई बोझ पार्न चाहनु भएन उहाँले ।उहाँमा भएका यस्ता जीवनोपयोगी बानी र जीवनलाई सकारात्मक दिशातर्फ लैजाने अरू अनन्त गुणहरू अनुसरण गर्न चाहेर पनि पछ्याउन सकिन ।
हामीले आ-आफूले अँगालेका भिन्नभिन्न पेसागत बाटाका कारणबाट जीवनका पछिल्ला दिनहरूमा त्यति नजिक भएर संगत गर्न नपाए पनि भर्खर गाउँबाट एस.एल.सी. उत्तीर्ण गरेर सुखद भविष्यको कल्पनासहित काठमाडौँमा आइ.ए. पढ्न आएको समय अर्थात् २०२६ सालदेखि नै मैले उहासँग संगत गर्ने मौका पाएको हुँ। भाग्यले एकपटक उहासँग एउटै डेरामा बस्ने मौका पनि जुरायो मलाई।म भर्खर गाउँबाट आएर मुस्किलले रात्रिको कलेजमा भर्ना लिएर कलेज जान थालेको र घरबाट टाढा हुँदाको नियास्रो, बोली र खाना दुबैको भोक मारिदिनु हुन्थ्यो कवि दैवज्ञराज र उहाँकी धर्मपत्नी रीताले।रीता भाउजूको सरल व्यवहार, मीठो बोली, झर्कोफर्को नगर्ने र रतिभर पनि नछुट्याउने बानीले गर्दा दुबैजना मेरा सम्मानका पात्र हुनुहुन्थ्यो। विद्यार्थी जीवनका सकसपूर्ण ती दिनहरूमा रीता भाउजूले पकाएको खाना खान पाउँदाको समयमा म कति मख्ख पर्थेँ अहिले भन्न सक्तिन । तर दैवको लीला यो सुन्दर जोडीको सुमधुर दाम्पत्य जीवन रीता भाउजूलाई लागेको कडा रोगका कारण असमयमै चटक्कै चुँडालिदिएपछिको अवस्थामा भने हाम्रो नियमित सम्पर्क साँच्चै भन्नु पर्दा सामाजिक कार्यक्रमहरूमा हुँदाको भेट र औपचारिकतामा सीमित हुन पुग्यो ।
जीवनका पछिल्ला दिनहरूमा नेपालको प्रशासनका केही जिम्मेवारीहरूमा रही काम गर्दा मैले कहिल्यै नचिनेका, नजानेका वा कहीँ कुनै सिन्काको साइनो पनि नभएका व्यक्तिले जबरजस्त हिसाबले काल्पनिक नाता गाँसेरै भए पनि हुने नहुने कतिपय कुरा गरी वा गराइदिन सिफारिस गर्नेको लर्को लाग्ने गरेको सन्दर्भमा उहाँ मात्र बहुतै कममध्येको त्यस्तो व्यक्ति हुनुहुन्छ न त आफ्नाका लागि वा परायाका लागि नै कुनै दिन कुनै कुराको लागि, न त भेटमै वा अन्य माध्यमबाट नै कुनै कुराको सिफारिस गर्नुभयो। नाताले भन्ने हो भने त उहाँ मेरा भान्जा हुनुहुन्थ्यो ।
औपचारिक नाता सम्बन्ध जे होस्, उमेरले उहाँभन्दा सानो भएकोले जीवनभर सधैँ मलाई माया गरेर गर्ने “भाइ भोजु !“ को सम्बोधनलाई अन्तिम समयसम्म निरन्तरता दिएर उहाँले मप्रति धेरै न्याय गरेको अनुभूति मैले गरेको छु। औपचारिक नातालाई अनौपचारिक तहमै राखेर म पनि आदरपूर्वक उहाँलाई “दैवज्ञ दाइ” कै सम्बोधनले बोलाउँथे। सार्वजनिक जिम्मेवारीका नाटकीय वा नक्कली जिन्दगीबाट वशीभूत भएका मेरा कतिपय कठिनतापूर्ण दिनहरूमा उहाँबाट पाउने यस्तो आत्मीय सम्बोधनले शीतलता दिएको मैले अनुभव गरेको छु ।
उहाँका जीवनका अन्तिम दिनहरू निकै कष्टकर रूपमा बितेका कुरा मैले आफन्त तथा पत्रपत्रिकाबाट थाहा पाएर पनि ती दिनमा कहिले मुलुक बाहिर कहिले संविधानसभाको निर्वाचन गराउनुपर्ने जस्ता कार्यमा अधिकांश समय अत्यन्तै व्यस्ततामा रहनु परेकाले भेटघाट गर्ने चाँजोपाँजो मिलाउन सकिन। त्यस बखतको मुलुक बाहिरको बसाइले गर्दा न त उहाँ दिवंगत भएको समयमा सशरीर उपस्थित भएर मेरो जीवन निर्माणमा लगाउनु भएको गुनका लागि कृतज्ञता जनाउन सकेँ न त शोक सन्तप्त परिवारप्रति समवेदना दिन सकेँ।
संझनारूपी यिनै केही शब्दहरूका माध्यमबाट उहाँप्रति शब्दश्रद्धा चढाउन पाएको यस अवसरलाई कुनै न कुनै स्वरूपमा भए पनि त्यो रिक्तता पूरा गर्ने मौकाका रूपमा लिएको छु। साहित्य, प्राध्यापन र समाजसेवाका क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानले उठेको कवि एवं प्राध्यापक दैवज्ञराज न्यौपानेको राष्ट्रिय व्यक्तित्वप्रति यस क्षणमा सगौरव संस्मरण गर्दै म श्रद्धा-सुमन समर्पण गर्दछु।साथै यस्ता आदरणीय व्यक्तित्वलाई स्मरण गर्ने मौका दिनुहुने सज्जनहरूप्रति साधुवाद अर्पण गर्दछु ।
२०६९ साउन ९
थापाथली, काठमाडौँ
Email : bhojrajpokharel@yahoo.com
Things will destroy, we will die,
But concept of poetic felling will never die.
सारा सांसारिक वस्तुहरू नष्ट हुँदै जान्छन्, हामी समस्त प्राणीहरूले पनि पार्थिव चोला परित्याग गर्दै जानुपर्छ, तर कविहरूको प्राज्ञिक प्रतिभाबाट प्रस्पुफटन भएको दिव्य अनुभव कहिले नष्ट भएर बिलाउँदैन, अमर भएरै रहन्छ ।
डा. हरिभक्त नेउपाने