कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

प्राध्यापक दैवज्ञ न्यौपानेसँग मेरो साइनो

प्रा.डा. माधव प्रसाद पोखरेल

प्राध्यापक दैवज्ञराज न्यौपानेलाई मैले पहिले छन्दमा राम्रो कविता लेख्ने र साहित्य गोष्ठीमा लय हालेर पढ्ने एकदम राम्रो आकर्षक अनुहार र जिउडाल भएका कविका रूपमा चिनेँ हुँला । कवि माधव घिमिरे न्यौपानेका कविता मन पराउँथे र प्रशंसा गरिरहन्थे । कवि न्यौपानेलाई पहिले मैले कविका रूपमा प्रत्यक्ष देखेँ कि पत्रिकामा छन्दमा राम्रा कविता लेख्ने कविका रूपमा चिनेँ, त्यो म भन्न सक्तिन । महा विद्यालय तहमा मैले बि.ए. मात्र नियमित विद्यार्थी भएर पढ्न पाएँ । मैले २०२८ सालमा नेपाली विषयमा एम.ए. पास गरेको हुँ । त्यति वेला एकै चोटि एमएको पहिलो र दोस्रो वर्षको जाँच दिन पाइन्थ्यो । म २०२८ सालको जाँच दिन २०२९ मा काठमाडौँ आएको थिएँ । धरानमा बसेर स्वाध्ययन गरेर पढेको हुँदा मलाई आफ्नो पढाइको गुणस्तरमा आत्मविश्वास नै थिएन । एक दिन कविराज न्यौपानेसँग नयाँ सडकमा हो कि रत्नपार्कमा भेट भयो । कविराजजी पनि एम.ए. दोस्रो वर्षको जाँच दिँदै रहेछन् । म पनि एमए जाँच दिन आएको कुरो सुनाएपछि उनले मलाई भने, ”हामी धेरै जना भेला भएर पढ्छौँ; तपाईँ पनि पुतली सडकको हाम्रो डेरामा आउनु होस् न !” म कविराजजीको डेरा खोज्दै पुतली सडकमा पुगेँ; डेरा दैवज्ञजीको रहेछ । दैवज्ञजीसँग झल्याकझुलुक भयो होला; भेट भएको भए, केही कुरा भएकै हुनुपर्छ ।

दैवज्ञजीका डेरामा कविराज न्यौपाने र केदार न्यौपाने त हुने नै भए, तर त्यहाँ सँगै पढ्न अच्युतरमण अधिकारी, बाबुराम दाहाल (पनि हो कि !), पुरुषोत्तम पोखरेल र अरू केही साथी भेला हुँदा रहेछन् र छलफल गरेर पढ्दा रहेछन् । अच्युतरमण अधिकारी, पुरुषोत्तम पोखरेल र टङ्क न्यौपाने म पिण्डेश्वर संस्कृत महा विद्यालयमा एक वर्ष पढ्दाका सहपाठी थिए । दैवज्ञजीका डेरामा भेला हुने साथीहरू चाहिँ पहिलो वर्षको पढाइ सिध्याइ सकेका हुनाले दोस्रो वर्षका जाँचको तयारी गरिरहेका थिए; म चाहिँ दुवै वर्षको तयारीमा थिएँ । भाषा विज्ञान मेरा लागि सबभन्दा अप्ठ्यारो विषय थियो; बुझेको बिर्सिहाल्ने, घोकेर नछिचोलिने ! मैले त्यहाँ पुराना प्रश्नपत्रहरू सारेँ हुँला । भाषा विज्ञान पहिलो वर्षमा थियो । दोस्रो वर्षका छलफलमा त म पनि सामेल भएँ । दैवज्ञजीका डेरामा ती साथीहरूको छलफलमा सामेल भएर मलाई धेरै आत्मविश्वास बढ्यो । कविराजजीलाई म सधैँ आत्मीय धन्यवाद दिई रहन कहिल्यै पनि बिर्सिन्न । जाँच दिने विद्यार्थीलाई आत्मविश्वासले धेरै ठुलो प्रतिरक्षा गर्छ । संयोग कस्तो भयो भने, केदारजीलाई २०६९ सालमा पिएच.डी.मा पार लगाउने एउटा सहजकर्ता म पनि भएँ ।

मैले काठमाडौँमा पहिलोपल्ट भेट्ता दैवज्ञजी भक्तपुर क्याम्पसमा पढाउनु हुन्थ्यो; पछि निकै वर्ष पाटन क्याम्पसमा पढाउनु भयो । उहाँ नेपाली केन्द्रीय विभाग, कीर्तिपुरमा पढाउन पुग्दा त म पनि धरानबाट एक वर्ष अगाडि नै त्यहीँ पढाउन पुगिसकेको थिएँ । २०५४ सालमा भाषा विज्ञान विभाग खुलेर म भाषा विज्ञान विभागमा सर्नुभन्दा अगाडिसम्म नेपाली केन्द्रीय विभागमा हामीले झन्डै १०/११ वर्ष सँगै पढायौँ । दैवज्ञजीलाई मैले पुतली सडकको डेरामै भेट्ता उहाँ मेरा ज्वाइँ भइसक्नु भएको मलाई थाहै थिएन; उहाँ कीर्तिपुर आएको धेरै पछि मात्र मैले त्यो थाहा पाएँ । डा.शिवप्रसाद पोखरेल मेरा १३ दिने ६ पुस्ते दाजु भएकाले दैवज्ञजी मेरा दाजुका ज्वाइँ हुनुहुँदो रहेछ । शिवप्रसाद दाजुका छोराछोरीमा मोहन, गीता, सुशीला (मेरी चेली हुन आउने काइली छोरी) र दिवाकरलाई मात्र त्यसभन्दा अगाडि म चिन्थेँ । दैवज्ञजीले बिहे गरेकी मेरी भतिजी रीतालाई त मैले चिनेकै थिइन । पछिसम्म पनि मैले राम्ररी चिन्न नपाई ती बितिन् । बरु उनको छोरो भूषणसँग चाहिँ जापानमा चिनजान भयो ।

दैवज्ञजीसँग मेरो आत्मीय चिनजान चाहिँ २०३६ सालमा पिएच.डी. गर्ने रनाहा लागेका वेलामा भएको हो । उहाँ शाकुन्तल महाकाव्यमा पिएच.डी. गर्ने सङ्कल्प लिएर सुरिनु भएको थियो; मैले नेपाली भाषाको बलाघात र अनुतान रोजेको थिएँ । मेरा गुरु डा.बल्लभमणि दाहाल पर्नुभएको थियो भने, दैवज्ञजीका गुरु डा.वासुदेव त्रिपाठी हुनुहुन्थ्यो । डा.दाहालको विशेष रुचि राजनीति भएकाले र थुप्रै मान्छेहरूसित भेटघाट र फोनको आदान प्रदान गरिरहनु पर्ने भएकाले अनि नेपालमा भनेजस्तो पुस्तकालय पनि नभएकाले भाषा विज्ञानको मेरो विषयको अनुसन्धान पुरा नहुने ठानेर मैले आफ्नो अनुसन्धान अघि बढाउन सकिरहेको थिइन; दैवज्ञजीले के कारणले कलम थन्क्याउनु भयो भनेर मैले उहाँलाई कहिल्यै पनि सोधिन । मैले चाहिँ डेक्कन कलेज (पुणें) गएर दुई वर्षमै पिएच.डी. सकेँ; उहाँको पिएच.डी. चाहिँ के भएर हो, अधुरै रह्यो ।

प्राध्यापक दैवज्ञ न्यौपानेका स्रष्टा र द्रष्टा गरी दुइटा व्यक्तित्व भए पनि उहाँको द्रष्टाभन्दा स्रष्टा व्यक्तित्व बढ्ता झयाङ्गिएको छ । स्रष्टा व्यक्तित्वमा उहाँको गद्यभन्दा पद्य फस्टाएको देखिन्छ । पद्यमा कविता र गीत दुइटैमा हात बसेको भए पनि गीतभन्दा कवितामा बढ्ता रुचि भएजस्तो झल्किन्छ, तर कवि दैवज्ञराज न्यौपानेले लेखेका सबै कविता पद्यमय र गाएरै सार्वजनिक गर्न लेखिएका हुनाले उहाँका कवितालाई पनि गेय वा गीतभन्दा धेरै अन्याय हुँदैन भन्ने मलाई लाग्छ ।

दैवज्ञजी कुनै महाकाव्यको धीरोदात्त नायक जस्तै राम्रो हुनुहुन्थ्यो; छन्दमा कविता लेख्न सिपालु हुनुहुन्थ्यो; कुरा गर्दा रसिक हुनुहुन्थ्यो । पछि मलाई ”श्वसुरजी” भनेर सम्बोधन गर्नुहुन्थ्यो; म ”ज्वाइँ साहेब” भनेर सम्बोधन गर्थेँ । एक दिन मैले नेपाली विभागमा भनेँ, ”वासुदेव त्रिपाठीको पछाडि विरोध गर्नेहरू पनि वासुदेव त्रिपाठी बोल्न थालेपछि चुप्प लाग्छन्, तर बालकृष्ण पोखरेल बोल्न लागेपछि वासुदेव त्रिपाठी पनि चुप्प लाग्छन् ।” दैवज्ञजीले भन्नु भयो, ”अनि हेमचन्द्र पोखरेल बोल्न लागेपछि बालकृष्ण पोखरेल पनि चुप्प लाग्छन् ।”

सानेपा, ललितपुर

तिमीहरूले कुनै व्यक्तिलाई नमस्कार गर्दा उसले हात उठाएर नमस्कार फर्काउँदैन, गजक्क पुफलेर टाउको मात्र हल्लाउँछ भने त्यो मानिस घमण्डले उन्मत्त भएको रहेछ भन्ने बुझनू । त्यस्तो मानिसलाई नमस्कार नगरे पनि हुन्छ । श्रद्धेय व्यक्तित्वले दुवै हात जोडेर नमस्कार फर्काउनु भनेको आफ्नो विनयशीलता प्रकट गर्नु हो । यदि कसैले त्यसो नगरी एक हातसम्म पनि उठाउँदैन भने त्यो जस्तो कृतघ्न व्यक्ति अरू कुनै हुन सक्दैन ।

दैवज्ञराज न्यौपाने