साँच्चिकै टुहुरा बनेका छौँ
दैहिक स्वरूपमा दीर्घजीवी बन्न नपाए पनि नेपाली साहित्य र बालसाहित्यमा अम्लान छाप छोडी अमरत्व अधिगत गर्न सक्षम बन्नु भएका तथा उक्त दुवै साहित्यमा सव्यसाचीको भूमिका स्थापित गर्न समर्थ हुनु भएका साहित्य सारथि दैवज्ञराज न्यौपानेसँग तत्कालीन राजकीय संस्कृत महाविद्यालयमा अध्ययनका प्रक्रममा चिनजान गर्ने सौभाग्य मिलेको थियो । उहाँको हँसिलो शुभ्र मुहार तथा मिजासिलो र मिलनसार स्वभाव अनि आपूफभन्दा सानालाई पनि सँधै स्नेही अभिभावक बनेर अभिपे्ररणाका सुरभिमय सुदृढ सहारा सदैव प्रदान गर्ने भएकाले विशेषतः उहाँभन्दा साना सबैका लागि उहाँ अभिभावक बन्नु भएको थियो तापनि मजस्ता सानैमा बुबा बित्नुभएकाले टुहुरो बन्न पुगेका बेसहारा व्यक्तिका लागि त उहाँ दयालु दैवले म जस्ताप्रति द्रवित भई पठाएको साच्चिकै अभिभावक हुनुहुन्थ्यो । यथार्थमा भन्ने हो भने हामीहरूको अध्ययन, आचरण र व्यवहारलाई उचित मार्गतिर उन्मुख गराउन तथा त्यसैमा अभिप्रेरित र अग्रसर पारिराख्न उहाँले असल अभिभावकको भूमिका वहन गर्नुभएको थियो । अहिले पनि उहाँको त्यही सुरुचिर, सौम्य, स्नेही, सुप्रसन्न र सौहार्दमय मुहारको साकार प्रतिकृति स्वच्छाकाशमा शशाङ्क झँै मेरो मानसपटलमा प्रतिविम्बित बनेर रहेको छ । यस किसिमको सुकृत व्यक्तित्वले गर्दा उहाँ शैक्षिक, साँस्कृतिक, सामाजिक क्षेत्रका क्रियाकलापमा जति तत्पर हुनुहुन्थ्यो त्यति नै स्वाध्ययन र साहित्य सिर्जनाका क्षेत्रमा पनि तल्लीन हुनुहुन्थ्यो । फलतः उहाँ नेपाली साहित्य र बाल साहित्यको मनोहर साहित्यिक उद्यान निर्माण गर्न समर्थ मात्र हुनु भएन उक्त क्षेत्रमा विविध विधाका बिरुवा हुर्काउन समेत समर्थ भई अभिभावकत्व अधिगत गर्न समेत सक्षम बन्नुभयो ।
यसप्रकार नेपाली साहित्यका बहुविध विधालाई सिर्जनाका सुन्दर फूलले सिँगार्ने बहुमुखी प्रतिभाका धनी दैवज्ञराज न्यौपानेले नेपाली बालसाहित्यका क्षेत्रमा विशेषतः बालप्रिय र बालमनोरम रचना दिन निकै सफलता हासिल गर्नुभयो । यसले उहाँलाई बालसाहित्यका भास्कर बनाएको छ र नेपाली बालसाहित्य सरोवरलाई विविध सरोज सुमनले ढकमक्क पार्ने उहाँको उल्लेखनीय योगदान रहेको छ ।साहित्य सृजनामा सरल साहित्य स्रष्टा दैवज्ञराजका विविध योगदानलाई समष्टिगत रूपमा पर्यावलोकन गर्दा के भन्न सकिन्छ भने उहाँको वैशिष्ठ्य नेपाली बालसाहित्यको सिर्जनामा उत्कृष्ट रह्यो र नेपाली बालबालिकाहरूलाई बालसाहित्यको माध्यमबाट नेपाली राष्ट्रियता, प्रकृति, समाज र संस्कृतिका साथै ज्ञानका विविध पक्ष, सामाजिक सभ्यता र स्वास्थ्य सम्बन्धी जानकारी दिन नितान्त सफल हुनुभयो । उहाँले बालबालिकाहरूको उमेर र मस्तिष्क सुहाउँदो लय अर्थात् मीठो भाषा सरल र आकर्षक शैलीमा रोचक तथा मनोरञ्जक विषयवस्तु प्रस्तुत गर्नुका साथै बालजिज्ञासा बालभावना र बाल अनुभूतिलाई बाल स्वभावकै माध्यमबाट मनोवैज्ञानिक पक्षको विकास गराई बालकहरूमा नैतिकता प्रदान गर्नु राष्ट्रियता, राष्ट्रभक्तिको भावना विस्तार गर्दै चरित्र निर्माणको उचित वातावरण तयार पार्नमा प्रशंसनीय भूमिका निर्वाह गर्नुभएको छ । यसरी नेपाली साहित्य र बालसाहित्यका क्षेत्रमा गुणात्मक रचना दिएर सिद्धहस्त साबित हुनुभएका न्यौपाने विषयवस्तुको राम्रो चयन, भाषाको शुद्धता, शैलीगत मिठास, सरस एवं बालसुलभ अभिव्यक्ति, सरल भाषाशैलीबाट नेपाली साहित्य र बालसाहित्यलाई सिँगार्ने सशक्त प्रतिभा ठहरिनु हुन्छ ।
नेपाली साहित्यको आधुनिक कालमा नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि आराधनारत दैवज्ञराज न्यौपाने नेपाली साहित्यमा नव–स्वच्छन्दतावादी साहित्यकारका रूपमा चिनिनुहुन्छ ।उहाँले आफ्नो साहित्यिक यात्रा कविता विधाबाट सुरु गर्नु भएको हो तापनि उहाँ नेपाली साहित्यमा गीत, कथा, निबन्ध समालोचना र बाल–साहित्यिक विधाहरूको आराधनामा समेत समर्पित हुनुहुन्छ । नेपाली साहित्य संसारमा उहाँको प्रथम प्रकाशित कविता उनीमा निम्तो (२०२०) हो । यस कविताको प्रकाशनभन्दा पूर्ववर्ती उहाँका रचनाहरू अभ्यासावस्थामा नै रहेका देखिन्छन् । सानै अवस्थामा पनि उहाँका साहित्यिक कृतिहरू पढ्न,े छन्दोमय कविताहरू गुनगुनाउने र स्वस्वर वाचन गर्ने, छन्दमा कविता रच्ने अभ्यास गर्ने, सुमधुर शब्दभण्डारको संकलन गर्ने, अनुप्रासयुक्त लिखित शब्दबाट वाक्यविन्यास गर्ने जस्ता कार्यमा निरन्तर अभिरुचि राख्नुहुन्थ्यो । उहाँको सान्निध्यमा रहँदा उहाँको त्यो स्वभाव निरन्तर कायम रहेको कुरा यो पंक्तिकारले पनि प्रत्यक्षतः अनुभव गरेको थियो । यिनै पूर्वाभ्यासको परिणति स्वरूप औपचारिक रूपमा उहाँले २०२० सालदेखि साहित्यसृजना र प्रकाशनमा सक्रियता थप्दै तदनन्तर बहुबिध पत्रपत्रिकाका माध्यमबाट पुफटकर रूपमा र विभिन्न प्रकाशनका माध्यमबाट पुस्तकाकार रूपमा विविध गीत, कविता, कथा, निबन्ध समालोचनाका साथै बालसाहित्यका कृतिहरू प्रकाशित गर्नु भयो । समग्र रूपमा दृष्टिगत गर्दा अहिलेसम्म उहाँका पुस्तककारका रूपमा प्रकाशनमा आएका कृतिहरू यस प्रकार छन् ः–
(क) सिर्जनाको लहर (गीति कविता संग्रह २०३५)
(ख) तोतेबोली बालकविता संग्रह २०३८
(ग) गाउँखाने कविता (बालकविता संग्रह २०४३)
(घ) हुने बिरुवाका चिल्ला पात (बाल व्यक्तित्वका जीवनी संग्रह २०४५)
(ङ) जोर मुरली (कवितासंग्रह २०४६)
(च) गुणराज उपाध्याय खनालका खण्डकाव्यहरूको मूल्याङ्कन (समालोचना २०४९)
(छ) बालसंसार (बालकविता संग्रह २०५३)
(ज) नेपाली नाट्यपरम्परा र भारती खरेलका नाटकहरू (समालोचना २०५४)
(झ) सबै हाम्रा साथी (बालकविता संग्रह २०५६)
(ञ) सम्झनाको धरातलबाट (खण्डकाव्य संग्रह २०६३)
(ट) घामले ढोका खोल्यो (बालकविता संग्रह २०६५)
(ठ) पोल्टाका गीतहरू (शिशुगीत संग्रह २०६६)
यिनका अतिरिक्त “बालपहेली, बालक उपयोगी पौराणिक कथा (भाग १ र २ ) र “सृजनात्मक बालकथा” नामक केही पुस्तकाकार बालकृतिहरू प्रकाशनको प्राङ्गणमा प्रतीक्षारत छन् । यसरी २०२० सालदेखि पाँच दशकसम्ममा प्रकाशित उहाँका कृतिहरूमध्ये पुस्तकाकारमा प्रकाशित कृतिहरूको मात्र गणना गर्दा जम्मा बाह्रवटा भइसकेका छन् । यी कृतिहरूलाई विषयवस्तुको छनोट, भाषाशैली, दृष्टिकेन्द्रिकता र बालमनोविज्ञानानुरूपिताका दृष्टिले पर्यालोकन गर्दा बालसाहित्य फाँटमा ठहरिएका सात बालसाहित्यिक कृति हुन्ः– (क) तोतेबोली (ख) गाउँखाने कविता (ग) हुने बिरुवाका चिल्ला पात (घ) बालसंसार (ङ) सबै हाम्रा साथी (च) घामले ढोका खोल्यो (छ) पोल्टाका गीतहरू ।
यसबाट स्पष्ट हुन्छ, उहाँले नेपाली बालसाहित्यमा राष्ट्रिय भावना निर्मल सांस्कृतिक चेत, सूक्ष्म नैतिक संचेतना र आदर्श व्यक्तित्वको अनुकरणीय वृत्तचित्र खिचेर विकास गर्न अतुलनीय योगदान गर्नु भएको छ । यसरी हेर्दा नेपाली साहित्य र नेपाली बालसाहित्यमा साहित्यकार न्यौपानेको योगदान उत्तिकै उच्चताको हाराहारीमा रहेको भए तापनि नेपाली बालसाहित्य नेपाली साहित्यका विभिन्न विधाका तुलनामा कमै विकसित विधा भएकाले उहाँको अभिरुचि, स्नेह, माया ममता, सृजन र समर्पण स्वभावतः बालसाहित्यिक विधामा बढी थियो । उहाँको अन्तःचक्षुबाट मात्र होइन, उहाँको हार्दिकता बुझने जोसुकैले पनि बालसाहित्यप्रतिको उहाँको यो सद्भाव, सौजन्य र सहानुभूतिलाई सदैव सराहना गर्नुपर्ने हुन्छ ।
यसरी नेपाली साहित्यमा राष्ट्रियता, प्रकृति, समाज, संास्कृतिक विविध आयामहरूलाई लालित्यमय सुकुमार भाषा र सुमधुर शैलीमा मुखरित पार्ने दैवज्ञराज न्यौपाने बालसाहित्यलाई असली माया गर्ने र त्यसैका विविध आयाममा ममतामय स्नेहिला हात दिएर हुर्काउने साहित्यकार हुनुहुन्छ । उहाँको बालसिाहत्यमा प्रवेश २०२२ सालमा “बालक” पत्रिकामा “इन्द्रेणी” नामक बालकविता प्रकाशित गरेर भएको हो । यसपछि बालसाहित्य सिर्जनाका फाँटमा उहाँका पुस्तकाकार र फुटकर गरी प्रशस्त कृति प्रकाशित भएका छन् । बालपाठ्यसामग्रीका रूपमा रहेका उहाँका “महेन्द्रमाला”, “सरल नेपाली शृङ्खला”, “अमर बालसाहित्य” “सगरमाथा”, “हाम्रो भाषा”का कृतिहरूका अतिरिक्त स्वतन्त्र बालसाहित्यका कृतिहरूमा माथि उल्लिखित सात कृतिहरू अमर रहेका छन् । यसै गरी फुटकर रूपमा विविध विधाका बालसहित्यिक रचनाहरू “बालक”, “मुना”, गोरखापत्र”, हाम्रो साथी”, “किशोर”, सुनकेस्रा”, “चिचिला” आदि पत्रपत्रिकाहरूका माध्यमबाट प्रकाशित छन् ।
बालसाहित्यकार न्यौपानेका पुस्तकाकार रूपमा प्रकाशित कृतिहरूमाथि दृष्टिगत गर्दा उहाँको प्रथमतः “तोतेबोली” (२०३८) नामक कवितासङ्ग्रहमा “माछोमाछो भ्यागुतो” जस्ता खेलजगत् सम्बन्धी, “दसैँ” जस्ता चाडपर्वसम्बन्धी “शहीदका कथा” जस्ता उपदेशसम्बन्धी, “महाकवि” जस्ता व्यक्तित्वसम्बन्धी, “हिमचुली” जस्ता स्थानसम्बन्धी, “कामधेनु” जस्ता पशुपन्छीसम्बन्धी, “राम्रो बानी” जस्ता बानीव्यवहारसम्बन्धी, “सुत न नानी सुत न” जस्ता लोकव्यवहार सम्बन्धी, “इन्द्रेणी” जस्ता प्रकृतिसम्बन्धी र “हामी नेपाली” जस्ता राष्ट्रियता सम्बन्धी ३६ वटा कविताहरूको सुन्दर अभिव्यक्ति पाइन्छ ।
उहाँको २०४३ सालमा प्रकाशित “गाउँखाने कविता” नामक कृतिचाहिँ हाम्रो बालसमाजमा रुचिकर गाउँखाने कथालाई कवितात्मक स्वरूप दिइएको रचना हो । यसमा गाई, भैँसी जस्ता प्राणीजगत्सँग, “चिठी” जस्ता वस्तु वा चीजवीजसँग, “घर” जस्ता बसोबाससँग, “फर्सी” जस्ता प्रकृतिसँग, “नौ” जस्ता अङ्क–अक्षरसँग र नाउँ जस्ता सामान्य अवधारणासँग सम्बन्धित ९२ वटा कवितात्मक अङ्हरूको प्रस्तुति भेटिन्छ । यसपछि बालसाहित्यकार न्यौपानेको बाल कविताविधाका साथै जीवनी विधाको २०५५ सालमा प्रकाशित “हुने बिरुवाका चिल्ला पात” नामक कृति भने पौराणिक ऐतिहासिक र आधुनिक कालका महिमाशाली व्यक्तित्वहरूको बाल्यकालीन जीवनीसँग सम्बन्धित प्रेरणादायी रचना हो । यसमा “अल्बर्ट आइन्स्टाईन” जस्ता एक वैज्ञानिक, “सिद्धार्थ” जस्ता तीन धार्मिक, षडानन्द जस्ता एक साधक, “नचिकेता” जस्ता तीन पौराणिक, अरनिको जस्ता पाँच ऐतिहासिक, रवीन्द्र जस्ता एक गरी सत्र जना व्यक्तित्वको जीवनवृत्तलाई कथात्मक ढाँचामा प्रेरणाप्रद किसिमले प्रस्तुत गरिएको छ । तदनन्तर २०५३ सालमा प्रकाशित उहाँको कृति “बालसंसार” चाहिँ बालकविता–सङ्ग्रह हो । यसमा “पुतली” जस्ता प्रकृतिपरक, “हाम्रो नेपाल” जस्ता राष्ट्रपरक, “घामचरी आई” जस्ता उपदेशपरक, “सरस्वती महिमा” जस्ता स्तुतिपरक गरी विविध लयात्मक २७ वटा मीठा बालकविता छन् । यस्तै कविता विधामा “सबै हाम्रा साथी” नामक अर्को उहाँको बालकविता सङ्ग्रह वि.सं.२०५६ मा प्रकाशित भएको छ । यसमा कवि न्यौपानेले बालबालिकाहरूका माझमा उनीहरूले मन पराउने खालका विषयवस्तुको चयन गरी “नौरङ्गी डाँफे” जस्ता पशुपन्छीसम्बन्धी नौवटा “मेरो सानो मुरली” जस्ता खेलसम्बन्धी पाँचवटा, “सधैँलाई राम्रो” जस्ता सामाजिकता सम्बन्धी दुईवटा “म त कोपिला हुँ” जस्ता प्रकृतिसम्बन्धी सातवटा, “आँखाभित्र नानी” जस्ता बानीव्यहोरा सम्बन्धी तीनवटा, “थाहा पाएँ मैले” जस्ता स्वास्थ्यसम्बन्धी एउटा र “सधँै छ राम्रो” जस्ता राष्ट्रियतासम्बन्धी गरी २८ वटा बालकविता प्रस्तुत गर्नुभएको छ ।
बालसाहित्यप्रति असाध्यै माया गर्ने र बालसाहित्यिक सिर्जनालाई न्यानो र पहारिलो घाम प्रदान गर्ने बालसाहित्यभास्कर दैवज्ञराज न्यौपानेका कोमल र स्निग्ध भावना बोकेका बालकविताहरू रहेका “घामले ढोका खोल्यो” नामक बालकविता सङ्ग्रह, २०६५ सालमा प्रकाशित भएको हो । डिमाइ आकारमा कवितानुसारी चित्रहरूले सजिएको यस कृतिमा बालजगत्, प्रकृतिजगत्, साँस्कृतिक, धार्मिक जगत् एवम् बालजिज्ञासा र प्रेरणासँग सम्बन्धित मीठा र मायालु लयका ५३ वटा बालकविता सङ्गालिएका छन् । बालबालिकाको सबभन्दा सुन्दर र रमाइलो समय शिशुकालको कलिलो अवस्थासँग सम्बन्धित अर्को कृति “पोल्टाका गीतहरू” हो । बाल ढुकढुकीलाई छुने र सर्जकलाई बालगीत सिर्जनामा अपार सन्तुष्टि दिने तथा पाठकलाई समेत शैशवकालीन संसारतिर सञ्चरण गराउने २९ वटा बालगीतको सङ्गालो रहेको यो सङ्ग्रह सबै उमेर समूहलाई लोभ्याउने र लोलाउने लयालु मधुरिमाले भरिएको शिशुगीतको नमुना हो । यथार्थतः नेपाली शिशुसाहित्यले साँच्चै खोजेको बान्की यस सङ्ग्रहका कविताहरूमा रहेको हुँदा यस सङ्ग्रहलाई नेपाली बालसाहित्यको सर्वोच्च प्रतिमान मान्न सकिन्छ ।
दैवज्ञराज न्यौपानेका बालसाहित्यिक सिर्जना र साधनाको विचरण गर्दा के प्रतीत हुन्छ भने उहाँका कृतिहरू कुसुमाकरका कुसुमझैँ प्रकृति र जीवनका सुमधुर सुकुमार पक्षलाई अभिव्यक्ति प्रदान गर्न अत्यन्तै समर्थ छन् । उहाँका माथि चर्चित बालसाहित्यिक रचनाहरू जति रसिला, सजिला र राम्रा पदहरूले कमनीय बनेका छन् उत्तिकै लयात्मकता, सङ्गीतात्मकता, माधुर्य र सौन्दर्य जस्ता गुणले भरिपूर्ण छन् । वस्तुतः उहाँका यी किृतहरू बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक, सांवेगिक र नैतिक विकासका साथै उनीहरूको चरित्र निर्माणका लागि ज्यादै उपलब्धिपूर्ण ठहिरन्छन् र नेपाली बालसाहित्यका सुरुचिकर सम्प्राप्ति सिद्ध हुन्छन् ।
अत्यमा नेपाली साहित्यका साथै नेपाली बालसाहित्यको बगैँचालाई सुरभिमय सुन्दर सिर्जनाका सुमनहरूले ढकमक्क पार्ने सतत साधनाशील साहित्यकार दैवज्ञराज न्यौपाने वर्तमानमा हामी माझ नरही यो संसारबाट बिदा हुनु भएकोमा हामी मर्माहत भएका छौँ र उहाँको अभावमा शून्यबोधको तीव्र अनुभूति गर्दै वर्तमान नेपाली साहित्य विशेषतः नेपाली बालसाहित्य र सधैँ सधैँ उहाँको स्नेहमय अभिभावकत्वमा हुर्केका हामी सबै साँच्चिकै टुहुरा बनेका छौँ ।