कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

मैले चिनेका दैवज्ञ दाइ : सबैका आदरणीय दाइ

प्रा.डा. शिवकुमार राई

प्रा.डा.शिवकुमार राई
सदस्य, राष्ट्रिय योजना आयोग

आजकल पूर्वको कर्णाली भनेर पनि सम्बोधन गरिने भूक्षेत्रमा पर्ने भोजपुर जिल्लाको उत्तरी भेक बोया गा.वि.स.–९ को सानो गाउँ पोपंलामा म जन्मेको हुँ । दाजु आ.ई. प्रेमकुमार राईले श्रद्धेय बाजे सु.काजीमान राईलाई राजा वीरेन्द्रको राज्याभिषेक हेर्दै भेटघाट गर्न बोलाउनु हुँदा बाजेसँगै २०३१ साल फागुनको पहिलो हप्ता म काठमाडौं छिरँे । २०३२ साउनबाट चिकित्सा शास्त्र अध्ययन संस्थानको महाराजगंज क्याम्पसमा प्रमाणपत्र तहको अध्ययन थालेपश्चात् नेपाली विषयको शिक्षकको रूपमा केदार न्यौपानेसँग परिचय भयो । प्राथमिक स्कूलदेखि नै साहित्य (कविता) मा रुचि राख्दै आएकोमा केदार सरको सौम्य उत्प्रेरणा र हौसलाबाट मभित्रको रुचिले झयाङ्गिने अवसर पायो जसको फलस्वरूप महाराजगंज क्याम्पसमा विभिन्न कविता गोष्ठी र नाटक महोत्सव (२०३७) मा सर्वश्रेष्ठ अभिनेता लगायतका विभिन्न दर्जनौँ पुरस्कारहरू प्राप्त गर्ने सौभाग्य पनि प्राप्त भयो । यसै क्रममा केदार सरसँगको घनिष्टताले डोर्‍याएर आदरणीय दाइ दैवज्ञराज न्यौपानेको नजिक पुर्‍यायो ।

जुनसुकै लवाइमा खुलेको देखिने भए तापनि दौरा सुरुवाल, कोट र ढाका टोपीमा विशेष खुलेको शालीन व्यक्तित्वको अगाडि केदार सरले साहित्यप्रतिको रुचि र सिकारु लेखनबारे प्रशंसापूर्ण बेलीविस्तारसँगै मेरो परिचय गराउनु हुँदा दैवज्ञ दाइले भन्नु भएको थियो– “दार्जिलिङ खर्साङमा शिवकुमार राई नामको ठुला साहित्यकार छन्, तिमी पनि शिवकुमार राई, त्यस्तै हुनुपर्छ ...।” यो कुरा दैवज्ञ दाजुकै घर (त्यसबेला एक ढलान मात्रैको) मा उहाँसँग पहिलो पल्ट नजिकको साक्षात्कारको बेलाको हो । दैवज्ञ दाइका यी शब्दहरूले साहित्यप्रति झयाङ्गिदै गएको मेरो रुचिमा प्रेरणाको थप मलजल प्राप्त भयो । यो २०३२ सालको उत्तरार्धतिरको कुरा थियो ।

दैवज्ञ दाइका उक्त शब्दहरूले प्रपुफल्ल मन भैरहेको क्षणमा रीता भाउजुबाट खाना खाने आमन्त्रण भयो । कुनामा दैवज्ञ दाइ, त्यसपछि केदार सर, अनि म लहरै बसेर खाना खायौँ । भाउजुले बनाउनु भएको खाना अत्यन्तै स्वादिलो त थियो नै त्यसमाथि दुई तीन थरीका अचार र अलिकति गाउँको घिउले स्वाद मनमोहक थियो । त्यो भन्दा अझ बढी त दैवज्ञ दाइको खुवाइ झनै स्वादिलो ! थालमा भातको सिता नछोडी (क्लिन) खाने बानी मलाई अत्यन्तै राम्रो लाग्यो । म पनि सानैदेखि खाने कुरा स्वाद मानेर खाएमा बनाएर दिनेलाई खुशी लाग्छ र खाँदा क्लिन खानुपर्छ, फाल्नु हुँदैन भन्ने मान्यता राख्थेँ भलै हाम्रो समाजमा जुठो पुरो कुकुर, कुखुरा, सुँगुर, बङ्गुरले खान्छ भन्ने मान्यता विद्यमान थियो, छ । खानापछि दैवज्ञ दाइले दुइटा कविता सुनाउनु भो र कविता महोत्सवको लागि लेख्न लाग्नुभा”को कविताको भाव पनि सुनाउनु भो । केदार सरले पनि एउटा कविता सुनाउनु भो, तर अहिले मलाई ती सबैको सम्झना भने छैन । अन्य कुराहरू पनि थुप्रै भए... । त्यसपछि म डेरा (नक्साल भगवती बहाल) तर्पफ लागेँ खेतैखेतको फाँटको बाटो भएर (त्यसबेला बानेश्वर क्षेत्रमा केही मात्रै घर र धेरै खेतैखेत थिए) ।

त्यसो त दैवज्ञ दाइलाई बाल साहित्य (कविता) का साहित्यकारको रूपमा चाँहि पहिला नै नचिनेको होइन । उहाँका बाल कविता रेडियो नेपालमा प्रसारण हुँदा सुन्ने गरिन्थ्यो नै । गोरखापत्र, मधुपर्क, रूपरेखा, रत्नश्री लगायतका साहित्यिक पत्रिकामार्पफत पनि उहाँका साहित्यिक कृतिको रसास्वादन गरिन्थ्यो नै । तथापि माथि उल्लेख गरिएको भेटपश्चात् दाइसँग भेट हुने क्रम बढ्दै गयो । “शिव तिम्रो कविता लेखनमा सरलता र तरलता दुबै छ, मिहिनेत गर्दै जाऊ, खर्साङको शिवकुमार राईलाई उछिन्छौ” भन्ने दाइका शब्दहरू दोहोरिइरहँदा म झनै उत्साहित हुन्थेँ र लेख्ने प्रयास गर्थेँ । यस अर्थमा माथि भनिएभैँफ मैले प्राप्त गरेका थुप्रै पुरस्कारहरूको पछाडि दैवज्ञ दाइबाट हरेक भेटमा प्राप्त प्रेरणा र हौसलाको उत्तिकै भूमिका थियो भन्दा नाजायज हुँदैन । यद्यपि पछिल्लो समयमा स्वास्थ्यविज्ञानको क्षेत्रलाई नै अध्ययन र अनुसन्धानको विषय बनाउनुपर्ने परिस्थितिले गर्दा साहित्यलाई सामान्य पठनमै सीमित राखी साहित्यिक लेखनमा सक्रियता अपनाउन नपाइएको कुराले पिरोलिरहन्छ ।

दाइले साहित्य क्षेत्रमा पुर्‍याउनु भएका योगदानको कदरस्वरूप प्राप्त गर्नु भएका सम्मान र पुरस्कारहरूले राम्रो कर्म गरे राम्रो फल पाइन्छ भन्ने भनाइ चरितार्थ भएझैँ लाग्थ्यो । म सधैँ दैवज्ञ दाइको व्यक्तित्व, शालीनता र अभिभावकीय व्यवहारबाट पे्ररित र उत्साहित भइरहन्थेँ । उहाँ आफ्ना दुबै भाइहरू (केदार सर र महेश्वर सर), छोरा छोरी, श्रीमती र भाइ बुहारीहरूप्रति अगाध माया र अभिभावकीय व्यवहार गर्नुहुन्थ्यो भने नातागोता र मजस्ता भाइहरूलाई पनि सदैव सोही स्तरको व्यवहार गर्नुहुन्थ्यो । सधँै पोजिटिभ एटिच्यूड राखेर हौसला दिइरहनुहुन्थ्यो । स्नातक र स्नातकोत्तर दुबै तहमा भारतको चण्डीगढस्थित पि.जि.आई.बाट फस्टक्लास फस्ट नतिजा लिएर आउँदा र तत्पश्चात् तदनुरूपको महेन्द्र विद्याभूषण प्राप्त गर्दा (भेट गर्न जाँदा) आफ्नो उज्यालो र शालीन मुहारमा एक विशिष्ट चमक छर्दै भन्नुहुन्थ्यो बधाई, स्याबास ! हामी भोजपुरेको अनि नेपालीकै शिर उच्च बनायौ, यसले तिम्रो जीवनमा ठुलो परिवर्तन ल्याउँछ ... । पछि जापानबाट पिएच्.डी. पनि गरेपछि र तदनुरूपको अर्को एउटा महेन्द्र विद्याभूषण प्राप्त गरेपछिको भेटमा माथिका शब्दहरूका अतिरिक्त भन्नुभएको शब्द थियो– भाइ शिव ! तिमीले त एउटा इतिहासै रच्यौ ...। नभन्दै स्वास्थ्य विज्ञानको क्षेत्रमा महेन्द्र विद्याभूषण क,ख,ग तीनवटै प्राप्त गर्ने हालसम्म अरू कोही रहेनछन् ।

समय बित्दै गयो । जीवनको यात्रा बढ्दै गयो । यस क्रममा दैवज्ञ दाइसँग धेरै पटक साक्षात्कार र भलाकुसारी गर्ने सुअवसर प्राप्त भै नै रह्यो । २०४१/४२ सालतिर केही समय केदार सरको घरमा पारिवारिक सदस्य, सरिता भाउजूको कागती अचारे देवर, नै भएर बस्दा त उहाँसँग झनै भेट भइरह्यो । तर यस्ता साक्षात्कार र भलाकुसारीको विषय सुखद मात्रै पनि रहेन, रीता भाउजुले सदाको लागि छोडेर जानु हुँदाको क्षण लगायतका अत्यन्तै वियोगान्त क्षणहरूको सामना गर्नु पर्ने अवस्था पनि आयो । जीवन भोगाइको नियति जीवनको उतार चढावका क्षणहरू पार गर्दै जाँदा दाइ स्वयंलाई “डाइविटिज” (चिनी रोग) ले बिस्तारै दुःख दिन थाल्यो । एकदिन दाइ र म हात्तीगौँडास्थित मञ्जरी मा.वि.को कार्यक्रममा अतिथिको रूपमा सँगै हुने अवसर पनि आयो । त्यहीँ चिनीरोग लगायतका भलाकुसारीसमेत गर्‍यौँ । पछि अस्पताल भर्ना हुनुभएको बेला हेर्न गइयो । पछिल्लो समयमा भने दाइको स्वास्थ्य स्थितिले गर्दा भलाकुसारी गर्ने स्थिति नै रहेन र अन्ततोगत्वा हामी सबै भाइ बैनीहरूलाई सदाका लागि छाडेर, अभिभावक विहीन बनाएर जानुभयो । तर उहाँका तोते बोली लगायतका बाल साहित्यिक कृति तथा अन्य सबै कृतिहरू र यस्तै अभिभावकत्वपूर्ण व्यवहारको सम्झनाले हामी र अबका तोते बोल्ने सन्ततिबीच उहाँ सदैव अमर बनिरहनुहुनेछ । यस परिप्रेक्ष्यमा उहाँको सम्झनामा भर्खरै स्थापित दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानमा सबैले सहभागिता जनाऔँ, सबैका आदरणीय दाइप्रति श्रद्धाञ्जलि अर्पण गरौँ, अमर बनाऔँ ।

drshibakrai@gmail.com