कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

श्रद्धाञ्जलि : दैवज्ञराज न्यौपानेमा

शिव रेग्मी

दैवज्ञराज न्यौपानेको सम्झना हुनासाथ मलाई चालीस वर्ष अघिको समय सम्झना आउँछ । नेपाली शिक्षा परिषद्ले सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदन बन्नुअघि आपूफले मनाउँदै आएको भानुजयन्ती, मोतीजयन्ती आदि कार्यक्रम दरवार हाई स्कूलको चोटा–कोठा वा गाँसिएका मजलिस घरमा गर्ने गर्थ्यो । गते र तिथि अनुसार मनाइने यी कार्यक्रममा उपस्थितिको निम्ति निम्ताको चलन थियो–थिएन थाहा छैन, तर अहिलेको जस्तो खाजाका पोका नबाँडिने भएकाले जो कोही जान पाउँथे ।

मैले सम्भेफ अनुसार २०२९ सालको मोतीजयन्तीमा पुगेको थिएँ, म पनि । त्यही कार्यक्रममा हो मैले पहिलो पल्ट देखेको दैवज्ञराज न्यौपानेलाई । उहाँको प्रवचन थियो, प्रवचन सुनेँ । गोरो, अग्लो, खाइलाग्दो जिउडालको उहाँले उभिएर बोल्न थाल्दा सभासदन शान्त र उत्सुक लाग्दथ्यो । राम्रो बोल्नुभयो । अरू कुरा सम्झन्न । यसरी उहाँलाई चिनेपछि उहाँका लेखरचना भेटेपिच्छे पढेको छु । लेखमा उहाँको कवि शिरोमणि लेखनाथ पौड्याल पहिले नै पढिसकेको थिएँ– मधुपर्क, २०२७ मा ।

त्यसैताक उहाँको अर्को लेख तरुण कवि मोतीराम (मधुपर्क, २०२९) पढेको सम्झन्छु । एक प्रकारले भन्नुपर्दा कुनै पनि कवि लेखकको लेख–रचना नचिनिकन पढेको भन्दा चिनेपछि पढेकोमा बढी सुखद अनुभूति हुँदोरहेछ । यही भयो मलाई दैवज्ञका समालोचनात्मक लेखहरूबाट ।

मोतीराम भट्टसम्बन्धी लेखमा उहाँले एक ठाउँमा लेख्नुभएको छ – सुनिन्छ, मोतीराम भट्ट बनारस बस्ता उनकी एउटी सहेली पनि थिइन् । तिनको नाम पार्वती थियो । उनी पनि मोतीराम भट्टजस्तै नेपाली भनेपछि मरिमेट्थिन् । भाषा र साहित्यको मात्र नभएर नेपाली मान्छे भन्नासाथ उनीहरूको खुब सेवा गर्थिन् । उनी काठमाडौंँ आएको भने सुनिँदैन । मोतीरामको मृत्युपछि पनि केही काल सेवाभावमै बिताएर पार्वतीले पछि एक भारतीयसँगै बिहे गरिन् । यो पनि मोतीरामको जीवनको एक घटना थियो (मधुपर्क, २०२९ भदौ) । यो तथ्यमाथि चालीस वर्षसम्म पनि कतैबाट कुनै प्रतिक्रिया, चर्चा आएको वा भएको मैले पढ्न पाएको छैन । अहिले त झन् कसरी आउला !

दैवज्ञराज न्यौपाने बाल साहित्यतिर पनि चर्चित र प्रशंसित हुनुहुन्थ्यो । गोरखापत्र संस्थानबाट प्रकाशित मुना बालपत्रिकाको “न्वारन” उहाँले नै गरिदिनु भएको हो । यसै गरी गोरखापत्रको १०० वर्ष पुगेको शतवार्षिकीमा संस्थानबाट एकसय वर्षका कविता उहाँकै प्रमुख संयोजकत्वमा प्रकाशित भएको हो ।

कविता भन्नु नै मानव जीवनको सबभन्दा मधुर मार्मिक अभिव्यक्ति हो । यो भाषिक कलाको सर्वप्रथम अभिव्यक्ति भएकाले यसभित्र जीवनका सबभन्दा बढी शाश्वत् जीवन मूल्यहरू रहेका हुन्छन् भन्ने धारणा उहाँको थियो ।

अन्त्यमा, दैवज्ञराज न्यौपानेले बेला–बेलामा लेखेर छपाउनु भएका उत्कृष्ट गद्य लेखहरूको सङ्ग्रह निकाल्नु आवश्यक देख्छु । भोलिका पुस्ताले उहाँलाई अझ बढी चिन्न सकून् र उहाँको गद्य लेखनको समुचित मूल्याङ्कन पनि होस् भन्ने चाहना राख्छु । दैवज्ञराज न्यौपानेप्रति हार्दिक श्रद्धाञ्जली !