कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

बद्री-केदारयात्रा : एक संस्मरण

सुधा न्यौपाने

नयाँ नयाँ ठाउँ घुम्ने हेर्ने रमाइलो गर्ने प्रचलन आधुनिक संसारमा पर्यटनको रूपमा चलेको पाइन्छ भने हाम्रो सनातन हिन्दू परम्परामा आफ्ना पिता माताको बाँचुञ्जेल सेवा गर्ने र दिवङ्गत भएपछि उहाँहरूको पुण्यप्राप्तिको लागि भारतका पवित्र तीर्थस्थलहरू जस्तै गया, काशी, हरिद्वार, बद्रीनाथ, केदारनाथ जस्ता स्थानहरूमा गई पवित्र मनले श्राद्ध गरी ब्राह्मणलाई यथोचित दक्षिणा दिई भोजन गराई तृप्त बनाउने प्रचलन रहिआएको छ । आधुनिक जमानामा घुमफिर गर्ने कामलाई पर्यटन उद्योगको रूपमा व्याख्या गरिन्छ भने त्यसबेलाको हिसाबले पनि धार्मिक पर्यटन उद्योग भन्न सकिन्छ । गाउँभरिका बूढापाकाहरू, मन मिल्ने मान्छेहरूका साथ आपूफले सकेको खाजा सामल बोकी बाटामा आपैँफले पकाएर खाँदै र रमणीय हरियाली स्थानहरूको दृश्यावलोकन गर्दै हिँड्दाको छुट्टै आनन्द मिल्थ्यो तर त्यतिखेरको यात्रा अलि समालिनसक्नुको र अनुभवी मानिस नहुँदा बहुतै कष्टपूर्ण हुने गर्दथ्यो । तर, आधुनिक समयमा भने बोकिनसक्ने बाधे कुम्लो बोक्न आवश्यक छैन । ठाउँ ठाउँमा होटल रेष्टुराँ पाइन्छन्, इच्छा भोजन गर्न पाइन्छ । त्यसैले आधुनिक धार्मिक पर्यटन त्यति कष्टकर हुँदैन ।

मुख्य प्रसङ्गतिर फर्कौँे – मेरा श्रीमान् दैवज्ञराज न्यौपाने २०६२ साल भाद्र १५ गतेदेखि उच्च रक्तचाप र मधुमेहको कारणले मस्तिष्क पक्षाघात भई बिरामी पर्नुभएको थियो । सुरुका दुई वर्षसम्म अर्थात् २०६४ भाद्रसम्म सामान्यै अवस्थामा हुनुहुन्थ्यो । २०६४ साल भाद्र महिनामा बद्री–केदार जाने इच्छा प्रकट गर्नुभयो । भाइहरू तथा परिवारका सबै सदस्य भएको बेलामा उहाँले प्रस्ताव राख्नुभयो– ल अब हामी सबै बद्री–केदार गई श्राद्ध गर्नुपर्छ, जाने चाँजो मिलाओ । हामी सबै एकछिन स्तब्ध भयौँ । सबैको मुखबाट एकैपटक जान सकिन्छ त ? भन्ने प्रश्न निस्क्यो । उहाँले सहजै जवाफ दिनु भयो– सकिन्छ । अझ पछि नसकिने पो हो कि ? त्यसपछि बद्री–केदार यात्राका लागि तयारी गर्न थालियो ।

२०५९ साल आश्विन २१ गते घटस्थापनाको दिन आमा उमादेवी न्यौपानेको निधन भयो । २०६० सालमा वार्षिक श्राद्ध पुराणादि धार्मिक कार्यक्रम सम्पन्न गरेपछि त्यसै बेला सल्लाह गरी २०६० को पौषे औँसीताका हामी गया श्राद्ध गर्न गएका थियौँ । त्यतिबेलाको यात्रा पनि अति रोमाञ्चकारी तथा अविस्मरणीय रहेको छ । हामी आफ्नै घरका तीन दाजुभाइका परिवार दैवज्ञ–सुधा, केदार–सरिता, महेश्वर–लक्ष्मी, हाम्रा अर्का देवर देवरानी राजन–मुनका (कान्छा हजुरबुबाका नाति–नातिनी बुहारी) गरी जम्मा आठ जना र हाम्री बूढी पुफपूका नाति र नातिनीबुहारी तोयराज–धर्मशीला नेपाल (जो मैले नाताले देवर–देवरानी नै भन्नुपर्छ) । कुल पराजुलीका श्रीमान्–श्रीमती, प्रा.डा.वासुदेव त्रिपाठीज्यूका श्रीमान्–श्रीमती, उहाँका बहिनी ज्वाइँ गरी सोह्र जनाको डफ्फा काठमाडौंबाट पुस एक गते प्रस्थान गरेका थियौँ ।

त्यतिखेरको प्रसङ्ग कोट्याउन किन पनि मन लाग्यो भने नेपालको लुम्बिनीमा करीव बत्तीस सय वर्ष अघि जन्मिएका सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको बोधगया जाने तारतम्य पनि हामीले गया श्राद्ध सकेर फर्कँदाको क्रममा मिलाएका थियौँ । बुद्ध धर्मका प्रतिपादक अहिंसाका पुजारी गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको रमणीय स्थल बोधगयाको सम्झना पनि अत्यन्त ताजा भएर रहेको छ । त्यसबेला नै बद्री–केदारको तीर्थयात्रा सँगै गर्ने सल्लाह भएको थियो डा.त्रिपाठी सरसँग । तर, उहाँहरू सायद २०६२–६३ तिर नै बद्री–केदारको यात्रा सकेर फर्किसक्नुभएको जानकारी हामीले पायौँ । त्यसपछि हामीले तीर्थयात्राको चाँजो मिलाएका थियौँ ।

अब फर्कौँ बद्री–केदार यात्राको प्रसङ्गतिर । हामी आफ्नै घरका छ जना छोराबुहारीहरू दैवज्ञ–सुधा, केदार–सरिता, महेश्वर–लक्ष्मी, राजन–मुनका, छोरी मनसा (सुपुत्री महेश्वर–लक्ष्मीे) र सरिताकी आमा मैँया भट्टराई गरी जम्मा दश जनाको टिम तयार भयो । लामो यात्राका लागि जाँदा धेरै जनाको डफ्फा जानुभन्दा सानो चटक्क परेको टिम जानु अति नै सुविधाजनक हुने कुरा पनि हामीले अनुभव गर्‍यौँ । तीर्थयात्रा प्रस्थान गर्नुअघि सबै जना हाम्रै घर गैरीगाउँमा बसेर बैठक गरेका थियौँ । यात्रामा एउटाको नेतृत्व आवश्यक पर्ने भएकोले केदार न्यौपाने टोली नेता र मनसा गौतमलाई उपनेता चुनेका थियौँ । पर्यटक बसमा दशओटा टिकट भैरहवाको लागि काट्यौँ, रिजर्भ गरेजस्तै । आवश्यकतानुसार खानपिन तथा शौचालयका लागि ओर्लन सकिने सल्लाह पहिले नै भएको थियो । बिरामीलाई सजिलैसँग भैरहवा पुर्‍यायौँ । राष्ट्र बैंकको गेष्टहाउस ज्वाइँ रामप्रसाद गौतम(मनसाका श्रीमान्) ले फोनबाट मिलाइसक्नु भएको थियो । आश्विन १२ गते सिद्धार्थ साहित्यिक परिषद्का अध्यक्ष डिल्लीराम भट्टराईको नेतृत्वमा सचिव देवी न्यौपाने, सदस्य विजयसागर श्रेष्ठ, सल्लाहकारहरू बुँद राना, मोदनाथ शास्त्री, बालकृष्ण भट्टराई, कपिल लामिछाने, डी.बी.पुन, वनमाली निराकारसहितका साहित्यकारहरूको जमघटले हाम्रो भैरहवाको बसाइ अत्यन्त रोमाञ्चकारी भयो । साहित्यकार तथा प्राध्यापक दैवज्ञराज न्यौपानेलाई आफ्नो क्षेत्रमा पाउँदा अत्यन्त खुसी भएर उहाँहरूले साहित्यिक कार्यक्रम राखी कविता–गजल–गीतमा भुफम्दा करिव २ घण्टा बितेको पत्तै भएन ।

आश्विन १३ गते भैरहवा बजार घुमी आवश्यक सरसामान किन्यौँ । १४ गते बिहान चियाचमेनापछि गोरखपुरको लागि टाटा सुमो रिजर्भ गरी प्रस्थान गर्‍यौँ । नेपालभित्र गाडी कुद्दा हरियालीको सट्टा उराठलाग्दा मैदानहरू, रमणीय दृश्य हेर्न खोज्दथे आँखाले भने । तर कहाँ पाउनु त्यस्तो ठाउँ झ् भारत प्रवेश गरेपछि सडकका दुवै किनारामा आँखाले हेर्न नभ्याउने ठुलठुला रुखहरू, अत्यन्त मनमोहक दृश्य जसलाई आँखाले छोड्नै खोज्दैनथे । यसरी तीन घण्टाको यात्रापछि गोरखपुर पुगी गोरखनाथको दर्शन गर्‍यौँ । मन्दिर छेउको रुखमा बसी एउटा ब्राह्मणद्वारा आफ्ना पितृलाई सम्झने काम राजन–मुनकाले गरे । त्यही दिन तिथि परेको थियो । नजिकैको होटेलमा गएर रोटी तरकारी खाई बेलुका ९ बजेको रेलको यात्रा प्रारम्भ भयो । काठमाडौंबाट करिव एक महिनाअघि टिकट रिजर्भ गरेको हुँदा एकएक ओटा Sleeper मा आरामदायी तरिकाले सुत्तै र बस्तै रातभरिको रेलको छक्छक्को आवाजसँग कहिले निद्रादेवीको काखमा लुट्पुटिँदै त कहिले आनन्ददायक रेलको छक्छक्को आवाजको मीठो अनुभूति गर्दै करिब १२–१३ घण्टाको यात्रा समाप्त भयो । दिनको १२ बजेतिर हरिद्वार रेल्वे स्टेशनमा ओर्लियौँ । बिरामी दाजुलाई समाएर हिफाजतसाथ हिँडाउने काम केदार न्यौपानेको थियो तापनि सबै भाइहरूको सहयोग रहन्थ्यो । लत्ताकपडाको झोलाको व्यवस्थापन गर्ने काम महेश्वर न्यौपानेको जिम्मामा रहेको थियो ।

हरिद्वार स्टेशनबाट अब कहाँ जाने ? एकछिन अलमल्ल पर्‍यौँ । भतिज कोषराज न्यौपानेले गरिबदासी धर्मशालाको ठेगाना र त्यहाँको व्यवस्थापन गर्ने एकजना नेपाली लोकनाथ सुवेदीको नाम र फोन उपलब्ध गराएका थिए । हामी सरासर त्यहाँ पुगी उहाँलाई भेट्यौँ । उहाँको स्नेहिल सहयोगमा सबैजना अट्ने ठुला कोठा, एट्याच बाथरुम र कोठाको नजिकै भान्सा समेत, सानो ग्याँस सिलिण्डर मुखमा आगो बल्ने, सजिलो भयो खाना पकाउन । भाँडाकुँडा खाद्य सामग्री सबै बटुलिए । एकैछिनमा खाना पकाई खाई सकेपछि १–२ घण्टा आराम गरेर लाग्यौँ गङ्गातिर । गङ्गामा साँझमा गरेको आरतीको दृश्य अत्यन्त रमणीय लाग्यो । जसलाई हरकी पौडी भनिदो रहेछ । त्यो दृश्यले हामीहरू सबैलाई रोमाञ्चकारी बनायो । हाम्रो देशमा हिमालबाट झरेका कयौँ पवित्र नदीनालाहरू छन् । पवित्र तीर्थस्थलका नजिकमा । खोइ हामीले विदेशी धार्मिक पर्यटकलाई त्यसरी आकर्षण गराउन सकेको ? यस्ता कुराहरू मनमा आए त्यतिखेर । झमक्क साँझ परेपछि आरती सकेर हामी आफ्नो वासस्थान धर्मशाला फर्कियौँ ।

भोलिपल्ट बिहान सबै श्राद्धका लागि लगेका सामग्रीहरू बोकी पुनः गङ्गाको कुशाघाटमा श्रद्धापूर्वक तीर्थश्राद्ध गर्‍यौँ, पुरोहित थिए आश्रमकै पण्डित ईश्वरी कँणेल । धर्मशालामा गई खानपिनको व्यवस्था गर्‍यौँ । हरिद्वारको अत्यन्त रमणीय पवित्र तीर्थस्थलमा तीन दिन बसेपछि १५ सिट भएको गाडी रिजर्भ गरी भाँडाकुडा खाद्य सामग्री गाडीमा हाली बद्रीनाथको यात्राका लागि प्रस्थान गर्‍यौँ । बद्रीनाथ यात्रा प्रस्थान गर्नुअघि मनसादेवीको दर्शनका खातिर उकालो लाग्यौँ । केवुलकार यात्रा रमाइलै भयो ।

जङ्गलै जङ्गलको मनमोहक यात्रा पहाडी भए पनि चिल्ला सडकहरू, निश्चिन्त भएर यात्रा गर्न सकिने स्थान खुबै रमाइलो लाग्यो उत्तराखण्डको बाटो । हरिया पहाड देख्ता नेपालकै सम्झना हुने । हाम्रा देशमा त्यस्तो राम्रो व्यवस्थापन खोइ कहिले हुन्छ ? हरिद्वारबाट करिव २ घण्टा हिँडेपछि ऋषिकेश पुगिँदो रहेछ । मुख्य–मुख्य मन्दिरको दर्शन गर्‍यौँ ऋषिकेशमा । पुनः आफ्नो गन्तव्यतिर लाग्यौँ । पहाडी, मनोहर बाटोले मनलाई आनन्दमय बनाएको हामी सबै तीर्थयात्रीले अनुभव गरिरहेका थियौँ । ठाउँठाउँमा पाइने फलपूफलहरू, अम्बा, केरा इत्यादि किन्दै खाँदै हिँड्दाको आनन्द बयान गरेर साध्य छैन । दिउँसो नास्ता र फलपूफल खाएर बेलुका जोशी मठ पुग्यौँ । खाद्यान्न र सिलिण्डर झिक्यौँ गाडीबाट । होटेलवालाले स्टोभ पनि दिएर ठुलो सहयोग गरे । खाना पकाई खाएर आरामसाथ सुत्यौँ ।

भोलिपल्ट बिहानै उठियो । ९ बजेभन्दा अघि गाडीको पास नपाइने हुनाले बद्रीनाथले हिउँदमा बास बस्ने नृसिंह मन्दिर र प्रथम शङ्कराचार्यको गद्दी दर्शन गरियो उत्साहका साथ । यात्राको क्रममा बाटामा कहीँ कतै फोहोर र प्लाष्टिकहरू छैनन् । प्लाष्टिक निषेधित क्षेत्र घोषित ठाउँ । मैले झल्झली काठमाडौंलाई सम्झिएँ । जताततै नदीभित्र र नदी किनारामा फालिएका काला प्लाष्टिक र फोहोरको डङ्गुरलाई सम्झिएँ । धिक्कार ! हामी बाँचेका । आपूफले गरेको फोहोरको व्यवस्थापन पनि ठिक ढङ्गले गर्न नसक्ने हामी निकम्मा नेपालीहरू । यस्तै कुरा मनमा आयो उत्तराखण्डको यात्राका क्रममा । बद्रीनाथ यात्राका क्रममा अलकानन्दा र भागीरथीको सङ्गम देवप्रयागमा स्नान, तर्पण १० बजे सकी नास्ता गर्‍यौँ । रुद्रप्रयाग, कर्णप्रयाग, नन्दप्रयाग इत्यादि प्रयागहरू गाडीबाटै दर्शन गर्दै हिँडियो । त्यस दिनको बास जोशी मठमा भयो ।

जोशीमठबाट करिब १० बजेतिर प्रस्थान गर्‍यौँ । भोलिपल्ट एकादशी तिथि सोह्रसरादको । त्यसैले त्यसदिन दिनभरि अन्न खाएनौँ । फलपूफल र चियापानी बाहेक । हामी करिव २ बजेतिर बद्रीनाथको गाडी पार्कमा पुग्यौँ । गाडीबाट ओर्लेर करिव आधा घण्टाको बाटो हिँडेर धर्मशाला पुग्यौँ । रु. ५०० मा कोठा बुकिङ्ग गर्‍यौँ । जुन उद्देश्यका निमित्त त्यत्रो लामो यात्रा पार गरेर हामी पुगेका थियौँ त्यस दिनको सुखानुभूति बयान गरेर साध्य छैन ।

प्रकृतिले कुनै पनि स्थानलाई वातावरणानुकूल बनाएको हुन्छ । हिमालमुनिको त्यस्तो चिसो स्थानमा तातोपानी आउने कुण्डहरू कस्तो अचम्म झ् हामी सबैजनाले तप्तकुण्डमा गएर नुहाउने काम गर्‍यौँ । पहिले उहाँलाई नुवाईधुवाई गराएर कपडा पेफराइसकेपछि मात्र मैले स्नानादि काम सम्पन्न गरेँ । पछि सबैजना बद्रीनाथ नजिकै रहेकी लक्ष्मीमाताको दर्शन गरी धर्मशालामा गएर खाना पकाउने काम गर्‍यौँ । खानपिनको काम सकेपछि गणेश गुफा, व्यास पोथी, सरस्वती गुफा र भीम पुलको दर्शन भयो । उक्त स्थानहरूको पैदल यात्रामा दैवज्ञराज न्यौपाने र सरिता न्यौपाने सहभागी हुनु भएन । अरू सबै हामी रमाइलो मान्दै हिड्यौँ । पछि दिन बदली भएर चिसोको अनुभूति पनि भयो । सोभन्दा पहिले आदिकेदारको दर्शन पनि हामीले गर्‍यौँ । केदारको दर्शन नगरी बद्रीको दर्शन गर्नु हुँदैन भन्ने मान्यतालाई हामीले अनुसरण गर्‍यौँ । पञ्चशिलाको महत्त्व रहेछ । एकैचोटि हामीले अवलोकन गर्‍यौँ ।

भोलिपल्ट बिहान उही तातोपानीको कुण्डमा गएर स्नानादि काम सम्पन्न गरेपछि श्राद्धका लागि लगेका सामग्री बोकी अलकानन्दा नदीको किनारतर्पफ लाग्यौँ । नदीको पवित्र जल शिरदेखि सबै जिउभरि सिञ्चन गरी यसैमा चित्त बुझायौँ । दैवज्ञराज न्यौपाने (जो विगत २ वर्षदेखि बिरामी हुनुहुन्थ्यो) लाई डोर्‍याउने काम खासगरी टोली नेता केदार न्यौपानेको थियो तथापि अन्य भाइका जस्तै महेश्वर र राजनका हातहरू पनि अघि सर्दथे । यसरी श्राद्धस्थलमा पुगेर त्यहीँको पण्डाले भनेभैँफ भातका पिण्डहरूलाई श्रद्धापूर्वक सम्झने काम गर्‍यौँ । बद्रीमा गरिने श्राद्धलाई ब्रह्मकपाली भनिन्छ । सो काम सम्पन्न गरेपछि हामी आफ्नो वासस्थान धर्मशालामा गई झोलाहरू बोकी बद्रीनाथलाई अन्तिम दर्शन गरी गाडी भएको स्थानतिर लाग्यौँ । त्यहाँ ठुलै बजार थियो । चियाचमेना गरी करिव १२ बजेतिर केदारनाथ यात्राका लागि प्रस्थान गर्‍यौँ । हिजोकै बाटो, साँघुरा सडक, बद्री–केदार गरिरहने अनुभवी ड्राइभर भएकाले हामी ढुक्क थियौँ । बेलुका नन्दप्रयागमा पुगेर बास बसियो । बाटामा पर्ने विष्णुप्रयाग, झोलीगङ्गा, अलकानन्दाको सङ्गम आदि स्थानको दृश्यावलोकन गर्दै नन्दप्रयाग पुगिएको थियो । बाटो विकट र कच्ची भएकाले पछाडि सिटमा बस्ने व्यक्तित्वहरूलाई साह्रै दुःखको अनुभूति भएको थियो । बास बसेपछि उही क्रम खाद्यसामग्री, सागसब्जी आदिको व्यवस्था गरी खाना पकाएर खाने काम सम्पन्न भयो । सधैँभरि एक छाक खाना खाने भएपछि सबैलाई खाना पाकुञ्जेलको पर्खाइ लामो भएको अनुभूति हुन्थ्यो । बस्ने होटेल राम्रै थियो । छोरी मनसाले र मैले आ–आफ्ना दुईजोर लुगा धोएर सुकायौँ । यात्रामा धेरै कपडा बोक्नु हुँदैन भन्ने मान्यताले काम गरेको थियो । सोनप्रयाग शिव र पार्वतीको विवाहस्थल मानिँदो रहेछ ।

भोलिपल्ट बिहान करिव ६ः३० बजे केदारनाथको यात्राका लागि प्रस्थान गर्‍यौँ । बद्रीनाथको बाटोभन्दा केदारनाथको बाटो धेरै रमणीय तथा हरियाली सडक पनि पिच भएका धेरै राम्रा । आनन्दको अनुभूति गर्दै करिव २ घण्टाको गाडीको यात्रापछि हामी गौरीकुण्ड पुग्यौँ । गौरीकुण्डमा तातोपानीमा स्नानादि कार्य सकेपछि तर्पण, दानदक्षिणा गरेपछि चियाचमेना गयौँ । High Altitude नलाग्ने औषधि देवरानी मुनकाले र मैले काठमाडौंबाटै लगेका थियौँ । सबैजनाले एक–एक चक्की खायौँ । बिरामीका लागि घोडा, मान्छे, पाल्की आदि सवारीका साधन थिए । बोक्ने मान्छेद्वारा नै यात्रा गर्दा सुरक्षित हुने सोची कालीकोट जिल्लाको २२ वर्षे नवजवान नेपाली भाइलाई बन्दोबस्त गर्‍यौँ । अरू सबै हिँड्नका लागि तयार भयौँ । मेरो करिव २ वर्षअघि गाडीले किचेर अप्रेसन गर्दा गोडामा दुई ओटा किला राखिएको थियो । ती किला मेरो गोडामा नै थिए । कहिले काहीँ हिँड्दा चस्चस् घोच्दथे । तापनि देवरानीहरू सरिता, लक्ष्मी र मुनकाका प्रेरणाले मैले हिँड्ने आँट गरेँ । करिव ९ बजे चियाचमेना गरी गौरीकुण्डबाट केदारनाथको लागि यात्रा आरम्भ भयो । हामीले हाम्रा लुगाफाटाहरू गाडीमा नै राखेर आवश्यक कपडाहरू मात्र बोकेका थियौ । गौरीकुण्डबाट करिव चौध किलोमिटरको यात्रा । बीचबीचमा चियाखाजा गर्दै लाग्यौँ उकालो । बाटामा पानी परी अलिअलि पुफसफुस हिउँ पनि बर्सन थाल्यो । पातला प्लाष्टिक पाइने रहेछ, सबैले लगायौँ । बिसाएको बेलामा सबैका आँखा बिरामीतिर तानिन्थे । अवस्था सामान्य नै थियो । उच्च रक्तचाप भएका बिरामीले High Altitude जानु हुँदैन भन्ने सामान्य ज्ञान हामी सबैमा थियो । तापनि सनातन सांस्कृतिक, धार्मिक महत्त्व बोकेका हामीले त्यस कुराको भन्दा बढी महत्त्व केदारनाथको दर्शनलाई दिएका थियौँ । यसरी हिँड्दै थकाइ मार्दै करिव ५ बजेतिर सेता हिमालमुनि आनन्दसाथ बसेका केदारनाथ बाबाको मन्दिर निकटमा रहेको नेपाली धर्मशालामा बस्ने बन्दोबस्त भयो । नेपाली बाबासँग भलाकुसारी गर्दा उहाँका बाजे नै त्यहाँका पीठाधीश भएर बसेको रहस्य खुल्यो । नेपाली नै भएर पनि हामी नजिक भइसकेका थियौँ । अझ सामीप्यका लागि हामीले सोध्दा – नेपालमा पुर्खाको बस्ती भोजपुर भन्नुहुन्थ्यो बाले, कुन ठाउँ हो, थाहा भएन भनेपछि हामी धेरै खुशी भयौँ । हाम्रो घर पनि भोजपुरै हो भन्दा अझ नजिक भएको स्वाभाविक अनुभूति भयो ।

केदारनाथ पुगेपछि साँझमा धेरै चिसोको अनुभव भयो । एकएक जोर बाक्ला कपडा भने हामीले बोकेका थियौँ । सबैले लुगाकपडा लगाएपछि खानाको बन्दोबस्त गर्न हिड्यौँ । त्यस दिन हाम्रा साथमा भाँडाकुडा खाद्य सामग्री केही थिएनन् । खाना करिव ७ बजे हुने भएपछि भगवान् केदार बाबाको दर्शन गर्न हिँड्यौँ । बिरामीलाई समाएर हिँड्ने जिम्मा पाउनु भएका टोली नेताले समाउँदै बिस्तार बिस्तार हिडाउनु भयो । सहयोग गर्ने अन्य हातहरू पनि एकैचोटि अघि सरे । करिव १० मिनेटको बाटो हिँडेपछि हिमालमुनि पवित्रस्थलमा रहनु भएका शिवबाबाको दर्शन गर्‍यौँ । मन्दिर परिक्रमा गर्‍यौँ । बिस्तारै तल झर्दै सेता हिउँबाट आएको चिसो हावाको मन्द मन्द गतिमा ओर्लदै खाने स्थलमा पुग्यौँ । खाना खाएपछि उही नेपाली धर्मशाला । एकछिन अघि चिनजान भएर झोला राखेको भए पनि त्यसमा आत्मीयता गाँसिइसकेको थियो । मैलामैला ओढ्ने ओच्छ्याउने भए तापनि त्यस रातका लागि अमूल्य र बलिष्ट प्रतीत भएका थिए । लहरै ओछ्यान लगाएर सुत्यौँ, झोला सिरानीमा राखेर । भोलिपल्ट बिहान रेतकुण्डमा गयौँ । अत्यन्त कञ्चन पानी हात, गोडा र मुख धुने काम भयो । हातमा उभाएर छोरी मनसाले सबै बाआमा तथा हजुरआमालाई पानी खुवाउने काम गरिन् । त्यस कुण्डको पानी जिउँदै बा–आमालाई खुवाएमा स्वर्गमा पुग्न पाइन्छ रे भन्ने जनउक्ति रहेछ ।

पेफरि उकालो लाग्यौँ, केदारनाथ दर्शनका लागि । पूजा सामग्री सहित पूजा अर्चना गर्‍यौँ । चाँदीका त्रिशूल लगेका थियौँ, चढायौँ । यसपछि करिव ९–१० बजेतिर उही स्थान तथा गन्तव्यतर्फ अर्थात् गौरीकुण्डतिर फिर्तीयात्राका लागि प्रस्थान गर्‍यौँ । नेपालको चिसो पानी खाएको बलियो बाङ्गो केटो बिरामी बोकेर एकैछिनमा अलप भइहाल्थ्यो । कुद्न सक्ने एक जना राजन बाबु हुनुहुन्छ भेट्टाउँदै गएर भारी बिसाउन लगाउनु हुन्छ । बल्लबल्ल हामी भेट्छौँ, पेफरि उही क्रम । यसरी करिव ४ बजेतिर हामी गौरीकुण्ड पुग्यौँ । त्यहाँ गर्नुपर्ने काम हिजै गरिसकेको हुनाले गाडीमा गएर सरसामान राखी प्रस्थान गर्‍यौँ । सोनप्रयागमा पुगेर हाम्रो खाना पकाउने खाने दैनिकी पेफरि सुरु भयो । सोनप्रयागबाट हामी अर्को दिन रुद्रप्रयाग पुग्यौँ । खानपीनको लागि उही क्रम– सधैँजस्तो । केदारनाथ जाँदाआउँदाको थकाइको अनुभूति हामी सबैले गर्‍यौँ ।

पुनः ऋषिकेशका निम्ति यात्रा सुरु भयो । ऋषिकेशमा रहेका रमणीय स्थलहरू लक्ष्मणभुफला, रामभुफला, सीताराम आदि स्थानहरू छन् । विभिन्न देवीदेवताहरू अत्यन्त आकर्षक लाग्ने ऋषिकेशका मन्दिरहरू बयान गरेर साध्य छैन । ऋषिकेशलाई प्राचीन धार्मिक पर्यटकस्थलको रूपमा विकसित गर्न भारत सरकारले सकेको देख्ता मलाई नेपाल सरकारलाई धिक्कार्न मन लाग्छ । ऋषिकेशजस्ता धार्मिक पर्यटक स्थलहरू बनाउन सकिने सम्भावित क्षेत्र हाम्रो नेपालमा कति छन् कति झ् बराहक्षेत्र, जनकपुरधाम, देवघाटक्षेत्र, गोसाइँकुण्ड, मुक्तिनाथ क्षेत्र, स्वर्गद्वारी इत्यादि स्थानहरूलाई धार्मिक पर्यटकस्थलको रूपमा विकसित गर्न सकेको खण्डमा विदेशी मुद्रा प्रसस्त आर्जन हुन सक्ने थियो । यी सबै कुराहरू मनमा एकसाथ आए ।

ऋषिकेशको रमणीय प्राचीन, साँस्कृतिक, धार्मिक क्षेत्रको दर्शन गरिसकेपछि २ बजे हरिद्वार पुगियो । बिहानको खानाको टुङ्गो भएन । उही चियापानी र फलपूफल खाएर दिनभरको यात्रा सम्पन्न भएको थियो । बेलुका खाना पकाएर खाइयो । भोलि आमाको तिथिको श्राद्ध गर्नुपर्ने हुनाले बिहानै उठेर नुहाइधुवाइ गरियो । सबै श्राद्धका सामग्री तयार गरी हरिद्वार कुशाघाटमा श्राद्ध गर्न ८ बजे गइयो । ब्रह्मकपाली समेत गरेको हुनाले तीर्थमा पिण्ड दिनैपर्ने अनिवार्यता ठानेनौँ । पण्डा पनि खोजिएन । आपैँफले किताब पढेर श्राद्ध सम्पन्न भयो । दक्षिणा ब्राह्मणलाई दान गरियो । श्राद्धको कार्यक्रम सम्पन्न गरेर करिव ११ बजेतिर धर्मशाला पुगियो । त्यसैदिन पतञ्जली योगपीठ गइयो । विशाल विशाल भवन, ठुलो कम्पाउण्ड, योग गर्ने ठुलो ठाउँ । विशाल जडिबुटी लगाएका बगैँचाहरू । अत्यन्त चित्ताकर्षक ठाउँ ।

पतञ्जलीबाट फर्कँदा ज्वालापुर बजार त्यति ठुलो त होइन तैपनि कारोवार धेरै हुँदो रहेछ । हामी (मुनका र मैले) ले सुतीका धोती किन्यौँ । भोलिपल्ट देहरादून जाने चाँजो मिलाइयो । दिनभर देहरादून घुमेर सामान्य कपडा कुर्था सुरुवाल किनियो । बेलुका उही वासस्थान गरिबदासीय धर्मशाला फर्केर खानाको व्यवस्था गरियो । भोलिपल्ट दक्षेश्वर महादेव दर्शन गर्न कनखल पैदलै गयौँ । दैवज्ञराज न्यौपाने र सरिता न्यौपानेले जान इच्छा गर्नुभएन । दक्षेश्वर महादेवको मन्दिर अत्यन्त कलात्मक तथा सुन्दर स्थानमा शिव र सतीदेवी, दक्ष प्रजापतिसम्बन्धी महात्म्य दर्साउने चित्ताकर्षक मूर्तिहरू । लक्ष्मीनारायण, सीताराम परिवारका मन्दिर र मूर्तिहरू पनि स्वच्छ, सुन्दर र दर्शनीय रूपमा रहेका छन् । सतीकुण्ड र दक्षप्रजापतिको यज्ञकुण्ड आदि पनि निकै दर्शनीय लागे । प्रवेशद्वारमै अग्निकुण्डमा देह त्यागेकी सतीदेवीलाई महादेवले विह्वल हुँदै बोकेको मुद्राकोमूर्ति अत्यन्त हृदयविदारक देखियो ।

असङ्ख्य जनसङ्ख्या भएको विशाल भारतमा गरिबी नहुने कुरै भएन । मन्दिर परिसरमा यत्रतत्र गरिब माग्नेहरूको सङ्ख्या अनगिन्ती थियो । गरिबी निवारणका लागि कुनै पनि देशको सरकारले कार्ययोजना बनाएर गरिबी न्यूनीकरण गर्दै लैजानु पर्दछ । तीर्थयात्रीले २–४ पैसा दिएर यो समस्याको समाधान हुँदैन भन्ने अठोटका साथ हामीले पैसा छर्ने काम गरेनौँ । त्यस मन्दिरको परिसरबाट शान्त भाव लिएर पैदलै धर्मशालातर्पफ फर्कियौँ । खाना पकाएर खाएपछि दाजुलाई साथी बस्ने काम महेश्वर बाबुबाट भयो भने हामी सबै बजारतिर घुम्न गयौँ ।

त्यस दिन बेलुका ५ बजेको रेलको टिकट काटिएको हुनाले बजारबाट छिटै आई तयारीतिर लाग्यौँ । पूरै Sleeper को बुक गरिएको थियो । देहरादून–मुजफ्फरपुरको रेल चढ्नका लागि ४ बजे नै रेल्वे स्टेसन पुगियो । समयमै ५ः१० मा नै गाडी गुड्यो । गोरखपुरबाट हरिद्वारका लागि चढेको रेलको सुविधा भने फर्कँदा प्राप्त गर्न सकिएन । रेलमा यात्रुहरू खचाखच भएकाले सिङ्गै Sleeper किने तापनि ६ भागको एक भाग पनि उपभोग गर्न नपाई रात काट्न बाध्य भइयो । बिरामीलाई भने हिफाजतसाथ सुताउने प्रयास गरियो । रातभरिको छक्छक्को आवाज, आँखा जोड्न नपाई बिहान ९ बजे गोरखपुर पुगियो । गोरखपुरमा चियाचमेना गरी सुनौलीका लागि गाडीको बन्दोबस्त गरियो प्रतिव्यक्ति २०० का दरले ।

भैरहवा पुगेपछि तनहुँ लजमा बस्ने व्यवस्था भयो । केही महँगो भए पनि सुविधायुक्त नै लाग्यो । भोलिपल्ट काठमाडौं पुग्नुपर्ने दिन केही उत्साह, कौतुहल तथा खुशीले सबैजनाको अनुहारमा चमक देखिन्थ्यो । बिहान ४ः१० मा नै रिजर्भ गाडीमा यात्रा सुरु भयो । मलेखुमा चियाचमेना गरेपछि करिव १२ बजेतिर काठमाडौं पुगियो । पशुपतिनाथमा पूजाआजा र गङ्गाजल चढाएपछि मात्र घर आइयो ।

यसरी बिरामी दैवज्ञराज न्यौपानेको इच्छा आकाङ्क्षामा हामी दश जनाको टोलीले बद्रीनाथ, केदारनाथको यात्रा सम्पन्न गरेका थियौँ । त्यसबेला उहाँको दूरदर्शी अठोटलाई शिरोपर गरी यात्रा गरिहालेकाले हामीले यो पुण्यदायी यात्रा सम्पन्न गर्न सक्यौँ । यसका लागि हामी भगवान् बद्रीनाथप्रति कृतज्ञ हुनैपर्छ । यदि त्यस वेला आँट नगरेको भए उहाँको बद्री–केदारको दर्शन गर्ने र ब्रह्मकपालमा श्राद्ध गर्ने इच्छा अधुरै हुने रहेछ । त्यसपछि २०६५ सालमा उहाँ निकै बिरामी हुनुभयो । क्रमशः औषधिको दैनिक सेवन र फिजियोथेरापीका कारण स्वास्थ्यमा केही सुधार आएको थियो । स्वास्थ्योपचारका क्रममा २०६७ असारमा दिल्लीको Appollo Hospital लगियो पनि । ७ दिनसम्म Hospital भर्ना गरी त्यहाँका प्रसिद्ध डा.मुकुल वर्माले आफ्नै निगरानीमा राखी उपचार गर्नुभयो । Pressure का विभिन्न किसिमका औषधि र सुगरको लागि Insulin दिँदा राम्रो हुने सल्लाह दिनुभयो । यसै अनुरूप औषधि उपचार र फिजियोथेरापीलाई निरन्तर अगाडि बढाइएको थियो । यति हुँदाहुँदै पनि दैवको लीला कसैले टार्न सक्तैन भन्ने उक्ति चरितार्थ भयो ।

मेरो ३० वर्षे जागिरे जीवनको २०६८ पौष १ गते अवकाश हुने दिन थियो । जागिरमा रहुञ्जेल पनि कार्यालयको कामको बोझले मैले कुनै दिन बिदा लिएर उहाँको सेवा गर्ने अवसर पाउन सकिन । अब अवकाश प्राप्त जीवन सँगै बस्ने, सँगै खाने, निको हुँदै गएमा घुम्ने समेत इच्छा पालेकी थिएँ । अवकाशप्राप्त दिन निमोनियाको शङ्काले निजामती अस्पताल लगी उपचारको क्रममा अस्पतालै राखियो । २०६८ पुस २ गते शनिवार बिहानै Aspiration को कारणले अकल्पनीय ढङ्गले अकस्मात् अस्पतालमै उहाँको निधन भयो । परिसकेपछि जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न पनि मानिस बाध्य हुँदो रहेछ । एक्लै अस्पतालमा त्यत्रो बिपत पर्ला भन्ने कुरा मैले सोचेकी थिइन । जीवन यस्तै रहेछ, कर्कलाको पानी झ् यिनै शब्दका साथ उहाँको आत्माले शान्ति पाओस् भनी परमेश्वरसँग कामना गर्दै यो लेखलाई यहीँ अन्त्य गर्दछु ।

गैरीगाउँ, काठमाडौँ