दाइ दैवज्ञराज : मेरो सम्झनामा
म २०२१ साल वैशाखमा विद्या आर्जनको जिज्ञासालाई मनमा लिएर कविराज चन्द्रप्रसाद सापकोटाका साथ पूर्व ४ नम्बर भोजपुर जिल्ला अन्तर्गतको उत्तरी क्षेत्र दिङ्लामा पुग्नुभन्दा पहिले नै त्यहाँका स्थानीयवासीले मुखमा घोचो कोचेर दैवज्ञराज न्यौपानेलाई त्यहाँबाट लखेटका हुन् भन्ने अपुष्ट कुराहरू मैले कतै–कतैबाट सुनेको थिएँ । उहाँका भाइ श्री केदार न्यौपानेजीसित भने २०२२ तिर दिङ्लामा नै भेट भएको थियो । साथै एम.ए. को अन्तिम वर्षको परीक्षामा पनि सहयात्री बनेको थिएँ ।
कालान्तरमा म अध्ययनकै क्रममा दिङ्लाबाट २०२५ साल जेठ २७ गते ओखलढुङ्गाको बाटो हुँदै अन्य साथीहरू सहित काठमाडौं पुग्दा भने दैवज्ञ दाइसँग साक्षात्कार भएको हो । आचार्य तहमा पढ्ने विद्यार्थीहरूको वहिर्गमन र तल्लो तहका विद्यार्थीहरूको संस्कृत छात्रावासमा प्रवेशको क्रममा २०२५ साल पुस १ गते संयुक्त रूपमा खाना खाँदा दाइ दैवज्ञराज न्यौपानेले हामी दिङ्लाबाट आएका चार जनालाई लक्ष्य गर्दै– दिङ्लाबाट शिक्षाको ज्योति लिएर आएका भाइहरूको आकाङ्क्षा पूर्ण होओस्, यही मेरो शुभकामना छ भन्दै काव्यिक लयमा उत्साहप्रद कविता वाचन गर्नुभएको थियो । कविताका पूर्ण पङ्क्ति भने विस्मृतिमा पुगेछन् । दैवज्ञ दाइ आचार्य विभागमा गुरु जूननाथ पण्डितसित मीमांसा विषय पढ्नुहुन्थ्यो । २०२५ सालतिर दाइ शिवप्रसाद सत्यालका साथ–साथै नेपाली विषयमा एम.ए. पास गरेपछि उक्त दुई जनाका बीचको प्रतिष्पर्धा पनि स्मरणीय बनेको थियो ।
उहाँका प्रभावकारी पक्षलाई स्मरण गर्दा हँसिलो मुखमुद्रा, मृदुभाषी, मिठो अभिव्यक्ति कला, आकर्षक व्यक्तित्वका धनी, रम–झम किसिमको हास्य व्यङ्गात्मक पक्षको संयोजन नै स्मरणीय पक्ष बनेका छन् । एक दिनको घटना हो, रानीपोखरीको नैऋत्य कोणमा रहेको गणेश मन्दिरको छेउमा कथाकार रमेश विकलका साथ हिँड्दा–हिँड्दै स्थिरप्रसादजी ! उहाँलाई चिन्नु भएको छ ? ठ्याको स्वरमा भन्नुभयो– सिँगारी बाख्रो बनाउने व्यक्ति उहाँ नै हो, तर बाख्रो बनाउने भनेर बोको चाँहि नठान्नु होला है भन्ने हास्य व्यङ्ग्यात्मक भावना बहाउनु भएको थियो ।
त्यस्तै राष्ट्रकवि माधव घिमिरेलाई ठट्टैठट्टाको स्वरमा प्रा.डा.हेमाङ्गराज अधिकारीको विवाह बूढानीलकण्ठमा समाप्त भएपछि हामी १८–२० जना जन्तीहरूलाई खान दिएको टुसाको तर्कारीलाई आधार बनाउँदै सबै जन्तीका घाँटीमा बाँसको छड्के अड्कियोस् भनेर कविजीले के गर्न खोज्नुभएको हो ? जन्तीमा मात्र त्यो आपत आए त ठिकै होला, तर हजुरको नयाँ जुवाइँमा नै त्यो आपत परे के गर्ने ? भन्दै जन्तीले गर्ने ठट्यौलो मजा गर्नुभएको थियो । अझ अधिकारी सरको विवाहको क्रममा त मध्यस्थकर्तादेखि लिएर वैवाहिक परिस्थितिको संयोजन गरी तारतम्य मिलाउने अगुवाइ समेत उहाँबाट नै भएको थियो । नेपाली भाषा र साहित्य पढाउने शिक्षकहरू जन्तीमा गएका र त्यस क्रममा सबैका बीचको मनोरञ्जनको मेरुदण्ड नै त्यसबेला उहाँ नै बन्नुभएको थियो ।
नेपाली साहित्यमा प्रयोग हुने शृङ्गार रसमध्येकै विप्रलम्भ शृङ्गार रसको सरल, सरस उदाहरणको सफल स्रष्टा नै बन्नुभएको छ दैवज्ञ दाइ प्रियालाई सन्देश कवितामार्पफत् । डा.अधिकारीको २०३१ सालको पूर्वीय समालोचना सिद्धान्तमा सो कविताको उदाहरणसँगै प्रत्येक साहित्यानुरागीका मुख–मुखमा मुखरित बन्न सफल हुनुभएको छ उहाँ । नेपाली भाषा र साहित्यसम्बन्धी राष्ट्रिय, क्षेत्रीय जे जति गोष्ठीहरू भए, तिनीहरूका बीचमा बसेर विशेषज्ञको हैसियतले सिंहावलोकन गरी निःसृत संक्षिप्त सारलाई लयबद्ध गतिमा बहाउनु उहाँको मूल विशेषता नै देखिन्थ्यो । पद्मकन्या क्याम्पसमा भएको राष्ट्रिय गोष्ठी, विराटनगरमा भएको क्षेत्रीय गोष्ठी, नेपालगञ्जको गोष्ठी आदिमा उहाँले सार खिचेर त्यस किसिमका गोष्ठीको परिवेश र प्रयोजन एवं महत्त्वलाई लयबद्ध काव्यिक गतिमा नै झल्काइदिनुहुन्थ्यो ।
विद्यार्थी जीवनदेखि नै छन्दोबद्ध कविता रचनामा सिद्धहस्त दैवज्ञ दाइ पहिलो युवावर्ष मोती पुरस्कारबाट सम्मानित हुनुभएको हो । भोजपुर गोगनेको माझ किरातमा जन्मिएर विद्या आर्जनको खोजीमा दिङ्ला, दाङ, काठमाडौंलाई आफ्नो शैक्षिक जागरणको कर्मस्थल बनाउँदै त्रिभुवन विश्वविद्यालय सेवामा प्रवेश गरी प्राध्यापकको गरिमामय पदमा समेत पुग्नुभएका दाइ दैवज्ञराज न्यौपानेले आफ्ना जीवनयात्राका गौँडा गल्छेँडाहरूलाई पार गर्दै नेपाली भाषा र साहित्यको सेवा र श्रीवृद्धिमा नै समर्पण गर्नु भएको उहाँको जीवन गाथा अब अमर कृति र कीर्तिमा बाँकी छ । एउटै कौण्डिन्य गोत्रीय परिवेशभित्रका दैवज्ञ दाइका अमर आत्माले चिरशान्ति प्राप्त गरोस् । यही नै मेरो प्रार्थना छ । यिनै मेरा विसंगतिका वहेका शब्दसुमन नै उहाँप्रति हार्दिक श्रद्धाञ्जलि बनून् । अस्तु ।