कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

श्रद्धापुष्प : काका दैवज्ञलाई

कमला न्यौपाने

सुन्दर शान्त मुहार सफा पहिरन मिठो मधुरो वचन
गम्भीर शान्त स्वभाववाला रसिला स्पष्ट शब्द चयन
चालढालमा झलक महापुरुषको अग्लो गठिलो कद
घरमा परमा सफल अति भई पाएका उच्च पद ।

रिस–राग केही थिएन बानी सरस न झर्को–फर्को
देखिँदैन थियो दुःख प्रगतिमा शत्रु थिएन क्वै अर्को
सुखमा साथी दुःखमा साथी आँसु सबैका पुछ्ने
अप्ठ्यारामा परेका निम्ति हात सहयोगका मुछ्ने ।

विद्यार्थीहरूमा ममता त्यस्तै सन्ततिमा जो हुन्थ्यो
इष्टमित्र सखा शत्रु र मित्रमा जो समान देखिन्थ्यो
बाल कथा सुन्दर कविता गीतहरू मिष्ट साहित्य
सुन्दर ज्यान गम्भीर ज्ञान मानूँ सिङ्गै शरीर चैत्य ।

मातृधर्ती गोगने र राजधानी कर्मथलो भो
मानपदवी इज्जत सबले डेरा सिङ्गै ढाकिन गो
छोड्दा भोजपुर बालवयमा परिवार गाउँ तड्पनमा
त्याग्यौ प्राण समाप्त भो लीला देश सिङ्गै रोदनमा ।

वियोग सुम्प्यौ दुःखको बेला के अर्पूँ तिमीमा पूफल
मेरो दिलमा गढिरहेको दुःख र वेदनाको शूल
शब्दशब्दमा करुणा घोली श्रद्धापुष्प चढाएँ
तर्पण मेरो यही ठानिदेऊ यतिमै कलम बिसाएँ ।