कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

ज्योति दैवज्ञ हाम्रा

किशोरकुमार न्यौपाने

पूर्वी गावैं पहाडी अतिशय रसिलो धाइपा गोगनेका
काखैमा जन्मिएका कविवर हँसिला सौम्य दैवज्ञ हाम्रा
साना ठूला सबैमा सरल सहज भै रम्दिने प्रेमसाथ
वत्तीभैंफँ थ्यो उज्यालो वदन चहकिलो शब्द बन्थे मिठास

न्यौपाने वंशभित्रै हरवखत सबै भन्दथे वंश–दीप
त्यो भन्दा उच्चमा नै अझ यदि छ भने हुन्छ अर्पे सुयोग्य
मेधावी व्यक्ति ठूला अझ कवि दिलका दिव्यता गोगनेको
गर्नै पर्ने प्रशंसा जति जति गरियोस् साध्य नै छैन यस्को

चौतर्फी देशभित्रै स्वर लय सुरिलो मिष्ठ आवाज गर्दै
पढ्दाछन् त्यो किसानैसरि अझ कविता खूव आनन्द मान्दै
विद्यार्थीले सदा नै सुमधुर लयले गाउने गीत राम्रा
लालाबाला सबैका मन–मन रमिने मान्य दैवज्ञ हाम्रा

धर्तीका ज्योति जाग्दा अमर धन भए सत्य साहित्यकार
ताराभैंफ चम्किला छन् भुवन–गगनका स्नेहिला काव्यकार
डाँडा–पाखा सबैमा सुमधुर रवले गाउँछन् काव्य–गाथा
निस्वार्थी भावनाले सबसित रमिने ज्योति दैवज्ञ हाम्रा

यत्रो यो लोकभित्रै हरदिन रहँदा कीर्ति धेरै कमायौ
नेपाली भावनामा अविचलित ठुलो नाम राख्ने बनायौ
जाऊ स्वर्गै त्यहाँ झन् मधुर कविकला साथ होस् कीर्तिगाथा
हामी तिम्रो युगौं नै स्मरण अझ गरी गाउछौं प्रेमगाथा

न्यौपानेवंश–बत्ती चहक धपधपी दैवले नै निभायो
यस्तै साहित्यसेवी कविवर दिल नै स्वर्गवासी बनायो
थाम्नैलाई बिँडो यो नियतिकन छली आउनू दीप हाम्रा
अर्पें यी शब्दश्रद्धा गह–गह जल ली दिव्य दैवज्ञ हाम्रा ।

विराटनगर