कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

लाग्छ- दैवज्ञको नाम घामजस्तै उदाउँछ

डा. कृष्णप्रसाद भट्टराई

कुरा गर्ने मिठो शैली शब्द मिठा मनोहर
भाइ ! भन्दै कुरा गर्दा लाग्थ्यो दाजु सहोदर
सधैं बोल्ने मिठो सत्य, न बोल्ने नमिठो कहीँ
सम्झनाले छुनासाथै लाग्छ– बोल्छन् उनै यहीँ

मिठो रङ्ग, मिठो रूप भव्य आकृति सुन्दर
बोली, लोली दुवै मिठो भावना अझ सुन्दर
मिठा गीत, मिठा काव्य, मिठा छन् कविता पनि
कलामा कविता बुन्ने हो कलाकार हुन् उनी

उनी गद्य, उनी पद्य, उनी हुन् गीत गाइने
उनी शब्द, उनी अर्थ, पूर्ण सौन्दर्य पाइने
शिल्पी हुन् शील्प भै दिन्थे, कवि हुन् कविता हुने
मान्छेका भावना टिप्तै मान्छेकै दिलमा छुने

पोल्टाका गीतमा ऐले शिशु भै गुन्गुनाउँछन्
तन्नेरी सबका आफ्नै कविता ती सुनाउँछन्
दैवज्ञ दाजुको याद यसरी आज आउँछ
लाग्छ– दैवज्ञको नाम घाम जस्तै उदाउँछ

२०६९ श्रावण १९