दैवज्ञको सम्झना
हे दैवज्ञ ! थियौ हिजो तर छिटै छाडी गयौ के भयौ ?
साह्रै विज्ञ थियौ मिठास नभरी साहित्य लेख्दैनथ्यौ ।
तिम्रो त्यो हँसिलो मुहार अहिले गाह्रो पर्यो बिर्सन
मान्छे मात्र गयौ रह्यो तर यहाँ दैवज्ञको सम्झना ।
हाँस्दै छौ कृतिमा सधैँ अमर छौ साहित्य आकाशमा
यौटा शिष्ट मिजासिलो र रसिलो मीठा थियौ खासमा ।
हुर्कायौ यसरी भनौँ म कसरी ! आत्मीय यो भावना
हेर्दै छौ कि यतै रह्यो तर यहाँ दैवज्ञको सम्झना ।
के लेखौं कविता सिकाउनु तिमी खै छन्द बिग्रिन्छ कि !
के लेखौं ममता छँदैछ मनमा लाग्दैन बिर्सिन्छ कि !
के लेख्ने कविता अगाडि कविका हे दाजु अल्प्यौ कहाँ ?
छाडी आज गयौ छ है मनमहाँ दैवज्ञको सम्झना ।
जान्ने मानिसले अनित्य छ भनी संसार यो भन्दछन्
बुझने मानिसले शरीर सबको नासिन्छ यो भन्दछन् ।
साँच्चै सत्य यही विधान विधिको हो रै”छ संसारमा
मेरा यो मनमा रहन्छ रसिलो दैवज्ञको सम्झना
भन्थ्यौ हुन्छ किसान कर्मठ तिमी आपैंफँ थियौ कर्मठ
मान्छेका मनमा अटाउन तिमी सक्थ्यौ नराखी हठ
तिम्रा सङ्गतमा रहे जति जना रुन्छन् सबै नै यहाँ
भन्थेँ दाजु गयौ छँदैछ मनमा दैवज्ञको सम्झना
लेखौँ भाव हजार यो मनमहाँ हुन्छन् म लेखौँ कुन
पोखौँ भाव म के भनेर अहिले पोखेर नै सक्तिनँ
इच्छा तैपनि यो बढ्यो र अहिले लेखेँ पढे है त्यहाँ
बाँचुञ्जेल सधैँ हुनेछ मनमा दैवज्ञको सम्झना
तिम्रो भेट हुनेछ वा भइसक्यो ती देवकोटासँग
कस्ता छन् सुधपा र भानु अहिले भेट्यौ तिवारीसँग ?
चाँडै नै गर बात हर्षित हुँदै पौड्यालका साथमा
गाढा बन्दछ रे सदैव मनमा दैवज्ञको सम्झना ।