कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

सम्झे है सुरलोकबाट कवि हे !

मेदिनीनाथ सुवेदी

प्रातः कालिक कर्म ती सब सकी खोल्दै बसेथ्यौँ टिभी

लौ दैवज्ञ गए ! यही खबरले थर्क्यो मनैको जिमी

छाती ढक्क पुफल्यो, दुख्यो मुटु हरे, मस्तिष्क घुम्दै रह्यो

लाग्यो निष्ठुर दैव हा नियतिले दैवज्ञ दोस्ती गयो

नेपालीपनका पवित्र कविता साहित्यका सौरभ

हुन् विद्वद्वर संस्कृतज्ञ कवि यी यो राष्ट्रका गौरव

छुट्थ्यो आँत रसाउने सरसिलो साहित्यको माधुरी

घन्कन्थे तब एक जोर मुरली बिर्साउँदै बाँसु

गोरो वर्ण शरीर उच्च छरितो हिस्सी परेको मुख

देख्ता जो पनि लोभिने हृदयमा आनन्द लाग्ने सुख

स्रष्टा हो यस देशको असल यो व्यक्तित्व ठाने छ कि

राम्रो मानिस डाह पो हुन गयो त्यो दैवलाई कति

पक्षाघात भयो तथापि म उठी तङ्ग्रेर नै लेखँुला

सच्चा राष्ट्रिय चेत जागृत हुने साहित्य यो अर्पुँला

यस्तै चाह थिए हुनन् हृदयमा अस्वस्थताले ठग्यो,

बन्दै निष्ठुर दैवले प्रिय सखा दैवज्ञलाई लग्यो

हामी थ्यौँ अनमोल मित्र उहिले पढ्दा सँगै क्याम्पस

स्यूरी लाल गुराँस लौ रिबन नै चुँड्द्यौ भनेथ्यौँ नि त

त्यो ताजा स्मृति मेटिँदैन कहिल्यै आत्मीयता टुट्छ र

तिम्रो त्यो अनुहार योग्य कृति के बिर्सेर बिर्सिन्छ र ?

केही वर्ष अगाडि लम्जुङ पुगी गोष्ठी गरेका कुरा

एकै बास बसेर गीत–कविता साथै रमेका कुरा

ताजै भित्र छ चित्र यो हृदयमा झल्किन्छ टल्किन्छ है

आजै भो इतिहास भन्नु कसरी ? बल्झिन्छ अल्झिन्छ खै

छाडी बौद्धिक चेतना र रचना आफ्नै यही देशमा

बाँकी जे जति नै हुने त्यति लिँदै साहित्यकै भेषमा

मोती, भानु र लेख, भीम, समजी, श्री देवकोटातिर

त्यो दैवज्ञ गयो मिलौं कि त भनी साथै लिई सुस्वर

जानै पाइन भेट्न अन्तिम हुँदा अस्वस्थ आपैँफ थिएँ

यो यौटा स्मृतिरूप सानु कविता लेखेर ऐले दिएँ

आशीर्वाद दियौँ समग्र कविले दैवज्ञ पद्यध्वनि

खै श्रद्धाञ्जलि अर्पने र कसरी भन्दै म अड्किन्छु नि

त्यो आकस्मिक मृत्युको खबरले यो स्तब्ध भा”को मन

केही शान्ति गराउने मन गरी श्रद्धाञ्जली अर्पण

गर्ने नै छु म वर्षवर्ष दिनमा तिम्रो जयन्ती पनि

सम्झे है सुरलोकबाट कवि हे ! यो लम्जुङे मेदिनी ।

१ माघ २०६८

खुदी, लमजुङ

हालः मैत्रीनगर, कीर्तिपुर, काठमाडौं