कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक कविता

मूल खामो

रमेश खकुरेल

सम्झी सम्झी रोइरैछिन् दु:खी मातृभाषा

पापी काल आई लग्यो मेरो ठुलो आशा

छोरो थियो हेर्दा पनि कामदेवै जस्तो

जति हेर्‍यो उति अझ हेरिराखूँ जस्तो

मिठो वाणी नम्र बानी मोहनी नै लाग्ने !!

कवितामा माया पिर्ती देशभक्ति जाग्ने

हीरा कविहरूमाझ मानूँ कोहिनूर

झलमल ज्योति बल्थ्यो तम गरी दूर

मन थियो नौनीजस्तो पारदर्शी आँखा

मेची-काली गुञ्जाउने कति मिठो भाका !

यी नै सब गुण देखी दैवै लोभिए कि ?

दैवज्ञको गीत सुन्न उतै बोलाए कि ?

छोटो साथ भए पनि सम्झना छ लामो

हाम्रो भाषा-साहित्यको ढल्यो मूल खामो

सम्झी सम्झी रोइरैछिन् दु:खी मातृभाषा

पापी काल आई लग्यो मेरो ठुलो आशा।

२०६९ मार्ग २४

कमलपोखरी, काठमाडौँ