बत्ती बल्छ निरन्तर
न्यौपाने कुलमा जन्म्यौ गोगने गाउँका कवि
प्रसिद्ध नाम दैवज्ञ चम्कायौ देशमा छवि
विद्याध्ययनका लागि दिङ्ला दाङतिरै घुमी
आएर राजधानीमा पूर्णतामा पुग्यौ तिमी
पूर्णचन्द्र थियो रूप, बोली नौनी समानको
विचार अति नै स्वच्छ भव्य व्यक्तित्व शानको
विनम्र भावका खानी ठूला साना सबैसँग
मन्द मुस्कानको बोली रिस छैन कसैसँग
प्राध्यापन गर्यौ धेरै प्राध्यापक भई सदा
छात्रछात्राहरूमाझ प्रशंसा चल्छ सर्वदा
सानै उमेरमा राम्रो साहित्य सिर्जना गर्यौ
सम्मानपत्रले आफ्ना कोठा चोटा सबै भर्यौ
तिम्रा ती बाल साहित्य पढी बालक रम्दछन्
प्रीतिका कविता पढ्दै तन्नेरी जन मस्त छन्
तोते बोली मिठो बोल्छन् हाम्रा बालकले सदा
खोलेछन् घामले ढोका मुरली जोर घन्किँदा
संझनाशक्ति कस्तो हो भएन कत्ति अल्मल
काव्यसङ्ग्रह नै लेख्यौ “सम्झनाको धरातल”
पुराना ती सबै साथी संझदै पत्रकाव्यमा
संबोधन गर्यौ पैले स्नेही श्री विष्णुराजमा
थानेश्वर तथा टीका भन्दै दाजु रिसालमा
धेरै साथी अटेका छन् सानो त्यो पत्रकाव्यमा
आफ्ना सन्तानको माया मनमा धेर भै कन
जन्मियो एउटा राम्रो काव्य “चासो र चिन्तन”
रचना राष्ट्रवादी छन् राष्ट्रभक्त स्वयं हुँदा
प्रजातन्त्र थियो प्यारो आफू बालक नै छँदा
सेवा समाजको गर्ने माली साहित्यका तिमी
आबद्धता जहाँ हुन्थ्यो त्यहाँ हुन्थ्यो कहाँ कमी ! !
शरीर रूप लावण्य शिक्षा साहित्यका धनी
पक्षाघात कडा रोग लागी शरीर भो खुनी
उपचार भयो धेरै शैयामा समयै बित्यो
छैठौँ वर्ष हुँदा पूर्ण निठुरी कालले जित्यो
के तिम्रो स्वर्ग रित्तो भो छैनन् आदर्श मानव ?
हे ईश्वर ! तिमी ऐले भयौ निष्ठुर दानव ! !
आई सुटुक्क हे दैव ! लग्यौ टप्प टिपी कहाँ
लगी थपक्क राख्नू है नेपाली प्रिय गाउँमा
नेपाल स्वर्ग हो हाम्रो नेपाली छन् सबै यता
आफ्नो जन्मथलो राम्रो स्वर्गभन्दा कताकता
प्यारा दैवज्ञ सम्झेर श्रद्धाञ्जलि सभा भए
आँखामा सबका आँसु बोल्दा रुद्ध गला भए
कोही आफन्तले बोले मेरा कर्मपिता उनी
प्रशंसा सबले गर्थे योग्य मानिस हुन् भनी
प्रेमी साथी सबै भन्थे थियो दैवज्ञकै भर
वियोग वेदनाबाट काँप्यो शरीर थर्थर
सहधर्मी रुँदै भन्थे दिन्थ्यौ उन्नत जागिर
सहकर्मी सबै भन्थे थियौ योग्य कमान्डर
बन्धु बान्धवले भन्थे बत्ती नै कुलको निभ्यो
साहित्यकारले बोले खती साहित्यमा भयो
साँचो कुरा त अर्कै हो हुन्छन् जीवित नै कवि
धर्तीमा जहिलेसम्म झल्किन्छ रविको छवि
मान्छेले जन्मदै गर्छ मृत्युलाई निमन्त्रण
विधान विधिको यस्तै देह जीव समर्पण
ब्रह्मलीन भयो आत्मा कवि दैवज्ञको तर
साहित्याकाशको तारा चम्कने छ निरन्तर
न्यौपाने कुलका दीप सिर्जना अजरामर
दियोमा तेल टन्नै छ बत्ती बल्छ निरन्तर
२०६९ असार, काठमाडौँ