श्रद्धा-पुष्प
परी प्रकृतिको काख परिपूर्ण मनोहर
जहाँ कोकिलको गीत गुन्जन्छ मधुर स्वर
भोजपुर गोगने गाउँ न्यौपानेको भयो स्थल
त्यही ठाउँ र गावैँको परिवार सुसंस्कृत ।
जन्मियो एक सत्पुत्र नाम दैवज्ञ नै रह्यो
ऊ–ता नेपाल आमाकै पुत्र ज्योति हुँदो भयो
दैवु दैवज्ञ भन्दैमा दैवज्ञराज ऊ भयो
वेला नै नपुगी ऐले स्वर्गको प्रिय भै गयो ।
गोगनेका गरा फाँट वन्य कुञ्ज निकुञ्जमा
घुमेका पाइला तिम्रा ऐले पनि जहाँ तहाँ
लेखेछौ अति नै मीठो सम्झनाको धरातल
लुकामारी अहो ! खेल्यौ पाखा र पहरा तल ।
पाँचै वर्षमहाँ जम्मै वर्णमालाहरू सिक्यौ
पारिवारिक आदर्श राखी संस्कृत झन् सिक्यौ
बाल्यावस्थामहाँ जल्ले जे दिन्छ सत्य त्यो बनी
रहन्छ हृदयै भित्र चिर नूतन नै बनी ।
बीज जो बिरुवामा छ बिरुवा बीजमा पनि
त्यसैबाट बन्यो तिम्रो नित्य आदर्श जीवनी
विभिन्न तहको शिक्षा विभिन्न ठाउँमा घुमी
खुसीले राष्ट्र सेवामा समर्पित भयौ तिमी ।
ईर्ष्या, राग र विद्वेष लोभ वा दम्भ नै पनि
तिमीमा कत्ति देखिन्न अहङ्कार कुनै पनि
सबैमा समता भाव नम्रता मृदुता थियो
शिष्ट सत्य मिठो वाणी अमूल्य गहना थियो ।
प्राध्यापक कलाभित्र नित्यलीन भए पनि
कविता कामिनीका ता कामदेव थियौ तिमी
राष्ट्रको ढुक्ढुकीभित्र तिम्रा सिर्जनको गति
तिमी राष्ट्रिय व्यतिक्त्व विश्वबन्धुत्वको मति ।
राष्ट्र नेपालका पुत्र प्रतिभा–पुञ्ज नै थियौ
गाएर गीत थाकेनौ अजरामर झन् बन्यौ
तिम्रो त्यो मृदु मुस्कान गीत गुञ्जनको ध्वनि
कहिल्यै पनि बिर्सन्न राष्ट्र नेपालले पनि ।
हामीसँगै बसेका छौ हृदयाकाशमा तिमी
स्नेहले सिक्त पारेर गयौ नेपालको जिमी
तिम्रो अमर आत्माले शान्ति पाओस् सधैँभरि
श्रद्धापुष्प म अर्पन्छु हे दैवज्ञ ! अजम्मरी !