कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरणात्मक समीक्षा

प्रा. दैवज्ञराज न्यौपानेलाई तोतेबोलीमा खोज्दा

कृष्णविलास पौड्याल

१. पृष्ठभूमि

समादरणीय गुरु दैवज्ञराज न्यौपाने (१९९९–२०६८) त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुनुहुन्थ्यो । यो मेरो स्मरणको अमिट छाप २०४९–५० को कुरा हो । म त्यतिखेर एम्.ए. नेपालीको छात्र थिएँ । यो स्मरण त पुरानोजस्तो लाग्यो । २०४० सालतिर म आई.ए. पढ्दै गर्दा तनहुँ जिल्लाको विकट ठाउँ देवघाटको राष्ट्रिय प्राथमिक विद्यालय काफल डाँडामा पढाउन थाल्दा यी मार्मिक तर जीवन्त पङ्क्ति पढाएको थिएँ –

सानै छ खेत सानै छ बारी सानै छ जहान

नगरी काम पुग्दैन खान साँझ र बिहान

पढ्ने र पढाउने क्रममा म सहर पसेँं, एम्.ए. पढेँ । बेरोजगार भएपछि अल्फाज हाइस्कुलमा पढाउँदा मैले निम्नोक्ति पढाएको थिएँ –

आकाश गड्गडाएर जब बर्सन्छ झर्झर,

म किसान हलो बोकी निस्कन्छु अनि बाहिर

साँचो हो, म पनि किसानको छोरो भएर होला कृषिकर्मसम्बन्धी यी उक्तिले मेरो मन मस्तिष्कलाई छोएका होलान् तर मेरो इरादा स्मरण लेख्ने होइन । यो त यस लेखको “टेलर” मात्र हो ।

२. व्यक्तिवृत्त

दैवज्ञराज न्यौपाने १९९९ साल मङ्सिर ३० गते पिता गणेशप्रसाद र माता उमादेवी न्यौपानेका पुत्ररत्नका रूपमा भोजपुरमा जन्मिएका थिए । उनले नेपालीमा एम्.ए., साहित्यरत्न गरेका थिए भने मीमांसा दर्शनमा आचार्यसम्मको अध्ययन गरेका थिए । नेपाली विषयका सफल प्रध्यापकका रूपमा चिरपरिचित न्यौपानेले पञ्चकन्या प्रा.वि. भोजपुरबाट शिक्षण कार्य आरम्भ गरी भक्तपुर कलेज, राष्ट्रिय व्यावसायिक प्रशिक्षण केन्द्र, सानोठिमी, पाटन संयुक्त क्याम्पस, रत्नराज्य लक्ष्मी क्याम्पस, बानेश्वर क्याम्पस, नेपाली केन्द्रीय विभाग कीर्तिपुरजस्ता संघ संस्थामा कुशलतापूर्वक आफ्नो क्षमता, दक्षता र विद्वत्ता प्रकट गरेको पाइन्छ । दैवज्ञराज न्यौपाने कलिलो उमेरदेखि नै साहित्य सृजनातर्फ आकृष्ट भई ६,७ वर्ष सृजनाको अन्तरङ्ग अभ्यास गरी २०२० सालदेखि नेपाली साहित्यमा सार्वजनिक भएका कवि हुन् । उनी कविता तथा गीतकार, कथाकार, निबन्धकार, भूमिका लेखक, समालोचक र जीवनी लेखक हुन् । उनले सिर्जनाका लहर (२०३५), तोते बोली (२०३८), गाउँखाने कविता (२०४३), हुने बिरुवाका चिल्ला पात (२०४५), जोर मुरली (२०४६), गुणराज उपाध्यायका खण्डकाव्यहरूको मूल्याङ्कन (२०४९), बालसंसार (२०५३), नेपाली नाट्य परम्परा र भारती खरेलका नाटकहरू (२०५४), सबै हाम्रा साथी (२०५६), सम्झनाको धरातलबाट (२०६३), घामले ढोका खोल्यो (२०६५), पोल्टाका गीत (२०६६) जस्ता एक दर्जन कृति नेपाली वाङ्गमय–मन्दिरमा अर्पण गरेको देखिन्छ । न्यौपानेको अर्को टड्कारो व्यक्तित्व भनेको खेलाडी, राजनैतिक, सामाजिक, धार्मिक, सांस्कृतिक, आध्यात्मिक, अभिनय तथा निर्देशन रहेको देखिन्छ । उनलाई युवावर्ष मोती पुरस्कार, बालहितकारी पुरस्कार, गुणराज व्याख्यान पुरस्कार, भारती खरेल व्याख्यान पुरस्कार, छिन्नलता सम्मान पुरस्कार, दीपस्मृति सम्मान पुरस्कार, उदयानन्द पुरस्कारका साथै सार्वजनिक अभिनन्दन गरेर सम्मान गरिएको छ ।

३. व्यक्तित्व

दैवज्ञराज न्यौपाने मूलतः साहित्यकार तथा प्राध्यापक हुन् । साथै उनको व्यक्तित्व अन्यान्य पनि देखिन्छ । यस प्रलेखमा उनको साहित्यकार व्यक्तित्वलाई सूक्ष्म रूपमा केलाउने जमर्को गरिन्छ । उनी हेर्दा जति भद्र र मिलनसार देखिन्थे त्यत्ति नै व्यावहारिक पनि थिए । कलिलो उमेरदेखि नै साहित्य सृजनामा समर्पित न्यौपानेको कलम बाल साहित्यका अतिरिक्त प्रौढका लागि कविता/गीत/खण्डकाव्य, समालोचना, भूमिका आदिमा आफ्नो विद्वत्ता, क्षमता र बािैद्धकताको परिचय दिन सफल छ । न्यौपानेले बालकवितादेखि प्रौढ स्तरका कविता र खण्डकाव्य लेखेको देखिन्छ । उनले बालमस्तिष्कलाई झक्झकाउने सरल, सरस र सहज पाराका कविताको रचना गरेका छन् । उनी गीतकार पनि हुन् । उनले बालगीतका साथै प्रौढस्तरका गीत पनि लेखेका छन् उनका गीत रेडियो नेपालबाट पनि प्रसारित भएका छन् । उनले बालबालिकाहरूलाई उपयोगी हुने जीवनी पनि लेखेका छन् । दैवज्ञराजको कलम साहित्यको कथाविधामा पनि चलेको पाइन्छ । उनले मनुस्मृति, श्रीमद्भागवत, शिव पुराण आदिबाट सामग्री लिएर पौराणिक विषयवस्तुका कथा लेखेका छन् । उनको कलम निबन्धविधामा पनि चलेको छ । दैवज्ञराजले नेपाली साहित्यका विभिन्न स्रष्टाको समालोचना गरेर आफ्नो भावयित्री प्रतिभाको पनि कुशलतापूर्वक परिचय दिएका छन् ।

४. तोते बोली बाल–कविताको वस्तुपरक विश्लेषण

तोते बोली (२०३८) दैवज्ञराज न्यौपानेको प्रकाशनका दृष्टिको दोस्रो कृति हो । यस कृतिमा विविध विषयका ३६ वटा बालकविताहरू सङ्गृहीत छन् । यसमा बालकको क्षमता विस्तार गराउने सरल बालकविता समावेश गरेको पाइन्छ । यसमा बाल बानीदेखि प्रकृति, चाडपर्व, जीवनी, व्यक्तित्व, वर्षा, हिमचुली, नेपाल र नेपाली आदि विविध विधा र क्षेत्रलाई समेटेर प्राञ्जल भाषामा चित्रण गरिएको छ । उनी नानीहरूको हात मात्र होइन बानी पनि राम्रो भन्दै कविता लेख्छन् ः–

पापा लिने हात राम्रो

चाचा पनि राम्रो

यो नानीको बानी राम्रो

पारौं अझै राम्रो ।

(तोते बोली पृ.१)

स–साना नानी त्यसै राम्रा हुन्छन् । उनलाई सपारेर अझ राम्रो बनाउने कविको आकाङ्क्षा देखिन्छ । उनी नानीको बानीलाई यसरी चित्रण गर्दछन् ।

निदरी आइन् बोलाउन

लाग्दछन् आँखा लोलाउन

(तोते बोली पृ.२)

नानीको बोलीमा लोली मिलाउन खप्पिस कवि न्यौपानेको कवित्व शक्तिको पारख, तलका हरफबाट लिन सकिन्छ । चङ्खले माछो लिने र भुद्दूले भ्यागुतो समाउने बाल खेललाई टपक्क टिपेर कवित्व यसरी प्रवाहित हुन्छ, कविकै वाणीमा ः–

चोरी औंलो माछो अनि

बूढी औंलो भ्यागुतो

चङ्ख लिन्छ माछो भने

भुद्दू लिन्छ भ्यागुतो

(तोते बोली पृ. ५)

कविले माछो माछो भ्यागुतो खेलपछि हिन्दुहरूको महान् चाड दसँैंलाई कलात्मक भावामा सजाएर त्यसको गरिमा र महत्त्व झल्काउन पुगेका छन् । त्यस्तै कवि बालसखाका रूपमा पुतली, बिरालो र कुकुरलाई देखाउँदै र बालखेल खेलाउँदै कुकुर र पुतली खेलको रमाइलो चित्रण गर्न पुगेका छन् । कवि न्यौपाने देवकोटाकै शैलीमा बाल कविताको रचना गर्दा औपदेशिक भाव यसरी छचल्काउन पुगेका छन् ः–

मिलीजुली जाऊँ साथी साथी

नाच्तछ पुतली कति फूलमाथि

हुन्न हुनु त्यो हलुको जात

दुःखित पारे लाग्दछ पाप

(तोते बोली पृ. १२)

कवि पुतली खेलपछि राजधानी सहर काठमाण्डूको सफर गराउन भुल्दैनन् । बाल, बृद्ध, अबला सबैले घुम्ने रहन गर्ने ठाउँ पनि काठमाण्डू नै हो । उनले पनि काठमाण्डू सहरका रोचक प्रसङ्ग उठाई यसको महिमा गाएका छन् । कविले माधव घिमिरेको घामपानी शीर्षकबाट प्रभावित भएर घामपानी कविता लेख्न पुगेका छन् । प्रकृतिपुत्रका रूपमा चिरपरिचित कवि घाम–पानीबाट कति प्रभावित भएका छन्, उनकै वाणीमा तलका कवितांश हेरौँ ः–

आकाश राम्रो धरती राम्रो

घाम र पानी आज छ राम्रो ।

प्रकृतिप्रेमी कविलाई घामपानीले कति गहिरो गरी प्रभावित पारेको छ, त्यस विषयमा उनले मुक्तकण्ठले गायन गरेको आभास जो कोहीले गर्न सक्छ । त्यस्तै उनी नौलाख तारा कविता र इन्द्रेनीलाई विषय बनाएर प्रकृतिको चित्रण गर्दै प्रकृतिमा तल्लीन हुन पुगेको पाइन्छ । वर्षा आयोमा उनको स्वच्छन्दतावादी भावलहरी सल्बलाउँदै जूनकिरीमा छचल्किन पुगेको कवित्व शक्ति कामधेनु गाईको प्रशंसा गर्दै हिन्दुत्वको सबल पक्ष केलाउन पुगेका छन् । कृषिप्रधान मुलुक नेपालका कवि न्यौपाने सानो मनेलाई चिटिक्क पारेर विश्लेषण गर्दछन् । उनको कवित्व प्रकृतिको तन्मय–मन्मय चित्रणमा रमाएको पाइन्छ । हिमचुली शीर्षकको कवितामा हिमाललाई कविले यसरी चित्रण गरेका छन् ः–

पीठैपीठो पोखेजस्तो

हिमै–हिमको रारा हो

रुवै – रुवा राखेजस्तो

बादलुको वास यो ।

(तोतेबोली पृ.२७)

प्रकृतिप्रेमी कवि न्यौपाने राष्ट्र, राष्ट्रियता भनेपछि हुरुक्क हुन्छन् । उनका कवितामा हाम्रो नेपाल, हामी नेपाली जताततै आउँछन् । भाषा हो हाम्रो नेपालीलाई ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ । यहाँ कवि देवकोटाको के नेपाल सानो छ ? को भाव ग्रहण गरेको देखिन्छ । देश हो हाम्रो नेपाल सुन्दर शान्त विशाल (पृ. ३१) यहाँ नेपाली भाषा मात्र होइन्, वीर पुर्खाको बलिदानीको मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । कवि यसरी अमर पुर्खाको प्रशस्ति लेख्दछन् ः–

भानुको मीठो भाषा यो

लक्ष्मीको राम्रो भाषा यो

नेपाली ज्यूँदो जातिको

भविष्य लेख्ने भाषा यो ।

(तोते बोली पृ. ३२)

भाषा विचारको वाहिका हो, भाव सञ्चारको माध्यम हो । विचारानुभूतिको सशक्त प्रवाह भाषाका माध्यमबाट हुन्छ । बूढा मरे भाषा सरे भनिन्छ पनि । त्यसैले भानुले मीठो पारेको र लक्ष्मीले सिँगारेको भाषामा सारा नेपालीको भविष्य लेखिने सपना कविले देखेका छन् त्यस्तै कविले हाम्रा नानी र हिँड्नु छ तिमीले बत्ती बाली कवितामा औपदेशिकता व्यक्त गर्दै कवि राष्ट्रिय झन्डामा राष्ट्रियताको महिमा गाउँछन्, नालापानीमाथिमा ऐतिहासिक महत्त्व र वीरताको भाव पोख्छन् । आफ्नै बोलीमा दिल खेलेर कुरा गरिने र किंबदन्तीका रूपमा पृथ्वीनारायण शाह र गोरखनाथको प्रसङ्ग कोट्याउँछन् । त्यस्तै राम र सीताको विवाह, रावणको दुष्टकर्म र लङ्काबाट सीता फिर्ता ल्याएको प्रसङ्ग दिदी हाम्री सतीमा उल्लेख गरेको पाइन्छ । जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसीकै भाव झल्काउँदै जन्मभूमि आमामा आफ्नो राष्ट्रवादिताको भावमय उक्ति पोखेको पाइन्छ ।

कवि साङ्गीतिक लयमा गाउँदै हिँड्ने गाइने दाजुको दीनहीन र गरिबीको सटिक चित्रण गर्न पुग्छन् । कवि न्यौपानेको गाइने दाजु देवकोटाको भिखारीसित केही हदमा तुलनीय देखिन्छ । छुट्टीका दिन बालबालिका रमाउँछन् भन्ने भावमय अभिव्यक्ति आज हाम्रो छुट्टी छ मा अभिव्यञ्जित भएको पाइन्छ । कवि न्यौपाने लक्ष्मीप्रसाद देवकोटाको चुरोट खाने नराम्रो आदतको चर्चा गर्दै उनको जीवनीको खाका कोर्छन् र राम शाहको नियाँमा विद्या हराए काशी जानू र न्याय हराए गोर्खा जानूको कहावत सम्झाउन पुग्छन् । नानीहरूसित लामै कविता हो । यसमा नेपाली प्रकृति र प्रवृत्तिलाई चित्रण गरिएको छ । अनि वीर पुर्खाको गौरवगान गरिएको छ । त्यस्तै माइती राजामा माइती नेपाल गएकाले बहिनीलाई दशैं तिहार नरमाइलो भएर मन कोक्याउने प्रसङ्ग कोट्याइएको छ । बालकमा बालकको शीलस्वभाव प्रष्टाइएको छ ।

नयाँ नयाँ कुरा स्वयं म सृष्टिभित्र भर्दछु

हटाइ अन्धकार यो नवीन ज्योति छर्दछु

सधैँ सधैँ रमाइलो म विश्व सृष्टि गर्दछु

बनेर वीर पौरखी सुधार नित्य गर्दछु ।

(तोते बोली, पृ.५९)

प्रगतिवादी ढपमा लेखिएको शहीदको कथा निकै रोचक र प्रभावशाली कवित्व शक्तिको पराकाष्ठा मानिन सक्छ ।

५. मूल्याङ्कन

दैवज्ञराज न्यौपाने छन्दोबद्ध कविता–काव्यका कुशल स्रष्टा मानिन्छन् । उनले शार्दूलविक्रीडित, अनुष्टुप्, उपजाति पञ्चचामर, शिखरिणी, मन्दाक्रान्ता आदि छन्दमा कविता–काव्यको रचना गरेका छन् । शास्त्रीय छन्दलाई खेलाउन र तिनका माध्यमबाट भावनालाई केलाउन खप्पिस न्यौपानेको कलम वर्णमात्रिक र मात्रिक दुवै छन्दमा सशक्त रूपमा प्रवाहित भएको देखिन्छ । विषय अनुरूप भाव र भाषालाई टपक्क समाती, गीतिमय पाराका शौलीको प्रस्तुतीकरण बेजोड देखिन्छ । सत्यपक्षको उद्घाटन गर्नु, सरल, सरस, स्पष्ट र रागात्मक भाषामा मन छुने शैलीमा गीत काव्यको रचना गर्नु न्यौपानेको छुट्टै विशेषता हो । यिनले आफ्ना रचनामा भाव, सौन्दर्य र कलापक्षलाई सुललित पदावलीमा, हृदयाकर्षक शैलीमा प्रस्तुत गरेका छन् । बालक, बृद्ध, वयस्क सबैलाई मन छुने कोमल पदावलीमा भाषा साहित्यका क्षेत्रमा अमर रचनाको सृजना गरी वाणीकी देवीका मन्दिरमा अर्पण गरेको पाइन्छ । उनका गीत–काव्यमा आलङ्कारिक भाषा, सुललित पदावली, सहज तर आदर्श वर्ण–विन्यास र शाश्वत पक्षको उद्घाटन गरिएको हुन्छ । बालबोलीमा बोली भर्दै तोतेबोलीमा लोली भर्ने काम कवि दैवज्ञराज न्यौपानेले गरेको पाइन्छ । यही प्राप्ति नै न्यौपानेको अमर छाप हो । यसलाई अमर योगदानका रूपमा शिरोधार्य गर्नुपर्छ भन्ने मेरो रहर हो । यसलाई मैले गुरुलाई चढाएको श्रद्धाञ्जलि मानेको छु ।