"सम्झनाको धरातलबाट" मा कवि न्यौपाने
हामीजस्ता धेरै जिज्ञासुका तिर्खा मेट्दै, जीवनका आरोहहरूमा चढ्दै, आशा–निराशा र द्विविधाका थाप्लामा टेक्दै एउटा स्वाभिमानी नेपाली साहित्य साधकका रूपमा प्रतिष्ठित बन्दै, जीवनका विविध अनुभूतिभित्र रुमल्लिँदै, गाउँले केटोदेखि विश्वविद्यालयको प्राध्यापकसम्म बन्दै, प्रसिद्ध र स्थापित आधुनिक साहित्यकारका रूपमा प्रख्यात हुँदै एउटा शीर्ष मोडमा आइपुगेका, मृदुभाषी तथा हामी सबैका आदरणीय र अग्रज कवि दैवज्ञराज न्यौपाने केही महिनादेखि अस्वस्थ हुनुभएको समाचारले मेरो मन च्वास्स घोचेको थियो । मानिस भएर जन्मेपछि रोगव्याध, दुःख–सुख, हर्ष–बिस्मात् आदिै सबै सांसारिक पीडाले सताउँछन् भन्ने जान्दाजान्दै पनि कवि न्यौपानेलाई रोगले स्पर्श गरेको सुन्दा एकपटक भेट्ने तीव्र उत्कण्ठा जागृत भएको हुँदा आत्मीय मित्र कोषराज न्यौपानेका सहयोगमा म पुगें– न्यौपाने निवास, सुन्दरवस्ती, गैरीगाउँ, काठमाडौं । हामी पुग्दा कवि न्यौपाने सुषुप्तावस्थामा हुनुहुन्थ्यो । केही मिनेटसम्म प्रतीक्षा गरेपछि उहाँ स्वाभाविक रूपमा जाग्नुभयो । हामीले अभिवादन गरेपछि भेटघाटको क्रम प्रारम्भ भयो । आकस्मिक रूपले पक्षाघात भएपछि उहाँको अवस्था शिथिल बन्न पुगेको र दाहिनेपट्टि रोगले आव्रफमण गरेको हुँदा औषधोपचारपछि क्रमिक सुधार हुँदै आएको थाहा भयो । पहिले बोली पटक्कै नबुझिने अवस्थाबाट केही बुझने हुँदै गएको र केही सहारा लिएर उभिनसक्ने हुनुभएको थाहा पाउँदा खुसी लाग्यो । वाह्य शारीरिक अवस्था त्यस्तो भएपछि आन्तरिक चेतना, चिन्तन, सोचाइ र बुद्धिमा कुनै प्रभाव नपरेको भन्नेसमेत ज्ञात भयो । यसबाट अभैफ सन्तोष लाग्यो । केही समय रोगका कुरा भएपछि आफ्नातर्पफबाट शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बिदा हुने बेलामा कवि न्यौपानेले अत्यन्त स्नेहपूर्वक २०६३ मा प्रकाशित उहाँको “सम्झनाको धरातलबाट” (काव्य सङ्ग्रह) र कविपत्नी सुधा न्यौपानेद्वारा विरचित “मनका तरङ्गहरू” (२०६३) समेत उपहार प्रदान गर्नुभयो । उहाँकै आज्ञाले मित्र कोषराजजीले समर्पणवाक्य समेत लेख्नुभयो– “स्नेही भाइ गोपाल भण्डारीमा” । यो दिन रहेछ २०६४ साल असार १३ गते ।
एकपटक मेरो मन झसङ्ग भयो– कवि दैवज्ञराज न्यौपानेले आफ्नै हातले लेख्नुभएका त्यतिका कविता, गीत, काव्य, समालोचना नेपाली साहित्यमा छन् । तिनै कवि पक्षाघातका कारण आज एउटा छोटो वाक्यसमेत लेख्न असमर्थ भई अरूको सहायता लिन बाध्य हुनुभएको छ । हे दैव ! वाङ्मयसाधक कविलाई किन यस्तो सास्ती दिन्छौ ? एउटा प्राध्यापकलाई खुलस्त बोल्न नपाउँदा र एकजना वाणी उपासक कविलाई मनका भाव आफ्नै हातले कागजमा लेख्न नपाउँदा कति उकुसमुकुस हुँदो हो ? कति पीडा हुँदो हो ? कति छट्पटी हुँदो हो ? कति ग्लानि हुँदो हो ? आज हाम्रा कवि प्राध्यापक दैवज्ञराज न्यौपानेलाई त्यस्तै पीडा भएको होला भन्ने सम्झँदै मानसिक दुःखमनाउ गर्दै बिदा भयौं । मैले दुवै उपहारलाई आशीर्वादात्मक सुभकामना सम्भँफदै झोलामा थन्क्याएँ । फिजियोथेरापीले रोगलाई नियन्त्रण गर्न सहयोग पुग्ने आफ्ना सुझावहरूसमेत राख्तै हामी दुर्वजना कवि निवासबाट बाहिरियौं– अपराह्न १२ः३० तिर ।
कविहरू अत्यन्त मायालु, दयालु, सहृदयी तथा कोमल भावका धनी हुन्छन् । कवि दैवज्ञराज न्यौपाने पनि त्यस्तै सहृदयी तथा अत्यन्त मृदुभाषी हुनुहुन्छ । उहाँले उपहारका रूपमा दिनुभएको “सम्झनाको धरातलबाट” मा ५ वटा लघुकाव्य सङ्ग्रहित छन् । यी काव्य हुन् ः– शोभा (प्रकृतिकाव्य), राजा त्रिभुवन (ऐतिहासिक काव्य), शान्तिकामना (अर्धशतक काव्य), सम्झनाको धरातलबाट (पत्रकाव्य), चासो र चिन्तन (खण्डकाव्य), ती रोइन् त्यसरी किन (खण्डकाव्य) । यी सङ्कलित काव्यमा कविले विविध शास्त्रीय छन्दको प्रयोग गरी कवितालाई सुस्वादु बनाउनु भएको छ ।
सङ्ग्रहको प्रथम काव्य “शोभा”भित्र कविले आफ्नै जन्मभूमि भोजपुरमा बिताएको बाल्यजीवनमा प्रकृतिले आकर्षित तुल्याएको स्मृतिलाई समेट्नु भएको छ । गाउँमा बस्ता एकान्त ठाउँ, वनजङ्गल र प्रकृतिका विविध सौन्दर्यले कविलाई सानैदेखि प्रकृतिप्रेमी बनाएको देखिन्छ । खासगरी गाई हेर्न जङ्गल जाँदा त्यहाँको एक्लासपन, हावाको सिरसिर्याहट, घामको लुकामारी, चराचुरुङ्गीको कलरव, दूर क्षितिजमा पृथ्वीसँग टाँसिएको आकाश, डाँडा–काँडा, उकाली–ओराली, वृक्ष–वनस्पतिका सुगन्ध आदिले भावुक हृदयी व्यक्तिलाई गम्भीर बनाउँदै लैजान्छन् । कवि दैवज्ञराज न्यौपानेलाई पनि यी आरण्यक दृश्य–परिवेशले प्रभावित पार्दै लगेको कुरा प्रस्तुत “शोभा” प्रकृतिकाव्यले सङ्केत गरेको छ । प्रकृतिसँगको सान्निध्य, प्रकृतिदेखि टाडा र प्रकृतिकै स्मृतिले पच्छ्याइरहेको मानसिकतालाई काव्यरूप दिँदै यस काव्यले सौन्दर्य चित्रण गरेको देखिन्छ । प्रकृतिलाई सूक्ष्मरूपले निरीक्षण गर्ने तात्कालिक बाल्यचेतना युवा र प्रौढ हुँदै परिपक्व बन्न पुगेको छ यहाँ । २०२३ मै “कविता” को काव्य विशेषाङ्कमा प्रकाशित प्रस्तुत कविताले दैवज्ञराज न्यौपानेको लगभग चौबिस वर्षे युवा कवि–मनलाई चिनाएको छ । कविको चिन्तनमा देखिएको उद्गार हेरौं ः–
यात्रा भुल्दछ रित्तिएर बटुवा सिद्धिन्छ बाटो जब
मान्छे भुल्दछ साथ दुःख अघिको रित्तिन्छ आँसू जब
यस्तै जीवनको अनेक पथमा संसार भुल्दा पनि
आत्माभित्र छ प्रेमको अमरता भुल्दैन कोही पनि । – पृ. ६
यसरी कवि न्यौपाने (१९९९) बाल्यावस्थामा प्राकृतिक सौन्दर्यलाई आफ्ना आत्ममा सँगाल्दै आफ्नो काव्ययात्रालाई अगाडि बढाइरहनु भएको पाइन्छ ।
दोस्रो काव्य हो – “राजा त्रिभुवन” राणाकालीन पराधीनता अन्त्य गर्न राजाले खेलेको भूमिकालाई सम्भँफदै कविले यो काव्य लेख्नुभएको हो । यसमा राजा त्रिभुवनको गुणानुवाद नगरी गुम्फित समाजका जनताको मर्मबोध गर्न कवि एकोहोरिनु भएको छ । जनताले आफ्नो हक आपैंफ खोज्नु पर्दछ भन्ने सन्देश दिंदै जनतामा एकत्व, स्नेह, सहिष्णुताको आवश्यकता पर्दछ भन्ने भाव समेत व्यक्त भएको छ ः–
सक्छौ ता अझ स्नेह निम्ति आरुमा छाती पगाल्ने गर
सक्तैनौ त बिगार मात्र अरुको कैल्यै न गर्ने गर । – पृ. १०
त्यसबेलाका राजा त्रिभुवनले जनतालाई हक अधिकार दिलाएर मात्र आपूफ राजा हुन चाहेको स्थिति यहाँ वर्णन गरिएको छ ः– आफ्ना भाइ छलेर किन्तु उसले चाहेन राजा हुन । ऐतिहासिक घडीलाई इतिहासकारहरूका अभिमत अनुसार कविले चित्रण गर्नुभएको छ । काव्यगत अभिव्यक्ति साह्रै मार्मिक र तटस्थ छन् । २०२३ सालमा प्रकाशित त्रिभुवन स्मारक ग्रन्थमा छापिएको यस काव्यलाई अत्यन्त सरस तथा ज्ञानवर्द्धक मान्न सकिन्छ ।
“शान्तिकामना” तेस्रो काव्य हो । यसमा राष्ट्रका विविध परिवेशलाई नियाल्ने प्रयास भएको छ । विशेषगरी हामीले भोगिरहेको वर्तमान, परिवर्तित सन्दर्भ, हाम्रा मूल्य, मान्यता, विज्ञानको उन्नति, आविष्कार आदि कुरामा मानव जातिको हित वा अहित के छ भनी कविले गम्भीर प्रश्न उठाउनु भएको छ । हामी उन्नतितर्पफ लाग्दैछौं कि अवनतितर्पफ लाग्दैछौं ? यी कुरामा राम्ररी विचार हुनुपर्दछ भन्ने कविको आग्रह छ । यहाँ व्यक्त सबै विचार घतलाग्दा छन् । आज आक्रोश, छटपटी, द्वन्द्व र बेचैनी व्याप्त छन् । जताततै कोलाहल, त्रास, मानवताको क्षति, सद्भावको न्यूनीकरण आदि बढिरहेको देखिन्छ । यस काव्यमा युगीन सन्दर्भलाई आलोचनात्मक दृष्टिले हेरिएको छ र यी कथनमा यथार्थ र सत्यको अड्कन भएको स्पष्ट हुन्छ । यो काव्य ज्यादै प्रभावकारी छ अर्थात् कवि दैवज्ञराज न्यौपानेकै समग्र काव्ययात्रामा विषयवस्तुलाई यथार्थपरक रूपमा वस्तुवादी रूपमा र विशिष्ट सौन्दर्य चेतका साथ हेरिएको छ । सो काव्यको अनुशीलन गर्ने हो भने प्रत्येक सामाजिक व्यक्ति, राजनीतिज्ञ, बुद्धिजीवी, धर्माधिकारी र समाजका वस्तुवादी चिन्तकहरूलाई समेत विशेष ज्ञान र चेतना प्रदान गर्न सक्षम देखिन्छ । यस काव्यका प्रत्येक पङ्क्ति पठनीय, विचारणीय, मननीय र मार्गदर्शक बनेका छन् । कवि प्रौढ, परिपक्व, दूरदर्शी र सत्यान्वेषी हुनुभएको छ ।
साँचो भन्न सकिन्न निर्भय भने केको प्रजातन्त्र भो ?
– आफ्नो दोष लुकाउने र अरुका खन्ने जरा मानिस
– हामी प्राकृत वस्तुबाट दिनहूँ टाढा हुँदैछौ जति
जस्ता यथार्थस्थितिलाई कविले स्पष्ट रूपमा व्यक्त गर्नुभएको छ । जेहोस् कवि दैवज्ञराज न्यौपाने समसामयिक सन्दर्भका वास्तविक ज्ञाता र स्पष्ट वक्ता हुनुभएको छ । अन्त्यमा शान्तिको कामना गरिएको छ ः–
सिङ्गै विश्व र राष्ट्र गाउँघरका सम्बन्धमा शान्ति होस्
धर्तीमा हुन आउने जति नयाँ उत्पातमा शान्ति होस्।
“सम्झनाको धरातलबाट” चौथो काव्यपुष्प हो । कविका बाल्यसखा र विद्यार्थीकालका मित्रहरूलाई सम्भेफर लेखिएको प्रस्तुत काव्य निकै रमाइलो छ । आपसी स्नेह, सद्भावना, सहयात्रा आदि विषयलाई वैयक्तिक वा सामूहिक बनाउँदै कविले सहज भावाभिव्यक्ति गर्नुभएको छ । प्रौढ अवस्थामा आइपुगेपछि पुनः बाल्यजीवनका प्राकृत रहन–सहनहरू सम्झन मन लाग्दछ । प्रस्तुत काव्यमा स्मरण मात्र नभई काव्यगत सौन्दर्य र राष्ट्रका विविध परिवेश तथा भौगोलिक सान्निध्यलाई जोड्दै स्वराष्ट्रप्रेम समेत दर्साइएको छ । आफ्नो जन्मभूमि भोजपुरलाई मात्र नभई विराटनगर, पाटन, नेपालगन्ज, धादिङ जस्ता ठाउँलाई समेत आत्मीयतापूर्वक स्मरण गरिएको छ । “वसुधैव कुटुम्बकम्” भन्ने मन्त्रले निर्देश गरेको उदारता कविका मनमा राम्ररी जागृत भएको देखिन्छ । यी स्मृतिमा कवि राम्ररी तरङ्गित बन्दै तरल–तरल हुनुभएको छ । काव्यपरिपाक साह्रै मीठो लाग्दछ । पत्रका रूपमा लेखिएको प्रस्तुत काव्य साह्रै सहज, मनमोहक र चित्ताकर्षक छ ः–
मनको हरियालीमा अझ उस्तै छ सम्झना
छर्दा समयको बीज उम्रन्छन् नवसिर्जना –पृ. २९
ः
प्रीतिको पहिलो स्पर्श गीतमा सल्बलाउँछ
मेरा मित्र! तिमी छेऊ सम्झना लहराउँछ – पृ. ३९
यसरी कवि दैवज्ञराज न्यौपाने संवेदनशील चेतनाबाट डोरिंदै अतीतका गाउँ, बेसी, वन, जङ्गल, पाखा–पखेरा, नदीनाला, देश–देशावर घुम्न पुग्नुभएको छ । वैयक्तिक भोगाइलाई सकेसम्म सामूहिकीकरण गर्दै कवित्वलाई अग्रगति र सहजीकरण गराउनु भएको छ कवि न्यौपानेले ।
“चासो र चिन्तन” पनि वैयक्तिक चेतलाई सामूहिक अभिव्यक्ति बनाउन सफल काव्य हो । यहाँ आफ्ना छोरी र नातिलाई विदेश अमेरिका पठाउन लाग्दा पिताका मनमा उत्पन्न माया, विरह, छट्पटी तथा तरल मानसिकतालाई सकेसम्म सुन्दर, मार्मिक र यथार्थोन्मुखी बनाउने चेष्टा भएको छ । परदेशमा बसेका नेपालीहरू सदैव राष्ट्रप्रति सकारात्मक दृष्टि राख्तछन् तर राष्ट्रमा बस्ने वा राष्ट्रका सत्तासीनहरू चाहिँ गम्भीर हुन नसक्ता कयौं विसङ्गतिहरू हुर्किरहेका देखिन्छन् । यसलाई दुःखका साथ स्विकार्नै पर्दछ ः–
नेता छैन भने राम्रो केही हुन्न कतै पनि
प्रजातन्त्र त्यहाँ हुन्न नसुध्रे देशको गति
बढ्दैछ मनमा त्रास हो यस्तै छ परिस्थिति
सम्भँफदा चित्त काटिन्छ वेदना छट्पटाउँछ
जस्ता यथार्थपरक अभिव्यक्तिले सबैलाई सचेत तुल्याएका छन् । आफ्ना सन्ततिप्रति उत्पन्न माया, ममता र वात्सल्यभावलाई कविले हृदयस्पर्शी रूपमा अभिव्यक्त गर्नुभएको छ ः–
आमाकी टुहुरी छोरी आमाबाबु दुवै बनी
हुर्काएँ बिरुवा मैले सधैँको छाहरी बनी – पृ. ५६
यसरी कवि दैवज्ञराज न्यौपानेभित्र माया, ममता र पितृत्वको उत्तरदायित्व सबल बन्न पुगेको र त्यसैका आलोकमा राष्ट्रको छाया–छवि समेत प्रतिविम्बित भएको पाइन्छ । व्यक्तिगत वा पारिवारिक परिवेशमा विचरण गर्दा पनि राष्ट्रलाई सम्झन पुग्ने कविको उत्तरदायित्वपूर्ण लेखन मननीय देखिन्छ । कवि न्यौपानेको हृदयको सरसता, उत्तरदायित्व तथा सामाजिक सुसम्बन्ध प्रस्पुफटित भएको कुरा प्रमाणित बन्न पुगको छ प्रस्तुत खण्डकाव्यमा ।
“ती रोइन् त्यसरी किन ?” अर्को एउटा मार्मिक खण्डकाव्य हो । विद्यार्थी जीवनमा परिभ्रमण गर्दै जाँदा एउटा गाउँमा बास बसेको ठाउँकी विधवा नारी र तिनका ६ वटी विधवा बुहारी, ६ वटी विधवा छोरीको व्यथा–कथा समेटिएको काव्य हो “ती रोईन् त्यसरी किन ?” धन सम्पत्ति प्रशस्त भइकन पनि नियतिले प्रहार गरेका ती नारीहरूका सामूहिक वैधव्यको ज्यादै कारुणिक चित्र छ यस काव्यमा । घरमा बास बस्न आएका परदेशीको रूप, लावण्य, उमेर र पतिव्रत अवस्था परिकल्पना गर्दै रोइरहेकी विधवा युवतीको मानसिक चित्रणले यस काव्यलाई हृदय विदारक बनाएको छ । संयोग भनौं वा अचम्मको घटना जस्तो लाग्ने अभिशप्त पारिवारिक स्थिति यहाँ चित्रण गरिएको छ । कारुणिक विषयलाई कविले ज्यादै गम्भीर बनाउँदै उच्च भाव प्रस्तुत गर्नुभएको छ ः–
जवानी जिन्दगी यात्रा सधैँ बन्दैन सुस्थिर
जानैपर्छ सबैलाई कुनै गन्तव्यखातिर – पृ. ६७
जीवनका वास्तविकता वा यथार्थलाई काव्यगत परिपार्कमा घनीभूत बनाउँदै कवि दैवज्ञराज न्यौपानेले प्रस्तुत काव्यलाई संवेदनशील बनाउनु भएको छ । “सम्झनाको धरातलबाट” मा सङ्कलित ६ वटा काव्यले अतितकै स्मृति र कोमलता पस्किएका छन् । कवि न्यौपाने स्वच्छन्दतावादी मात्र नभई सामाजिक यथार्थवादी कविका रूपमा समेत स्थापित हुनुभएको छ र प्रस्तुत काव्य सङ्ग्रहमा समय–समयमा लेखिएका यी काव्यले षड्रसको आस्वादन गराएका छन् । विविध छन्द, भाव, सुख–दुःख तथा आत्मीयताका आलोकमा हाम्रो जीवन गुडिरहेको छ । विशेष सुख वा दुःखका अनुभूतिले हामीलाई उकुसमुकुस बनाउँछ जसलाई व्यक्त गर्ने आकाङ्क्षा मनभित्र सुरक्षित रहेको हुन्छ । अवसर पाउनासाथ तिनको प्रकटीकरण हुन्छ । कवि न्यौपानेले पनि आफ्ना थुप्रै इच्छा, आकाङ्क्षा, अनुभव र संवेदनालाई यी काव्यमा व्यक्त गर्नुभएको छ जुन चिरकालदेखि उहाँका मनभित्र सुरक्षित थिए ।
आधुनिक नेपाली काव्यक्षेत्रमा कवि दैवज्ञराज न्यौपाने एउटा कोसेढुङ्गा मानिनु हुन्छ । उहाँले शास्त्रीय वार्णिक छन्दको प्रयोगबाट नेपाली काव्यलाई लोकप्रिय र समुन्नत बनाउनु भएको छ । माधव घिमिरे, भरतराज पन्त, भरतराज मन्थलीय, कञ्चन पुडासैनी प्रभृत्ति कविहरूभन्दा उहाँ अलग्गै स्वरका प्रणेता हुनुहुन्छ । उहाँ कोमलभाव, स्निग्ध सन्देश तथा मौलिक काव्यशैलीका उपस्थापक हुनुहुन्छ । उहाँलाई भेट्दा साँच्चै एउटा शान्त, सौम्य, शिष्ट र शालीन व्यक्तिसँग साक्षात्कार भएभैंफ लाग्दछ । उहाँका व्यक्तित्वको प्रभाव सबै काव्यमा परेभैंफ लाग्दछ । प्रस्तुत काव्यभित्र कविले कतै पनि उत्ताउला, अमिल्दा र चर्का नारा लगाउनु भएको पाइँदैन । सहज रूपमा कविका हृदयबाट निःसृत काव्यवाणी यहाँ छचल्किएका छन् । कविका समकालीन वा अनुयायीहरूलाई प्रेरणादायी सन्देश र जीवनवादी दृष्टिकोण यी काव्यबाट प्रवाहित भएका छन् । काव्यभित्र घोरिने, काव्यभित्र रमाउने र काव्यको चर्चा–परिचर्चा गर्ने परिवेश अलिकति फितलो बन्दै गएको वर्तमान अवस्थामा पनि विवेच्य काव्यसङ्ग्रह प्रभावकारी देखिएको छ । कविको प्रयास वा परिश्रम नेपाली जनता र साहित्यिक समाजकै श्रीवृद्धिका लागि हो भन्ने सम्भँफदै हामीले उहाँको सराहना गर्नै पर्दछ । कवि दैवज्ञराज न्यौपाने नेपाली साहित्यमा सदैव प्रेरणाका स्रोत तथा भद्रकविका रूपमा क्रियाशील हुनुहुनेछ भन्ने आशा गर्नु उपयुक्त हुनेछ ।
साभार : साहित्य सौगात पूर्णाङ्क २५ रजत विशेषाङ्क २०६४ बाट