स्मृतिपटलमा कवि दैवज्ञराज : सन्दर्भ किसान कविता
१. दैवज्ञराजसँगको चिनारीः
नेपाली किताबको कक्षा ८ मा एउटा कविता थियो किसान । त्यो सबै विद्यार्थीले जस्तै मैले पनि पढ्ने अवसर पाएँ, मैले त्यतिखेर कति बुझेँ ? बुझन सकेँ ? तर कविताको स्रष्टाका रूपमा पहिलो पटक दैवज्ञराज न्यौपानेको नाम सुन्ने अवसर त्यतिखेर जुरेको हो । समयचक्र बढ्दै जाँदा कीर्तिपुरमा नेपाली एम.ए. पढ्न पुगियो । त्यहाँ नेपाली भाषा साहित्य क्षेत्रका स्वनामधन्य सबै विशिष्ट गुरुहरू हुनुहुन्थ्यो । तीमध्ये नै कविता काव्य पढाउने एक जना गुरुको नाम थियो दैरान्यौ । त्यो व्यक्ति कक्षामा आएर पढाउँदा लाग्थ्यो म पनि यस्तै हुन पाए ? दिव्य अनुहार, अलौकिक हाँसो, अग्लो कद, अत्यन्त सुन्दर रूप, चिटिक्क सुहाउँदो पोसाक, ताली पड्काउँदै कतिखेर गम्भीर त कतिखेर सहज सामान्य हुँदै दिने उहाँको व्याख्यान जो कोही पनि सजिलै प्रभावित हुन्थे । म पनि त्यसै क्रमको एउटा विद्यार्थी थिएँ ।
कक्षामा खासै नराम्रो विद्यार्थी म पनि थिइनँ, तर पनि गुरुहरूसँग सम्पर्क राख्ने, नजिकिने अवसरचाहिँ खासै जुटेन । संयुक्त रूपमा दैवज्ञराज लिखित कविता भाग ४ पढ्ने अवसर पाइयो, कक्षामा कविता र महाकाव्य पढ्ने अवसरलाई अत्यन्त सदुपयोग गर्दै विश्वविद्यालय स्तरको शिक्षा अघि बढ्यो । जागिरका क्रममा प्राध्यापन क्षेत्रतिर नै लागियो । २–४ पैसा बटुल्ने क्रममा एस.एल.सी. का कापी पहिलो पटक परीक्षण गरेँ । कापीको क्रम नमिलाईकन राखेँछु, परीक्षाबाट बोलावट भयो, गएँ । गुरु दैवज्ञराज प्रधान परीक्षक हुनुहुँदो रहेछ । नम्र, शालीन शैलीमा कापी परीक्षण राम्रो गर्नु भएको छ तर क्रमाङ्क क्रम भङ्ग भएको छ । त्यो मिलाउनु भयो भने हामीलाई अङ्क रुजु गर्न सजिलो हुन्छ भन्नुभयो । परीक्षाको कर्मचारीको सहयोगमा मैले एकैछिनमा त्यो काम पूरा गरेँ । सरले परीक्षकले लिनुपर्ने सावधानीका बारे सतर्क गराउनुभयो । त्यसपछिको जीवनमा विश्वविद्यालय तहसम्मका गोप्य काम गरिँदैछ तर पुनः त्यस्ता त्रुटि भएका छैनन् । यो पनि गुरु दैवज्ञराजले दिएको जीवन यात्राको एउटा महत्त्वपूर्ण शैक्षिक पाटो हो भन्ने मलाई लागेको छ ।
समयक्रम बित्दै जाँदा सर बिरामी भएको थाहा पाई एक दिन घरमा पुगेँ, भेटेँ । पुनः सर स्वस्थ हुँदै गएको खबर पाउँथेँ । कतिपय सम्मान कार्यक्रममा उपस्थित भएर ताली बजाइन्थ्यो । तर दैवको नियति उहाँ आज हामीमाझ हुनुहुन्न । केदार र महेश्वर सरहरूले कुरा गरेको सुन्दा उहाँको संस्मरणात्मक कृति निकाल्न चाहेको प्रसङ्गबाट आपूफलाई अलग राख्न ठिक नलागी किसान कविता जुन मैले सर्वप्रथम पढेको थिएँ, त्यसै कविताका बारेमा केही शब्द राख्नु यस लेखको अभीष्ट बनाएको छु ।
४. “किसान” कविताको विश्लेषण
४.१ शीर्षक
किसान शीर्षकले पेसालाई बुझाउँछ । खेती किसानी गर्ने व्यक्ति नै किसान हो । नेपाल कृषिप्रधान देश भएको सन्दर्भ र सबैभन्दा बढी परिश्रमी पेसा कृषि दुवै सन्दर्भमा किसान शीर्षकको सान्दर्भिकता हुन्छ । कवि दैवज्ञराजको पारिवारिक पृष्ठभूमि पनि कृषि पेसाबाट पक्कै टाढा थिएन । आपूफले नजिकबाट देखेभोगेको कृषि र कृषिजन्य कार्यलाई चिनाउने, देखाउने, यसको महत्त्वलाई स्पष्ट पार्ने सन्दर्भमा आएको किसान शब्दले सिङ्गो कविताको मूल भावलाई द्योतन गरेको छ । किसानकै कथाव्यथा र जीवनशैली, कर्मयोग र उसको आपूफ बाँचेर अरूलाई बचाउने मानवतावादी स्वभावलाई शीर्षकले सरल भइकन पनि स्पष्ट रूपमा प्रस्तुत गरेको छ । यसर्थ शीर्षक आम नेपाल र नेपालीको परिचायक बनेर यस कवितामा शोभायमान भएको छ ।
४.२ कविताको संरचना पक्ष
किसान कविता आयामका दृष्टिले लघु कविता हो । अनुष्टुप् छन्दका नौ श्लोक अर्थात् १८ पङ्क्तिमा कविले सिङ्गो किसानको महिमा र महात्म्य सहज ढङ्गले गाएका छन् । गीताको कर्मयोगदेखि वीरताका कुरा, सिर्जन–शक्ति र सामर्थ्यका कुरालाई सरल संरचनामै कविले गहन ढङ्गले पस्केका छन् । संरचनात्मक सहजताभित्र पनि गहन जीवन दर्शन महत्त्वपूर्ण पाराले पस्किन सकिन्छ भन्ने कुराको दृष्टान्त किसान बनेको छ ।
४.३ “किसान” कविताको भावभूमिः
किसान कवितामा असारको समयको परिकल्पना गरिएको छ । जब आकाश गड्गडाएर झर्झर बर्सन थाल्छ अनि किसान हलो बोकेर खेततिर लाग्छ । वास्तवमा सामान्य मान्छेका लागि घामपानीले दैनिक जीवन दुःखदायी बनाउने भए तापनि किसानका लागि खुसीको भविष्य गाँसिएर वर्षा सुरु हुन्छ । पानीको पहिलो स्पर्श ग्रीष्मले तातेकी पृथ्वीमा पर्दा त्यसमा अद्भूत वासना हर्हराउँछ, त्यो वासना कृषकका लागि बाली भै अन्तस्करणमा लहराउन थाल्दछ । उसका मनमा अन्न ऐश्वर्य ल्याएर आपूफ पनि बाँच्ने र अरूलाई पनि बचाउने प्रेरणा जाग्दछ । धर्तीलाई सिर्जनशील र ऊर्जावान् बनाई समृद्ध विश्वको परिकल्पना कृषकले गरेको हुन्छ । ऊ आफ्नो श्रममै दिव्य अलौकिक सिर्जनाका दाना फल्नेमा विश्वस्त छ । उसलाई थाहा छ, बीजका दाना धेरै हुन्छन्, जुन माटामा आपूफले पसिना पोखेको हो त्यहाँ सिर्जनाको मात्र नभएर मानवीय जीवन पुफल्ने तर्क अघि सारिएको छ । वीर भोग्या वसुन्धरा – यो पृथ्वीलाई वीरहरूले भोग्छन् र ती वीरहरूका लागि पनि धरतीको पहिलो धन अन्न उब्जनी नै हो ।
किसान अनुर्वर पृथ्वीलाई आफ्नो सीप, जाँगर र मेहनतबाट उर्वर बनाउँछ । हलो, कुटो, कोदाली हरेक कृषि औजार हातमा लिई ऊ सङ्घर्ष गर्न हरपल तयार छ । पृथ्वीका हरेक तगारालाई पन्छाएर किसान जुझन चाहन्छ । किसान विशुद्ध कर्मठ पौरखी हो, ऊ आफ्नो कर्मबाट च्युत हुन सक्दैन । उसलाई थाहा छ, श्रमजन्य फल अत्यन्त मिठो हुन्छ । श्रम गर्ने बानी बसेपछि किसानलाई त्यसमैं आनन्द पनि आउँछ । ऊ नयाँ नयाँ सिर्जना देख्दा खुसीले गद्गद् हुन्छ, भित्रैदेखि ऊ रमाउँछ र गीत गाउन थाल्छ– “म यौटा गीत हुँ यस्तै कर्मयोग सिकाउने” अर्थात् निरन्तर कर्म गरोस् फलको आशा नराखोस् । सधैँ किसानका लागि असारको पन्ध्र नै त हुन्छ । तर ऊ सधैँ सबैका लागि मंसिर ल्याउन चाहन्छ । मंसिर समृद्धि र सम्पन्नताको प्रतीक हो । असारको पसिना बाली बनेर लहराउने समय हो । यसर्थ किसान यो देशमा मात्र नभएर धरतीकै पुत्र हुन् जो सक्षम र मेहनती छन्, कर्ममा विश्वास गर्छन्, असारलाई मंसिरमा रूपान्तरण गर्न चाहन्छन् । यिनै भावभूमिलाई कवि न्यौपानेले आफ्ना कविताको कथ्य बनाएका छन् ।
४.४ “किसान” कवितामा विश्वबन्धुत्व र मानवता
किसान शब्द विशुद्ध नेपाली तद्भव शब्द हो । तर यसभित्र उठाइएका विषय र देखाइएका गतिविधि नेपाल र नेपालीसँग मात्र सीमित छैनन् । यहाँ कवि विश्वव्यापीकरणतर्पफ आफ्ना भावहरू सहज ढङ्गले प्रस्तुत गर्न पुगेका छन् । कृषि पेसा विश्वकै किसानका लागि समान हुन्छ, आधुनिक प्रविधि र औजारमा केही भिन्नता होलान् तर किसानका कर्म र तिनले मानव जातिलाई पार्ने प्रभाव समान हुन्छन् । यसै समान भावलाई साधारणीकरण गरेर कवि न्यौपानेले किसान कविता लेखेका छन् । आपूफ बाँचेर धर्तीमा अर्कालाई बचाउने भनेर कवि सिङ्गो विश्वलाई बचाउन चाहन्छन् । वास्तवमा कृषकबाट उब्जनी हुने अन्नमा कुनै जातजाति, क्षेत्र वा भूगोलको छाप हुँदैन । अन्न त विशुद्ध अन्न हो । त्यो जुनसुकै ठाउँमा पुगेर पनि भोको पेट भर्न सक्छ, नयाँ जीवन दिन सक्छ । यसर्थ कवि निहित स्वार्थमा अल्झिएका छैनन्, विश्वका लागि उनका भावनाहरू अभिव्यञ्जित भएका छन् । विश्वकै वीरका निम्ति धर्तीको पहिलो धन अन्न हो भने त्यो चाहे युरोपको होस्, अमेरिकाको या एसियाको, अन्नविहीन भएर वीरताको परिकल्पना सम्भव छैन । यसर्थ विश्वकै लागि किसान कर्म अनुकरणीय र उदाहरणीय हुन्छ । कवि नेपाल जुझन भन्दैनन् । उनी त पृथ्वी जुझन म चाहन्छु भन्छन् । यसबाट पनि सिङ्गो धर्तीलाई नै उर्वर बनाउने यहाँका डल्ला गर्खा फोर्ने चाहना राख्छन् र सिर्जनाहरू फलेपुफलेको देख्दा पनि उनी हृदयबाट नै गद्गद् हुन्छन् । यी सबै भाव वा विचारबाट कवि हृदयको मानवता र विश्वबन्धुत्वको भाव सहज ढङ्गले झल्किएको छ ।
४.५ “किसान” कवितामा नैतिक सूक्तिको प्रयोग
कवि न्यौपाने सरल र सहज भावबाट पनि गहन र विशिष्ट भाव पस्किन खप्पिस छन् । उनका भनाइ कवित्वको चास्नीमा घोलिएर आएका हुन्छन् । कोरा उपदेश पटक्कै नलाग्ने कविताको मूल भावसँग तादात्म्य राख्ने त्यस्ता कतिपय सूक्तिहरू र नैतिक भाव झल्काउने पङ्क्तिले किसान कवितालाई अझ उत्कृष्ट र कालजयी बनाएको छ । कविताको पाँचौं पङ्क्तिमा कवि भन्छन्– आपूफ बाँचेर धर्तीमा अर्कालाई बचाउने । हो– अठार पुराणको निष्कर्ष त्यही हो– परोपकार । कति ठूलो विचार छ आपूफ पनि बाँच, अरूलाई पनि बचाऊ । आत्मतहमा हामी सबै प्राणी समान हौँ भन्छौँ । तर व्यवहारमा त्यो पाइँदैन । कविचाहिँ स्पष्ट छन् । आपूफ र पराइमा विभेद गर्दैनन् । परसेवामा रमाउँछन् । अनि त निस्कन्छन् यस्ता विशिष्ट वाणी । यही भाव सबैमा भइदिने हो र यो मर्म बुझने हो भने यी हिंस्रक गतिविधि किन हुन्थे होला र ?
कवि न्यौपाने किसान कविताको आठौँ पङ्क्तिमा भन्छन्– बीजको एक मानाले लाखौँ लाख तुल्याउँछ । हो बीज थोरै र सानो हुन्छ । तर त्यसको प्रभाव र विकास अत्यधिक र ठूलो हुन्छ । त्यो बीज विचारको हुन सक्छ, चेतना वा ज्ञानको, सिर्जनाको । हरेक कुराको बीज सानै र थोरै हुन्छ । कालक्रममा त्यो पैफलिँदै जाओस् जुन सर्वकालिक र सर्वजनहिताय होस् । बीजकै कारणले आज विश्व विभाजित छ । विचारकै पछि लागेर समाजमा राजनैतिक पार्टी जन्मिएका छन् । यसैले कवि न्यौपाने त्यो बीजको महत्त्व बुझछन् र भन्छन् यो कहिल्यै थोरै र सानो हुँदैन । यो चक्रवत् घुम्दै र गुणन हुँदै जान्छ र असङ्ख्य र अनगिनतमा परिणत हुन्छ । यसरी समाजोपयोगी विचारलाई सूक्तिमय तुल्याई प्रस्तुत गर्ने कार्यमा कवि न्यौपाने सफल छन् । उनका यिनै सूक्तिमय अभिव्यक्तिले गर्दा जसकसै पाठकको अन्तस्करणमा पनि उनका रचनाको छाप सहजै पर्न/पार्न सक्छन् ।
४.६ विश्राम पूर्व
हुन त मानव जीवनकै अन्त्य अपरिहार्य छ र यो स्वाभाविक प्रक्रिया हो । यति जान्दाजान्दै पनि युगमा जन्मिने होइन युग जन्माउने प्रतिभाको अवसान वास्तवमै मनमा खट्किँदो रहेछ । मेरो मन मस्तिष्कमा अहिले पनि सरसँग भेट हुन्छहुन्छ जस्तो लाग्छ । उहाँ हुनुहुन्न भन्न यो मन सहज रूपमा तयार छैन । तर उहाँका यस्तै यस्तै थुप्रै बालसाहित्यदेखि प्रौढसाहित्यसम्मका स्रष्टा एवं द्रष्टा व्यक्तित्वका सिर्जनाले उहाँलाई नेपाली समाजमा नित्यनिरन्तर चिनाइरहने छ । एउटा विद्यार्थी र पाठकका रूपमा मेरा भावनाले मात्र होइन विशुद्ध सामाजिक सदस्य बनेर मूल्याङ्कन गर्दा पनि उहाँको व्यक्तित्व र योगदानको उचाइलाई इतिहासले अवश्य ससम्मान सम्झने छ । यो सानो आलेखमा उहाँको समग्र व्यक्तित्व होइन एउटा सिर्जना र नितान्त व्यक्तिगत केही संस्मरणभित्र बाँध्ने चेष्टा मात्र गरिएको हो । अस्तु ।
सहप्राध्यापक, वाल्मीकि विद्यापीठ
भाद्र १, २०६९ कुसे औँसी