कवि दैवज्ञको शोभा कविता : एक विश्लेषण
१. विषय परिचय
नेपाली कवितामा विषयवस्तुलाई नवीनतम शैलीमा प्रस्तुत गर्दै लेखनाथ, देवकोटा र समको युगपछि अग्रस्थानमा स्थापित माधवप्रसाद घिमिरेका उत्तराधिकारी कविपुत्रका रूपमा दैवज्ञराज न्यौपानेको स्थान निर्धारण गरिएको छ । शास्त्रीय छन्दमा पुफटकर कविता, गद्यकविता, काव्य, बालकविता र काव्य महापुरुषका बालजीवनी, गीत, समीक्षा र अनुसन्धान गरी साहित्यका बहुविधामा कवि न्यौपानेले योगदान दिएको पाइएको हुनाले उनी काव्यसाधनाको प्रथम प्रहरमा घिमिरेका काव्य–उत्तराधिकारी भए पनि पछि उनले आफ्नो छुट्टै युगको प्रतिनिधित्व गरेका छन् । उनले रचना गरेका शास्त्रीय छन्दका पुफटकर कवितामध्ये शार्दूलविक्रीडित छन्दमा रचित “शोभा” कविता सर्वप्रथम रोयल नेपाल एकेडेमीबाट कविता पत्रिकाको वर्ष २, अङ्क ४, २०२३ शरद अङ्कमा प्रकाशित छ । शोभा कवि न्यौपानेका बहुविध पुफटकर कवितामध्ये बहुपठित र बहुचर्चित कविता हो । ग्रामीण सुन्दरी शोभाको तनोमय, मनोमय, सौन्दर्यमय, प्रकृतिमय र यौवनमय जीवनवृत्तमा आधारित विषयवर्णन आकर्षक भाषाको संयोजन, शैलीगत मनोहारिता, शिल्पगत नवीनता र विचित्रताले “शोभा” कविता कवि दैवज्ञराजको काव्यिक जीवनको मात्र उत्कृष्ट प्राप्ति होइन वि.सं. २०२० पछि नेपाली भाषामा शास्त्रीय छन्दमा लेखिएका पुफटकर कवितामध्ये अग्रस्थानमा स्थापित गरेर मूल्याङ्कन गर्न सकिने कविता हो ।
२. कवि न्यौपाने र स्थानीय प्रकृतिको अन्तरसम्बन्ध
आधुनिक नेपाली साहित्यमा ख्यातनामा कवि दैवज्ञराज न्यौपाने (१९९९–२०६८) को सिर्जनामा उनको मातृधर्ती भोजपुर, गोगने, धाइपा गाउँको प्रकृतिले सहयोग पुर्याएको पाइन्छ । वास्तवमा प्रकृतिविना प्राणीको अस्तित्व सम्भवै हुँदैन । त्यसैले सृष्टिका सबै प्राणीमा प्रकृतिको प्रत्यक्ष प्रभाव परे पनि अरूले त्यसलाई मानिसले जस्तो सहज अनुभव गर्न सक्दैन तर मानिसमा परेको प्रकृतिको प्रभाव भने उसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहजै अनुभव गर्छ । अझ दैवज्ञराजजस्ता सुकविले त त्यस प्रकृतिको अनुभवलाई काव्यमा उतारेका हुन्छन् । प्रकृतिलाई मानवीकरण गरेर प्रस्तुत गरेको काव्यले पाठक एवं स्वयं प्रकृतिलाई पनि आकर्षण गर्न सक्छ । नेपालका धेरैजसो ठाउँमा पाइने प्रकृति दैवज्ञराज न्यौपानेका गाउँमा पनि पाइन्छ तर अरू ठाउँको प्रकृति कवि आँखाले हेरेर आनन्द लिन मात्र सक्छन्, आत्मसात् गर्न सक्दैनन् । त्यसैले त रामायणमा रामले भनेका छन् ः–
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।
(जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि गौरवमय हुन्छन् )
त्यसैले, कवि दैवज्ञराज न्यौपानेलाई आपूफ आमाको गर्भबाट पृथ्वीमा झरेर च्याँ गर्दै रोएको ठाउँ र त्यसरी रुँदै रुँदै हुर्किदै गएर आमाको काखबाट देखेको प्रकृतिले कविता सिर्जनामा आकर्षण गर्यो र उनीबाट “शोभा” जस्तो सुन्दर कविता लेखियो । धेरै जातका रुख–बिरुवा, लहरा, छहरा, झोरा, नदी, कोशी, पहाड, हिमाल, समथर मैदान, टार, कान्ला, भिर, डाँडा, थुम्की, द्यौराली, खोँच, पधेँरा (धारा, कुवा) आदिको आकर्षणबाटै दैवज्ञराज कवितादेवीको आराधनामा लागेका हुन् भन्ने “शोभा” कविताको अध्ययनबाट प्रस्ट हुन्छ । त्यसैले गोगने धाइपाको प्रकृति र कवि दैवज्ञराज न्यौपानेबीच अन्तरसम्बन्ध रहेको पाइन्छ ।
३. “शोभा” कवितामा सांस्कारिक मानवीय प्रकृतिविम्ब
“शोभा” कवितामा दैवज्ञराज न्यौपानेको प्रकृतिविम्ब अत्यन्त गम्भीर रूपमा प्रतिविम्बित छ । एकपटक हेरेर, अध्ययन गरेर, कसैका मुखबाट सुनेका भरमा प्रकृतिलाई सांस्कारिक रूपमा आत्मसात् गर्न सकिँदैन । त्यसका निम्ति स्थानीय प्रकृतिसँग पूर्वजन्मको सम्बन्ध र इहजन्ममा उषाकालदेखि सन्ध्याकालसम्म देखेको र नजिकैबाट भोगेको संस्कार हुनुपर्छ । त्यसले स्थानीय जीवन र जगत्लाई सौन्दर्यमय भाव प्रस्तुतिका साथ मार्मिक र आकर्षक प्रस्तुतीकरणमा जोड दिन्छ । “शोभा” स्त्रीत्वबोधक नामवाची शब्द हो । स्त्री प्रकृतितः सौन्दर्यकी अजस्र स्रोत हुन् । पुरुषले प्रकृति र नारीको विषयमा अध्ययन गरेर त्यसको मुलायम पक्ष ग्रहण गरी सौन्दर्यमय कविताको सिर्जना गरेको हुन्छ । त्यसैले “शोभा” मा प्राकृतिक र मानवीय विम्बको संयोजन भएको पाइन्छ ।
४. पूर्वीय कवितासिद्धान्तका आधारमा “शोभा” को रचना
काव्यसिद्धान्तका पूर्वीय र पश्चिमी धारमध्ये दैवज्ञराज न्यौपाने पूर्वीय काव्यधाराका कवि हुन् । गोपालप्रसाद रिमाल, मोहन कोइराला, भूपि शेरचनजस्ता पश्चिमी काव्यसिद्धान्तका धारका कविहरूका तुलनामा शक्तिबल्लभ, उदयानन्द अर्ज्याल, भानुभक्त, मोतीराम, लेखनाथ पौड्याल, सोमनाथ सिग्द्याल, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे आदि पूर्वीय काव्यधाराका कविहरूको स्थान अहिलेसम्म उच्च छ । दैवज्ञराज पनि न्यौपाने वंशीय पारिवारिक संस्कार र संस्कृतिले पूर्वीय भाषा र साहित्यप्रति आकर्षित थिए । पूर्वीय नवीनतम र रोचक काव्यसिद्धान्तका साथै छन्दमा रचना गरिएका कालिदास, श्रीहर्ष आदि कविका काव्यसरणीले लयविधानको मर्यादा पालन गरेर भावकलाई भावविभोर बनाउन सहयोग पुर्याइरहेको सन्दर्भमा उनी पश्चिमी काव्यदर्शन, सिद्धान्त र लयविधानबाट प्रेरित हुनसक्ने सम्भावना कमै थियो । त्यसैले काव्यलेखनका क्रममा यदाकदा पश्चिमी शैलीका गद्य कविताको रचना गरेपनि कवि न्यौपाने आनुवंशिक रूपमै पूर्वीय काव्यसरणीका अनुयायी हुन् । उनको “शोभा” कवितामा पूर्वीय काव्यसिद्धान्त र कालिदास र श्रीहर्षीय लयविधानको संयोजन छ । प्रस्तुत कविताको रचना गर्दा उनी शरीरमा भर्भराउँदो जवानीले कुस्ती खेल्न थालेको अवस्थामा थिए । बाल्यकालीन वन भ्रमणको सम्झना र शोभाको रूप एवं सौन्दर्य स्रष्टाको जवानीको जोश र त्यसको उच्चतम प्रहरमा रचना गरिएको कविता भएको हुनाले “शोभा” को रागात्मक र सौन्दर्यमय उचाइका साथै उनको जवानीका छुक्छुके वयलाई कवितामा उतार्न सक्नु कवि न्यौपानेको संयमित र शिष्ट कवितालेखनको उत्कृष्ट नमुना मान्न सकिन्छ ।
५. नेपाली पुफटकर कविता परम्परामा “शोभा” को मूल्य
नेपाली कविताविधाका मूर्धन्य व्यक्तित्व सुवानन्द दासको “पृथ्वी नारायण”, शक्तिवल्लभ अर्ज्यालको “तनहुँ भकुण्डो”, परदेशी कवि गुमानी पन्तको “धन्य गोर्खाली राजा”, भानुभक्त आचार्यको “बालाजी वर्णन”, मोतीराम भट्टको “अचल झण्डा”, कृष्णलाल अधिकारीको “भाइहरूलाई अर्ती”, लेखनाथ पौड्यालको “पिँजराको सुगा”, लक्ष्मीप्रसाद देवकोटाको “पागल”, बालकृष्ण समको “म पनि द्यौता मान्छु”, माधवप्रसाद घिमिरेको “वैशाख” र “कालीगण्डकी”, वासुदेव त्रिपाठीको “वसन्त”, गोपालप्रसाद रिमालको “आमाको सपना”, भूपी शेरचनको “मैनबत्तीको शिखा” ले नेपाली पुफटकर कवितापरम्परामा विशिष्टता र उत्कृष्टता प्राप्त गरेजस्तै वर्णनकुशलता, भावगाम्भीर्य र शिल्पसंयोजन, कलात्मक भाषिक काव्यमयता, विशिष्टता, शैली र प्रस्तुतीकरणगत नवीनताले “शोभा” कविता द्यौराली पार गरेर शिखरमा पुग्ने प्रयत्नमा छ भने उनैको अर्को रसिक प्रेममय कविता “प्रियालाई सन्देश” ले शिखर चुमेको महसुस गर्न सकिन्छ । त्यसैले दैवज्ञराज न्यौपानेका “शोभा” र प्रियालाई सन्देश गरी कविताद्वय अमर हुन सक्छन् ।
६. “शोभा” कवितामा कविका यौवनका रागहरू
दैवज्ञराज न्यौपानेको “शोभा” कवितामा यौवनका रागहरूको सुमधुर धुन पाइन्छ । यौवनका यादहरू उर्लने हुनाले वसन्तलाई ऋतुराज मानिएजस्तै मानवीय जीवनको स्वर्णयुग यौवनकाल हो । त्यस्तै, अत्यन्त सुन्दर कविता पनि यौवन अवस्थामा लेखिएको र शृङ्गाररसप्रधान एवं वसन्तको सुवास मगमगाउने र प्रेमी–प्रेमिकाका बारेमा लेखिएको कविता नै अत्युत्तम हो । यस्तो कवितामा जीवन साउन–भदौको छहरा भएर रसाउँछ । वसन्त भएर मुस्कुराउँछ । त्यस्तो भावप्रस्रवण भएको कविता पढेर पाठकको मन हिउँभैँफ पग्लिन थाल्छ, मुरली र सारङ्गीको धूनभैँफ गुनगुनाउन थाल्छ । कवि न्यौपानेले “शोभा” मा यौवनका सुमधुर रागहरू अलापेका छन् । यो राग अलापेका बेला कवि दैवज्ञराज न्यौपानेको विवाह पहाडकी कलकलाउँदी रजनीसँग भएको थियो । न्यौपानेले “शोभा” को रचना गर्दा वास्तविक रजनी सुन्दरी र कल्पित तथा बाल्यकालकी वनसखी “शोभा” को प्रतिबिम्ब एकसाथ प्रस्तुत गर्न पुग्छन् । त्यसैले “शोभा” शब्दहरूको सुनियोजित संयोजन वा गुम्फनमा मात्र कैद भएकी छैन । त्यस कवितामा त कवि दैवज्ञराज न्यौपानेको कल्कलाउँदो यौवनका शब्दमय, वसन्तमय र सौन्दर्यमय रागहरूको प्रस्तुति पनि पाइन्छ ।
७. कविको मूल्याङ्कनमा निष्पक्षता र “शोभा”
कवि/साहित्यकार दैवज्ञराज न्यौपाने मुलुकका प्राज्ञिक, सरकारी एवं गैरसरकारी साहित्यिक संघसंस्थाले आयोजना गरेका कविता प्रतियोगिता/साहित्य सम्मेलनमा प्राप्त भएका रचनाहरूको चयन समितिमा नियुक्त हुने गर्थे । त्यस जोखिमपूर्ण निर्णयमा कवि न्यौपानेको बुद्धि, विवेक, अनुभवात्मक क्षमता र निष्पक्षता मुखरित हुने गर्थ्यो । उनी शारीरिक बनावटमा जति सुन्दर थिए निर्णय क्षमतामा निर्भीक र निष्पक्ष थिए । उनको मण्डलीले गरेको साहित्यिक रचनाहरूको निर्णयमा दोष देखाउने ठाउँ रहँदैनथ्यो । त्यसैले त्यस निष्पक्ष निर्णयको प्रभाव “शोभा” को चरित्र चित्रणमा पनि परेको छ । उनले “शोभा” को शोभामय चरित्र वर्णनमा धेरै नै न्याय गरेको पाइन्छ । यो पक्ष नै प्रस्तुत कविता उत्कृष्ट हुनुको प्रमुख कारण हो ।
८. “शोभा” सँग “शोभा” को तुलना
दैवज्ञराज न्यौपानेद्वारा प्रणीत “शोभा” (२०२३) कविताको उनैद्वारा परिष्कृत “शोभा” (२०४६) को तुलना गर्नु आवश्यक देखिन्छ । कविले प्रस्तुत कवितामा बाल्यकाली वनसखी “शोभा” को सौन्दर्यमय जवानीको सुन्दर चित्रण गरेका छन् । २०२३ सालमा “शोभा” शीर्षकमा रचित कवितालाई २०४६ मा प्रकाशित “जोर मुरली” मा परिष्कार र परिमार्जन गरिएको देखिन्छ । “कविता” पत्रिकाको २०२३ शरद अङ्कमा पृष्ठ ४६४ देखि ४६६ सम्म प्रकाशित छ । त्यसैको परिमार्जित “शोभा” २०४६ सालको “जोर मुरली” कवितासङ्ग्रहमा पृष्ठ २० देखि २३ सम्म प्रकाशित छ । “कविता” पत्रिकामा प्रकाशित भएको “शोभा” कवितामा १४ पद्यसङ्ख्या छन् भने २०४६ को “जोर मुरली” मा १६ पद्यसङ्ख्या छन् । त्यस्तै, कविता पत्रिकामा “शोभा” कविताका रूपमा प्रकाशित भएको पाइन्छ भने त्यही “शोभा” २०४६ को “जोर मुरली” मा लघुकाव्यका रूपमा प्रकाशित भएको पाइन्छ ।
“शोभा” कविता प्रकृतिको काखमा हुर्किएकी ग्रामीण नवयुवती हुन् । यस कवितामा कवि न्यौपानेको यौवनपूर्णवय समकक्षी “शोभा” सँग विलीन हुने प्रचेष्टामा छ तर.. छेक्यो डाँडाले भन्ने नेपाली लोकगीतभैँफ दैवज्ञ र शोभाको कुर्कुरे बैँसमा वनपाखामा गाई वाख्रा चराउँदा भेट भए पनि पछि भेट गर्न नेपालको प्रकृतिका कयौँ डाँडाकाँडाले छेकेका थिए, नदी र कोशीले रोकेका थिए । यसरी पहिलेको यौवनमय प्रेमभावनालाई कवि न्यौपानेले मनको एउटा कुनामा लुकाएर राख्न सकेनन् र सुन्दर कविताका रूपमा प्रस्तुत गरे । यो “शोभा” पहिलो पटक २०२३ सालमा लेखेर २०२३ सालमै प्रकाशित गर्दाका केही शब्द र कवितांशलाई २०४६ सालको जोर मुरलीमा आएर कविको कविता रचनामा विकसित भएको परिपक्वता, अध्ययन र चिन्तनमा गम्भीरता, भाषा र शैलीको परिष्कार आदि प्रमुख कारणले “शोभा” कविता अझ परिष्कृत हुन पुगेको छ । “शोभा” को “शोभा” सँगै तुलना गर्दा समय र उमेरगत परिपक्वताले कविता सिर्जनामा निखार आउन सक्छ भन्ने पुष्टि हुन्छ । यस कविताले अन्य कविहरूले पनि आफ्ना कविताहरू परिमार्जन गर्न नहिच्किचाऊन् भन्ने सन्देश दिएको छ ।
९.“शोभा” मा अलङ्गार विधान
“शोभा” कविता रस, ध्वनि, वक्रोक्ति आदि काव्यशास्त्रीय मान्यताहरूका आधारमा विश्लेषण गर्न सकिने सम्भावना भए पनि प्रस्तुत कवितामा कवि दैवज्ञराज न्यौपाने र पहाडकी नवयौवना “शोभा” को यौवनमय र अलङ्कारमय जीवनको भावना, अनुभव र अनुभूति अभिव्यक्त भएको हुनाले काव्यशास्त्रका अन्य पक्षभन्दा अलङ्कार विधानका आधारमा विश्लेषण गर्नु उपयुक्त देखिन्छ । त्यसैले प्रस्तुत कविताका पद्यहरूमध्ये केही पद्यमा पाइने अलङ्कारहरूको चर्चा गर्नु आवश्यक छ ।
अलङ्कार भनेको काव्यको शोभा हो र कविताको शीर्षक पनि “शोभा” नै छ । त्यसैले अलङ्कार र कवितानायिका “शोभा” को अन्योन्याश्रित सम्बन्ध रहेको छ । महिलाहरू आकर्षक गरगहना र लत्ताकपडाहरूद्वारा सुसज्जित भएर प्रस्तुत हुन चाहन्छन् । “शोभा” मा “सौन्दर्य” नामको भावनात्मक तर अमूर्त विषयको मूर्त प्रस्तुतिले उनको शारीरिक तथा कवितात्मक जीवनलाई ओज प्रदान गरेको महसुस हुन्छ । “शोभा” कवितामा पाइने प्रमुख अलङ्कारको चर्चा निम्नअनुसार गर्न सकिन्छ ः–
क. भ्रान्तिमान् अलङ्कार
“शोभा” कविताको पहिलो पद्य भ्रान्तिमान् अलङ्कारका रूपमा रहेको छ । जस्तै,
राम्रो लग्छ सधैँ हरा प्रकृतिको एकान्तको निर्जन
गाई हेर्न भनी खुसी हृदयले जान्थेँ रमाई वन
शोभा त्यो वनभित्र शान्त वनकी बस्थिन् अकेली परी
लाग्थ्यो रौंस मलाई त्यो सुनचरी छोपूँ कि छोपूँ सरि
सो उदाहरणको चौथो पङ्क्तिको अन्तिम पाउमा त्यो सुनचरी अर्थात् शोभा– “छोपूँ कि छोपूँसरि” भन्ने भावले कविलाई भ्रान्ति भएको हुनाले भ्रान्तिमान् अलङ्कार परेको छ । अर्को कुरा, प्रस्तुत पद्यको चौथो पङ्क्तिमा कविले “शोभा” लाई “सुनचरी” अर्थात् सुनजस्तै भर्भराउँदी भन्ने आरोप गरेका छन् । त्यस आरोपित आधारबाट रूपक अलङ्कार परेको छ । अर्कातिर लुप्तोपमा पनि देखिन्छ ।
ख. उपमा अलङ्कार
“शोभा” कवितामा उपमा अलङ्कारको प्रयोग यसरी गरेको देखिन्छः–
मैले हात समाउँदा रहरले ती हातमै आउँथिन्
मैले गीत सुनाउँदा हृदयका ती गीत गुञ्जाउँथिन्
बन्थे इन्द्रिय लस्त त्यो समयमा क्वै वात लागेसरि
के के भावुक कल्पना हृदयका पुफट्थे सयौँ मञ्जरी ।
यस पद्यमा कविता नायिकाका इन्द्रियहरू “क्वै मात लागेसरि” लस्त बन्थे भन्ने अभिप्रायमा उपमा अलङ्कारको प्रयोग भएको छ । कवि न्यौपानेकी कविताकी नायिका शोभामा क्यै मात लागेजस्तो भएको छ ।
ग. अन्त्यानुप्रास अलङ्कार
नेपाली कविहरूमध्ये आफ्ना कविता र काव्यमा कुनैले अन्त्यानुप्रासलाई पनि जोड दिएका छन् । कुनै कविले भने भावप्रवाहका व्रफममा अन्त्यानुप्रास अलङ्कारको संयोजन गर्ने बहानामा शब्दहरू जबर्जस्ती प्रयोग गर्नु उचित नहुने आशय प्रकट गरेका छन् । कवि न्यौपानेको “शोभा” का सबै पद्यमा अन्त्यानुप्रास अलङ्कारको प्रयोगलाई विशेष जोड दिइएको छ । अन्त्यानुप्रास अलङ्कार प्रयोग भएको एक सुन्दर पद्य तल प्रस्तुत छः
यौटा रूप छिपेर बादल बनी आँसु म काढूँ किन ?
यौटा गीत भुलेर आज उनको स्वप्ना म छाडूँ किन ?
मेरो वर्गतभित्र एक कलिका सामू यहाँ पुफल्दछ
मेरै जीवनसाथ आज उनको गाथा यहाँ खुल्दछ ।
सो उदाहरणमा प्रत्येक पङ्क्तिको अन्त्यमा काढूँ किन ? छाडूँ किन ? पुफल्दछ, खुल्दछ प्रयोग भएको पाइएको हुनाले अन्त्यानुप्रास अलङ्कार प्रयोग भएको देखिन्छ ।
घ. रूपक अलङ्कार
“शोभा” कवितामा प्रयोग गरेको रूपक अलङ्कार निम्न अनुसार प्रस्तुत छः
मान्छे खोज्दछ मोल भेट्न युगको सस्तो छ आँसू यहाँ
मान्छे हाँस्तछ प्रीतिमा रहरले बिर्सेर आँसू यहाँ
छोए मानिसले अनन्त युगको यो पूफल आँसू न हो
हाँस्लान् क्यै दिन भूलले तर यहाँ आँसू छ संसार यो ।
सो उदाहरण “आँसु” सस्तो भएको, मान्छे प्रीतिमा हाँस्तछ, कसरी “आँसु” बिर्सिएर । त्यस्तै, यो पूफल पनि आँसु नै हो, यहाँ अर्थात् संसारमा आँसु छ भन्ने प्रसङ्गमा प्रत्येकलाई आँसुको आरोप गरिएको हुनाले प्रस्तुत पद्य रूपक अलङ्कारको उदाहरण हो ।
१०. नेपाली कवितामा दैवज्ञराज न्यौपानेको स्थान निर्धारण
नेपाली पुफटकर कविता परम्परामा सुवानन्द दास, शक्तिवल्लभ अर्ज्याल, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, माधवप्रसाद घिमिरे, भूपी शेरचन, गोपालप्रसाद रिमालले ग्रहण गरेको स्थान आफ्नो–आफ्नो कित्तामा महत्त्वपूर्ण रहेको छ । उपर्युक्त प्रतिभाहरूपश्चात् दैवज्ञराज न्यौपानेले “शोभा” कविताको प्रकाशनपछि आफ्ना समकालिक कविहरूका तुलनामा अग्रस्थान ग्रहण गरेका छन् । माधवप्रसाद घिमिरेका उत्तराधिकारी कविका रूपमा चिनिएका दैवज्ञराजले कवि घिमिरेका कविताको सिको गरेका भए पनि उनले पछि गएर आफ्नो छुट्टै स्थान बनाएका छन् । कवि माधवप्रसाद घिमिरेका वैशाख र कालीगण्डकी नेपाली पुफटकर कवितापरम्परामा विशिष्ट प्राप्ति हुन् । उनका उक्त कविताका तुलनामा न्यौपानेको “शोभा” कविताको तुलना र स्तर निर्धारण गर्न उचित नहोला । तर, घटराज भट्टराई, गणेश विषम, पवनकुमार खनालले स्तरीयताका आधारमा ग्रहण गरेको स्थानभन्दा माथि देखिन्छन् न्यौपाने । त्यसो त आपूफभन्दा केही वर्षअघि मात्र कविता रचना गर्न सुरु गरेका भानुभक्त पोखरेल, भरतराज मन्थलीय, भरतराज पन्त, मुकुन्दशरण उपाध्यायका कविताको भाव, शैली, कवितात्मक भाषाको प्रयोग, युगबोध र प्रस्तुतीकरणका आधारमा मूल्याङ्कन गर्दा पनि उक्त कविहरूको स्तरसँग कवि न्यौपानेको पुफटकर कविताको स्तर समान देखिए पनि उनले कविता साधनाका माध्यमबाट आपूफले कायम गरेको आफ्नो स्थान विशिष्ट छ, अलग छ ।
अकस्मात्
कवि/प्राध्यापक दैवज्ञराज न्यौपानेले नेपाली कविता, काव्य, बालसाहित्य, शोध–समालोचनाका विधामा महत्त्वपूर्ण योगदान दिएका हुनाले उनको चर्चा–परिचर्चा भइ नै रहन्छ । साथै, विद्यार्थीहरूलाई राम्रोसँग बुझाएर पढाउने, रातोपीरो अनुहार र लोभलाग्दो जिउडाल, निष्पक्ष निर्णायक, कविता/काव्यवाचनमा निपुण गला र कलाका पारखी, थुप्रै साहित्यिक तथा सामाजिक संघसंस्थामा आबद्धता र धेरै पत्रिकाको सम्पादन गरेका हुनाले कवि न्यौपाने धेरै नेपालीका बीच परिचित छन् । परिचित व्यक्तिको नाम चर्चामा आइरहन्छ । क्याम्पस, त्रिभुवन विश्वविद्यालय, विभिन्न संघसंस्थाका साथै बस तथा पैदल यात्रीले समेत दैवज्ञराज न्यौपानेको नाम विभिन्न रूपबाट लिने गर्दछन् । प्रस्तुत “शोभा” कविताका विश्लेषकले पैदल यात्राका क्रममा विभिन्न ठाउँमा दैवज्ञराजका बारेमा अपरिचित व्यक्तिबाट सुनेका चर्चा र मूल्याङ्कन संक्षिप्त रूपमा तल प्रस्तुत छ ः–
क. पुतलीसडक (सामूहिक छलफल गरिरहेका)ः
नेपाली साहित्यका झिल्के कविका रूपमा परिचित दैवज्ञराज न्यौपाने कसैलाई नबिझाउने बोली बोल्न सिपालु थिए । उनका कृति पढ्दा आधुनिक नेपाली काव्य विधाका प्रतिनिधि कवि हुन् भन्ने अनुभव हुन्छ । अरू दश वर्ष बाँचेका भए उनले नेपाली साहित्यमा अरू कृतिहरू थप्न सक्ने थिए ।
ख. कीर्तिपुर बहुमुखी क्याम्पस, केन्द्रीय नेपाली विभाग, (विद्यार्थीको समूहमा छलफल भएको)ः
ए रवि, बुझिस् ! आज दैवज्ञ गुरुले पढाएको पाठ राम्रोसँग बुझियो नि ! उनले पढाएको तँलाई कस्तो लाग्यो ? विषयवस्तुलाई राम्रोसँग बुझाउन सक्ने, आकर्षक व्यक्तित्व त दैवज्ञ गुरु नै हुन् ।
ग. नयाँ बानेश्वर चोक (समूहमा छलफल भइरहेको)ः
मैले अगि मात्र रेडियोबाट प्रसारित दैवज्ञराज न्यौपानेको गीत सुनेको थिएँ । शब्द र सङ्गीतको संयोजनले गीत निकै राम्रो लाग्यो । कस्ता चौतर्फी प्रतिभा हगि ! कविता, गीत, बालसाहित्य सबैमा कलम चलाएका । उनले त बुझिस् राजु, तीनओटी श्रीमती बिहे गरेका रहेछन् । अन्तिममा चाहिँ सुधाका काखमा कवि दैवज्ञको प्राण गएको रहेछ । बुझिस् कञ्चन, उनी त रोमान्टिक पनि थिए वाइ ! कहिले घुमाएर त कहिले सोभैफ यौनका कुरा पनि गर्थे । हामीलाई सुनिरहौँजस्तो लाग्थ्यो । नेपाली साहित्यमा दैवज्ञराज न्यौपानेजस्ता अति रसिला, रमाइला र धेरैलाई मन पर्ने कवि अरू छैनन् ।
घ. गोदावरी पार्क (वनभोज भएका युवतीको समूहमा कुराकानी भइरहेको)
रीता, धारा, कविता, तिमीहरूले दैवज्ञराज न्यौपानेका कविता, काव्य, बालसाहित्य, समीक्षा, शोध पढेकी रैनछ्यौ । राम्रोसँग पढ त । उनी आधुनिक नेपाली साहित्यका अब्बल दर्जाका कवि हुन् । राम्रो कविता रचना गर्न राम्रो मन चाहिन्छ । जसको अनुहार राम्रो हुन्छ, त्यसको मन पनि राम्रो हुन्छ । दैवज्ञ सर, कक्षामा राम्रोसँग पढाउँदा रहेछन् । उनको बोली सुनी रहूँजस्तो छ । अनुहार हेरी रहँूजस्तो छ । कविता पनि पढी रहूँजस्तो छ । उनले लेखेका राम्रा कवितामध्ये आषाढ, प्रियालाई सन्देश, शोभा आदि हुन् । दैवज्ञराज न्यौपानेको फोटो हेरेर, कविगोष्ठी र अन्य साहित्यिक समारोहमा उनको अनुहार हेरेर धेरै केटीहरूले प्रशंसा गरेका छन् ।
११. निष्कर्षः
कवि दैवज्ञराज न्यौपानेले विद्यार्थी अवस्थामै रचना गरेको “शोभा” कविता भाव, पात्र, चरित्र–चित्रण, भाषा, शैली, कलात्मकता आदि धेरै दृष्टिले महत्त्वपूर्ण कविता हो । कवि स्वयंले २०४६ सालमा प्रकाशित गरेको “जोर मुरली” लघुकाव्यका रूपमा यस “शोभा” को उल्लेख गरेका भए पनि वास्तवमा यसलाई पुफटकर कविताकै रूपमा लिनु उचित हुन्छ । यो लघुकाव्य होइन । कवि न्यौपानेको बाल्यकाल र यौवनको छुकछुके प्रहरमा वनमा भेटिएकी “शोभा”को स्वच्छन्द, सुन्दरता, आकर्षक प्रकृति र यौवनमय तन्मयतामा निर्लिप्त न्यौपानेले जन्मस्थानबाट टाढा पुगेर स्मृतिमा उकुसमुकुसिएका भावनालाई सुन्दर कविताका रूपमा अभिव्यक्ति दिएका छन् । प्रस्तुत “शोभा” कविताको मूल्याङ्कन बहिरङ्ग र अन्तरङ्ग गरी दुई किसिमबाट गर्न सकिन्छ । एउटै लेखमा दुवै पद्धतिको विश्लेषण सम्भव नहुने यथार्थतालाई दृष्टिगत गरी “शोभा” को बहिरङ्ग कोणबाट मात्र विश्लेषण गरिएको छ । यसले “शोभा” को रचनाविधान र यसको स्वरूपबारे संक्षिप्त रूपमा जानकारी प्राप्त हुनसक्ने विश्वास गर्न सकिन्छ ।
ृ
प्रमुख सन्दर्भ सामग्री
गीता सापकोटा, दैवज्ञराज न्यौपानेका खण्डकाव्यकृतिको विश्लेषण, (२०५६), त्रि.वि. केन्द्रीय नेपाली विभागमा प्रस्तुत अप्रकाशित शोधपत्र ।
गोविन्दराज भट्टराई, “नेपाली साहित्यमा सिर्जनाको धरातल” गरिमा वर्ष ३० अङ्क २ (पूर्णाङ्क ३५०) माघ २०६८ ।
डिल्लीराम तिमल्सिना, काव्यमीमांसा (अनुवाद) (२०३०) काठमाडौं, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
दैवज्ञराज न्यौपाने, जोर–मुरली (२०४६) नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
नरेन्द्र चापागाईँ र अन्य, काव्य समालोचना (२०५२) विराटनगर, पूर्वाञ्चल साहित्य प्रतिष्ठान ।
वासुदेव त्रिपाठी र अन्य, दैवज्ञराज न्यौपाने, जीवनी, कृतित्व तथा अभिनन्दन (२०६६), काठमाडौं, साहित्यकार प्रा. दैवज्ञराज न्यौपाने अभिनन्दन समिति ।