कवि दैवज्ञ र सिर्जनाको लहर
नेपाली काव्य सिर्जनाका क्षेत्रमा कवि दैवज्ञराज न्यौपाने उत्कृष्ट प्रतिभाका रूपमा चिनिन्छन्।नेपाली भाषा र साहित्यका क्षेत्रमा उनका जे जति रचना छन् ती सबै सरल, सहज, ललित र हृदय विदारक छन्। मानवीय जीवनका घात-प्रतिघात, प्राप्ति-अप्राप्ति, इच्छा, आकांक्षा, आरोह-अवरोह जस्ता विषयलाई केन्द्रविन्दु बनाएर सिर्जना गर्ने न्यौपाने मानव जीवनलाई सुखदु:खको साझा चौतारीका रूपमा चित्रण गर्ने गर्दछन्।पेसा, व्यवसाय र विनिर्माण जीवन यापनका भर्याङ हुन् ती सबैका आ-आफ्ना विधि प्रक्रिया र पद्धतिहरू हुन्छन्, आधुनिक जीवन जगत्का जे जस्ता सुखेच्छा, भोगेच्छा र प्राप्तेच्छा छन् ती सम्पूर्ण मनकामनालाई न्यौपाने गीतकै रूपमा हेर्न चाहन्छन् ।
प्रकृतिले अभिव्यक्त गर्ने अज्ञात र अविदिततर्फको संकेतलाई कवि न्यौपाने गीतकै रूपमा अङ्गीकार गर्दछन्, किसानको कृषिकर्म न्यौपानेको भाषामा कर्मयोगको गीत हो, कल्पदी वैंशको वेदना, संझना, कल्पना र छटपटी मानवीय मान्यता र मूल्यको गीत हो, गाई बाख्रा चराउने गोठालाको उन्माद, परिकल्पना, इच्छा, आकांक्षा र सन्तुष्टि परिकल्पनाविहीन स्वत:स्फूर्त गीत हो, विज्ञानको आविष्कार, कल-कारखाना र उद्योगबाट उत्पादित यावत् वस्तु भौतिक जीवन यापन सामग्रीका गीत हुन् यन्त्रवत् सहरी जीवनका उच्छ्वासहरू आजको विश्वले आत्मसात् गरेको गीत हो जो क्षणिक असत्य र बाह्यजीवन जगत्सँग परिचित छ। सरलता, सरसता र संगीतात्मकता न्यौपानेका रचनाका आत्मा हुन् ।यसरी हेर्दा नेपाली भाषा र साहित्यका क्षेत्रमा न्यौपाने सहज प्रतिभाका स्रष्टा ठहरिन्छन्। यिनै परिधिभित्र रहेर उनको सिर्जनाको लहर गीति कविता संग्रहको विवेचना गरिन्छ।
प्रस्तुत सिर्जनाको लहर नामक गीत संग्रह २०३५ सालमा साझा प्रकाशनबाट प्रकासित भएको हो। यसमा उनका पचहत्तरवटा गीतहरू संकलित छन्। २०२२ सालबाट सुरु भई २०३४ सालसम्म लेखेका रचनाहरू यसमा समेटिएका छन्।यस अतिरिक्त बाह्रै महिनालाई यहाँका गीतहरूले आत्मसात् गरेका छन् ।भौगोलिक हेराइमा भन्नु पर्दा भोजपुरदेखि दार्चुलासम्मका क्षेत्रलाई यस संग्रहले समेटेको छ। त्यसैले यस संग्रहभित्रका रचनाहरूले सिङ्गो नेपाललाई प्रतिनिधित्व गरेका छन् । जीवन र जगत्का अवधारणापरक भोगाइहरू स्वीकार गर्दै कवि न्यौपाने भन्छन् :-
जहाँ पनि उस्तै घाम उस्तै छाया हुन्छ
पाएपछि नपाइनेको पनि माया हुन्छ
रात दिन एकै ठाउँ जोड्न सके हुन्थ्यो
सुखदु:ख सँगै राखी बाँड्न सके हुन्थ्यो ।
यसरी घाम-छाया, सूर्य-चन्द्र, दिन-रात, प्राप्त-अप्राप्त, सुख-दु:ख एकै खाले हुन्छन्।मानवीय अवधारणाले मात्र तिनीहरूमा पृथकता भएको हो भन्ने समभाव उनका गीतले अभिव्यक्त गरेका छन्।मान्छेभित्र अद्भुत गुण हुन्छ जसले त्यसको पहिचान गर्न सक्छ त्यसैले यो संसारमा आनन्द लिन सक्ने पक्षलाई न्यौपानेका गीतले यसरी अभिव्यक्त गरेका छन् :-
ढुङ्गा फोरी हीरा हुन्छ माटो गोडी सुन
सुनभन्दा पनि राम्रो सिर्जनाको धुन
आफ्नै हात घाम लाग्छन् आफ्नै हात पानी
लिनु के छ ? आफूलाई आफ्नै हात तानी।
यस संग्रहभित्र यसप्रकारका अनन्त अनुभूतिका भुल्काहरू भुल्किएका छन् जसले मानवीय संवेदना, मर्म, भावना र दिनचर्यालाई आत्मसात् गरेका छन् । गीतकार न्यौपानेका गीति झिल्काहरूले राष्ट्रवादी भावनालाई पनि त्यत्तिकै सशक्त पाराले औंल्याएका छन्,
जात मेरो नेपाली हो जहाँ गए पनि
नाम पनि नेपाली हो जसले भने पनि
आफ्नै धर्ती आफ्नै माटो चुम्न सके देश
ह्यूँचुलीको पहिलो झुल्का पहिलो मेरो देश।
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको नेपाल हिमाली मुलुकका रूपमा चिर परिचित छ, तसर्थ नेपाल र नेपाली नै हाम्रो आफ्नो पहिचान हो भन्ने भावना समेटिएका यी पङ्क्ति ज्यादै मार्मिक र समदर्शी भावनाले ओतप्रोत छन् ।आफ्नै बाटो, आफ्नै माटो, आफ्नै भिर-पाखा र खोल्साहरुलाई उपयोगी बनाउन सके मात्र सच्चा सुख प्राप्त हुने कुरामा न्यौपाने सजग छन् :-
काम गर्ने पाखुरी छन् पाइला चाल्ने गोडा
लेख बेसी तराइका हामी मिल्ने जोडा
पसिनाले पहराको सेखी झार्न सकौं
सुन्दर यो देश अझै राम्रो पार्न सकौं ।
यस्ता धेरै गीतहरुले सजिएको यो गीति संग्रह मनवीय जीवन-जगत्, मूल्य-मान्यता, आस्था-धारणा, प्राप्ति-अप्राप्ति, संगति-विसङ्गति आदि विविध विषयको सम्मिश्रण हो, जसभित्र प्राकृतिकता, राष्ट्रियता, काव्यात्मकता, संगीतात्मकता र भौगोलिक वैभिन्यहरु चलचित्रात्मक शैलीमा भेटिन्छन् । त्यस्तै यसभित्र आशा र उमङ्ग छचल्किएका छन्, माया र ममताले घुम्टो ओडेका छन्, अठोट जुर्मुराएको छ, वस्तु, भावना र प्रस्तुतीकरणको त्रिकोणात्मक समन्वय भएको छ ।एकै शब्दमा भन्नु पर्दा प्रस्तुत गीति संग्रह नेपाली भाषा र साहित्यका क्षेत्रमा देखा परेका गीति सिर्जनाहरुमा उत्कृष्ट काव्यकृति हो ।
२०६९ मार्ग ७
कलङ्की, काठमाडौँ