हुने बिरुवाका चिल्ला पातभित्र दैवज्ञराज न्यौपाने
विषय प्रवेश
दैवज्ञराज न्यौपाने (१९९९–२०६८) नेपाली साहित्य, प्राध्यापन र समाज सेवाका क्षेत्रमा परिचित व्यक्तित्व हुन् । उनका यी अलग अलग व्यक्तित्वमध्ये साहित्यकार व्यक्तित्व सर्वाधिक उच्च रहेको छ । उनको शिक्षासेवी व्यक्तित्व समेत साहित्यकार व्यक्तित्वसँगै एकाकार भएर रहेको छ । यस लेखलाई बाल साहित्य सिर्जना अन्तर्गत पर्ने हुने विरुवाका चिल्लापात जीवनी सङ्ग्रहमा केन्द्रित गरिएको छ ।
जीवनी र बालजीवनी
बालबालिकाका लागि उपयोगी हुन सक्ने जीवनीलाई बालजीवनी भनिन्छ । यस्तो जीवनी लेखन गर्दा समाज राष्ट्र र विश्व परिवेशमा विशेष योगदान पुर्याउने विशिष्ट व्यक्तित्वको जीवनीका बाल्यकालीन घटना र चरित्रलाई केन्द्रमा राखिन्छ । यस्तो जीवनीका पठनले बालबालिकालाई असल बन्ने प्रेरणा प्रदान गर्दछ । बालोपयोगी जीवनीलाई बुझ्न केही जीवनी सम्बन्धी अवधारणा बुझ्नु आवश्यक छ : जीवनी व्यक्तिका जीवनको सम्पूर्णता हो भने बाल जीवनी जीवनका पूर्वार्धको आकर्षक चित्रण हो जो गद्यमा लेखिन्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजका लागि केही गर्न सकेका महान् मान्छेका जीवनीलाई बालबोध्य भाषामा प्रस्तुत गरिएको जीवनी बाल जीवनी हो । यस्तो जीवनीमा व्यक्तिको सम्पूर्ण जीवन विवरण समेटिए पनि बाल्यकालीन घटना र गतिविधिलाई महत्वसाथ प्रस्तुत गरिन्छ । बालबालिकाका लागि तयार पारिने पठन सामग्रीमध्ये बालजीवनीले सर्वाधिक उत्प्रेरणा प्रदान गर्न सक्छ ।
बालजीवनी लेखन परम्परामा न्यौपाने
बालजीवनीलाई बालोपयोगी जीवनी पनि भनिन्छ । यस किसिमको जीवनी लेखनका लागि बालबालिकाको पठन सामर्थ्य र मनोविज्ञानलाई बुझ्नु आवश्यक छ । नेपाली साहित्य परम्परामा देवकुमारी थापाद्वारा लिखित पुण्यात्मा आमा (२००९) लाई प्रथम बालोपयोगी जीवनी मानिएको छ । सो जीवनी रामकृष्ण परमहंशकी श्रीमती शारदादेवीको जीवनी हो । थापाकै अर्को छ तारा (२०१०) जीवनी प्रकाशनमा आयो । छ ताराभित्र राजा त्रिभुवन, आदिकवि भानुभक्त आचार्य, राष्ट्र निर्माता पृथ्वीनारायण शाह, बहादुर व्यक्तित्व अमरसिंह थापा र बलभद्र कुँवर एवं कलाकार अरनिकोका जीवनी समेटिएका छन् । यी दुबै कृति रामकृष्ण वेदान्त आश्रम दार्जिलिङले प्रकाशनमा ल्याएको थियो ।
बालजीवनी साहित्य परम्परामा बन्धुको महाकवि लक्ष्मीप्रसाद देवकोटा (२०१८), वदरीनाथ भट्टराईको नेपालका तारा (२०१९), बालकृष्ण समको हाम्रा राष्ट्रिय विभूतिहरू (२०४५), जीवन अधिकारीको हाम्रा पुर्खा (२०२७), यदुनन्दन केसीको नेपालका महान् विभूतिहरू (२०३३), गोपाल पराजुलीका केही राष्ट्रिय विभूतिहरू –भाग १ र २ (२०४५, भाग २ मा मिति उल्लेख नभएको) प्रसिद्ध पाँच वैज्ञानिकहरूको जीवनी (२०४५), हाम्रा प्रसिद्ध साहित्यकार (२०५६), हाम्रा केही प्रसिद्ध साहित्यकार (२०५३) जस्ता केही सीमित जीवनीका पुस्तक प्रकाशन भएका सन्दर्भमा दैवज्ञराज न्यौपानेको हुने विरुवाका चिल्ला पात (२०४५) देखा परेको हो । यसको प्रकाशकीयमा विशिष्ट बाल साहित्यकार माधव घिमिरेले भनेका छन् – जीवनी पढ्दा रमाइलो पनि हुन्छ र त्यो पढेको काम पनि लाग्छ । त्यसैले बालकको व्यक्तित्वको विकास र चरित्रको निर्माण गर्नु छ भने तिनलाई महापुरुषका जीवनी अवश्य पढाउनु पर्छ ।
हुने विरुवाका चिल्ला पात जीवनी सङ्ग्रहको अध्ययन
२०४५ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित हुने बिरुवाका चिल्ला पातमा विज्ञान, धर्म, समाजसेवा, साहित्य, सङ्गीत, राजनीति, दर्शन आदि क्षेत्रमा जीवन अर्पण गर्ने प्रसिद्ध र विश्वप्रसिद्ध १७ जनाका जीवनी समेटिएका छन् । बालबालिकालाई भविष्यमा असल र महान् मान्छे बनाउन सानैदेखि त्यस्तै व्यक्तित्वहरूको चिनारी गराउनु, असल बानी व्यवहार सिकाउनु र मेहिनेत गर्न अग्रसर गराउनुपर्छ भन्ने उद्देश्यले लेखिएको यस पुस्तकलाई शीर्षकीय, संरचनात्मक र विषयवस्तुगत सन्दर्भमा अध्ययन गरिएको छ ।
शीर्षकीय सन्दर्भ
हुने बिरुवाका चिल्ला पात जीवनी सङ्ग्रहको शीर्षक लोकोक्तिबाट प्रक्षेपण गरिएको छ । हुने बिरुवाको चिल्लो पात भन्ने उखान नै छ । यसको अर्थ जुन बिरुवा भविष्यमा फुल्न र फल्नका लागि हुर्कंदै हुन्छ त्यो बिरुवाका पात सानैदेखि चिल्ला भएर आउँछन् भन्ने हो । यस उखानमा छिपेको ध्वन्यार्थ हुने विरुवा जस्तै सफल हुने मान्छेको बानी व्यहोरा पनि सानैदेखि राम्रो हुन्छ भन्ने हो । प्रस्तुत पुस्तकमा सानामा अनेक मिहिनेत गरेर पछि ठुला भएका महान् व्यक्तित्वका बाल्यकालीन रोचक प्रसङ्गलाई केन्द्रमा राख्दै तिनका कामका आधारमा उपनाम दिइएको छ । ती उपनामहरू आफैँमा आकर्षक देखिन्छन् । चयनको क्रम यसप्रकार छः–
अल्बर्ट आइन्सटाइन– लठुवा विद्यार्थी सिद्धार्थ गौतम– दयालु राजकुमार
शङ्कराचार्य– बाल सन्यासी नारायण बहादुर क्षेत्री डाँगी –रोगी बालक
षडानन्द अधिकारी – टुहुरा साधक नचिकेता– आत्मज्ञानी बालक
देवव्रत – गङ्गाको पानी थुन्ने केटो सीता– पूजा गर्ने धनु
चन्द्रगुप्त – अक्कली ठिटो द्रब्य शाह – गोठाला राजा
शिवाजी – आँसु पुछ्ने छोरा अब्राहाम लिङ्कन – सिकर्मीको छोरो
रवीन्द्रनाथ ठाकुर – शीत टिप्ने कवि फ्लोरेन्स नाइटिङ्गेल– उज्यालो छर्ने केटी
सुकरात – कुरूप मान्छे बुल्फग्यामस मोजार्ट– सङ्गीतको जादुगर
बलबाहु–कलाकार केटो
प्रस्तुत पुस्तकका आन्तरिक पाठहरू पनि पुस्तकको शीर्षकजस्तै ध्वन्यार्थक छन् । यी शीर्षक चयन ध्वन्यार्थक भए पनि बालजीवनीका लागि उत्प्रेरक छन् । मूलतः बाल्यकालीन घटना र आंशिक जीवनीगत प्रसङ्गबाट जुराइएका प्रस्तुत शीर्षकहरू बालमनोविज्ञान निकट समेत देखिन्छन् जुन शीर्षकीकरण नेपाली बालसाहित्य परम्परामा नवीन प्रयोग हो । माथिका समग्र पुस्तकको शीर्षकीकरण प्रसङ्ग र आन्तरिक पाठको शीर्षकीकरण प्रसङ्गको अध्ययनबाट हुने बिरुवाका चिल्ला पात कृतिको शीर्षकीकरण सार्थक देखिन्छ ।
संरचनात्मक सन्दर्भ
हुने बिरुवाका चिल्लापात बालबालिकालाई उपयोगी हुने आधारमा संरचित देखिन्छ । प्रायः विद्यालय तहका माथिल्लो कक्षा वा माध्यमिक तहका बालबालिकालाई लक्षित गरिएको देखिने यस पुस्तकको संरचना आवरण पृष्ठ बाहेक जम्मा ६४ पृष्ठ रहेको छ । पुस्तकको आवरण पृष्ठमा दुई बालबालिकाले पढ्दै गरेको रङ्गीन चित्र राखिएको छ भने भित्री पेजहरुमा पनि पाठ अनुरुपका १७ ओटा चित्र रहेका छन् । प्राय पाठको संरचनामा समानता पाइन्छ । प्रस्तुत पुस्तकको संरचना बालसाहित्यका मापदण्डमै केन्द्रित छ ।
विषयवस्तुगत सन्दर्भ
हुने बिरुवाका चिल्ला पातको विषयवस्तु विभिन्न क्षेत्रका व्यक्तिको जीवनी हो । यस पुस्तकमा रहेका जीवनीहरू विविध स्रोतबाट सङ्कलन गरिएको छ । यसको स्रोत मूलतः वेद, रामायण, महाभारत, पुराण, इतिहास, हिन्दु एवं बुद्ध धर्मग्रन्थ, राजनीति र विज्ञान रहेको छ । लेखकले ती विषयवस्तुगत स्रोतका ज्ञानलाई पचाएर बालबालिकाका लागि अनुकूल हुने गरी अड्कलेर प्रस्तुत गरेका छन् । यो सङ्ग्रह बालकका लागि मात्र नभई जो कोहीका लागि उपयोगी बन्न पुगेको छ । जीवनी भन्ने बित्तिकै राजा महाराजा र राजनीतिक शक्तिकेन्द्र वरिपरिको विषय मात्र समेटिइराखेका परिप्रेक्षमा न्यौपानेको हुने बिरुवाका चिल्ला पात जीवनी निर्माणमा नयाँ छितिजको अन्वेषण गर्न सफल छ ।
जीवनीको विषयवस्तु एवं व्यक्तित्वगत अध्ययन
हुने बिरुवाका चिल्ला पातमा धार्मिक, पौराणिक, ऐतिहासिक, कलाकार, साहित्यकार, वैज्ञानिक, दार्शनिक, सङ्गीतकार एवं समाजसेवी व्यक्तित्वका जीवनी समेटिएका छन् । यी जीवनीको अध्ययन यिनै विषयवस्तुगत एव व्यक्तित्वगत बुँदामा केन्द्रित भएर गर्नु सान्दर्भिक हुन्छ ।
धार्मिक व्यक्तित्व
यसभित्र दयालु राजकुमार–सिद्धार्थ गौतम, बाल सन्यासी–शङ्कराचार्य, रोगी बालक– स्वर्गद्धारी महाप्रभु र टुहुरा साधक– आबाल ब्रह्मचारी षडानन्द अधिकारी छन् । प्रस्तुत धार्मिक व्यक्तित्वका जीवनीबाट सकेसम्म बालबालिकामा मिहिनेत, सदाचार र सेवा भावनाको विकास हुने खालको सन्देश समेटिएको छ । यस अन्तर्गत सबै नेपाल आमाकै सपूतहरू समेट्नु जीवनी लेखकको राष्ट्रिय गौरवबोधको उपज हो ।
पौराणिक व्याक्तित्व
हुने बिरुवाका चिल्ला पातभित्र सङ्कलित आत्मज्ञानी बालक–नचिकेता, गङ्गाको पानी थुन्ने केटो–देवव्रत र पूजा गर्ने धनु–सीता पौराणिक व्यक्तित्वका जीवनीमा पर्दछन् ।
ऐतिहासिक व्यक्तित्व
यसभित्र केही उल्लेख्य ऐतिहासिक घटना सहित ती घटनामा संलग्न पात्रहरूको जीवनी उतारिएको छ । चन्द्रगुप्त, द्रव्य शाह, शिवाजी र अब्राहाम लिङ्कनलाई क्रमशः अक्कली ठिटो, गोठाला राजा, आँसु पुछ्ने छोरा र सिकर्मीको छोरो शीर्षकमा समेटिएको छ ।
कलाकार व्यक्तित्व
यसमा बुल्फग्यामस मोजार्टलाई सङ्गीतको जादुगर र बलबाहुलाई कलाकार केटो शीर्षकमा समेटिएको छ । प्रस्तुत सङ्कलनमा सङ्गीतकार र वास्तुकलाका कलाकारलाई समेटेको देखिन्छ । प्रस्तुत जीवनीबाट कला र सङ्गीत क्षेत्रमा रुचि राख्ने बालबालिकाका लागि विशेष उत्प्रेरणा जगाइएको छ । अन्य बालबालिकाका लागि पनि जीवनी त्यतिकै उत्प्रेरक रहेको छ ।
साहित्यिक व्यक्तित्व
हुने बिरुवाका चिल्ला पातमा एक मात्र साहित्यकार रवीन्द्रनाथ ठाकुरको जीवनीलाई शीत टिप्ने कवि” शीर्षकमा समेटिएको छ । उनी दक्षिण एसियाका सर्वाधिक चर्चित साहित्यकार मानिन्छन् । यस पाठमा उनको बाल्यजीवनलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।
वैज्ञानिक व्यक्तित्व
हुने बिरुवाका चिल्ला पातमा समेटिएका वैज्ञानिक व्यक्तित्व अल्बर्ट आइन्स्टाइन हुन् । जीवनीमा उनको बाल्यकालीन स्वभावका केन्द्रीयतामा लठुवा विद्यार्थी भनी चित्रण गरिएको छ ।
दार्शनिक व्यक्तित्व
दार्शनिक व्यक्तित्व अन्तर्गत पाश्चात्य मुलुकका महान् दार्शनिक सुकरातको बाल्यकालीन चरित्रलाई प्रस्तुत गरिएको छ । कुरूप मान्छे शीर्षकमा प्रस्तुत सुकरातको जीवनी मार्फत मान्छे रूपलेभन्दा बुद्धि, गुण र चिन्तनले महान् हुन्छ भन्ने देखाइएको छ ।
समाजसेवी व्याक्तित्व
यस अन्तर्गत समाजसेवी फ्लोरेन्स नाइटिङ्गेलको जीवनी सङ्कलित छ । लेखकले फ्लोरेन्सको चरित्रका आधारमा उज्यालो छर्ने केटी भनेर उपनामीकरण गरेका छन् ।
माथिको विवरण र विश्लेषणबाट हुने विरुवाका चिल्ला पात बालजीवनी सङ्ग्रह बालोपयोगी जीवनी सङ्ग्रहका रूपमा देखा पर्छ । यस सङ्ग्रहमा विभिन्न क्षेत्र र समूहका समाज सचेत र विश्व प्रसिद्ध व्यक्तित्वहरू समेटिएका छन् । पौराणिक र ऐतिहासिक पात्र छनोटमा समेत परम्पराभन्दा भिन्न ढङ्गले बाल्यकालमा साहसिक र अनौठा काम गर्न सक्ने मान्छेलाई समेट्न सक्नु यस सङ्कलनको सामर्थ्य हो ।
भाषाशैलीगत सन्दर्भ
बालसाहित्यको भाषाशैली बालसुलभ हुन्छ । जीवनी लेखनका सन्दर्भमा अनेक क्षेत्रका प्राविधिक शब्दहरू आउन सक्छन् । ठाउँ, व्यक्ति र पेसाका नामका जटिलताहरू हुन सक्छन् । तिनलाई बालबोध्य बनाउने सामर्थ्य जीवनी लेखकमा हुनुपर्छ । शब्द छनोट मात्र नभई शैली पनि बालबालिकाका लागि सम्प्रेष्य हुनु आवश्यक छ । सरल वाक्यगठन, बालसुलभ उखान टुक्काको छनोट, आकर्षक वर्णनात्मक वा संवादात्मक शैली, बालरुचि र आवश्यकता पहिल्याउन सक्ने बालमनोविज्ञान निकटको सिर्जनकला आवश्यक पर्छ जो यस कृतिमा पर्याप्त छ । यस सङ्कलनको भाषाशैली पनि सरल र आकर्षक छ । विदेशी व्यक्तित्वका नामको सट्टा बालबोध्य नाम जुराउनु यस सङ्कलनको विशेषता हो । प्रत्येक जीवनीमा बालबोध्य शब्द, बालव्यक्तिको चिनारी दिँदै आखिरीतिर खास नाम दिएर त्यस नामलाई बोध्य र स्मरणयोग्य बनाइएको छ । व्यक्तित्वका विशेषता र कर्मलाई अनुकरणात्मक शब्दबाट चिनाउने कला निकै आकर्षक लाग्छ । प्रायः वर्णनात्मक शैलीको प्रयोग बालबालिकाका लागि रोचक बनेको छ ।
उद्देश्य
स्रष्टाका प्रत्येक सिर्जनामा निश्चित उद्देश्य हुन्छ । यस जीवनी सङ्ग्रहको उद्देश्य नेपाली बालबालिकालाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा प्रसिद्ध व्यक्तित्वका जीवनीको जानकारी दिई तिनका जीवनीका प्रभावमा चौतर्फी विकासमा टेवा पुर्याउने उद्देश्य लिएको देखिन्छ । जीवनीबाट बाल बालिकाको नैतिकता, चारित्रिकता, स्वावलम्बन, आत्मविश्वास र उत्साह जस्ता पक्षहरूको विकासमा टेवा पुर्याउने उद्देश्य लिइएको छ । प्रत्येक जीवनीबाट मान्छे आफैँ लागेर र जागेर मात्र केही बन्न र गर्न सक्छ भन्ने सन्देश समेट्न सक्नु यी जीवनीको उद्देश्यगत सामर्थ्य हो ।
निष्कर्ष
दैवज्ञराज न्यौपाने नेपाली साहित्यमा विशेषतः कविता र बालसाहित्यमा स्थापित प्रतिभा हुन् । बालकवितामा माधव घिमिरे र कृष्णप्रसाद पराजुलीका उत्तराधिकारी मानिने न्यौपाने बालजीवनी सिर्जन परम्परामा देवकुमारी थापा र बदरीनाथ भट्टराईका उत्तराधिकारका रूपमा देखा परेका छन् । गोपाल पराजुली र चूडामणि बन्धुहरूले व्यक्ति र क्षेत्रकेन्द्रित जीवनी सिर्जना गरिरहेका बेला न्यौपानेले विविध व्यक्ति र क्षेत्रलाई समेटेर बालोपयोगी जीवनी सिर्जना गर्ने सामर्थ्य प्रदर्शन गरे । यस जीवनी सङ्कलनमा धर्म, इतिहास, पुराण, साहित्य, विज्ञान, कला, सङ्गीत, समाजसेवा, राजनीति, दर्शनजस्ता विभिन्न विषयक्षेत्रसंबद्ध व्यक्तिहरूको जीवनी समेटिएको छ । प्रस्तुत जीवनी सङ्ग्रह सिङ्गो जीवनी लेखन परम्परा र बालजीवनी लेखन परम्परामा केही नौलो र बहु उपयोगी सामग्री बनेर देखिएको छ । जीवनी सिर्जनाका क्रममा बालचरित्रलाई महत्त्व दिनु र काम अनुसारको नाम जुराउनुले यसको शीर्षकीय सन्दर्भ निकै आकर्षक बनेको छ । विषयवस्तुगत विविधता यस कृतिको प्राप्ति हो । जीवनीभित्र न्यौपानेको बाल्य किशोर र केही युवा उमेरका प्रतिछाया पनि पाउन सकिन्छ ।
बानेश्वर क्याम्पस, काठमाडौँ
shubechchhu_ramesh@yahoo.com