कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

बाबाको सम्झना

अर्चना न्यौपाने आचार्य

बाबा यो संसारमा अब रहनुभएन रे ! म कसरी पत्याऊँ ? यत्रो सहन नसक्ने तर तथ्य खबरलाई म कसरी नपत्याऊँ ? मलाई डिसेम्बर १६ तारिख (नेपालमा १७ तारिख बिहान भइसकेको थियो) साँझमा बाबा बितेको खबरले क्षतविक्षत बनायो। त्यो शुक्रबार साँझ मैले धेरै अगाडिदेखि कुरेको कारण थियो - मेरी आफ्नी आमाले जन्माएकीभन्दा पनि नजिक लाग्ने असाध्य प्यारी दिदीको PH.D. Graduation सकिएको खुसीयाली मनाउने भनी सबै जना भेला भएका थियौँ। त्यो दिनको हर्सोल्लासमा एकाएक आएको खबर साह्रै नै सपना जस्तो मान्न गाह्रोलाग्दो थियो। अमेरिका र नेपालको भौगोलिक दूरी र फरक समयका कारण मैले बाबा बिरामी भएर अचानक अस्पताल लगेको पनि थाहा पाइन। त्यस दिन बिहानैदेखि मलाई बारम्बार बाबाको सम्झना आइरहेको थियो तर नेपालमा राती भएको कारणले भोलि बिहानतिर फोन गरौँला भनेर बसेकी थिएँ तर भाग्यको लेखा मैले बाबालाई जाने बेलामा भेट्ने त परको कुरा हेल्लो गर्न पनि सकिन।

आएपछि हामी सबैले जानैपर्छ भन्ने संसारको ध्रुवसत्य नियम जो कोहीका लागि पनि लागु हुने सत्य भनी मन बुझाउने वाक्य भनिए तापनि आफूलाई पर्दा र आफूले बेहोर्दा चाहिँ साह्रै नै मन बिझाउने काँडा हो भन्ने अनुभवलाई टार्न नसकिने सत्य मैले धेरै बर्ष पहिला आफ्नो कलिलो उमेरमा ममतामयी आफ्नी जन्मदाता मामु रीता न्यौपानेलाई गुमाउँदा नै अनुभब गरिसकेकी थिएँ। त्यस बेलाको आफ्नो अनुभव अपरिपक्वताको कारण भिन्न थियो। मलाई त्यस बेला र धेरै पछिसम्म पनि मामुले किन हामीलाई यत्ति चाँडै छोडेर जानुभयो जस्तो लाग्थ्यो। हामी अलिक ठुला भएका भए यो संसारमा सबै जान्छन् भनी चित्त बुझ्थ्यो होला र सबैका आमाहरू देख्दा आफ्नो पनि मन रुँदैनथ्यो भन्ने लाग्थ्यो, यो संसारको नियम बुझ्थ्यौँ होला जस्तो लग्थ्यो तर त्यो सबै कुरा मिथ्या रहेछ भन्ने अहिले अनुभव भइरहेको छ। ठीक बीस वर्षपछि जब प्यारा बाबाले यो संसार त्याग्नु भयो तब मनलाई झन् गाह्रो भयो, यो संसार अन्धकार भयो। आफ्ना आमा-बाबा भनेको आजीवन भइदिए पनि हुने जस्तो लाग्दा लाग्दै अहिले बाबाले पनि चाँडै नै छोड्नुभयो र टुहुरो पार्नुभयो। पहिलाको अनुभवमा ममतामयी मामुको बिछोडको रुवाइ थियो भने अब आफूमाथिको अभिभावक र संरक्षक गुमाएर आफू टुहुरोपन शब्दसँग पर्यायवाची भएको अनुभव एकैसाथ मलाई भयो। मेरो सर्वस्व लाग्ने बाबा नहुँदा मेरो माथिको छानो भताभुङ्ग भएको जस्तो लाग्यो। मेरो अब कोही छैन यो संसारमा जस्तो लाग्यो मलाई, मामुलाई धेरै सम्झेर रुनु नपर्ने गरी मेरा आमा-बुबा दुबै भएर हुर्काएका मेरा बाबाले आज मलाई नै छोड्नु भयो।

बाबासँग मेरो अन्तिम भेट २ वर्ष ७ महिना २७ दिन अगाडि भएको थियो। त्यस दिन मेरो आफ्नो कर्मथलो मान्दै आएको ठाउँ अमेरिका, जहाँ म विवाहपश्चात् विगत १५ बर्षदेखि बस्दै आएकी थिएँ, जाने दिन थियो। म बाबासँग बिदा लिन बिहान आफ्नो बानेश्वर घरबाट गैरीगाउँ गएकी थिएँ। मन साह्रै दुखित थियो† दुखी हुनु कुनै नौलो थिएन† सधैँ बाबाकहाँबाट बिदा हुँदा मन भित्रभित्र रुन्थ्यो† बाबाको अशक्तता र आफ्नो टाढा जानु पर्ने विवशता दुबैले मलाई जिस्क्याउँथे। म सधैँ झैँ त्यस दिन पनि आफू दु:खी नहुने, नरुने बाचा गरी आफूलाई बलियो बनाएर बाबाको कोठामा पुगेकी थिएँ। सधैं झैँ बाबा पनि निराश हुनुहुन्थ्यो जुन स्वाभाविक नै थियो । उहाँले सधैँ जस्तै बिस्तारी एउटा हात उचालेर मलाई भित्र आइज भनी इसारा गर्नुभयो। म भित्र गई बसेँ बाबाको पलङमा दुखित मन लिँदै।

बाबा बोल्न खोज्दै हुनुहुन्थ्यो, उहाँको बोली भरिएको थियो, सधैँ झैँ छुट्टिने बेलाको निराश घडीको मैले आभास पाएँ। अहिले सम्झँदा लाग्छ - कतै त्यो दिन अप्रिल २०, २००९ तारिखको दिन बाबालाई कतै केही आभास त थिएन होला नि ! यही भेट बाबुछोरीका लागि अन्तिम हुन्छ भनी। त्यसपछि मैले पनि बाबातिर धेरै हेर्दै हेरिन, बाबाले पनि धेरै कुरा गर्न खोज्नु भएन। मैले आफ्नो मनलाई बाँधेकी थिएँ, बाबालाई मेरो फर्काइको राम्रो सम्झना हवोस् भनी हाँसेकी थिएँ। आफैँलाई थाहा नहुँदै अन्तिम सम्झना सजाउन फोटो खिच्नतिर लागेँ। यी सब कुरा मलाई हिजोजस्तै लाग्छन्। आँखामा त्यो दिन झलझल आउँछ। कुनै बेला पनि त्यो भेट नै मेरा लागि अन्तिम हुन्छ भनी केही सङ्केत पाएकी थिइन। कुनै बेला मेरो मन झस्किएको थिएन।

म बाबा बितेपछि त्यहाँको काममा सरिक हुन सकिन। नेपालको सबै लुटिएको जस्तो लागेर जानै मन लागेन र यहाँ मेरो घरमा बाबाको अनुपस्थितिको कुनै फरक अनुभव भएको छैन। २,४ पल्ट अहिले पनि केही पारिवारिक कुरा भयो भने बाबालाई भन्नुपर्ने भनी भान हुन्छ अनि आफैँ झस्किन्छु, पहिला सधैं केही कुरा हुँदा, खबर गर्ने जिम्मा लिएर म फोन गर्थेँ। बिरामी हुनुहुन्छ ? के छ ? भन्दै आफूले सुनेको नयाँ नौलौ खबर सुनाउँथेँ, बाबालाई हसाउँथेँ र आफैँ रमाउँथेँ। अहिले पनि बाबा बिरामी भएपछि लौरो टेकेर हिँडेको, पहिले बिहानै उठेर कपी काटेको या केही लेख/कविता लेख्दै गरी बिहानको दुध पिएको अस्ति जस्तो लाग्छ। बिहानैदेखि विभिन्न मानिसहरू विभिन्न सरसल्लाहका लागि आएको र उनीहरूलाई सक्दो सहयोग गरेको आजै पनि आँखा चिम्लेर बाबा सम्झँदा त्यही बेलाको झझल्को आउँछ। कतै घुम्न जाँदा आफ्नो दु:खसुखको कहानी सुनाएको, छोरीलाई समोसा मन पर्छ भनी समोसा किनेर खुवाएको र पछि मैले सानो सानो कुरामा किचकिच गर्दा आँखाबाट आँसुका धारा बगाएर मलाई सम्झाएको, केटाकेटी हुँदा बेलाबेलामा नेपाली सिनेमाहरू हेर्न लगेको, छोरीको बिदाइमा धेरै बिलौना गरेर रुनु भएको सबै कुरा ताजा नै छन्। बच्चा बेलामा बाबासँग मोटरसाइकलमा बसेर ठाउँ ठाउँमा गएको र पछाडि निदाएर एकपल्ट झन्डै लडेको हुँदा बाबाले अगाडि राख्‍नु हुँदै यो त बदमासनी पो रहिछे भनेको अझै ताजा छ।

म यता आएपछि पनि सधैं (खानमा धेरै नाकनिक गर्ने भएकाले) के खान्छेस् ? भनेर चिठी पठाएको र मैले सम्झाउँदै बाबा ! यहाँ फ्रेन्च फ्राइज पाइन्छ, मलाई खानमा केही चिन्ता छैन भनेको कुरा सधैं ताजा नै भएर मेरो मनमस्तिकमा घुम्छ। कहिले कहीँ नेपालबाट यहाँ कोही आउँदा मलाई मन पर्छ भनी धेरै मस्यौरा बनाउन लगाएर, छोरीले ग्लिसिरिन लगाउँछे भनेर मैले पर्दैन भन्दाभन्दै पनि पठाउनु हुन्थ्यो।१ वर्षको छोरालाई लिएर नेपाल जाँदा तेल मालिस गर्न मानिस बोलाउनु भएको थियो। मैले के खान्छु भनी सधैं पिर गर्नुहुन्थ्यो। कतै जाँदा मेरो छोरालाई गुटुमुटु पारेर आफूसँग सुताउनु हुन्थ्यो, जाडो छ चिसो लाग्ला भनी साह्रै पिर गर्नुहुन्थ्यो। के खान्छ भनी विभिन्न ठाउँबाट गाईको दुध, हर्लिक्स, भिवा र अरू विभिन्न दुधहरूको लाइन लागाउनुहुन्थ्यो। मेरा आदर्श पुरुष बाबाले आमाको अभाव महसुस हुन नदिन कुनै कसर बाँकी छोड्नुभएको थिएन। उहाँ त बाबा हो तर कसरी आमा हुन जान्नुभयो भनेर म सधैं चकित पर्थेँ।

मलाई अहिले पनि यस्तो लाग्छ कि त्यो दिन मैले जस्तो बाबालाई छोडेको थिएँ त्यस्तै हुनुहुन्छ, मेरो मनले बाबा त्यही घरको ओछ्यानमा हुनुहुन्छ जस्तो सोच्छ र सम्झन्छ। अब नेपाल जाँदा बाबालाई मैले जस्तो छोडेकी थिएँ त्यो हुँदैन, यो संसारमा बाबा हुनुहुन्न भन्ने कुरालाई मेरो मनले मानेकै छैन, मेरो भ्रम मात्र हो भनी सम्झँदा पनि अचम्म लाग्छ।उहाँको बानी खुसीमा नमात्तिने र दु:खमा नआत्तिने खालको थियो। बिरामी हुँदा सधैं आफ्नो पीडा नदेखाउने र धैर्य गर्ने बानी देखेर मलाई पिर लाग्थ्यो। सधैं सम्झन्थेँ- कतै आफैँ भित्रभित्र मनको कुरा मनमै राखेर कुण्ठित (डिप्रेस्ड) त हुनुहुन्न ? भनी पिर लाग्थ्यो, पछि मलाई सन्चो नहुँदा पठाएको खबरले सबै कुरा बुझ्नुभएको रहेछ।मलाई सम्झाउँदै लेखेका यी शब्दले अमृत वचनका रूपमा शक्ति दिएका थिए र आफ्नो मन बुझाउने ठुलो दिल रहेछ उहासँग जस्तो लाग्थ्यो र शान्त पारेको थियो :-

छोरी अर्चना,

आशीर्वाद !

त्यहाँ सबै जनालाई आरामै भएको आशा गर्दछु।हाम्रो शरीर रोगको घर हो।हाम्रो शरीर जीवनको आधार पनि हो।यसै कारण, रोगसँग विरोध होइन सम्झौता गर्न सक्नुपर्छ।यसैमा हाम्रो भलो हुन्छ।

- बाबा दैवज्ञ

(बाबा कवि दैवज्ञका साथ छोरी लेखिका)

पोहोर सालको गर्मी बिदामा दाइ भूषण र भाइ उज्ज्वल आ-आफ्नो परिवार लिएर बाबालाई भेट्न गए। भाइ उज्ज्वलले मलाई पनि जान अनुरोध गरेको थियो तर म चाहिँ आफ्नो घरायसी व्यवहारको कारणले नमिल्ने भएर जान सकिन जुन कुराले अझै मन पोलेर आउँछ। उहाँले आफ्ना सबै नाति-नातिनीलाई देख्‍न पाउनु भए तापनि मेरो छोरो आयुष चाँहि उहाँको पहिलो नाति भएको कारण धेरै नै प्यारो थियो। म सधैं उसलाई तिमी दैवज्ञको नाति सर्वज्ञ हौ हजुरबाबाको लागि भन्थेँ। ऊ पनि सधैं हजुरबाबाको कुरा सुनेर दङ्ग हुन्थ्यो। मैले ठानेकी थिएँ, बर्षैपिछे कोही न कोही आउँदा घरका अभिभावकलाई साह्रै नै रमाइलो हुन्छ। त्यसैले अर्को वर्षको पालो चाँहि मेरो थियो। उहाँलाई नेपालमा आफ्नो नाति आयुषको व्रतबन्ध विधि पुर्‍याएर गर्ने सारै ठुलो इच्छा थियो।म पनि त्यो इच्छा बुझेर नै यसपल्ट बिदामा व्रतबन्ध गर्छु भन्ने मनसायले नेपाल जान धेरै उत्साहित थिएँ। त्यसै अनुसार मेरो घरसल्लाह मिलाएर बाबासँग मेरा छोरा र छोरीलाई समय बिताउने भनी यसपालिको गर्मी बिदामा छोराछोरीलाई लिएर म आउँछु भनेको कुरा अब कुरामै मात्र सीमित रह्यो।

सबै बाबुछोरीको सम्बन्धका बारेमा त म भन्न सक्दिन तर हामी बाबु-छोरीको सम्बन्ध अचम्मको थियो। मलाई मेरा बाबाले आमा-बाबा दुबैको माया र संरक्षण दिएर रेखदेख गर्नुभएको थियो। मेरो सुरक्षा र इच्छा दुबैमा आमा-बाबा बनेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो। मलाई लुगा कपडा किन्न जाँदा बाबाको साथ चहिन्थ्यो किनकि उहाँले छानेको रङ, कपडा सबै मन पर्थ्यो। प्राय: त्यस उमेरमा साथीसँगीसँग किनमेल गर्न मन पराउने भए तापनि मलाई चाँहि चित्त बुझ्दैन थियो र बाबासँगै जान्थेँ। यो क्रम पछि म अमेरिकाबाट आउँदा पनि लागु हुन्थ्यो। म बिरामी बाबालाई लिएर बजार जान्थेँ र बाबालाई नै छनाउथेँ र उहाँको छनोटमा नै विश्वास गर्दथेँ।मलाई हुर्काउँदा विभिन्न किसिमको व्यवहार गर्नुहुन्थ्यो जस्तै १६-१७ वर्षको उमेरमा म कहीँ जाँदा सधैँ मलाई पुर्‍याउनुहुन्थ्यो र साथीहरूको जिम्मा लगाएर मात्र छोड्नुहुन्थ्यो, आफैँ जान मलाई डर पनि लाग्थ्यो अनि बाबा मेरो मनोबल नघटाउन नबुझे जस्तो गर्दै जमाना पनि खराब छ म छोरीलाई साथीकहाँ पुर्‍याउँछु भनेर मलाई दिदीबहिनी जस्तो गरी साथी आउनुहुन्थ्यो र फर्किनुहुन्थ्यो। घरभित्र सबै कुरामा खुलापन थियो। म भान्सामा गएँ भने बाबाले नै मभन्दा बढी काम गर्नुहुन्थ्यो र छोरीलाई सघाएको भनी जिस्क्याउने गर्नुहुन्थ्यो। पछि दाजु-भाइहरू बाहिर पढ्न जाँदा सधैँ म मात्र नेपाल बस्ने भन्दै छोरालाई काख र छोरीलाई पाखा भनेर जिस्क्याउँदा तँलाई झन् माया गर्छु नि उनीहरूभन्दा भनेर फकाउनुहुन्थ्यो। बच्चामा मलाई सधैं सधैं पिठोजस्ती काली छोरी भनी जिस्क्याउनुहुन्थ्यो र म रिसाउँदा पिठो पनि कहिले कालो हुन्छ लाटी ! भन्नुहुन्थ्यो र आफैँ फकाउनुहुन्थ्यो।

सानो हुँदा बेलाबेलामा हामी छोराछोरीहरू बाबासँगै, बाबाका विभिन्न साहित्यिक कार्यक्रममा विभिन्न स्थानहरूमा पालैपालो जान्थ्यौँ। त्यसरी बाबासँग चितवन, पोखरा, भैरहवा, बुटवल, लुम्बिनी, बनारस आदि ठाउँहरूमा जान पाएकी थिएँ। मलाई रात्रि-बसमा कहीँ जानुपर्‍यो भने बाबासँगै जान धेरै भर लाग्थ्यो। म बाबासँग नै बस्न रुचाउथेँ किनभने मलाई रात्रिबसमा प्राय: उल्टी हुन्थ्यो तर बाबासँग हुँदा के कारणले हो मलाई उल्टी हुँदैनथ्यो। मेरो बालमस्तिकमा यो छाप परेको थियो कि मलाई बाबासँग जाँदा केही हुँदैन भनेर।जीवनको कलिलो उमेरदेखि नै बाबालाई सुगर र प्रेसरले सतायो। उहाँलाई खानपिनमा धेरै रोकटोक भयो। आफ्नो भागमा केही गरी झुक्किएर आलु आयो भने सधैं मलाई दिनुहुन्थ्यो। म पनि अरूको खाना खान मन नलागे पनि बाबाको खान्थेँ। सानामा हामीलाई नुहाउने, तेल मालिस गर्ने सबै काम बाबाले नै गर्नुहुन्थ्यो। धेरै पढ्नुपर्छ र आफ्नो खुट्टामा आफैँ उभिनुपर्छ भनेर हामी सबैलाई राम्रो स्कुलमा पढाउनुभयो। विवाहपछि मेरो पढाइ रोकियो भनी सधैं पिर गर्नुहुन्थ्यो। मैले चाँडै बिबाह गरिदिएँ नभए पढ्थिस् होला भन्नुहुन्थ्यो। मैले पनि आफ्नो रहर र बाबाको सपना दुबैलाई पूरा गर्न अमेरिकाबाट डिग्री लिएँ।

पैसा खर्च गर्न कहिल्यै खाँचो पार्नु भएन। विश्‍वास धेरै गरेर होला त्यसैले फजुल खर्च गर्नेतिर मन पनि गएन। आफू जति ठुली हुँदै र बुझ्दै गएँ बाबाको आदर्शसँग साह्रै गर्व लाग्दै गयो। साह्रै सज्जन हुनुहुँदो रहेछ भनी मन दङ्ग हुन्थ्यो। कहिले कहीँ केही साधारण कुरामा लाज मान्यो र सामाजिक होडबाजीमा पछि परेँजस्तो सोच्यो भने सधैँ छोरी 'मानिस साधारण बसाइ र उच्च विचारले नै ठुलो हुन्छ, देखावटीपनले हैन' भनी शिक्षा दिनुहुन्थ्यो। सबैलाई आदर गर्नुपर्छ भनी सिकाउनु भयो, रिस उठे पनि नदेखाउनू भन्नुहुन्थ्यो र आफू पनि त्यसै गर्नुहुन्थ्यो, धेरै सहने बानी देखेर कहिले कहीँ म कराउँथेँ तर उनीहरूको बुद्धिले त्यस्तै गर्‍यो, त्यसको प्रतिकार नगर्नू भनी सहन सिकाउनु भयो। किफायती हुन सिकाउनु भयो, लोभ लालचमा कहिल्यै पनि पर्नुभएन, असल मानिस हुनुपर्छ भन्नुहुन्थ्यो।

बाबा सधैं मिठो, नरम बोल्नुहुन्थ्यो। कसैलाई नराम्रो गरी नाम बिगारेर बोलाएको उहाँलाई पटक्कै मन पर्दैनथ्यो। मैले एकपल्ट हामीलाई सघाउन घरमा बस्नुभएको दाइलाई नाम बिगारेर बोलाएको सुनेर बाबाको झापड भेटेकी थिएँ। त्यसपछि कहिलै कसैको नाम बिगारेर बोलाउने आँट गर्न सकिन। उहाँलाई प्राय: सबै खानेकुरा मन पर्थे, माछा, मासु, हरियो तरकारी सबै खुब मिठो मानेर खानुहुन्थ्यो तर जे पनि रोगको कारणले मुख बार्नुपर्थ्यो र खासै धेरै खान पाउनुहुन्नथ्यो। प्रायजसो विवाह, व्रतबन्धका बेला मलाई सधैं पिर लाग्थ्यो, भोजमा गएर अलिक अलिक भनी धेरै खानु हुने हो कि भनेर। कहिले कहीँ मकै भटमास र मुलाको टुक्रा खाँदा खुब मिठो मानेर खानुहुन्थ्यो जुन मलाई पटक्कै मन पर्दैनथ्यो, म अचम्म मानेर हेर्थेँ अनि सधैं म गाउँको ठिटो, मलाई मकै भटमास खान पाए त साह्रै खुशी लाग्छ भनी गर्व गर्नुहुन्थ्यो।

हाम्रा बाबा साह्रै नै कमलो मनको विद्वान्, विवेकी र सत्पुरुष हुनुहुन्थ्यो। बेलाबेलामा काम विशेषले उहाँको जन्मस्थल जानुहुन्थ्यो, जहाँ म पुगेकी छैन। मलाई ४५ सालको भुइँचालामा बाबा भोजपुरतिर नै भएको याद छ र समाचार नपाउँदासम्म हामी धेरै डराएको कुरा अझै ताजा छ। सानै उमेरमा उहाँले धेरै संघर्ष गरेर पढ्नुभयो। उहाँले आफूसँगै आफ्ना सन्तानलाई पढाउन कुनै कसर बाँकी राख्‍नुभएन।

जीवनमा कसैलाई पनि दु:ख दिन नचाहने, सधैं सकेसम्म अरूलाई सहयोग गर्ने र कहिल्यै हरेस नखाने धैर्यवान् मानिसलाई पनि आफ्नै बिरामीले अलिक निराश पारेको थियो भन्ने उहाँका पछिल्ला कविताहरूबाट अनुभव गर्न सकिन्छ। छोराछोरीले बुवा-आमालाई गर्नुपर्ने धेरै कर्तव्यहरू हुन्छन् तर मलाई अरूभन्दा बाबालाई अमेरिका ल्याउने र देखाउने धेरै रहर र सपना थियो, पहिलादेखि नै मैले यस कुरामा धेरै बल गरेकी थिएँ तर उहाँले त्यतिबेला तिमीहरूकै राम्रो व्यवस्था भएको छैन भनेर टार्नुभयो पछि पहिला जापान जान रहर गर्नुभयो। दुबै दाजु भाइहरू उतै थिए, त्यसैले होला भनेर केही भनिन तर अर्को साल यता आउँछु भन्दा बिरामी पर्नुभयो। पहिलो पल्ट उहाँ २०६२ साल भदौ १५ मा उच्च रक्तचापको कारण ढल्नुभयो र २२ दिनसम्म हस्पिटलमा बसेर फर्किनुभयो । त्यस बेला सबैले धेरै राम्रो भइसक्यो, अब अहिलेलाई आउनु पर्दैन भन्दाभन्दै पनि मनले नमानेर परिवारसँग नेपाल गएँ। अलिक दिन बसेपछि दसैँ आयो, बाबा तङ्ग्रिदै हुनुहुन्थ्यो, दसैँ-तिहार मानेर यता फर्क्यौ। अहिले पछाडि फर्केर हेर्दा त्यो नै बहुमूल्य समय रहेछ किनभने मलाई र मेरो परिवारलाई उहासँगको एक मात्र पहिलो र अन्तिम दसैँ मनाउने र आशीर्वाद लिने सौभाग्य रहेछ।डाक्टरका अनुसार सबै ठिक छ र अब आफ्नो मनोबल र विश्‍वास अनुसार बाँकी पनि बिस्तारै ठिक हुन्छ भनेपछि, सधैं साथ दिन नसकिने रहेछ भनेर म पनि फर्केर आएकी थिएँ। धेरै कोसिस गर्दा पनि बाबाको आँखा, बोली, हातहरूले पहिलाको जस्तो काम गरेनन्, शरीर पहिलाको जस्तो भएन। बिस्तारै उहाँको मनोबल पनि घटेर गयो। त्यसपछि बाबा पहिलाको जस्तो कहिल्यै हुन सक्नुभएन।

बेलाबेलामा फोनमा कुरा गर्दा पनि निराश भएजस्तो स्वर सुनिन्थ्यो, राम्ररी बोल्न पाएको दिन खुसीले बित्तथ्यो। डाक्टरको औषधि बाहेक अक्कुपन्चर, फिजिओथेरापी, रामदेव बाबाको औषधी, योग आदि धेरै कुराको कोसिस भयो तर केहीले पनि उहाँलाई ठिक पार्न सकेन।बिस्तारै उहाँको शरीर बाहेक, उहाँको मनोबलमा पनि असर पर्‍यो। हाम्री प्यारी हजुरआमाको जेठो छोरो नानी (उहाँले सधैँ बाबालाई त्यसरी नै बोलाउनुहुन्थ्यो) धेरै कुरामा आफ्नी आमाजस्तै हुनुहुन्थ्यो।हजुरआमा र बाबा दुबैजनाको रूप, रङ, जिउ, डाल सबै मिल्दथ्यो तर भावीको लेखा पछि गएर लागेको रोग पनि मिल्न गयो, सायद त्यसले मनोबल घटाउन काम गरेको हुनपर्छ जस्तो मलाई लाग्थ्यो। नभन्दै बाबा पनि ठिक ६ साढे तीन महिनापछि हजुरआमाजस्तै गरी सुटुक्क कसैलाई थाहा नै नदिई शान्तसँग सधैंका लागि निदाउनुभयो र आमाकै बाटो लाग्नुभयो।

बाबाको अशक्त समयमा धेरैले सहयोग गरे तापनि हाम्रा भनिज भाइ जगन्नाथको योगदान धेरै छ। उनले मामालाई सँगै बसेर, धेरै सेवा गरे र उनको त्यो नि:स्वार्थ सेवालाई म सदैव सम्झने छु र धन्यवाद नदिइकन बस्न सक्दिन।आमा सुधा र बहिनी कविताले गरेको सेवालाई त म कुन शब्दले ब्याख्या गरूँ !

परदेशको बसाइ हुँदा बिरामी बाबाको बारेमा चिन्ता हुन्थ्यो, सधैं भाइ उज्ज्वल फोन गरेपिच्छे बाबाको पिर गर्थ्यो, मसँग कुरा हुँदा पनि सधैं बाबाको गुण, प्रतिभा, भद्र आचरणबाट मानिस प्रभावित भएर सम्मान गरेको सुनाउँथ्यो। ऊ के गर्दा चाँहि बाबालाई अलिक सजिलो र राम्रो हुन्छ भन्ने बारेमा सधैं चिन्ता गरिराखेको हुन्थ्यो।बिदामा नेपाल जाँदा पनि कसरी हुन्छ, के गर्न सकिन्छ र अलिक राम्रो हुन्छ भनी बाबाको सेवामा लाग्दथ्यो। सानैदेखि त्यसको र बाबाको सम्बन्ध अचम्म लाग्ने किसिमको थियो। सानैमा गोगनेका न्यौपानेमै पहिलो Ph.D. डिग्री हासिल गरी असल छोराको गुण देखाएकोमा बाबा साह्रै गर्व गर्नुहुन्थ्यो। आज बाबाले यो संसारलाई छोडेर गए तापनि एउटा कर्तव्यपरायण छोरालाई सधैं बाबाको आशीर्वादले छोड्ने छैन भनी विश्‍वास व्यक्त गर्दछु।

उहाँ धेरै सहनशील, भलाद्मी र परिश्रमी हुनुहुन्थ्यो। समाज सुधारक हुनुहुन्थ्यो, सधैं शनिवार उहाँ आफ्नो टोल सुधार कार्यमा बिताउनुहुन्थ्यो। आफूले जे जति गर्नुभयो आफ्नै भरथेग थियो, आफ्नै सृष्टि थियो। उहाँले आफ्ना छोराछोरी कुनैबाट केही कुराको अपेक्षा गर्नुभएन। सधैं आफ्नो कर्तव्य पूरा गर्नभयो, जुन कुरा मैले पछि धेरै व्यावहारिक कुराबाट अनुभव गर्ने मौका पाएँ। उहाँको त्यो चरित्रबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ र उहाँकी छोरी हुन पाएकोमा धेरै नै भाग्यमानी अनि गर्व गर्नुका साथै जन्मजन्मान्तर उहाँकै छोरी हुन पाऊँ भनी भगवानसँग प्रार्थना गर्दछु।

सम्झनामा बाबा धेरै आउनु हुन्छ तर मलाई त कताकता यस्तो लाग्छ कि उहाँ यहीँ हाम्रा साथमा अदृश्य रूपमा हुनुहुन्छ। हामीलाई देखिरहनु हुन्छ।फरक यत्ति हो कि हामी आफ्ना कुरा भन्न सक्दैनौ, खबर पाउँदैनौ। मैले बाबा बितेको एक महिनापछि नयाँ काम सुरु गरेकी थिएँ।नयाँ म्यानेजरले नयाँ अफिसमा सबै नयाँ administrator सँग चिनाउन लगेको थियो। मैले तल्लो तलामा बाबालाई बसिराखेको देखेँ र पछ्याउँदै तल आएँ तर बाबा मभन्दा अगाडिअगाडि हिँड्नुभयो, म पछिपछि उहाँलाई भेट्न गएँ। धेरै बेरको हिँडाइपछि उहाँ गैरीगाउँको घरभित्र छिर्नुभयो। म भित्र गएर उहाँलाई खोजेँ तर भेट्न सकिन, सबैसँग रिसाएर बाबा यहीँ हुनुहुन्छ तर किन मलाई तिमीहरू भेटाउँदैनौ ? भनी कराएँ। मलाई घरमा सबैले सम्झाउनुभयो नभएको बाबालाई कहाँ खोजेको भनेर। त्यही पनि म मान्न तयार भइँन।पछि सबैले बाबालाई कसरी त्यहाँ देख्यौ ? कसरी बाबा त्यहाँ आउन सक्नुहुन्छ ? बाबा त बिरामी हुनुहुन्थ्यो भन्दा मैले देखेको बाबा त पहिलाको जस्तै हृष्टपुष्ट हुनुहुन्थ्यो भने। त्यसपछि म झसङ्ग भएर ब्युझिँदा यो त सपना पो रहेछ भनी चित्त बुझाएँ। त्यस सपनाले मलाई यो कुराको पनि विश्वास दिलायो - उहाँ हामीसँगै जताततै हुनुहुन्छ, अझै नजिक हुनुहुन्छ। पहिला जब म प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण भएर जागिर खान खोज्दा जागिर पक्का भएपछि बाबा त्यो ठाउँमा गएर कस्तो छ, छोरीलाई पठाउन हुन्छ कि हुँदैन भनी हेरेर मात्र पठाउनु भएको थियो। त्यो सपनाले गर्दा मलाई बाबाले अदृश्य रूपले हेरिरहनुभएको छ र पहिलाको जस्तै मेरो कामको नयाँ ठाउँ हेर्न पनि आउनु भएको हो भन्ने विश्‍वास भयो।

विभिन्न साहित्यक कार्यक्रममा बाबाले पुरस्कार पाएको देख्दा म साह्रै दङ्ग पर्थेँ। आफूलाई पनि बाबाको जस्तै राम्राराम्रा कविताहरू लेख्‍न आए हुन्थ्यो जस्तो लाग्थ्यो, तर त्यस्तो क्षमता सबैमा कहाँ हुँदो रहेछ र ! मलाई स्कुल जीवनमा सबैले त्यस्ता बाबाकी छोरी लेख्‍न आउँछ होला नि भन्दा लेख्‍ने जोश त चल्थ्यो तर लेख्‍न चाँहि आएन। अलिअलि लेखेको कता राखियो कता ! सुरक्षित रूपले संकलन गर्ने बुद्धि आएन। मलाई बाबाको किसान कविता एकदमै राम्रो लाग्थ्यो। सधैँ लेखिरहने भएकोले के कति र कस्ता कविताहरू बाबाका छन् भनी खासै थाहा नै हुँदैन थियो र पछि कहीँ प्रकाशित देख्दा कस्तो अचम्म लाग्थ्यो यस्तो राम्रो कविता कहिले लेख्‍नु भएको होला भनेर। बाबासँग बाहिर जाँदा धेरैले हात उठाएको देखेर कसरी चिनेका होलान् हाम्रो बाबालाई यति धेरै मान्छेले जस्तो लाग्थ्यो, चकित पर्थेँ।

बाबासँगको मेरो कथा र इतिहास यति नै भन्न पनि मेरो मनले मान्दैन, सबै पाटाहरू र बाटाहरू समेट्न मन लाग्दालाग्दै पनि साध्य नहुने रहेछ। सबैलाई आफ्ना आमा-बाबाको माया लाग्नु स्वाभाविक नै हो तर म आफूलाई बाबाको व्यवहार र त्याग सम्झेर उहाँ त पूजा गर्नलायक प्रेरणापुरुष हुनुहुन्थ्यो भन्न मन लाग्छ। उहाँ जहाँ भए पनि छोरीको सम्झनामा त हिजोभन्दा भोलि नै धेरै आइरहनु हुन्छ। उहाँ सधैँ हाम्रो मनभित्र जीवित हुनुहुन्छ र सधैं उहाँको अदृश्य शक्तिले सबै सुखदु:खमा साथ तथा आशीर्वाद दिइरहनु हुनेछ। उहाँसँगका सबै राम्रा सम्झनाहरूलाई नै जीवनको आधार बनाउने छु।संसारको प्रगतिसँगै म चाहना गर्छु कि हामी र हाम्रा प्यारा आफ्नाहरू जसले हामीलाई यहाँ छोडेर गएका छन् तिनीहरूसँग कुरा गर्ने साधनको पनि विकास होस्।उहाँ मेरा लागि सबैभन्दा राम्रो मानिस हुनुहुन्थ्यो, उहाँले हाम्रा लागि गर्नुभएको त्याग, दु:ख सबै कुरालाई सम्झिँदै म श्रद्धाञ्जली अर्पण गर्छु।

हाल : टेक्सस, अमेरिका

भ्(फबष्ि स् बचअजबलबढड२जयतफबष्ि।अयफ

हुन्छिन् सानी अमर कसरी किन्नरी पालुवामा

हाँस्छिन् रानी अमर कसरी कोपिला कोपिलामा

आई थप्ला सहज कसले जूनमाथि प्रकाश

हे बैनी हो ! रिबन चुँडिद्यौ स्यूर लाली गुराँस।

दैवज्ञराज न्यौपाने

'स्यूर लाली गुराँस'