कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

आशीर्वाद : बाबासँग

डा. उज्ज्वल न्यौपाने

यस स्मृतिग्रन्थका लागि बाबाका बारेमा लेख्‍न धेरै प्रयत्‍न गरेँ तर लेख्‍न धेरै नै गाह्रो भयो। एक त जुन विषयमा लेख्‍नु थियो त्यसबारे कहिल्यै लेख्‍नु नपरे हुन्थ्यो जस्तो लाग्थ्यो, अर्को कुनै पनि बिषयमा लेख्‍ने बानी र कुशलताको कमीका साथसाथै लेख्‍न सक्ने क्षमताको कमी पनि सँगसँगै थियो। बाबाको जस्तो रचनात्मक कौशल ममा कहिल्यै आएन, न त केही सिर्जना गर्ने बानी नै। साहित्यलाई चुमेर बाबा जुन उचाइमा पुग्नुभयो म हजारौँ प्रयत्‍न गरे पनि बाबाको कुनै छेउसम्म पनि पुग्न सक्दिन।

म ती दिनहरू सम्झन्छु जब मेरा जुँगाका रेखी बस्दै थिए, बाबासँग कतै जानु पर्‍यो भने आफ्नो सर्वस्व नै जाने भयोजस्तो लाग्थ्यो। कताकता धेरै लाज लागेर आउँथ्यो। त्यसलाई छेक्न कुनै पर्वत नै चाहिन्छ कि जत्तिकै लाग्थ्यो। हामी आफूले आफैँलाई परिवर्तनशील नयाँ पुस्ता भन्न रुचाउँथ्यौँ जसको लवाइ, हिँडाइ, गराइ, बोलाइ, खुवाइ-पियाइ सबै फरक थियो तर बिना ऊर्जाको, बिना चेतनाको। आफूले भनेको बेलामा, भनेको ठाउँमा भनेजति पैसा नझिकिदिने पो हो कि ! ट्याक्सीमा हुइँकिनुपर्ने रहरलाई छाडेर बसमा झुण्डिनुपर्दा अफ्ठ्यारो लाग्थ्यो। ती सबै पार गरेर जब बाबाको प्रतिष्ठा, साहित्यिक छवि, सामाजिक कार्यको मूल्याङ्कन बुझ्ने र त्यसप्रति गर्व गर्ने हुँदासम्म मेरो अनुहार जुँगा-दारीले ढाकिसकेको थियो।

बाबा जति कुशल, सभ्य र रचनात्मक साहित्यकार हुनुहुन्थ्यो त्यति नै असल, सभ्य र भद्र पिताजी पनि हुनुहुन्थ्यो। आज दुई बर्ष पुग्न लागेकी मेरी छोरीको अनुहारमा म हेर्छु र सोच्ने गर्छु, के म बाबाका ती संस्कार, सभ्यता, शुद्ध बोल्ने, सोच्ने र बच्ने राम्रा गुण जुन बाबाले हामीलाई दिनुभएको थियो के म मेरी छोरीलाई दिनसक्छु र ! छोरीका आँखामा हेरी जब म यी कुराहरू सोच्छु कताकता डर लागेर आउँछ र बाबाको आवश्यकता अझै बढी महसुस गर्छु। अनि अनेक उपाय खोतल्दै म सोच्दछु बाबाका ती असल गुणहरू म आफूमा कसरी उतारूँ ?

एउटा राम्रो सिर्जना बाबालाई टक्र्याउन पाए त्योभन्दा ठुलो र राम्रो उपहार अरू केही हुने थिएन। तर कुनै अवश्यकताबिना केही नलेख्‍ने मेरो बानी रहुन्जेल त्यो अलि असम्भव नै हुन्छ। सकिए कुनै दिन त्यो पनि गरौँला। आफ्ना सन्तानलाई असल नागरिक बनाउने कार्यमा आफ्नो सर्वस्व सुम्पिनुहुने हाम्रा बाबालाई अहिले मैले टक्र्याउन सक्ने कुरा केही छैन। अहिलेलाई बाबाका असल गुणहरू आफूमा उतारेर, आफैँ असल बाबा भई अगाडि बढ्न सकूँ। बाबासँग यही आशीर्वाद माग्छु।

डिसेम्बर ३, २०१२

हाल : जापान

भ्(फबष्ि स् गलभगउबलभ२नफबष्ि।अयफ