दैवज्ञ न्यौपाने : दुई सम्झना
केही दिन अगाडि केदार न्यौपाने मेरो घरमा आउनु भयो र मेरो हातमा दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानको पत्र राखिदिनु भयो । पत्रको शीर्षकमा प्रयोग गरिएको शब्द “स्मृति” ले लेखनाथ पौडेलको मर्मस्पर्शी श्लोकांश “आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो” सम्झायो । काललाई टार्न कोसिस नगरिएको पनि होइन – उपचार गर्न नेपालमा मात्र होइन भारतको दिल्लीसम्म पनि पुर्याउने व्यवस्था गरियो । तर काल पनि शक्तिशाली हुँदो रहेछ, त्यसलाई टार्न कसले सक्ने !
न्यौपाने र मेरो जन्मस्थल निकै टाढा, पूर्व र पश्चिम भए तापनि संयोगबस बसाइ नयाँ बानेश्वर नजिकै हुनुका साथै उहाँको प्राध्यापकीय जीवनको अन्तिम कर्मक्षेत्र पनि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर क्याम्पसमा साहित्यिक विषयका विभाग सँगै थिए – नेपाली र अङ्ग्रेजी । यसो हुँदा विषयगत हिसाबले पनि हामी दुईबीच सामीप्य बढ्दै गयो । म यहाँ दैवज्ञराज न्यौपानेसँगका दुई घटनाका लेखन–चित्र छोटकरीमा खिच्न चाहन्छु –
२०५१ सालको कुनै एक शनिवार न्यौपाने परिवार मेरो घर टुप्लुक्क आउनु भयो । हामी क्याम्पस जान नपर्ने दिन हुनाले आरामले कुरा गर्दै जाँदा न्यौपानेजीले यिनी (सुधा) बेलायत जाँदै छिन् । यहाँले त्यहाँको बसाइ, खानपिन, स्वास्थ्य रक्षा जस्ता विषयमा जानकारी दिनुपर्यो भन्नुभयो । मेरो त्यो देशको लिड्स युनिभर्सिटीको एक शैक्षिक सत्रका अनुभव विस्तृत रूपमा मैले सुधाजीले बुझने गरी प्रस्तुत गरें । विशेष गरी बेलायतको अनिश्चित मौसम, यस व्रफममा आएको म अभैफ सम्झन्छु । यसका साथै मैले सुधाजीलाई “मेरो अङ्ग्रेजी कमजोर छ” भन्ने नसोची आत्मविश्वास लिई बसउठका साथै कक्षा अथवा कार्य क्षेत्रमा सहभागी हुन सल्लाह दिएँ । उहाँले बेलायतबाट फर्केपछि बेलाबेलामा भेट हुँदा सरको सल्लाह मेरा लागि फलदायी भयो भन्नुभएको म अभैफ सम्झन्छु ।
अर्को घटना लमजुङका कवि तीर्थराज अधिकारी र दैवज्ञराज न्यौपानेसँग सम्बन्धित छ । न्यौपानेलाई अधिकारीका कृतिमाथि लेखिएको दिलीप शर्माको एम.ए.पूरक शोधकृतिको बाह्य परीक्षक बन्ने अवसर मिलेछ । दिलीपद्वारा अधिकारीका उद्धरित अंशहरूका साथै ग्रामीण शिक्षक पेसामा बिताएको तीर्थराजका जीवनले न्यौपानेको मन छोएछ । तीर्थराजसँग भेट गर्ने इच्छा अन्तर्वार्तापछि दिलीपसँग व्यक्त गर्नु भएछ । यस घटनाको केही दिनपछि तीर्थराजले मलाई फोनमा म तपाइँका घर आउँछु मलाई दैवज्ञज्यूको घर लगिदिनु पर्यो भन्नुभयो । दुवै कविको अनुकूल समय मिलाई मैले तीर्थराजलाई झिकाएँ । हामी दैवज्ञको बानेश्वरको घरमा गयौं । उहाँहरू बीचका वार्तालापले निकै लामो समय लियो । दैवज्ञले म तपाईंको कवित्वलाई लिएर एउटा समीक्षात्मक लेख लेख्दैछु भन्नुभयो । हामी बिदा हुनु अगाडि तीर्थराजले आफ्ना प्रकाशित कृति उहाँलाई दिनुभयो ।
कीर्तिपुर जाने बसमा आवत–जावतका साथै विद्यार्थीका कक्षा लिनु, उनीहरूका शोधपत्रहरूको निर्देशन तथा परीक्षणका साथै भानु प्रतिष्ठानको अध्यक्ष आदिमा व्यस्त हुनु पर्दा समयमा दैवज्ञले लेख लेख्ने आफ्नो वचन पूरा गर्न सक्नु भएन । यस्तै अवस्थामा तीर्थराजलाई छोरा बुहारीले अमेरिका झिकाएकाले उहाँ झन्डै एक वर्षपछि नेपाल फर्कनु भयो । उहाँ मलाई भेट गर्न मेरो घर आउनु भयो । लेखका बारे पनि हामी दुईका बीच कुरा भए । यस अवस्थासम्ममा दैवज्ञ पक्षाघातले गर्दा लेख्न अशक्त हुनुभएको थियो । समयले न्यौपानेको लेख लेख्ने र अधिकारीको त्यो पढ्ने इच्छा फलीभूत भएन । अन्त्यमा, दैवज्ञले अवश्य पनि शान्तमय पुनर्जीवन लिनु भएको विश्वासका साथ मेरा दुई शब्द टुग्याउँदछु ।
बानेश्वर, काठमाडौं
२०६९ असार २०