कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

भान्दाजुमा हार्दिक श्रद्धाञ्जली

उषा पोखरेल खतिवडा

हामी सानै छँदा बुबाले प्राय: दैवज्ञ भान्दाजुको चर्चा गरिरहनुहुन्थ्यो।उहाँहरू (बुबा खिलनाथ पोखरेल र भान्दाजु दैवज्ञराज न्यौपाने) काठमाडौँमा सँगै बसेको, भान्दाजुले कविता लेखेर पुरस्कार पाएको चर्चा बुबा-आमाले गरिरहँदा सानामा भान्दाजुलाई देख्‍न पाए हुन्थ्यो जस्तो लाग्थ्यो।

नभन्दै एक दिन हामी भएको ठाउँमा भान्दाजु आउनुभयो र धेरै खुसी ल्याउनुभयो। मिठाइ, चक्लेट दिनुभयो।हामी सबै दङ्ग पर्‍यौँ। धेरै सानो अवस्थाको सम्झना छैन तर मैले राम्ररी थाहा पाउँदादेखि भान्दाजु आउने कुरा सुन्नेबित्तिकै हामी सबै रमाउँथ्यौँ।बुबाको जागिरका सिलसिलामा कहिले उदयपुर, कहिले कलैया त कहिले जनकपुर जहाँ बसे पनि भान्दाजु हाम्रामा आएको सम्झना छ।हँसिलो, गोरो, अग्लो जिउडाल भएका हाम्रा भान्दाजु दैवज्ञ ज्यादै आकर्षक व्यक्तित्वका धनी हुनुहुन्थ्यो।

उहाँको किसान कविता पढ्दा हाम्रा भान्दाजुले लेख्‍नुभएको कविता भनेर हामी मख्‍ख पर्थ्यौँ।उहाँले लेख्‍नुभएका अरू कविताका किताबहरू पनि हाम्रा घरमा थिए।ती किताबहरूलासई बुबा अत्यन्त जतन गरेर राख्‍नुहुन्थ्यो।ती पुस्तकहरूमा चित्र समेत भएका बालकले पढ्ने खालका बालकविताहरू थिए जुन पढ्दा आनन्द लाग्थ्यो।रेडियोबाट उहाँले भन्नुभएका कविताहरू सुन्न हामीलाई बुबाले प्रेरणा दिनुहुन्थ्यो।हामी ज्यादै उत्सुक भएर दाजुका कविता सुन्थ्यौँ।

पछिल्लो ५/६ वर्षको समयमा भान्दाजु बिरामी भएर विराटनगरतर्फ आउन सक्नुभएन।त्यसपछि भेटघाटको क्रम पातलियो।टाढा हुँदा पनि भान्दाजुको त्यो उज्यालो अनुहार र आकर्षक व्यक्तित्वको सम्झना भइरहन्थ्यो। हामीलाई अत्यन्त माया गर्ने हाम्रा भान्दाजुको असामयिक अवसानले हाम्रो परिवारमा बज्र परेजस्तै भएको छ।अहिले त त्यो सम्झना झन् ताजा र गाढा भएर आइरहेको छ।

म धेरै लेख्‍न जान्दिन। जानी नजानी आफ्ना मनमा लागेका भावना कोरेर दाजुप्रति श्रद्धा प्रकट गर्न मात्र खोजेकी हुँ।उहाँको अमर आत्माले चिरशान्ति प्राप्त गरोस्। ईश्ररसँग यही प्रार्थना गर्दछु।

विराटनगर, मोरङ

यो झर्नामा मधुर वयको बैँस पग्लेर जाला

धर्ती हाँसी अमर-युगका मुस्कलान् स्वर्ण-बाला

त्यो बेलामा पनि रहरले प्रीति गर्दै रहन्छौँ

हामी नौला किशलय बनी शिल्प भर्दै रहन्छौँ।

दैवज्ञराज न्यौपाने

'शरद्-बाला'