सहकर्मी मित्र दैवज्ञको सम्झना
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।। (श्रीमद्भगवद्गीता २।२७)
संसारमा केही कुरा भन्न सजिलो गर्न गाहारो पर्ने छन् तीमध्ये हितैषी मित्र, बन्धु वा आफन्त वियोग पनि एउटा हो । आज प्रिय मित्र प्रा.दैवज्ञराज न्यौपानेको पार्थिव शरीर रहेन । उहाँको अगाडि हामी कविवर भन्ने विशेषण लाउथ्यौँ अब दिवङ्गत पनि लेख्न बाध्य भयौं । गएका गए रहेकाले यसै गर्ने चलन रहेछ । करिब ५ दशकदेखिका सहयात्री, सहकर्मी, सहचिन्तक, सहृदयी, शुभचिन्तक, क्रान्तदर्शी आफ्ना मित्र दैवज्ञ न्यौपानेका सम्झनामा रसाएका आँखाका मसीमा स्नेह र सद्भावना लेखनीले यी शब्दसुमनद्वारा मित्रप्रति श्रद्धाञ्जलि व्यक्त गर्ने अवस्था आएको छ ।
वियोगमा सबै यहाँ परेर तीव्र वेदना,
सहन्छ हे हरे भनी छ दैवकै विडम्बना
तथापि मित्र बन्धुको वियोगजन्य वेदना,
छचल्किएर आउँदा उतारिइन्छ शब्दमा ।
आजभन्दा करिब ५० वर्ष अगाडि, कवि तथा नाटककार भीमनिधि तिवारीको शिलान्यास नाटकमा, मित्र दैवज्ञलाई राजा द्रव्य शाह बनाएर म उनका गुरु नारायण अर्यालको अभिनय गर्न बृद्धाध्यात्मिक सम्मेलनस्थल दाङ तुलसीपुरको टरी गाउँ गएका थियौं । हामी तीनधारा संस्कृत छात्रावासका २६ जना छात्रहरूको टोलीमा मुसुमुसु हाँस्दै “हे गुरुदेव” भनी नाटकीय परिहास गर्ने गोरो, पुष्ट, बाटुलो, लोभलाग्दो मुहारका दैवज्ञ अहिले पनि मेरो अगाडि उभिएझैँ लाग्छ । त्यो यात्रामा कुस्मानिर पुगेर हामी चढेको ट्रकको चक्का चट भयो । मर्मत गर्ने ठाउँ र जगेडा पाङ्ग्रो नहुँदा हामी त्यहाँबाट बास खोज्दै हिँड्यौं । नेपालगञ्जबाट बाटाका निम्ति ल्याएका चना, दालमोठ र बिस्कुट बाटैमा सिद्धिए । पानी पनि खान पाइएन । सुख्खा बगरमा भौतारिँदै जाँदा मैले एउटा अमलाको बोट देखें । माथिमाथि लटरम्म अमला फलेको देखी रुख चढेर जति झारें उति साथीहरूले झवाम पारे । आफ्नो शक्तिले भ्याएसम्म फलेका हाँगै भाँचेर ओर्लें । दैवज्ञ, रामप्रसाद, पीताम्बर आदि साथी पानी खोज्दै हिँडे । मैले एउटा ठुलो ढुङ्गाको ओडार परेको खहरे खोलाको बगरमा पानी भेटेँ । साथीहरूले त्यो पानी र अमला खाए । पहिले पहिले ४/५ ओटा नाटकमा खेलेको हुनाले साथीहरूले मलाई नाटकको निर्देशक, दैवज्ञलाई सह–निर्देशक बनाएका थिए । हामी अघि बढ्दै जाँदा राप्ती नदी भेटियो र पानी खाई, पौडी खेल्दै रमाइलो गर्दै अघि बढ्दा कुस्मा नजीकको बस्तीमा पुगी भुटेका मकै भटमास र गुन्द्रुक खाई बाटाभरि मीठा गीत र कविता सुनाउने दैवज्ञले कविता भनेको सम्झन्छु ः–
जिन्दगीमा सँधै हुन्न सुविस्ता कहिल्यै पनि
सुखदुःख दुबै चक्का घुम्दछन् जहिल्यै पनि ।
साथी दैवज्ञजी र नेतृत्वका निम्ति हानाथाप गर्ने साथी रामप्रसाद भट्टराई र मित्र पीताम्बरका चुरीपुफरी हेर्दै हामी कुस्मा बजार पुग्दा साँझ पर्यो । जङ्गलका माझबाट नेपालगञ्ज रत्नमार्ग भर्खर खुलेकोले कुस्मा बस्ती उति बाक्लो थिएन । हतार हतार बजार घुम्दा २/४ ओटा पुरी र चिया तरकारी पाउनेले खायौँ । म थकाइले गर्दा रुखकै पेफदमा पल्टेका,े त्यहीँ निदाएँछु । राती त्यहाँका प्रधानपञ्चले साथीहरूलाई लगी खाना खुवाएर ओड्ने, ओच्छ्याउने दिई सुताएछन् । म त्यहीँ रुखमुनि ऋषिमुनि भएर सुतेंछु । भोलिपल्ट बिहानीको चिसो स्याँठले ब्यँूभेफर हेर्छु त– हे गुरु ? तिमी यहीँ ? भन्दै दैवज्ञ आएर बोलाएको सम्झन्छु । साथीहरू जम्मा भई अञ्चलाधीशले पठाएको रसियन जीपमा हामी २६ जना र अरू ३/४ जना खादखुँद गरी दाङ पुगेर नाटक देखाई बनारस हुँदै वीरगन्ज भएर दैवज्ञको स्वरमा “बाइरोडको बाटोमा धुलो उडाउँदै” भन्ने गीत गाउँदै काठमाडौं फर्क्यौं । यात्राका क्रममा दैवज्ञसँगै हिँडेको यो मेरो पहिलो सम्झना र अनुभव थियो । यो ५० वर्ष अघिको मीठो सहयात्राको त्यो क्षणको सम्झना अविस्मरणीय रह्यो । अब त्यो अर्को सहयात्राको आशाले बिट मार्यो ।
दैवलाई जान्ने दैवज्ञ भन्ने यथार्थ मात्र रहेछ दैवज्ञले दैवलाई जान्न सकेनन् । छात्रावास तथा वाल्मीकि महाविद्यालयमा आफ्ना मीठा कविता गाउने उनै दैवज्ञ थलिएर घुम्ने मेचमा बसी राष्ट्रिय नाचघरमा उनकै राष्ट्रिय अभिनन्दन समारोहमा दर्जनौं सङ्घ संस्थासमेतको अभिनन्दन ग्रहण गर्दै अस्पुफट तोते बोलीमा, गहभरि आसु लिँदै बोल्ने दैवज्ञलाई सम्झन पुग्दा कता कता अन्तर वेदना हुन थाल्छ तर विधिरहो बलवानिति मे मति सम्झी चित्त बुझाउन पुग्छु । अनेकौं सङ्घ–संस्था, कवि, लेखक, समीक्षक, शुभचिन्तक र सरकारसहित सबैको सहयोग र सहानुभूति साथ पाए पनि मित्र कविवर प्राध्यापक दैवज्ञराज न्यौपानेलाई दैवले अल्पायुमै हाम्राबीचबाट चुँडेर लग्यो । लाग्दछ देवकोटा, सम, शिरोमणि, भिक्षुहरूको कवि गोष्ठीमा कवि दैवज्ञलाई समेत ल्याउनै पर्ने उनीहरूको आग्रह दैवले टार्न सकेनन् । दैवज्ञको भौतिक शरीर यहाँ नरहे पनि उनको यशोमय दिव्य शरीर यहाँ अजर अमर भएर हाम्रो नेपाली साहित्य जगत्को तारा भई झल्मलाइरहेको छ । नास्ति येषां यशः काये जरामरणजं भयम् । कवि दैवज्ञ, प्राध्यापक दैवज्ञ, मित्र दैवज्ञ, ... दैवज्ञ मरेको छैन, किनभने जसका क्रान्त दृष्टिले नव नव कविताकामिनी दिएर नेपाली साहित्यको श्रीवृद्धि गर्यो, सयौं शिष्य प्रशिष्य जन्माएर विद्यादेवी सरस्वतीलाई रिझायो, त्यस मित्रलाई म यिनै शब्द सुमनद्वारा हार्दिक श्रद्धाञ्जली चढाउँछु ः–
को भुल्ला कविता भनी घर घरै त्यो कोकगोष्ठी गरी
मीठा गीत सुनाउने अघि सरी सङ्गीतका माधुरी,
तिम्रा गीत तथा गलासँग कला ताली सधैँ पाउँथ्यो
गाला पुष्ट र मुस्कुराहट अहो झङ्कार नै आउँथ्यो ।
हे राजा ! अघि द्रव्य शाह भनिने नेता शिलान्यासका
हे मेरा कवि मित्र बन्धु ! सबका सत्पात्र विश्वासका,
जान्ने दैव तिमी थियौ प्रिय सखे बोलाउँदा दैवले
यो मेरो बुझकी भनेर अहिले खोसी लग्यो कालले ।
शोभा पुत्र सुता र बन्धु सबका आधारसूत्रै तिमी
त्यो सूत्रै चुँडिएर सुन्दर कहाँ ल्याउँफ म माला उनी,
नेपाली कविता–शिरोमणि कवे हे बालगीतप्रिय
आशा–पाश सुधा चुँडेर कसरी बस्नन् यहाँ निर्भय ।
दैवैको सब खेल हो अब तिमी आकाशका मार्गमा
जाँदैछौ न भुली शुभाशिष दिए पत्नी सुता साथमा,
तिम्रा सम्झन योग्य गीत कविता सन्तानको सिर्जना
शब्दब्रह्म बनेर नै पनि गरे हाम्रो शुभाशंसना ।
आयो काल टिपी लग्यो प्रिय सखा दैवज्ञलाई पर
सम्झन्छौँ तिनका सबै गुन यहाँ हामीहरू सुन्दर,
तिन्को जन्म र मृत्यु चक्कर छुटोस् सत्कार्य बाँची रहोस्
यस्तै हो सब जानुपर्छ विधिको यो खेल हो बिर्सियोस् ।
साँच्चै लानु थियो अवश्य विधिले पापी लुटाहाहरू
देशद्रोह गरी अबोध जनता ठग्ने हसुर्नेहरू,
छोडी दुष्ट कठै ! अनेक कविता दाता सुमार्गी नर
लैजाने विधि नै रहेछ बलियो मेटिन्न लेखान्तर ।
सधैँसधैँ मञ्जुल हास्य गर्ने
गोरा र अग्ला कवि चित्त चोर्ने,
चिटिक्क पर्ने र मिठास भर्ने
दैवज्ञ जस्तै अब को छ गर्ने ?
हे दैव तिम्रो पनि चित्त हर्ने
जानी तिमीलाइ प्रसन्न पार्ने,
हाम्रो थियो मित्र लग्यौ टिपेर
दैवज्ञ मेरै प्रिय हो भनेर ।
क्या लेख्छ राम्रा पुतली समान
मीठा रसीला कविता बयान,
दैवज्ञ नै छैन भने यहाँ को
गर्नेछ ठट्टा कविझैँ मजाको ।
्
के स्वर्गमा नै कविता सिँगार्ने
दैवज्ञ रोजा कवि लानु पर्ने ?
थिएन अर्को कवि योग्य उम्दै
भनी लग्यौ दैव ! विशेष भन्दै ।
गोष्ठी थियो वा कविको त्यहाँ र
दैवज्ञलाई लगियो हतार,
हे दैव ! तिम्रो चलनै अपार
राम्रा सबै स्वर्गतिरै थुपार ।
नेपालको यो कविको समाज
दैवज्ञ नै खोज्दछ दैव आज,
हामी सबैका प्रियमित्र साजा
तयार छौ मान्न कि योग्य राजा ।
जो भो भयो चित्त बुझाउँदै छौ
दैवज्ञ तिम्रै गुन गाउँदै छौं,
यो मित्रको अर्पित भावरूप
स्वीकार श्रद्धाञ्जलि शब्दपुष्प ।
हे दैवज्ञ कलानिधे कविवर प्राध्यापक प्राज्ञ हे !
न्यौपाने कुलबन्धु नित्य हँसिला शालीन निर्भीक हे !
हाम्रा निम्ति तिमी सधैँ मन मनै बस्छौ यशः पुञ्ज ली
श्रद्धासाथ तसर्थ आर्ष पदमा अर्पन्छु श्रद्धाञ्जली ।
अनि म पनि सुधाका, बन्धु पुत्रादि साथ
अतिशय करुणाको यो घडीमा सहार्द,
सहन बहन सक्ने प्राप्त होस् शक्ति भन्छु
सहअनुभव गर्दै दुःखमा साथ दिन्छु ।
।।ॐ शान्ति।।
२०६९ साउन ३१
पोखरेल कुटी, नयाँ पाटी–१, सुन्दरीजल