मेरा आँखामा दैवज्ञ सर
उज्यालो चेहरा, गम्भीर मुद्रामा मुसुक्क हाँसेर बोल्ने, प्रत्येक शब्दमा गम्भीर भएर सोचेर, विचार गरेर उत्तर दिने, शैक्षिक, सामाजिक तथा साहित्य क्षेत्रमा निरन्तर लागिरहनु हुने प्रा.दैवज्ञ सर आज यो संसारमा हुनुहुन्न तर पनि उहाँका विचार, भावना, कथा, कविता, गीत आदि हाम्रा सामु जीवित छन् । मेरो साहित्य क्षेत्रमा खासै पहुँच नभएको कारणले आफ्नो कलम चलाउने जाँगर पनि भएन र उहाँसँग नजिक हुन ढिला भयो ।
एकदिन, २०५४ सालको भाद्र महिना थियो । काठमाडौं जिल्ला शिक्षा कार्यालयबाट विभिन्न सामाजिक अवस्था अनुगमन गर्न मेरी श्रीमती (हालः सान्त्वना मेमोरियल एकेडेमी बहुमुखी क्याम्पस, शिक्षक तालिम केन्द्र र उच्च मा.वि.की प्रमुख) जमुना खत्रीले जिल्ला शिक्षा कार्यालयबाट अनुगमन गर्ने अनुमति पाएकी थिइन् । उनीसँग म पनि सञ्चालित प्रौढ कक्षा अनुगमन गर्ने स्थलमा गएको थिएँ । नयाँ बानेश्वर, वडा नं. ३४ पञ्चकुमारी स्थानमा महिला समूहबाट प्रौढ कक्षा सञ्चालनमा रहेको थियो । साँझको करिब ६ बजे जस्तो लाग्छ । त्यस ठाउँमा समाजसेवी, बुद्धिजीवी र सञ्चालकहरू अनुगमनकर्तालाई भेट्न उत्सुकताका साथ प्रतीक्षा गरिरहेको पाएँ । त्यसमध्ये दैवज्ञ सर पनि हुनुहुन्थ्यो । त्यसै दिन उहाँसँग मेरो परिचय भयो । उहाँ साहित्यकार मात्र नभएर समाजसेवी पनि हुनुहुँदो रहेछ भन्ने कुरा थाहा पाएँ । साथसाथै विद्वान् तथा शिक्षाप्रेमी पनि हुनुहुन्थ्यो । उहाँले बानेश्वरजस्तो शिक्षित समूहहरूका बिचमा प्रौढ शिक्षाको लागि सहयोग नगर्नु भएको भए पनि हुन्थ्यो होला । तर उहाँले भन्नुभयो– शिक्षा विकसित ठाउँले हुने होइन, एउटा घरको परिवारलाई हेरेर हुँदैन । देशको कुना कुनामा शिक्षित बनाउन आवश्यक हुन्छ । यसरी उहाँले शिक्षाको आवश्यकतासम्बन्धी आफ्नो कुरा जोड्नुभयो । “लाजले गल्ती छोप्नु हुँदैन । ल हेर्नुस् त, पढ्ने मान्छे !” भनेर प्रौढ कक्षामा बसी पढिरहेका महिलाहरूलाई देखाउनु भयो । त्यस कक्षामा कोही हुने खाने परिवारका कोही सामान्य परिवारका, कोही मजदुरी गरी साँझको समयमा पढ्ने खालका थिए ।
समाजसेवामा पाइला चाल्ने क्रममा सरल स्वभावको, घमण्ड नभएको, हँसिलो अनुहार, तेजिला आँखा, मुसमुसाएर तर्क दिएर प्रत्येक कुरा प्रस्ट पारी बोल्ने, स्पष्ट वक्ता, कुना कन्दराका समस्यालाई स्पष्ट राख्ने त्यो व्यक्ति को होला ? आकलझुकल टि.भी.मा देख्ने गरेको त्यो आकर्षक व्यक्तित्व को होला ? भनी अन्य आसपासका व्यक्तिलाई सोध्दा जवाफ मिल्यो– प्राध्यापक, वरिष्ठ बाल साहित्यकार, समाजसेवी दैवज्ञराज न्यौपाने । थाहा पाएपछि ज्यादै खुसी लाग्यो । उहाँसँग सामान्य गाउँठाउँ, रहनसहनका बारेमा मात्र व्यक्तिगत कुराकानी भएको थियो । पछि हालको बानेश्वर क्याम्पस रत्नराज्य स्कूलबाट शान्तिनगरको खोलाको किनारमा आउन खोज्यो । त्यसबेला हरिबोल भट्टराई र केदार न्यौपानेज्यूबाट मलाई सहयोग गरिदिनु पर्यो भनी स्थानीय सहयोग मागेको अवस्थामा त्यस क्याम्पसमा नियमित सम्पर्क बढ्यो । त्यसै क्रममा बानेश्वर क्याम्पसलाई नेपालकै उत्कृष्ट क्याम्पस बनाउनुपर्छ भनी लागिपर्नुभएको व्यक्तिको रूपमा उहाँलाई पाएँ । म उहाँसँग साह्रै प्रभावित भएँ । मेरो साहित्यमा पहुँच नभएकोले उहाँसँग साह्रै घनिष्ट र नजिक हुने मौका भने पाइन । सामाजिक भावनाले पछि मैले साह्रै आदर गर्नुपर्ने व्यक्तित्वमध्ये उहाँ हुनुभयो । २०५८ सालमा मेरा छोरा सान्त्वनाको दुर्घटनामा परी देहान्त हुँदा दुःखमा मलम लगाइदिन मेरो बासस्थानमा आइरहनुहुन्थ्यो र धैर्य धारणका लागि कामना गर्नुहुन्थ्यो ।
टोल, छर–छिमेक, इष्टमित्र र सबै क्षेत्रका बौद्धिक व्यक्तिहरूबाट सान्त्वना नामको शैक्षिक संस्था शान्तिनगरमा चलाउनुपर्छ भन्दा उहाँले नजिकबाट साथ दिनुभएको थियो । आपूफ संलग्न भएको बानेश्वर क्याम्पसको नजिक अर्को क्याम्पस खुलोस् भनेर जो कोही भन्न सक्दैन थिए होला तर उहाँले सान्त्वना मेमोरियल एकेडेमी शिक्षक तालिम केन्द्रको सञ्चालक समितिको सदस्य पदमा रही त्यसलाई स्तरवृद्धि गर्न महत्त्वपूर्ण सुझाव लगायत धेरै निर्णयहरू समेत दिनुभयो । यसले गर्दा हालसम्म पनि बानेश्वर क्याम्पस र सान्त्वना मेमोरियल एकेडेमी सधैँ नजिक रहेको, भावनात्मक सम्बन्ध गाँसिएको संस्थाका रूपमा आपूफले लिएको छु । यो प्रेरणाको श्रेय उहाँलाई नै जान्छ । अहिले शैक्षिक संस्थामा उहाँ हुनुभएको भए ज्ञानको आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका हुने थियो । उहाँ लामो समय बिरामी परी थला पर्दा पनि हरेस खानु भएन । उहाँको बिरामीको खबर पाएर म र मेरो परिवार अनि मेरा साथीहरू उहाँलाई भेट्न जाँदा हिँडडुल गर्न नसक्ने अवस्थामा पायौँ । उहाँले आफ्नो रोगले आपूफ थलिएको महसुस गर्नु भएन । तर पनि अप्ठ्यारो अवस्थासँग लड्ने, धैर्य गर्न सक्ने, आफ्नो दुःख लुकाएर पनि हाँसिदिने, भविष्यवाणी गर्न सक्ने कुशल समाजसेवीको रूपमा रहनु भएको मैले पाएँ ।
उहाँलाई शैक्षिक जगत्मा ज्ञानको भण्डारको रूपमा लिनुपर्छ र उहाँबाट सिक्नुपर्ने धेरै कुराहरू बाँकी छन् । राष्ट्रको कर्णधार आज उहाँ नहुँदा पनि उहाँले छोडेका राम्रा कुराको अनुसरण गर्दै, कुशल राष्ट्रसेवक बन्न सबै नेपालीले आ–आफ्नो ठाउँमा बसेर काम गर्न सकौँ भन्ने शुभेच्छा प्रकट गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।
२०६९ श्रावण २९
अध्यक्ष, सान्त्वना मेमोरियल एकेडेमी
संसारभरमा राम्रो हो प्रजातन्त्र तैपनि
नेता छैन भने राम्रो केही हुन्न कतै पनि
प्रजातन्त्र त्यहाँ हुन्न नसुध्रे देशको गति
हामी अन्योल भोग्दैछौँ अझ उस्तै छ दुर्गति।
दैवज्ञराज न्यौपाने
चासो र चिन्तन (खण्डकाव्य)
सुदर्शन, सुशिक्षित, सुसंस्कृत र सुभाषी अनि सुललित काव्यकार कवि दैवज्ञराज न्यौपाने सुन्दर सिर्जनाका धनी हुनुहुन्छ।
कमल दीक्षित, (दैवज्ञ : पद्यध्वनि, २०६६)