कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

सिर्जनामै बाँच्नुहुन्छ

एस पी आशा

हिजो दिउँसो अर्थात् आषाढ १० गते शंकर पौडेलले फोन गरेर दैवज्ञराज न्यौपानेको स्मृतिग्रन्थ प्रकाशित गर्ने रे । दाइको संंस्मरणका लागि पत्र त पठाएको रहेछ तर त्यतिकै पत्र हराए जस्तो लागरे मसँग सम्पर्क गर्नुभयो । अनि मैले दाइलाई एउटा संस्मरण तयार गरिदिनु पर्‍यो भनेर अनुरोध गरेको भन्नु भयो । दुई चार दिनदेखि मलाई आँखा दुखेर अलि अप्ठायारो भैरहेको थियो । टी भी, कम्प्युटर, पत्रपत्रिका, किताब हेर्न र कुनै लेखरचना पनि लेख्न सकेको थिइन । तर दैवज्ञको विषयमा लेख्न पर्ने कुरा भएकोले लेख्न मन लाग्यो र जसरी तसरी एउटा सानु संस्मरण तयार गर्ने प्रयासमा लागेँ ।

“मृत्योर्मा अमृतं गमय” उपनिषद्मा रहेको एउटा यो भनाइ यस बेला मलाई संझना भयो, उपनिषद्ले “मृत्युलाई अमृतमय बनाऊ” भनेको छ । अब आश्चर्य भएन त, मरेको समयमा सबै रोईकराई अलाप विलाप गर्छन् । यस्तो बेलामा यस्तो बेलालाई कसरी “अमृतमय” बनाउने । वास्तवमा यो कुरा पनि साँचो हो । अमृतमय बनाउने कुरा पनि त साँचो हो नि । साँचो नभए उपनिषद्ले किन त्यसरी भन्थ्यो कि मृत्युलाई अमृतमय बनाऊ । लामो तर्क गरेर यहाँ सम्भव नभएकोले समाधानतिर लागौँ । उपनिषद्ले नै अर्को कुरा भनेको छ चरैवेति चरैवेति । यो भनेको क्रियाशील बन भनेका,े क्रियाशीलता पनि दुई किसिमको हुन्छ । एउटा नकारात्मक क्रियाशीलता र अर्को सकारात्मक क्रियाशीलता । हामी सकारात्मक क्रियाशीलताका कुरा गरौँ । यसले नै मान्छेको भावनात्मक सुधार भएर चिन्तनको विशालतामा प्रवेश गर्छ । जब हामी चिन्तनमा लाग्दछाँै हामी क्रियाशील भयौँ । त्यसमा पनि सृजनात्मक माध्यमबाट क्रियाशील हुनुभएको दैवज्ञजीको मृत्यु अमृत भएको छ । वियोगमा हामीलाई दुःख छ त यो कुरा अर्कै हो । तर वियोगमा सुखै भए पनि त उहाँ त हामीबिच त हुनुहुन्न ? जब हामी उहाँको भौतिक देहको खोजी गर्दै उहाँको क्रियाशीलताको स्मरण गछौँ, रचना पल्टाउँछा,ैँ उहाँको अस्तित्वको आभास हामीलाई भइहाल्छ । यो संस्मरण लेख्दै गर्दा उहाँसँग भेट भएका क्षण उहासँग कुरा गरेका क्षणहरूको क्षणक्षणमा संझना आइरहेको छ । उहाँ मेरो साथै बसेर आफ्नो मीठो बोलीमा मलाई केही भनिरहनु भएजस्तो आभास भइरहेको छ ।

दैवज्ञजीको र मेरो कहाँ कहिले कसरी भेट भयो मलाई संझना छैन तर मलाई आभास भएको छ उहाँले बी.पी.स्मृतिग्रन्थ विमोचनको ठुलो समारोहमा मलाई देख्नु भएको हुनुपर्छ । किनभने त्यो विशाल शैक्षिक समारोहको आयोजकको मुख्य मानिस मै थिएँ । ६ सय पानाको विशाल पुस्तक विमोचन राष्ट्रिय सभागृहमा भएको थियो । गाणेशमानजी, कृष्णप्रसाद भट्टराई त्यहाँ को थिएन ? राष्ट्रिय सभागृहको सभाकक्ष भरिभराउ थियो । नेता, कार्यकर्ता, पत्रकार, साहित्यकार, प्रशासक र प्रोफेसरहरूको जमात थियो । यो मेरो अन्दाज हो बस ! त्यसपछि दैवज्ञजीसँग समय समयमा ठाउँठाउँमा भेट भयो । तर मसँग लामो समय कुराकानी बसाउठी हुने समय मिलेन । मलाई पनि स्वास्थ्यले साथ दिएन । यसैविच शंकर पौडेलसँग विश्व हिन्दु महासंघमा काम गर्दा चिनापर्ची भयो । त्यसपछि योगी नरहरिनाथको ट्रस्टको जन्म भयो । यो संस्थाको प्रारम्भदेखि नै म सम्मान समितिको संयोजक रहँे । इतिहास, धम, साहित्य, संस्कृति जस्ता विषयमा उल्लेखनीय कार्य गरेका विशिष्ट विद्वान् र साधकहरू यी संस्थाबाट सम्मानित भए । यहीबिच दैवज्ञजीलाई पनि रोग लाग्यो । उहाँलाई पक्षाघात भयो । यो कुरा पत्रपत्रिकाबाट मलाई थाहा भयो । मलाई पनि रक्तचाप उच्च भएको समयमा हातगोडा लुला भएको संझना भयो । त्यो वेला मैले “वसन्त कुसुमाकर” भन्ने स्वर्ण भस्म मिसिएको औषधी सेवन गरेको थिएँ । त्यसले मलाई फाइदा पनि भएको थियो । त्यसकारण मैले दैवज्ञजीलाई पनि फाइदा होला कि भन्ने मनमा लागेर फोन गरँे । अहिले सम्झना भएन कसले हो फोन उठाउनु भो, मैले वसन्त कुसुमाकरको कुरा बताएँ । उहाँहरूले के गर्नुभयो थाहा भएन । जे होस् आफूलाई लागेको कुरा उहाँको पनि स्वास्थ्यलाभ होला कि भन्ने आशले भनेको थिएँ । बराबर शंकरजीलाई उहाँको अवस्था कस्तो छ भनेर सोध्थँे । उहाँको घरमा मेरो आवतजावत थिएन । म सीतापाइला बस्ने उहाँ बानेश्वर बस्ने फासला निकै थियो ।

त्यो वर्ष पनि योगी ट्रस्टबाट साहित्यिक विधामा सम्मान गर्ने समय आयो । शंकरजीले प्रस्ताव ल्याउनु भयो । मैले समर्थन गरँे । कार्यक्रमको समयमा उहाँ दुईजनाको सहारा लिएर उपस्थित हुनुभयो । हामी सवैको समितिका सदस्य तथा पदाधिकारीहरूको उहाँले सम्मान गर्नु भयो । किनभने त्यस्तो अशक्तावस्थामा पनि उपस्थित भएर सम्मान ग्रहण गर्नुभयो । हामीलाई कृतकृत्य पार्नुभयो । यो नै उहाँको अन्तिम त्यस्तो समारोहको उपस्थिति रह्यो जस्तो मलाई लाग्छ । त्यसपछि उहाँलाई रोगले च्याप्दै लग्यो र हामीबाट उहाँको भौतिक देह अलग गरायो । तर उहाँको सिर्जना हामीसँग छ । सिर्जनामै उहाँ बोल्नुहुन्छ, हाँस्नुहुन्छ र सिर्जनामै बाँच्नुहुन्छ ।

२०६९ असार,

सीतापाइला, काठमाडौँ

उठ हे उठ तन्नेरी ! रहर बोकी नराख

दु:खको पहाड देखेर दु:खलाई बोकी नराख

तिमी हौ सिङ्गै नेपाल तिम्रै हो देश नेपाल

सबैको साझा फुलबारी मिलेर माथि उचाल।

दैवज्ञराज न्यौपाने

'उठ हे उठ तन्नेरी !'

म सानो चुल्बुले यौटा कलिलो काव्यको कवि

तिमी गम्भीर संसार राष्ट्र रच्ने महान् कवि

सम्झी सिर्जनको ज्योति तिम्रै अन्तर छुन्छु म

गीतका पङ्खले मेरा, तिम्रा चरण छुन्छु म।

दैवज्ञराज न्यौपाने

'नेपाल काव्यका कवि'