सामाजिक सेवामा प्रा. दैवज्ञराज न्यौपाने
प्रा.दैवज्ञराज न्यौपाने पञ्चकुमारी क्षेत्रको जनसहयोग मार्गमा बस्नुहुन्थ्यो । म पनि जनसहयोग मार्गको पूर्वतर्फ दुई मिनेटको दूरीमा पर्ने एकता मार्गमा बस्ने गर्थें तैपनि हामीबीच चिनजान हुन सकेको थिएन । हामी बसेको ठाउँ नगर क्षेत्रभित्र परेको एक दशकभन्दा बढी भैसकेको थियो तापनि त्यो नितान्त ग्रामीण इलाकाजस्तो देखिन्थ्यो । ढलबिनाका साँघुरा हिले बाटा थिए, खाने पानी र बिजुलीको सुविधा प्राप्त भइसकेको थिएन । टेलिफोनको विषय त झन् विलासी वस्तु जस्तो पो बनेको थियो ।
“आवश्यकता नै आविष्कारको जननी हो” भनेझैँ हामीलाई बाटो, ढल, खानेपानी, बिजुली सबै कुरा चाहिएको थियो तर एक्लै दुक्लैले ती कुराहरूको जोहो गर्न सक्ने अवस्था भने थिएन । यसैले हामी सङ्गठित भयौँ र २०४४ साल जेठ ९ गते बिहान पञ्चकुमारी क्षेत्रका निवासी मुनीश्वर मूलको घरमा एउटा भेलाको आयोजना गर्यौँ । त्यस भेलाले त्यसै दिन पञ्चकुमारी सामाजिक गुठी नामक संस्था स्थापना गरी प्रा.डा.वासुदेव त्रिपाठीको सभापतित्वमा एक तदर्थ कार्यसमिति समेत गठन गर्यो । त्यस कार्यसमितिको सदस्य पदमा दैवज्ञजी र मसमेत समावेश गरिएका थियौँ । वास्तवमा त्यसै दिनदेखि मात्र हामीबीच परिचय हुन गएको हो । पञ्चकुमारी सामाजिक गुठीको पृष्ठभूमिमा भन्ने हो भने दैवज्ञ सर र म एकै दिन समाजसेवामा प्रवेश गरेका थियौँ र उहाँको अन्तिम अवस्थासम्म पनि हामी त्यही संस्थामा आबद्ध थियौँ ।
प्रा.दैवज्ञराज न्यौपाने पेसागत रूपमा प्राध्यापन क्षेत्रमा संलग्न हुनुहुन्थ्यो तापनि उहाँ साहित्यिक फाँटका बहुआयामिक व्यक्तित्व मानिनुहुन्थ्यो । उहाँ साहित्यकारहरूबीच कवि, गीतकार, जीवनीकार, कथाकार, निबन्धकार, समालोचक, भूमिका लेखक, बालसाहित्यकार आदिका रूपमा सुपरिचित हुनुहुन्थ्यो । धेरै साहित्यिक संस्थाहरूमा उहाँको संलग्नता थियो । यति हुँदाहुँदै पनि उहाँलाई समाजसेवीका रूपमा मात्र म यहाँ स्मरण गर्ने जमर्को गर्दैछु । त्यसमा पनि उहाँ र म सँगसँगै काम गरेका का.म.पा.३४ स्थित पञ्चकुमारी सामाजिक गुठी, अग्रणी सामाजिक संस्थाको रूपमा रहेको देउराली क्लब, सामुदायिक विकास तथा सेवा समिति र पञ्चकुमारी सामाजिक गुठीको अग्रसरतामा गठन गरिएको साहित्यकार प्रा.दैवज्ञराज न्यौपाने अभिनन्दन समितिका सन्दर्भहरूलाई मात्र म यहाँ कोट्याउने प्रयास गर्दैछु ।
दैवज्ञराजजीसँग मैले पञ्चकुमारी समाजिक गुठीमा दुई दशकको अवधिसम्म हातमा हात र काँधमा काँध मिलाएर काम गर्ने अवसर पाएँ । पञ्चकुमारी क्षेत्रभित्र कहिले ढल विकासका लागि त कहिले बाटो चक्ल्याउने र पिच गर्ने कामका लागि, कहिले खानेपानी र बिजुलीको सुविधाका लागि हामीले निकै दौडधूप गर्यौँ, ती क्रमशः पूरा हुँदै गए । गुठीले साहित्यिक–सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन गर्थ्यो, त्यसमा पनि उहाँको सक्रिय सहभागिता रहन्थ्यो । उहाँको सामाजिक, शैक्षिक र साहित्यिक व्यक्तित्वले मात्र होइन, वैयक्तिक व्यक्तित्वले पनि सामाजिक कार्यहरू सम्पन्न गर्न ठुलो सघाउ पुर्याइरहेको हामीले अनुभूति गरेका थियौँ । भर्भराउँदो अनुहार, चटक्क मिलाएर लगाइएको ढाकाको शिरपोस अनि मृदु मुस्कान अरूको दिल पगाल्ने दैवज्ञजीका अत्यन्त आकर्षक तत्त्वहरू थिए । दुई दशकको हाम्रो सहयात्रामा मैले दैवज्ञ सरलाई कहिल्यै पनि आत्तिएको र मात्तिएको अवस्थामा देख्नुपरेन । मैले महसुस गरेको यो उहाँको विशिष्ट गुण हो ।
गुठी क्षेत्रमा पूर्वाधार विकास र सुविधा प्राप्तिका काम क्रमशः पूर्ति हुँदै गएपछि गुठीले आप्फनो स्थायित्वका लागि आफ्नै भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्यो । जग्गा खरिदका लागि रकम सङ्कलन गर्न मात्र होइन, भवन निर्माणका निम्ति स्रोत जुटाउन लगाइएको सप्ताह सफल पार्ने कार्यमा समेत दैवज्ञ सरको सक्रिय सहभागिता रहेको थियो । यसरी पञ्चकुमारी सामाजिक गुठीको स्थापना कालमा कार्यसमितिको सदस्य, लामो समयसम्म उपसभापति र पछिल्ला दिनमा सल्लाहकार समितिको संयोजकमा रहनुभएका प्रा.दैवज्ञराज न्यौपानेले गुठीको स्थापना र विकासका लागि ठुलो योगदान पुर्याउनु भएको कुरा यहाँ स्मरणीय छ र रहिरहने छ ।
का.म.पा. ३४ मा २०५८ सालमा स्थापना भएको सामुदायिक विकास तथा सेवा समिति प्रा.दैवज्ञराज न्यौपाने र म पनि संलग्न भएको अर्को सामाजिक संस्था हो । यसले अन्य कुराहरूका अतिरिक्त आप्फनो क्षेत्रमा सरसफाइ गर्ने र जनचेतना जगाउने काम पनि गर्ने गरेको थियो । एक पटक यस समितिले पञ्चकुमारी सामाजिक गुठी, देउराली क्लब, ३४ वडा कार्यालय र सामुदायिक प्रहरी सेवा समेतको सहभागितामा सरसफाइ र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको थियो । सामुदायिक विकास तथा सेवा समितिका अध्यक्ष प्रा.डा.वासुदेव त्रिपाठी र म हँसियाले बाटोमा निस्केका हाँगाबिँगा काटकुट र छिमलछामल गर्दै थियौँ । वडाबाट आएका र त्यतिबेला सडक बढारिरहेका दुई जना कुचिकारबीच भइ्रहेको एउटा कर्णकटु वार्तालाप हामीले सुन्नुपर्यो । सरसफाइ कार्यक्रमका लागि कतैबाट डलरमा सहयोग प्राप्त भएको, त्यो माथिल्ला व्यक्तिहरूले झवाम पारेको र उनीहरूले सित्तैँमा दुःख गर्नुपरेको भन्ने उनीहरूको भनाइ थियो । हामीलाई त्यसले मर्माहत पारिरहेकै बेला अलि पर, कसैको घर कम्पाउन्ड बाहिर झारको झाडी फाँडिरहनु भएका दैवज्ञ सर भएनेर, शाब्दिक झडप भैरहेको सुनियो । हामी हतारमा त्यहाँ पुग्यौँ । त्यहाँ हाम्रो सरसफाइ कार्यक्रमलाई हात बाँधेर झयालबाट तमासा हेर्नेहरूलाई दैवज्ञ सरले तल ओर्लेर सरसफाइमा सहभागी हुन भनिरहनु भएको थियो भने तिनीहरूले आप्फनो स्वार्थका लागि सरसफाइ गरिरहेको हामीलाई आरोप लगाइरहेका थिए । उनीहरूको त्यो पाखण्डी व्यवहारबाट दैवज्ञ सर औधी जङ्गिनु भयो । हामीले अझै बढी पीडाबोध गर्यौँ । त्यहाँ जे भयो त्यो त हाम्रो समाजको प्रवृत्तिको एउटा प्रतीक मात्र थियो । कुनै अपमान प्राप्त गर्नु छ भने मानिसले समाजसेवा गर्नुपर्छ भन्ने व्यङ्ग्योक्तिलाई मैले त्यतिबेला सत्यवचनका रूपमा आत्मसात् गरेको थिएँ ।
कमल श्रेष्ठ अध्यक्ष रहनु भएको समयमा म देउराली क्लबमा प्रवेश गरेको थिएँ । त्यतिबेला सो क्लबको अवस्था दयनीय थियो । हामी त्यसलाई उकास्ने प्रयासमा थियौँ । दैवज्ञजी देउराली क्लबमा प्रवेश गर्नुभएको अवधि मलाई यकिन नभए पनि कुनै समय हामीलाई त्यस क्लबमा सल्लाहकार बनाइएको थियो । यसैले त्यस क्लबका कार्यक्रमहरूमा हाम्रो सहभागिता रहनु स्वाभाविकै कुरा हो । देउराली क्लबले कुनै व्यक्तिलाई सम्मान गर्ने सन्दर्भमा दैवज्ञ सरले विमति जनाउनु भयो, मैले सहमति प्रकट गरेँ । त्यस विषयमा पछि हामीबीच सद्भावपूर्ण कुराकानी हुँदा उहाँले बुझेर विमति जनाउनु भएको र मैले नबुझिकन सहमति जनाएको कुरा छर्लङ्ग हुनगयो । हामी त्यतिबेला खित्कै छाडेर हाँसेका थियौँ ।
दैवज्ञजी र म मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी थियौँ । तैपनि भोजभतेरमा हामी मुख छाड्ने गर्थ्यौँ । हामी यताउति पल्याकपुलुक हेर्दै जेरी, लालमोहन, रसबरी, हलुवा जस्तो गुलियो पदार्थ पनि मजाले उडाउने गर्थ्यौं । मैले दैवज्ञ सरको आँखा छलेर त्यस्ता पदार्थ खाएको अभिनय गर्थें, दैवज्ञ सर आएर मेरो कानमा खुसुक्क “म आजै, अहिले नै भाउजूलाई भनिदिन्छु” भनेर ठट्टा गर्नुहुन्थ्यो । त्यसो त पछिल्ला दिनमा हाम्रो प्रत्येक भेटघाटमा अलिकति ठट्टा र मीठो व्यङ्ग्य चल्ने गर्थ्यो किनभने हामीले एक अर्कालाई परम मित्रका रूपमा आत्मसात् गरिसकेका थियौँ ।
२०६२ साल भाद्र १५ गते प्रा.दैवज्ञराज न्यौपानेको सुन्दर जीवन अनायास भुँवरीमा पर्यो किनभने त्यसै दिन उहाँलाई पक्षाघातले आक्रमण गरेको थियो । त्यस्तो दुःखद समाचार सुनेर हामी स्तब्ध हुनु त स्वाभाविक थियो नै, पञ्चकुमारी सामाजिक गुठीका बैठकहरूमा एउटा अगुवा समाजिक कार्यकर्ता लौरो टेकेर, कुनै अर्को मानिसको सहयोगमा लर्खराउँदै उपस्थित हुन आएको देख्नुपर्दा हाम्रो हृदय मानसिक पीडाले छियाछिया भएको अनुभूति हुनेगर्थ्यो । भएर के गर्ने ? हाम्रो काबु बाहिरको कुरा थियो त्यो । दिनप्रतिदिन उहाँको शरीर पक्षाघातबाट आक्रान्त हुन थाल्यो ।
आप्फना संस्थापक र हितैषीको त्यो क्षयोन्मुख हविगत देख्ता पञ्चकुमारी सामाजिक गुठी टुलुटुलु हेरेर बस्नसक्ने अवस्था नै थिएन । यसैले प्रा.दैवज्ञराज न्यौपानेको स्वास्थ्योपचारमा केही सघाउ पुर्याउन रकम सङ्कलन गरी अभिनन्दन समेत गर्ने उद्देश्यले पञ्चकुमारी सामाजिक गुठीको तत्परतामा गुठीका सभापति प्रा.डा.वासुदेव त्रिपाठीको अध्यक्षता र यो पङ्क्तिकारको संयोजकत्वमा २०६५ साल फागुन ७ गते “साहित्यकार प्रा.दैवज्ञराज न्यौपाने अभिनन्दन समिति” गठन गरियो । प्रारम्भमा यो का.म.पा.३४ वडामा सीमित भए पनि यसमा विभिन्न राष्ट्रिय स्तरका सङ्घसंस्था र व्यक्तित्वहरूको सहभागिता ओइरिन थालेपछि यो राष्ट्रियस्तरको अभिनन्दन समिति बन्यो र २०६६ असार २६ गते सांस्कृतिक संस्थानको सभाकक्ष जमलमा एउटा गरिमामय उपस्थितिका बीच गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट उहाँको भावपूर्ण अभिनन्दन गरिएको थियो । यसका साथै अभिनन्दन समितिले दैवज्ञजीको स्वास्थ्योपचारका लागि करिब चार लाख रुपियाँ जति उपलब्ध गराउन सकेको कुरा निश्चय पनि अभिनन्दन मूल समितिमा सम्मिलित भएका सम्पूर्ण महानुभावहरू, सङ्घसंस्थाहरू र उहाँका अन्य शुभ–चिन्तकहरूका लागि सन्तोषको विषय बनेको हो । आप्फना आत्मीय एवं आदरणीय व्यक्तित्वको दुःखद सन्दर्भमा बनेको अभिनन्दन समितिको कार्यक्रम संयोजकको भूमिका निर्वाह गर्ने अवसर पाएकामा यो पङ्क्तिकारले समेत गौरवको अनुभव गर्नु स्वाभाविकै कुरा हो ।
अभिनन्दन गरिएको दिन म अस्वस्थ भएँ, यसैले त्यस कार्यक्रममा म सहभागी हुन सकिन । अलि आराम भएपछि म र मेरी जीवनसँगिनी शारदा काफ्ले २०६६ साल असार ३१ गते दैवज्ञ सरको निवास का.म.पा. ९ गैरीगाउँ पुगेका थियौँ । हामीलाई देख्नेबित्तिकै उहाँ त भावविह्वल भएको देखिनुभयो । उहाँका आँखा रसाएको मैले प्रत्यक्ष्। देखेँ । हामी त्यहाँ केही बेर बस्यौँ, फोटो पनि खिचाइयो, जुन हाम्रा लागि चिर–स्मरणीय हुनगयो ।
मैले त्यतिबेला दैवज्ञ सरसँग सामान्य कुराकानी गरेँ, उहाँले बुझनुभयो । किनभने उहाँको सुनाइमा तलमाथि परेको थिएन । जब उहाँले बोल्नुभयो, मैले केही पनि बुझन सकिन । मैले उहाँले बोलेको केही पनि बुझन नसकेको कुरा पनि उहाँले बुझनुभयो, यसैले उहाँलाई झन् बढी पीडा भयो । मैले त्यतिबेलै दैवज्ञ सरको असली जीवन समाप्त भैसकेको अनुभिूत गरेँ । किनभने एउटा सक्रिय स्रष्टा जब ऊ मुखले बोल्न सक्तैन, आँखाले राम्ररी पढ्न सक्दैन, हातले लेख्न सक्तैन र खुट्टाले आँफै दरिएर हिड्न सक्तैन भने उसका लागि त्यो भन्दा बढी पीडा अरू के हुन सक्छ ? यस्तै यस्ता पीडाका बीच दैवज्ञ सर झन्डै ६ वर्ष बाँच्नुभयो ।
२०६८ साल पुस २ गते शनिबार बिहान पञ्चकुमारी सामाजिक गुठीको नियमित बैठक चलिरहेका बेला हामीले प्रा.दैवज्ञराज न्यौपानेको त्यसै दिन मीनभवनस्थित निजामती अस्पतालमा असामयिक निधन भएको दुःखद समाचार सुन्नुपर्यो । हामी मर्माहत भयौँ । बैठक स्थगित गर्यौँ र दिवङ्गत आत्माको चिरशान्तिका लागि एक मिनट मौन धारण गरी हुर्रिएर निजामती अस्पताल पुग्यौँ । अस्पताल बेडमा चिर निद्रामा लम्पसार परिरहेको उहाँको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु बाहेक हामीसँग अरू विकल्प नै के थियो र ?
साहित्यिक र शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका प्रा.दैवज्ञराज न्यौपाने वास्तवमा एउटा निःस्वार्थी र अग्रणी समाजसेवी पनि हुनुहुन्थ्यो । उहाँजस्ता विशिष्ट व्यक्तिका स्मरणमा स्मृति ग्रन्थ प्रकाशित गर्नु भनेको निश्चय पनि एउटा गर्नैपर्ने र सराहनीय कार्य हो । यस अवसरमा म मेरा श्रद्धेय एवं आत्मीय मित्रलाई पुनः एक पटक हृदयदेखि नै स्मरण गर्न चाहन्छु ।
२०६९।४।७
बानेश्वर, काठमाडौँ

प्रा.दैवज्ञराज न्यौपानेका साथमा
लेखक कलाधर काफ्ले र शारदा काफ्ले