कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

प्रेरणा पुरुषमा श्रद्धासुमन

कविराज न्यौपाने

दैवज्ञराज न्यौपानेको पुण्यतिथिमा नेपाली भाषा, साहित्य, समाज, शिक्षा क्षेत्रमा उहाँले पुर्‍याएको योगदानलाई स्मरण गर्ने अवसर “दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान”ले जुटाएको छ । जीवन बाँच्नका पहेलीमा प्राप्त गरेका अनेकन गोरखधन्दा बीचमा मैले आफ्ना स्मृतिश्रद्धालाई अक्षराबद्ध गर्न वा पढेर बुझेका उहाँका रचनाको समीक्षा वा समालोचनामा सन्नद्ध गर्न पनि सकेको छैन । लेख्छु र लेखौँला भन्दै भविष्यलाई थाति राख्तै आएको छु । बालवयदेखि तारुण्य अनि प्रौढजीवनभरिका मेरा सम्झना–तरङ्ग, श्रद्धानुभूति मनमनै ब्युँझने र अनेक इन्द्रधनुष लहरमा उद्बुद्ध भएर प्रकाशनको बाटो खोजिरहेको पनि अनुभव गर्दछु । जीवनकालका अनेकन अवस्था काम व्यवहारले सृजित दैवज्ञराज न्यौपानेले मेरा मनमा रूप प्राप्त गरिरहेको अनुभूत गर्छु । प्रतिभा, योग्यता, मानवीय संवेदना, व्यावहारिकता आदि सबै पक्षमा उपयुक्त, शरीर–मनले सुन्दर, सौम्य, शान्त हार्दिकताको मूर्तिमान् व्यक्तित्व । संघर्षका अनेकन उल्झन व्यवहारका बिब्ल्याँटाहरूमा सधँै सरल रेखाबाट कोमलताको खोजीमा क्रियारत कल्पनाशील दैवज्ञराज न्यौपाने मेरा आँखामा उदाइरहेका छन्, कानमा सुमधुर भाका र भाषामा अनुगुञ्जित भइरहेका छन् । हेर, कविराज ! म कसैको नराम्रो गर्दिनँ, सम्झी सम्झी कसैप्रति अन्याय र पराइको भाव राख्ने छैन, काखापाखा गर्ने छैन, मानवीय भावनाको कदर गर्ने बानी मेरो छ । कसैप्रति नकारात्मक सोच नराख्ने दैवज्ञ मेरो मन मस्तिष्कमा सहिष्णुता, उदारता, सद्भावको पाठ पढाइरहेका हुन्छन् । अन्याय अनर्थका विरूद्ध स्वाभिमानी साहस र दुर्बल, कमजोरको पक्षमा मानवीय करूणासागर भएर बग्ने दैवज्ञलाई भाइबन्धुमा स्नेह, श्रद्धारूप, समाजका मर्यादापालक उत्तम पुरूष, मानवीय संवेदनाका कवि, प्रत्युत्पन्न मेधाका कुशल शिक्षक, असल मान्छेका रूपमा बुझन र हृदयदेखि नै ग्रहण गर्न सकिन्छ ।

पूर्व ४ नंं माझ किराँत भोजपुर गोगनेको सुन्दर वन–बुट्यान, गोगनेखोला र धाइपाखोलाको बिच नागीमा पर्ने प्रकृतिले अनेकन घेरा हालेर गरा बनाएको हरियो सारी सुकाएर आनन्द निमग्न भएर टम्म बसेकी प्रकृति धाइपा नामको ठाउँ छ । निभारा, कटुस, ओखर, पैंयुँ, काभ्रा, दुधिला, पात्ले अनि गोगन, बाँस, घाँस भएको यस ठाउँको पूर्वपट्टि ठुलै जङ्गल छ । पश्चिम दक्षिणतर्फ गोगनेका न्यौपानेको ठुलो बस्ती छ । यसै ठाउँका छेउछाउमा खतिवडा थरको बस्ती पनि छ । साथै यहाँ तामाङ, भुजेल, नेवार, कामी, दमाईं, सार्कीसमेत अन्य जातजातिका मान्छे बस्तछन् । यी मिश्रित जाति यहाँ आपसमा घुलमिल गरेर बसेका छन् । यस गाउँमा मध्यमवर्गीय र निम्न वर्गीय व्यक्तिहरूको बसाइ भए पनि यस गाउँले भविष्य बाँच्न आध्यात्मिक साधना र शिक्षा प्रचारका लागि मन्दिर र विद्यालयको पनि स्थापना गरेको थियो । यही सुरम्य प्रकृतिमा दैवज्ञराज न्यौपानेको बाल्यकाल बितेको थियो ।

गोगनेमा विद्येश्वर संस्कृत पाठशाला १९९८ मा नै स्थापना गरिएको थियो । “खुलुन सकल गाऊँ गाउँमा पाठशाला, थितिरिति सब सानैमा बुझून् बालबाला” भनी गोगनेका भानिज, भानिजबाबु भनिने माम्खा निवासी श्रद्धेय पं.लक्ष्मीप्रसाद पोखरेलले आफ्ना मावलीहरूको उदार सहयोगबाट काभ्रे भन्ने सिक्तेल खोलामा रहेको ठुलो खेत प्राप्त गरी अरू सहयोग पनि जुटाएर शिक्षाज्योति पैफलाउने ध्येयले यो पाठशाला स्थापना गर्नुभएको थियो । भाषा पाठशालाका रूपमा सरकारी स्वीकृति प्राप्त गरे पनि यस विद्यालयमा संस्कृतको उच्चस्तरको पढाइ हुने गर्दथ्यो । संस्कृतको स्तरीय अध्यापन व्याकरणविद्, सज्जन पुरूष पं.जयदेव अधिकारीबाट हुन्थ्यो । उहाँ खोटाङको पुरानो गाउँका बासिन्दा भए पनि यही गाउँमा आई बस्नुभएको थियो । पूर्वखण्डको शिक्षाकेन्द्रमा गोगनेको यो विद्यालय र यसका परमादरणीय गुरू पं.जयदेवको नाम अत्यन्त आदरसाथ लिइन्छ । यस विद्यालयमा दाङ, सल्यानसम्मका छात्रहरू पढ्न आउने गर्दथे । घरमा अक्षरारम्भ गराई चण्डी, रूद्री थालिएका कृशकाय, सुकुमार, सुन्दर दैवज्ञलाई उहाँका पिता पं.गणेशप्रसादबाट यही विद्यालयमा गुरुसमीप पुर्‍याइयो । गुरू जयदेवको शिष्यका रूपमा उहाँले संस्कृतको जग बलियो बनाउनु भयो । हुने बिरुवाको चिल्लो पातको छवि देखाउनु भयो । त्यस विद्यालयमा आफ्ना प्रज्ञाचेतको अरुणोदय देखाउने प्रा.पुरूषोत्तम भट्टराई, इतिहासविद् ज्ञानमणि नेपाल जस्तै दैवज्ञको प्रतिभा र सुन्दर भविष्यका किरण बालवयमै प्रदर्शित भए । गुरु जयदेव, सहपाठी साथीहरू, गाउँबासीहरू सबै दैवज्ञको प्रतिभाको प्रशंसक भए ।

शिक्षाप्राप्तिका अन्तःप्रेरणाका स्वतःस्फूर्त भावबाट दैवज्ञ न्यौपाने दिङ्लाको षडानन्द पाठशालामा पुग्नुहुन्छ । जनताका छोराछोरीले पढ्न पाउने नेपालको यो पहिलो विद्यालय हो । पूर्वीय दर्शन र संस्कृत विद्या पढाउने मुख्य उद्देश्य रहेको यस विद्यालयमा देशभरका धेरै घरपरिवारले गुरु महाराजलाई सहयोग गरेका छन् । गोगनेका न्यौपानेहरूले पनि यथागच्छे सहयोग दिएका थिए । श्रीकान्त, हरिचरण समेत गोगनेका न्यौपाने भनी सहयोगदातामा न्यौपानेको नाम राखिएको छ । यस विद्यालयको पूर्वपरिचय, गुरुमहाराजको गोगनेमा आवतजावत परिचयले यस विद्यालयमा न्यौपाने कुलका शिक्षार्थीहरू जाने गर्दथे । गोगने पाठशालामा झैं नै उहाँ पनि दिङ्ला पुग्नुभयो । साथमा स्थानीय साथीहरू पनि थिए । किशोरपनका मृदुभावमा रमाउँदै शिक्षा, संस्कार, स्वाभिमान, अभिभावकत्व र परहितार्थ आफूलाई उभ्याउने पुर्ख्यौली प्रेरणाबाट अभिप्रेरित भई शिक्षा आर्जन गर्दै अरूहरूसँग व्यवहार गर्न लाग्नुभयो । साथीहरूबाट भरपर्दो मित्र हो भन्ने विश्वास प्राप्त गर्नुभयो ।

दिङ्लामा पूर्वपश्चिम टाढा–टाढादेखि बालकहरू आउने गर्दथे । प्रायः असम्पन्न घर परिवारका व्यक्तिहरू नै पुग्दथे । तीमध्ये कतिपय व्यक्तिहरू स्थानीय चापागाइँहरूका घरमा तिनका छोराछोरीलाई पढाइदिएर वा बिहानबेलुका पाञ्चायन पूजा गरेर पेट पाल्थे । दिउँसो पाठशालामा पढ्दथे । आफ्नो खर्च त्यहीँ प्राप्त गर्ने सिधा छात्रवृत्तिको उचित व्यवस्थापन गर्न नसकेकाले कतिले दुःख पाइरहेका थिए । दैवज्ञ पनि छात्राबासमा नै बसेर पढ्ने विद्यार्थी हुनुहुन्थ्यो । यो दुःख हटाउने, एउटाको दुःख बाँड्दा अरूलाई दुःख नहुन,े सख्यभाव सहयोगी मनको विस्तार हुने देखेर सामूहिक भोजन खातिर भोजनालय संचालन गर्ने निर्णय गरियो । भोजनालयका लागि भाँडाकुँडा थाल कचौराको व्यवस्था भयो । केही दिन राम्ररी भोजनालय चल्यो । सबैको बल जम्मा भएपछि समयको बचत समेत अरू कुरामा पनि सबैलाई सजिलो भयो । चारो सजिलै पाएका चराहरूको पुफर्तिलो आनन्दको अनुभूति सबैले गरे । दैवज्ञ न्यौपानेको नेतृत्वदायी क्षमताको प्रदर्शन भयो । त्यहाँ साहित्य खेलकुद आदिमा पनि सक्रियता बढ्यो उहाँले नाम जस प्राप्त गर्नुभयो ।

पूर्वी पहाडतर्फ धान फल्ने ठाउँ भनेर भोजपुरको दिङ्ला–फालीकोटको नाम लिइन्छ । यहीँबाट जिल्लाभरिको विशेष आवश्यकताको धान चामल धान्ने गरिन्थ्यो । धानको चामल चाडबाड सामूहिक भोजन अड्डा अदालतका कर्मचारी र ठुला ठालूहरूकोमा अनिवार्य जस्तै मानिन्छ । यो धान मात्रले पुर्‍याउनु नपरे पनि चाडबाड दसैं, तिहार, केही धनीमानी, अड्डा अदालतमा आउने कर्मचारी अनि सामूहिक भोजन बनाउनुपर्दा धानका चामलको आवश्यकता पर्दथ्यो । त्यसैले यी छात्रहरूको सामूहिक भोजनका लागि चामल किन्नु पर्दथ्यो । ठाउँ–ठाउँमा लाग्ने हाट, डबलीहरूमा थुन्सेमा ल्याइएको चामल, कुरुवा, माना, पाथीले बेच्ने गरिन्थ्यो । १५ दिन वा ७ दिनको हाटमा किनेर अर्को हाट पर्खिने चलन त्यस बखत थियो । खाद्य संस्थानले दिएझैंँ बोराका बोरा चामल पाइँदैनथ्यो । टाढा टाढा गाउँबस्तीबाट ५–१० दिनको बाटो हिँडेर आएका १२–१४ वर्षका बटुकहरू गाँस बाँडेर जिउ बचाउँदै निर्वाहको भविष्य खोज्न भेला हुन्थे । चामल हटियामा पर्याप्त छैन, भएको पनि किन्न बालकहरूले पाउने स्थिति छैन । पातला कलिला ओठबाट स्पष्टसँग हुलमा कुरा राख्न सक्ने पातलो भए पनि अग्लो मान्छेको स्वाभिमान र न्यायका पक्षमा उभिन नडराउने दैवज्ञतर्फ सबैका आँखा र आशा गाडिएका छन् । ठुलाठालु हाकिमहरूको मन नभरिकन जनताका पनि नाबालिकहरूले पर बसेर ओठ चाट्ने बाहेक अरू अनुमति त्यस समयका ठालुहरूले दिँदैनथे । दैवज्ञसँग रहेको करुणा र स्वाभिमानले दिङ्ला हाटमा आएको चामल छात्रहरूको भोजनका लागि किन्ने, किन्न दिनै पर्ने आग्रह गर्‍यो । ठुलाहरूले त्यस कुरोमा सहमति जनाएनन् । बेच्न राखिएको कुरा भए पनि ठुलाहरूले भो नभनुञ्जेल अरूले लिन पाइँदैन । किन पाइँदैन ? विद्यार्थीहरूले प्रश्न राखे । मुखमुखै लाग्ने ? हाकिमहरूलाई पाल्नुपर्छ, ठेक्का हामीले लिएका छौं, त्यसैले पाइदैन दिङ्लाका स्थानीय ठालुले भने । विद्यार्थीहरूसँग हात मिसामिस भयो । “मुखरस्तत्र हन्यते” भएर नै लछारपछारको सामना पनि गरियो रे । हाटमा पैसा तिरेर पनि चामल किन्न दिइएन । सिद्ध पुरूष बालागुरु षडानन्द अधिकारीको जन्मभूमि, नेपालको सर्वप्राचीन विद्याकेन्द्र भएको स्थानमा, विलखवन्दमा परे बिचरा बटुकहरू । हात्तीका पाइलामा परेर किचिएको फूलथुङ्गा झैं तिनका सपना कच्याक्कुचुक भए । दुखेसो गरे– गुरुहरूसँग, सर्वसाधारण बजारियाहरूसँग सबै निरूत्तर । सहनुको विकल्प नभएको सहानुभूति भाव अभिव्यक्त भयो ।

टाढाटाढाबाट आएर एक अर्कासँग परिचित भई एक परिवार बनाएर बसेका बालकहरू ढाडे बिरालाले गुँड भत्काइएका चराका बचेराझैं नै छात्रावासका कोठामा भेला भए । जीवन उकालीका अदृश्य गल्छी गल्छेँडा अप्ठ्यारा दृश्य बोकेर हताशामा, निन्याउरो अनुहार चिसा परेलामा । अब के गर्ने, जाने कहाँ, बस्ने कहाँ ? यहीँ बस्ने कसरी ? प्रत्येक पल प्रतिपल श्वासमा निराशा र अन्यौल, अँध्यारो ब्यँुझिन्छ । आशा दैवज्ञमाथि केन्द्रित छ । जे सोचिन्छ, जे गरिन्छ दैवज्ञबाट त्यही सही हुन्छ ।” योगमायासँग भर परी अरुणमा हामफाल्नेहरू जस्तै भए साथीहरू, भाइहरू, भतिजाहरू । दैवज्ञको विश्वास ब्युँझियो– मान्छेले हेपिनु हुँदैन । बालकको भविष्य नै संसार हो । गर्ने आफँैले हो, हामी ब्युँझनुपर्छ, अन्यायलाई तिरस्कार गर्नुपर्छ, हामी मान्छे भएर बाँच्नुपर्छ, दूरदूर देश गएरै पनि हामी बन्नुपर्छ । सबैमा उज्यालो आशा किरण कता कता झुल्किन्छ । षडानन्द जिउँदै भए भन्ने थिए– तिमीहरू सच्चा मान्छे हौ तिम्रो बाँच्ने रहर, केही गर्ने भाव फलोस् फुलोस्, अन्यायीको नाश होस् । आत्मा हुन्छ भने गुरु महाराजले राममन्दिरमा बसेर, टुँडिखेलका मृत्तिका सुगन्धमा रहेर, शिवमन्दिरमा बसेर, रुद्राक्षका ठुला ठुला रुख एकमुखीदेखि सोह्रमुखीसम्म रूद्राक्षबाट हेरेर बन–बुट्यान र धाराका कलकल मुखहरूमा बसेर आशीर्वाद दिनेछन् । दिङ्ला पाठशालाको हाम्रो भक्ति अध्ययन अब पूर्ण भएको छ । हामी हाम्रा गुरूहरूको स्नेह, बालागुरुको अनि दिङ्ला भञ्ज्याङका स्थानीय देवीदेवताका आशीर्वाद र अन्याय सहन बानी परेका निरीह जनसाधारणका कोमल मनका सुन्दर विम्बहरू लिएर अरू नै विद्याकेन्द्रमा जाऊँ । हाम्रा मनहरू अझ बलिया होऊन् । हाम्रा स्वप्नहरूमा विविधताको संसार ब्युँझियोस् । हामी दिङ्ला छोडौं– दैवज्ञको वाणी स्वीकृत भयो । विद्यार्थीमा आशाका किरणहरू पलाए । दैवज्ञले एउटा स्वप्नद्रष्टा नेतृत्व प्रदान गर्ने सामर्थ्य–स्वरूप सबै सामु प्रदर्शित गर्दै दिङ्लाको बसाइ टुङ्ग्याउनुभयो । दैवज्ञका साथ एकमुष्ट दुई दर्जन विद्यार्थीले दिङ्ला पाठशाला त्याग गरे, बाहिरिए ।

दिङ्लाको संघर्षशील बसाइले दैवज्ञ न्यौपानेलाई आफ्नो अध्ययनलाई अभैफ उच्च बनाउने प्रेरणा प्रदान गर्नुका साथै अन्यायका विरुद्ध उभिन र नेपालको राजनीतिक, सामाजिक स्थितिमा जनताका पक्षमा लाग्नुपर्ने पाठ पनि पढाएको देखिन्छ । यिनै दुई कुरा साथसाथै जान्न बुझन सकिने शिक्षाकेन्द्र वा स्थानको खोजीमा उहाँ लाग्नुभएको देखिन्छ । दिङ्लाबाट छरिएर हिँडेका व्यक्तिमध्ये कतिपय बनारसमै पुगेर आफ्नो अध्ययनलाई गति दिन्छन् । दैवज्ञ बनारस पुगेर पनि दाङतिर लाग्नुका पछाडि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपालको राजनैतिक वा सामाजिक स्थितिमा चासो राख्नु पनि मान्न सकिन्छ । गोगने वा दिङ्लामा जति पढिसकेको छ त्यति नै पढाइले सामाजिक प्रतिष्ठा सहित निर्वाह हुने स्थिति भए पनि अझै पढाइ बढाउनेतर्फको सोच त्यस बखतका गोगनेका व्यक्तिहरूमध्ये विशेष भनी ठान्नुपर्छ । घरका खातापिता आफूलाई खान पुगेर दश–आठ मुरी अन्न बिक्री गर्ने भए पनि उहाँकै घरपरिवारले पढाइतिर बाटाखर्च दिनै पनि गाह्रो मान्ने चलन थियो । त्यसबखत व्रतबन्ध गरेर शिक्षा आर्जनका लागि बालक भागेर हिँड्नु पर्ने संस्कार वा पढाइका लागि खर्चबर्च गर्ने पारिवारिक वातावरण नबनेको सामाजिक स्थितिका कारणले पढाइ सुचारु गर्न सजिलो हुने ठानी विद्याकेन्द्र वाराणसी पुग्नुहुन्छ । त्यहाँ बस्न, खान, पढाइलाई अत्युच्च बनाउन पाए पनि नेपालको इतिहास, भूगोल, संस्कृति, भाषा, साहित्यको गहिरो अध्ययन र राजनीतिक, सामाजिक स्थितिबाटै टाढै रहनुपर्ने ठानी आजको जस्तो बाटोघाटो, यातायात सुविधा नभएको औलाको व्यापक प्रभाव भएको बेला दाङको महाविद्यालय पुग्नुको रहस्य चाहिं निश्चय नै देशको चालचलन बुझन मात्र होइन, त्यसमा सहभागी हुने चाहना नै हो । दाङमा पूर्वमध्यमा (प्रवेशिका) परीक्षा दिएर दाङमा खान, बस्न, पढ्न सुविधा रहँदा रहँदै काठमाडौंमा आउन आफ्ना मामा खिलनाथ पोखरेल (सानो सरकारी जागिरे) को अभिभावकत्व प्राप्त गरी दुःख सहेर काठमाडौं प्रवेश गर्नुले पनि यस कुराको पुष्टि गर्दछ । यो समय २०२० सालतिरको हो । काठमाडौंमा मामासँग डेरामा बसेर संस्कृत महाविद्यालयमा उहाँले उत्तरमध्यमा पढ्न सुरु गर्नुभएको हो । दिङ्ला, बनारस, दाङमा समवयी गोगने पाठशालाका टीकाप्रसाद न्यौपाने र स्थानेश्वर खतिवडा साथमै रहे पनि दिङ्लादेखि नै पढाइ, साहित्यलेखन, सामाजिक सुसम्बन्धले दैवज्ञको व्यक्तित्व माथि माथि वा साधारणबाट असाधारण वा विशेष भएको बुझिन्छ । काठमाडौं आएपछि उहाँको यात्रा एउटा राष्ट्रिय व्यक्तित्व बन्ने प्रक्रियामा प्रकटित हुन थाल्यो । कृशकाय, दुब्लो, उज्यालो अनुहारको शरीरमा गोरो सुरम्य भव्य लावण्ययुक्त तारुण्य प्रदर्शित भयो । पञ्चायती शासनविरूद्ध संगठन गर्ने छात्र नेता दैवज्ञ, उपत्यकाव्यापी कविता प्रतियोगितामा स्वर्णपदक विजेता कवि दैवज्ञ, रेडियोमा गीत कविता बोल्ने दैवज्ञ, बोली मीठो, कविता मीठो, स्वर मीठो, व्यवहार मीठो, उचाइ, पढाइ राम्रो । राम्राको पर्याय दैवज्ञराज न्यौपाने । परिवार बन्धुबान्धव इष्टमित्र सबैले गर्व गर्ने नाम दैवज्ञ । सबैप्रति स्नेह आदर श्रद्धा अर्पण गर्ने दैवज्ञ । सबैको भलो चाहने सबैको सहयोगी दैवज्ञ । राष्ट्रिय उचाइ छोएको नाम दैवज्ञ ।

२०१७ सालको काण्डले प्रजातन्त्रको अपहरण गरेको मात्र होइन, प्रजातन्त्रका लागि लड्ने नेपाली कांग्रेसका नेताहरू विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसमेत प्रायः साना–ठुला सबै नेताहरू जेलमा थिए । कांग्रेस हुन्न, होइन्न भन्नेहरू पद, पैसा प्राप्त गरी जनताका शासनको बद्ख्वाइको सुगा रटाईमा थिए । २०१८, २०१९ सालमा कांग्रेसले गरेको शाही कदम विरोधी युद्धले पूर्णता पनि प्राप्त गरेको थिएन । नेपालमा प्रजातन्त्रको मात्र होइन राजनीतिको पनि शून्यता थियो । २०१७ सालपछि बालिग हुन लागेकाहरूमा भित्रभित्रै राजनैतिक अपहरणको र अपहरणकारीका विरुद्ध चेतनशील शिक्षित युवाहरूको जनमत तयार भइरहेको थियो । जयतु संस्कृतम् बोलेर स्वतन्त्रताको नारा घन्काउने संस्कृत छात्रावासबाट यो चेतना विस्तारित भइरहेको थियो । काठमाडौंका त्रिचन्द्र, नेशनल, पद्मकन्या, सरस्वती कलेजहरू र संस्कृत महाविद्यालयका विद्यार्थीहरूमा जनविरोधी शासनका विरुद्ध उकुममुकुस भइरहेको थियो । दलहरूलाई प्रतिबन्धित गरिएको र दलका राजनीतिक नेताहरू थुनिएको अवस्थामा विद्यार्थीहरू शिक्षाको नाममा प्रशासनिक ज्यादती र अनैतिकताको विरुद्ध मुखरित हुन थाले । यही समयमा संस्कृत छात्रावास रानीपोखरीका दैवज्ञराजबाट पनि प्रजातन्त्र प्राप्तिका लागि विद्यार्थीहरूबाट भएका आन्दोलनमा सहभागिता वा जिम्मेवारी ग्रहण गरियो ।

२०२१ सालमा भएको विद्यार्थी आन्दोलनले राजाका शासनको विरुद्धमा राष्ट्रिय रूपमा सक्रिय युवाजमात छ भन्ने उद्घोष गरेको थियो । यसले देशव्यापी विरोधलाई फैलाएको मात्र होइन त्यस शासन विरूद्ध संगठित प्रयत्न प्रारम्भ गर्ने प्रक्रियाका साथ गाउँगाउँमा बसेका र निष्क्रिय हुन पुगेका कांग्रेसजन वा अन्य दलहरूका कार्यकर्तामा परिचय साथ सूचना आदानप्रदानको अवस्था पनि सृष्टि गर्‍यो । यही काण्डपछि आफ्नो घर भोजपुर गोगने पुग्नुभएका दैवज्ञ न्यौपानेसमेतका युवाहरूबाट विद्येश्वर संस्कृत पाठशालामा प्रकाश पुस्तकालय नामको सार्वजनिक पुस्तकालय खोलियो । यस पुस्तकालयमा ६–७ कक्षा पढ्नेदेखि, बनारस, दिङ्ला, धरान, विराटनगर, काठमाडौं पढ्दै गरेका माध्यमिक तह पूरा गरेका युवाहरूले भेटघाट गर्ने र पञ्चायती शासनका विपक्षमा जनमत तयार गर्नुपर्ने आशयका विचार उमेर पुगेकाहरूले प्रसार गर्ने गर्दथे । सो पुस्तकालय काठका तखताले घेरेर विद्यालयको पूर्वउत्तर कुनामा तयार गरिएको थियो । श्री ५ को सरकार, सूचना विभागले बनाएका ठुलाठुला पोस्टर पञ्चायतका नारा भएका र राजा महेन्द्रका फोटाहरूले त्यसको भित्ता भरिएका थिए । काठ नजोरिँदा प्वाल टाल्न ती टाँसिएका थिए । गोगने गाउँका घरघरबाट बूढापाकाले पनि त्यस पुस्तकालयलाई नयाँ पुराना किताबहरू दिएका थिए । पुस्तकालय खोलेर शैक्षिक चेतना विकसित गर्न सबै लागिपरेका थिए । यस समयमा त्यो पाठशालामा दोस्रो गुरुका रूपमा गोगनेका शम्भुप्रसाद न्यौपानेलाई नियुक्ति गरी विद्यार्थीलाई औपचारिक रूपको योग्यता प्रदान गर्न परीक्षामा सामेल गराउने प्रणाली समेत बसालिएको थियो । यो विद्यालय भाषा पाठशाला मात्र भएकाले माथिल्ला कक्षाको परीक्षा दिन दिङ्ला पाठशाला पठाइन्थ्यो । पुस्तकालयको आवश्यकता त्यस अर्थमा पनि भएको थियो । एक दिनको कुरा हो त्यस पाठशालाका धेरै विद्यार्थीहरू घर गइसकेका थिए । हामी केही १२–१४ जना साना फुच्चे छात्रहरू र धरान पिण्डेश्वरमा पढ्दै गरेका स्थानेश्वर खतिवडा, काठमाडौँबाट आएका दैवज्ञराज न्यौपाने समेत पुस्तकालयमा पढ्दै गरेका थियौं । खोइ के प्रसङ्ग, किन आयो सम्झना छैन । स्थानेश्वरजीले बिँडी खाएर यो टेढे भनी टाँसिएको भित्ताको फोटाको मुख बिँडीले डढाउनु भयो । हा... हा... गर्‍यौं । हामी हाँस्यौं । आ–आफ्ना घरतिर लाग्यौं । यति सम्झना छ । त्यसबेला बुझिएन । भोलिपल्ट दैवज्ञराज न्यौपाने, स्थानेश्वर खतिवडा, शम्भुप्रसाद न्यौपाने, परमेश न्यौपाने र म समेतका ५ जनालाई पक्रिन पुलिसहरू गाउँमा आए । हाहाकार जस्तै भयो । हामीलाई पुलिससाथ भोजपुर थानामा पुर्‍याइयो । यस घटनालाई दैवज्ञराज न्यौपानेले यसरी स्मरण गर्नुभएको छ— “२०१९ सालमा माध्यमिक विद्यालयको पढाइ सकेर २०२० सालमा काठमाडौं आई महाविद्यालयमा पढ्न थालेको हुँ । २०२१–०२२ को विद्यार्थी आन्दोलनले भर्खर महाविद्यालयमा प्रवेश गरेको मलाई पनि कुत्कुत्याएको थियो । त्यसो त म कक्षा ७ देखि नै माध्यमिक विद्यालयसम्बद्ध छात्र कार्य समितिको सभापति बन्दै आएको थिएँ । सोही क्रममा म पनि विद्यार्थी संगठनका लागि काठमाडौदेखि पूर्वको यात्रामा निस्किएको थिएँ....................म विद्यार्थीहरूलाई काठमाडौं ल्याउने व्यवस्थातिर लागँे । यस्तैमा काठमाडौंमा गडबडी भएर हाम्रा नेताहरू पक्रन थालेछन् । काठमाडौंको लहर त्यहाँ पनि पुगेछ । म त्यतिबेला भोजपुरको सदरमुकाम भन्दा ५–६ कोस पर पश्चिमतिर मेरै गाउँ गोगनेमा थिएँ । त्यतिबेला त्यहाँका शिक्षक शम्भुप्रसाद न्यौपाने, म दैवज्ञराज न्यौपाने त्यतिखेर धरानमा पढ्दै गरेका स्थानेश्वर, त्यहीँका छात्र कविराज न्यौपाने र परमेश न्यौपाने हामी ५ जना त्यस सिलसिलामा पक्रिएका थियौं ।” (शरद भट्टराईको इतिवृत्त, पृष्ठ १९५–१९६)

हामी १३–१४ वर्षका छात्रलाई समेत थानामा राखियो । चिउरा खान दिएको सम्झना छ । त्यो चिउरा कसले दिएको थियो थाहा छैन । जिल्ला प्रशासनमा लगेर राजाको विरोध गर्छौ ? भनी सोध्दा गरेको छैन, गर्दिन भनेको, आइन्दा गर्‍यौ भने कडा कारबाही हुने कुराको आदेश एउटा कालो मोटो सुब्बा हो वा खरदारले गरेको पनि सम्झन्छु र थानाबाट छुटेर त्यतिखेर पुलिस सेवामा रहनुभएका ठुलाबुवा घनप्रसाद न्यौपानेको डेरामा गई भात खाएको सम्झिएको छु ।

७५ दिन भोजपुर कारागार बसेर उपियाँ, उडुसका स्वार्थी टोकाइबाट मुक्त भएपछि दैवज्ञ न्यौपाने नाम चलेको कवि जस्तै प्रजातन्त्रवादी त्यसमध्ये पनि नेपाली कांग्रेससँग सम्बद्ध व्यक्ति भनेर पनि चिनिन थाल्नुभयो । भोजपुर जिल्लाका नेता कार्यकर्ताले दैवज्ञ हाम्रा साथी हुनुहुन्छ भनी सदरमुकाम पुग्नेहरूमा प्रसार गर्न थाले । यसपछि संस्कृत महाविद्यालयको स्नातक तह सकेर स्नातकोत्तर (आचार्य) र नेपाली विषयमा विश्वविद्यालय कलेज कीर्तिपुरमा नामाङ्कित गर्न पुगेपछि उहाँको इज्जत–प्रतिष्ठा झनै बढेको बुझिन्छ । कक्षाका साथीभाइहरूसँग पनि पढाइ लेखाइसाथ कविता लेखनमा विशेष हुन पुगेको बुझिन्छ । समकालीन साथीहरूले कीर्तिपुर कलेजमा “कवि” भनेर सम्बोधन गर्न पनि थालेका थिए । योग्य शिष्यको रूपमा प्रा.जुननाथ गुरु तथा ताराप्रसाद जोशी, चूडामणि बन्धु, मोहन हिमांशु थापा, वासुदेव त्रिपाठीहरूका मनमा स्थान बनाउन सफल हुनुभएको थियो । एकजना सुशिक्षित शिष्य सभ्य, मृदुभाषी, सौम्य व्यक्ति अनि राष्ट्रियता, मानवीय संवेदनाका छन्दका कवि भनेर पनि चिनिनुभयो । कविता, गीत, खण्डकाव्यबाट साहित्यकारको प्रतिष्ठित स्थान नेपाली साहित्यबाटिकामा प्राप्त गर्नुभयो । नेपाली साहित्यको इतिहासमा अङ्कित हुनुभयो ।

विश्वविद्यालय कलेज कीर्तिपुरबाट नेपाली एम.ए. पूरा गरेपछि पीताम्बर दाहाल, अर्जुन नरसिंह केसी, जवाहर जोशी, देवेन्द्र नेपाली आदि साथीका साथ दैवज्ञ न्यौपाने बी.पी. कोइरालासँग भेट्न बनारसको मुहमुरगञ्ज पुग्नुभयो । अबको राष्ट्रिय राजनीतिमा प्रजातन्त्र प्राप्तिको आन्दोलन कसरी बढाउने ? हामी युवाको तत्कालीन भूमिका के हुनुपर्ने ? भन्ने निर्देशनको अपेक्षा सबै युवाहरूले बी.पी.बाट गरेका थिए । जेलमुक्त भएर बी.पी., गणेशमान निर्वासनमा गएपछि कांग्रेसलाई संगठित हुन नदिन दरबारको, भारतीय सरकार पक्षको अनेकन चाल कांग्रेस पार्टीका ठुलाहरूमै व्याप्त थियो । दरबारसँग मेल राख्नुपर्ने, भारतको राष्ट्रिय स्वार्थलाई पूरा गरेर अघि बढ्दा सजिलो हुन्छ भन्ने एकथरी थिए भने केही नगर्ने विरागको राजनीति गर्ने अर्को धार स्पष्टरूपमा देखिन्थ्यो । वी.पी. यी सब दृष्टिकोणहरू प्रजातन्त्रको हितखातिर होइनन् कांग्रेसलाई एक्ल्याउने, सिद्धान्तच्युत गराउने चाल हो भन्ने विचार अगाडि सार्नुहुन्थ्यो । त्यसैले एक्लो वृहस्पति हुनु परेको पीडानुभूति उहाँले गर्नुभएको थियो । विश्वासको सङ्कट उत्पन्न गर्न प्रजातन्त्र विरोधीहरू सफल भएका थिए । युवाहरू पनि युवकत्व जोशमा स्थितिको विश्लेषण गर्न सक्ने अवस्थामा थिएनन् । यो भएन, यो चाहियो भन्ने युवाहरू थिए । खोइ ! सान्दाजुले केही भन्नुभएन भन्नेहरूका ओठ खुलेका थिएनन् । सुवर्णजीको लाइन प्रजातन्त्र प्राप्त गर्न सजिलो हुने विचार पनि कांग्रेसमा व्याप्त थियो । राष्ट्रिय स्वार्थ नाश हुने गरी सम्झौता गरी आवेगका कार्यक्रम बनाउनु हुन्न, स्वाभिमान गुम्छ भन्ने विचार बी.पी.ले राख्नु भएकोले प्रजातन्त्र प्राप्त गर्न अप्ठ्यारो परेको भन्ने पनि थिए । यही स्थितिमा उहाँसँग पुग्ने सबै युवाहरूलाई बी.पी.ले गोला, बारुद बम, बन्दुक दिनेभन्दा योग्यता अनुसारका सामाजिक, शैक्षिक काम गरेर आफ्नो असल चरित्र प्रदर्शित गरी जनताको मन जित्ने काम गर, क्रान्तिले आह्वान गर्दा जनतालाई तिमीहरू साथ आउने बनाउनू भन्ने गर्नुहुन्थ्यो । दैवज्ञसमेतका युवाहरू यही निर्देशन प्राप्त गरेर संगठनको बलियो योजनामा योग्यताबाट क्रान्तिमा कार्य गर्ने कामलाग्ने अठोटसाथ फर्किए । दैवज्ञका लागि यो निर्देशन असल प्राध्यापक, असल साथी, कवि र जनमनोहर व्यक्तित्व बनाउनमा निरन्तर मन्त्र भएर अगाडि आइरह्यो । यस मार्गमा तत्पर भई बलियो बनाउनमा यो विचार सधैं प्रकाश भएरै रह्यो । सबैले रुचाएको व्यक्तित्वमा दैवज्ञलाई पुर्‍यायो । यसै क्रममा उहाँले सानोठिमीमा भाषा विशेषज्ञ भई कार्य थालेपछि भक्तपुर कलेजमा २०२७ साल जेष्ठ १४ देखि प्राध्यापनको कार्य प्रारम्भ गर्नु भएको हो । २०३० सालपछि त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदमा नियुक्ति पाई विभागीय प्रमुख, नेपाली विषय समितिको सदस्य, पाठ्यपुस्तक लेखक, क्याम्पस प्रमुख समेतको त्रि.वि.मा जिम्मेवारी पूरा गर्नुभयो । त्रि.वि.लाई गतिमान् बनाउने योग्य शिक्षक व्यक्तित्वमा गनिइसकेपछि उहाँको नेपाली विषयको केन्द्रीय विभागमा प्राध्यापक पदमा पदोन्नति भयो । निष्ठापूर्वक सहजतामा आफ्नो काम गर्ने दैवज्ञलाई उहाँका सहकर्मीहरू, साथीहरू, शिष्यहरू, सङ्गत गर्ने सबैले अत्यन्त सरल, असल मित्र, योग्य गुरु, मानवीय हार्दिकताले भरिएका व्यक्ति भनेर चिनेका छन् । परिवारजन, इष्टमित्र, बन्धुबान्धवका, आदर, श्रद्धा सद्भावको त्रिवेणी उहाँको जीवन सबैका लागि प्रेरणादायक भएकाले उहाँ सबैका प्रेरणा पुरूष हुनुभएको छ ।

म आफ्ना पिताज्यू पं.खगेश्वर उपाध्यायबाट साउँ अक्षर चिनी चण्डी पढ्दै गोगने पाठशालामा परमादरणीया गुरु जयदेवका साथ पढ्न गएँ । पढी कक्षा चढे पनि औपचारिक कक्षा चढ्न दिङ्ला पाठशालामा परीक्षा दिन जानुपर्दथ्यो । मैले पनि पूर्वमध्यमा प्रथम खण्डको परीक्षा दिङ्लामा दिएँ । परीक्षा उत्तीर्ण गरेपछि २०२२ सालको असार महिनामा धरान आउँदा काका दैवज्ञराज र दाजु टीका न्यौपानेका साथ लागी आएको हुँ । उहाँ काठमाडौंमा संस्कृत छात्रावासमा अध्ययनरत रहनु भएकोले पनि होला ठुलो पढाइ काठमाडौंमा हुन्छ भन्ने विचार मेरा मनमा पलाएको थियो । हामी उहाँसमेत गोगने गाउँका पण्डित खलकका थियौं । सनातन परम्परा वा सम्पदाको सुरक्षाका साथ सामाजिक र सबैको दुःखसुख हेर्नुपर्ने, टार्नुपर्नेमा थियौं । त्यसैले बाबुबाजेका धार्मिक, सामाजिक प्रथा, परम्परालाई बचाउँदै आधुनिक युवाका रूपमा आफूलाई गतिशील बनाउनुपर्छ भन्ने विचारले उहाँले बुढापाकादेखि किशोर युवाहरू सबैका मनमा भर पन,े आश गर्ने मान्छेको व्यक्तित्व बनाउनु भएको थियो । हामी हाम्रो गाउँ गोगनेबाट हतुवाको बाटो धरान आयौं । घरबाट हिँडेकै दिन पात्लेधारा परतिर पूर्णिमाबजार भन्ने ठाउँमा बास बस्यौं । लेकको ठाउँ त्यहाँ हामीले घरमा झैं नै लुगा खोलेर भात पकायौं । धोती फेरेर खाना खायौं । यही रीतले हामी तेस्रो दिन बेलुका धरान आइपुग्यौं । हामी बास बस्न विजयपुरस्थित राजेन्द्र विरही र बाबुराम न्यौपानेका डेरामा जानेवाला थियौं । उहीँ खाने बस्ने व्यवस्था भए पनि धरानमा आएपछि उहाँले बसस्टेण्ड दक्षिणको होटलमा पुर्‍याउनुभयो । अब खाना खाऊँ भन्नुभयो । म छक्क र जिल्ल परें । बाटामा लुगा खोलेरै आफूले पकाएको खाना खाँदै आएका मान्छेहरू एकाएक लुगा लगाएर त्यसमा पनि होटलमा भात खानुपर्छ भन्दा मेरो बालसंस्कार चेतनाले भित्रैदेखि मलाई भन्यो – तँ गहिरो पाप गर्तमा जाँदैछस्, तँ पं.हरिवंशको पनाति, पं.पद्मलालको नाति, पं.खगेश्वरको छोरो संस्कृत विद्या पढेर बाबुबाजेको बिँडो थाम्ने बाटोबाट विचलित हुँदैछस् । नाइँ नाइँ म त खान्न । व्यवहार नबुझेको अबोध बालकले जिद्दी गर्‍यो । दैवज्ञ काकाले सम्झाउनुभयो– म पं.छविलालको नाति, पं.गणेशप्रसादको छोरो धार्मिक कट्टरता भएका ज्योतिषी जयप्रसाद र पं.केशवानन्दको भाइ स्वयं पण्डित भइसकेको मान्छेले सम्भव हुने भए, अबको व्यवहार चल्ने भए, यस्तो कट्टरताले हाम्रो प्रगति हुने भए किन यसो गर्दथँे झ् हेर् ! यसले जात पनि जाँदैन र विद्वता पनि नाश हुँदैन । मान्छेसँगको व्यवहार उत्तम बनाउने काममा ध्यान पुर्‍याउनुपर्छ मानसिक, शारीरिक स्वच्छतामा स्वस्थकर भोजनमा हामीले ध्यान दिनुपर्छ । र, भन्नुभयो ः– सह नौ भुनत्तुफ । यही दिनदेखि मान्छे जातसँग उच्चता र निचताको व्यवहार गर्नुहुँदैन भन्ने ज्ञानसमेत लिएर, पढ्दा पढाउँदा र अन्य व्यवहार गर्दा विभिन्न जातवर्गका साथीहरूसँग आत्मीय भाव राख्नुका कारणले बाहुनसँग अन्य जातका अत्यन्त आत्मीय मित्रहरू बन्न पुगेका हुन् भन्ने पनि मैले ठानेको छु ।

हामी धरानको पिण्डेश्वर संस्कृत महाविद्यालयमा पढ्दै थियौं । २०२३ तिर काठमाडौंबाट गोपाल पाँडे, बालकृष्ण सम, माधव घिमिरेका साथ विशेष अतिथिका रूपमा मोतीजयन्तीमा भाग लिन दैवज्ञ काका धरान आउनुभयो । सम, घिमिरे, पाँडेसँग काकाले हाम्रो परिचय दिँदै यिनीहरू मेरा भाइभतिजहरू हुन्, पिण्डेश्वर महाविद्यालयमा पढ्छन् भनी एक एक गरी काँधमा हात राख्दै चिनाउनुभयो । हामी कसैले पनि परिचय गराउँदा हात जोर्ने र नमस्तेको शिष्टता अज्ञानताबस पूरा गरेनौं । उहाँले परिचयमा विनम्रता प्रदर्शन गर्न वा परिचित हुन नमस्कार गर्नुपर्छ भनी सम्झाउनुभयो । उहाँ आफैं बनौं मात्र होइन सबैलाई साथमा लिई निश्चित मानवीय आदर्श ग्रहण गर्ने व्यवहारका निम्ति प्रेरित गर्नुहुन्थ्यो भन्ने पनि म आज अनुभव गरिरहेको छु ।

केदार काका, वासुदेव भट्टराई, टीका न्यौपाने, लोमश न्यौपानेसमेत एउटै कक्षामा पढ्ने प्रजातन्त्रवादी विद्यार्थीको हुलमा हाम्रो पनि नाम आउन थाल्यो । हाम्रै गुरु पं.जयदेवका पुत्र राजेन्द्र विरही त्यहाँ नाम चलेका विद्यार्थी नेता भएकाले पनि हामी त्यहाँ प्रजातन्त्रवादी गनियौं । राजेन्द्रजी पढाइ सकेर हिँडेपछि छात्र संघ, संस्कृत छात्र पुस्तकालय आदिमा हामी नै विद्यार्थीका गतिविधिमा अग्रणी भयौं । पिण्डेश्वर महाविद्यालयको विद्यालय भवन थिएन । जोगीपाटीमा नै स्तातक तह (शास्त्री) सम्म पढाइ हुन्थ्यो । विद्यार्थीहरूले भवन चाहियो भनी हडताल गरेकाले सरकारी प्रशासनले विद्यार्थीलाई केन्द्रमा नै कुरा गर्न पठाउने सहमति गरेपछि वासुदेव भट्टराई (खोटाङ लामिडाँडा) र म भवन बनाउनका लागि आर्थिक निकासा गराउन काठमाडौं प्लेन चढेर गयौं । काठमाडौं आएर बस्ने, भेट्ने, के के गर्ने भन्ने व्यक्ति, ठाउँ, दैवज्ञ काका नै हुनुहुन्थ्यो । हामी उहाँ बसेको डेरामा नै पुग्यौं । उहाँको डेरा नयाँ सडकनेर अहिलेको माडवारीबासा बनेको ठाउँ पूर्व फर्किएको माटाले बनेको घरको माथ्लो तलामा थियो । त्यहाँ पीताम्बर दाहाल, विजयराज भट्टराई, चिरञ्जीवी वाग्ले र दुर्गाभक्त ढकालहरू बस्नुहुन्थ्यो । उहाँहरू सबै शास्त्री पास गरेर नेपाली एम.ए. पढ्दै हुनुहुन्थ्यो । मेघदूतका संस्कृत श्लोकहरू, गौरी, राजेश्वरीका श्लोकहरू अत्यन्त मोहक पाराले भन्ने गरेको र दैवज्ञलाई “कवि” भनी सम्बोधन गरेको सुनिन्थ्यो । दैवज्ञका मान्छे भएर होला उहाँहरूले पनि हामीलाई असाधारण आत्मीयता देखाउनुभयो । कलिला फर्सीका मुन्टाको तरकारीसँग भात खुवाउनुभयो । मीठो आतिथ्य ग्रहण गर्‍यौँ । हामीले उहाँहरूको सल्लाह र सुझाउमा शिक्षा मन्त्रालयबाट भवन बनाउने निर्णयका साथ पच्चीस हजार रूपैया भवन निर्माणका लागि निकासा पनि गरायौं ।

यो आगमनले दैवज्ञका पछि लागी शास्त्री सिध्याएर नेपाली एम.ए. पढ्ने अठोट ममा उम्रिएको हो । हाम्रै गाउँको पाठशाला हुँदै यत्रो ठुलो सहरमा आफ्नो कोही नभएको ठाउँमा दैवज्ञ काकाले पढेको, पूर्वपश्चिमका व्यक्तिहरूलाई तँतँममका साथी बनाएको देख्दा त्यस बाटामा लाग्दा असल व्यक्तित्व बन्ने रहेछ भन्ने भावना पनि ममा पलाएको हो । उहाँका डेराको दुई तीन दिनको साँझबिहानको संगतले गोगनेका न्यौपानेमा दैवज्ञ काकापछि विश्वविद्यालय कलेज कीर्तिपुरमा नाम लेखाउने दोस्रो न्यौपाने बनाएको र पछि त्रि.वि.को शिक्षण कार्यमा नियुक्ति पाउने स्थितिमा पनि पुर्‍याएको हो भन्ने मलाई आज लागेको छ । उहाँ प्रजातन्त्रप्रति आस्था राख्ने, भाषा–साहित्य पढ्ने, लेख्ने, सबैको भलो र सहयोगमा मन दिने हुनुभएकाले यसै मार्गमा लाग्न, काठमाडौंमा घरजम गर्न, यहीँ रहँदा उन्नति गर्न सकिन्छ भन्ने अभिभावकत्व ग्रहण गर्नु भएकोले काठमाडौंमा घरजम गर्न, अध्ययन, अध्यापन, जागिरसमेत लगाइदिने कार्यमा भाइबन्धु नातागोता साथीहरूको प्रेरणास्रोत बन्न पुग्नुभयो । २०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापनार्थ देशभरिबाट प्रजातन्त्रवादी विद्यार्थी प्रतिनिधि चयन गर्ने सन्दर्भमा धरानबाट केदार न्यौपानेलाई प्रतिनिधि बन्ने अवसर जुट्नु र त्यति मात्र होइन नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्यका रूपमा केदार न्यौपानेको चयन हुनुमा पनि दैवज्ञको मिलनसारिता, छात्रजगत्का साथ रहेको मित्रता, पंचायती व्यवस्थाविरुद्ध जुध्ने र कुनै पनि जोखिम उठाउन तयार हुनुपर्छ भन्ने सोचले काम गरेको थियो । पञ्चायती बुटले कच्याककुचुक पार्न खोज्दा भागेर गठन गरेको ने.वि.संघमा बाहिर रहेका भाइलाई त्यहाँ नआउन भन्न र आएर पनि देखिने गरी नेता नहुन पनि भन्न सक्नुहुन्थ्यो । त्यसो नभनी सबैलाई प्रोत्साहित गर्ने नै गर्नुहुन्थ्यो । यी सबै कारणले उहाँमा विचारको आस्था अत्यन्त गहिरो थियो भन्ने बुझिन्छ । त्यसैले होला उहाँका काव्यकृतिमा पनि राष्ट्रियता, प्रजातन्त्र र मानवतावादी विचार अत्यन्त सुललित कवित्वमा प्रवाहित छन् ।

२०२७ सालमा कीर्तिपुर पढ्न आएको म दसैँपछि दैवज्ञ काकासँग पुतलीसडकको पद्योदय हाइस्कूलको उत्तरपश्चिम भाइराजा टेलरिङ हाउसभित्रको घरमा बस्थ्यौं । त्यस बेला यस घरमा हामी रामप्रसाद खतिवडा, अच्युतरमण अधिकारी, बाबुराम दाहाल, लालानाथ सुवेदी, केदार न्यौपाने, भाइ अच्युत न्यौपानेसमेत बस्ने गरेका थियौं । स्नातकोत्तर पढ्न बसेका भए पनि हामी सबै अल्लारे नै थियौं, घरमा बस्नेजस्तै, कहाँबाट आउँछ ? कसरी आउँछ ? कुनै मतलव थिएन । त्यसबेला मट्टितेल बालेर स्टोभमा भात पकाउनु पर्दथ्यो । मट्टितेलको हाहाकार पर्दथ्यो । चामल पनि नपाइने हुँदा खाद्य संस्थानबाट चामल पनि ल्याउनु पर्दथ्यो । यस्तै अनेकन झन्झटको जिम्मा एक्लै काकासँग मात्र थियो । हामी भाइ भतिजा जस्तै उमेर पुगेका अरू साथीहरूलाई पनि कहिल्यै किन यो नगरेको, कस्ता लठुवाहरू हो तिमीहरू भनेर हामीलाई समेत कसैलाई केही भन्नुहुन्नथ्यो । भाइ अच्युत हाइस्कूलमा पढ्थ्यो । उसको शुल्क तिर्न र उसको काममा सहयोग गर्न पनि आफँै तत्पर हुनुहुन्थ्यो । मट्टितेल, चामल र तरकारी किन्ने छ वा छैन, हेर्ने उहाँले नै गर्नुहुन्थ्यो । महिनाको अन्तिममा यति खर्च भएछ, भागमा यति पर्‍यो भनेर आफूले गरेको खर्च फिर्ता लिनुहुन्थ्यो । पोखरेली चामल, भात, दाल, तरकारी, चटनी दैनिक समय समयमा मासुको भोजन व्यवस्था गरिन्थ्यो । जसलाई जसले जुन बेला अनुकूल हुन्छ खायो, हिँड्यो । पाहुना पनि नियमित जस्तै डेरामा आउँथे । तिनीहरू जसका साथ आए पनि मरमोलाहिजा र स्वागतको जिम्मेवारी पनि उहाँकै थियो । दाइ हेमराज अधिकारीलाई पनि काठमाडौं आउँदा प्रायः हामीसँगै बसाउनु हुन्थ्यो । दैवज्ञले कतिखेर खानुभयो ? खानु भयो कि भएन ? भनेर सोध्ने सोच्ने चलन थिएन । यस्तो भए पनि सबैलाई समान आत्मीय ठान्ने, झर्को नगन,े स्नेह दिने स्वभाव साँच्चै अनन्य र विशिष्ट थियो । २०२९ तिर मीठो स्तरीय खाना खर्च, डेराखर्च समेत ६० रूपैयादेखि ७५ रूपैयासम्ममा हाम्रो भाग लाग्यो भन्नुहुन्थ्यो । बाबुको लजमा वस्ताकै आनन्दमा हामी त्यस बखत काठमाडौंमा आनन्दित थियौं । उहाँका मनमा जिम्मेवारीको कत्रो कस्तो बोझ थियो वा थिएन बुझने कोसिस पनि गरेनौं ।

उहाँकी माता उमादेवी पोखरेलकी छोरी, रावा लामिडाँडा ज्योतिषीटोले राजचउरका रामनाथ भट्टराईकी नातिनी (छोरीकी छोरी) हुनुहुन्थ्यो भने मेरी पितामही पद्मकुमारी रामनाथकी बहिनी हुनुहुन्थ्यो । न्यौपानेतर्फबाट मेरा पिता काका दैवज्ञकी आमाको भतिज नातामा पर्नुहुन्थ्यो त्यसो भए पनि आमा उमादेवीले हाम्रा पितालाई मामा मानेरै निहुरेर ढोग्नुहुन्थ्यो । मामा भान्जीकै नाता व्यवहार सम्बोधन हुन्थ्यो । म पनि दिदी नै भन्थें, हजुरआमा होइन । काका दैवज्ञका भाइ केदार न्यौपानेसँगको मेरो बालककालदेखिकै मित्रतासमेतले पनि म उहाँको धेरै आत्मीय, विश्वासको मान्छे र नजिकको बनेको थिएँ । उहाँ यो मेरो भतिज र मामा पनि हो भन्नुहुन्थ्यो । त्यही पुतलीसडकको डेराको पहिलो तलामा उहाँको र मेरो सिरानी जोडिएको थियो । कीर्तिपुरको पढाइ, नेपालको राजनीतिसँगै बसेका साथीहरू, गोगनेको स्थिति र हालखवरको गुनगुन काका–भतिज गर्ने गर्दथ्यौं । काकाभतिज नातामा औपचारिकताको मात्रा कम र विश्वास भाव बढी हुन्छ क्या र झ् त्यसैले अनेकन कुरा गर्दथ्यौं ।

उहाँको पहिलो विवाह केटाकेटीमै नेपाल–कन्यासँग भएको थियो । व्रतबन्ध, विवाह सकेर पढ्न हिँड्ने चलन हाम्रो गाउँमा थियो । उहाँ पढ्न हिँडेको निकै वर्ष बितिसकेको थियो । घर परिवारमा असहज स्थिति भएर नै होला उहाँ नेपालपुत्रीले घर छोड्नु भएको सुनिन्थ्यो । यसकारणले पढेलेखेर पढाउन लागेपछि पत्नी परिवारको आवश्यकता परेको देखिन्थ्यो । पूर्वपश्चिम सबै ठाउँमा शिक्षा प्रतिभाका कारणले दैवज्ञ चिनिए पनि उहाँको घर, बन्धु इष्टमित्र खानदान प्रायःलाई थाहा थिएन । विवाह त गर्ने, कस्ती केटी खोज्ने ? घर परिवार नबुझेका, धन सम्पत्ति नदेखेको हुनाले केटी दिन्छन् होला त ? भन्ने तर्कना चल्दथ्यो । हामी हाम्रो परम्परा धान्ने, हाम्रै गाउँकै धनसम्पत्तिमा रम्ने अनि सहरमा आएपछि सहरिया, अड्डामा जागिर पनि खाने सुशिक्षित राजनीति, अर्थनीति, व्यवहारमा सल्लाह दिने उन्नतिमा सहयोगी हुने कन्या ल्याउने सल्लाह दिने गर्दथ्यौं । यो मत हामी त्यहाँ सँगै बस्ने सबैको थियो । यसै क्रममा सुधा कोइराला रत्नराज्य लक्ष्मी क्याम्पसमा आइ.ए.मा पढ्नुहुन्थ्यो । उहाँका दाजु विपिन, भाउजू बीनासमेत बसेको घरमा मेरो पनि डेरा थियो । पहाड मध्यमवर्गीय ब्राम्हण परिवारमा हुर्किएको दुःख, सुख खेप्न सक्ने, एस.एल.सी.पास गरिसकेकी, सुधा कोइराला दैवज्ञ काकालाई उपयुक्त हुने कन्या हुनुहुन्छ – मैले भनेँ । उहाँले भन्नुभयो – ठिक हो विपिनसँग कुरा गर । मैले विपिनसँग प्रस्ताव राखें । सोध्छु भन्नुभयो । केही दिनपछि दैवज्ञको विवाह गरेको छ अरे, हुँदैन भन्नुभयो ।

पहिलेदेखि नै बनाउनु भएको योजना अनुसारकै कन्यासँग विवाह गर्ने भनी अनुकूल कन्या खोजीमा हुनुहुन्थ्यो । धरान, धनकुटाबाट कीर्तिपुरमा पढ्नेहरूले नै सूचना दिएर होला, धरानका डा.शिवप्रसाद पोखरेलकी पुत्री रीताले बी.ए. परीक्षा दिइसकेकी छन् भन्दा कुल परम्परा प्रतिष्ठा समेत दुवै पक्षले बुझेकाले यो सम्बन्ध गर्न ठिक हुने निर्णय भयो । डा.शिवप्रसाद पोखरेलकी दिदी गायत्रीको हाम्रो गोगने न्यौपाने माझाघरका लक्ष्मीनारायणका कान्छा छोरा शम्भुप्रसाद न्यौपानेसँग विवाह भएको थियो । आदरणीय छविलाल गुरुले गोगनेमा गई सप्ताह पुराण समेत भन्नु भएकाले पूर्वपरिचय समेत भइसकेकाले यो वैवाहिक सम्बन्ध उपयुक्त हुने दुवैतर्फ सोच विकसित हुनपुग्यो । गुरु छविलालसँग औपचारिक प्रस्ताव गर्न म गएँ । बत्तीसपुतलीतिर उहाँहरूका छोरा भतिजाहरूको डेरा वा घर थियो । अरू कुरा त ठिकै छ, न्यौपाने झ् तर उहाँको अर्को विवाह गरेको छ भन्छन्, अप्ठ्यारो हुन्छ कि ? अर्को विवाह थिएन भन्दिँदा हुन्छ – गुरुमा निवेदन गरें । केटाकेटीले एकले अर्कालाई नहेरी विवाह हुने तय भयो । तस्विर आदानप्रदान भयो । तस्विर हेर्दा कविता दैवज्ञबाट जन्म्यो, हामी सबैलाई कविता कण्ठस्थ भयो, विवाह टुङ्गो भयो । विवाह मण्डपमा यो कविता मैले पढेर सुनाएको थिएँ । विवाहका लागि जनकपुर गइयो । जनकपुर कलेजमा पढाउने दैवज्ञका सहपाठी रामप्रसाद भट्टराईको समेत साथ सहयोग र लालानाथ सुवेदीको क्रियाशीलतामा विवाहको व्यवस्थापन मिलाइयो । सूर्यप्रसाद उपाध्यायको घरमा बेहुला पक्षको बसाइ भयो । प्रचण्ड गर्मीको अनुभव पनि गरियो । यो कुरा २०२९ असार महिनाको हो । देवर, भाइभतिजा, परिवारका मान्यजनमा दैवज्ञले राख्ने स्नेह श्रद्धाको अनुकरण रीता काकीले गर्नुभयो । आउनेजाने र काठमाडौंका बासिन्दा, दैवज्ञका गुरुजन र साथीभाइहरूसँग पनि उहाँको परिचय बढ्यो । कसैको दुःखेसो थिएन । रथ मिलेको मन मिलेको गृहस्थ चलेको थियो । इन्जिनियरिङ क्याम्पस प्रशासनमा उहाँले काम गर्न थाल्नुभयो । भूषण, अर्चना, उज्ज्वलको जन्म र शिक्षादीक्षा मात्र होइन, बानेश्वरको स्थायी बासिन्दा हुन पुग्नुभयो । सुदूरपूर्व भोजपुर गोगने धाइपाका बासिन्दा, नेपालको राजधानी काठमाडाकौं सुन्दर सहरमा रीता काकीका साथ दैवज्ञको रहरलाग्दो मनमोहक गृहस्थ सुचारु भयो । पढाइ, लेखाइ, साहित्य सिर्जना, सामाजिक, शैक्षिक, आर्थिक सबै क्षेत्रमा यसै समयमा उहाँले प्रतिष्ठायुक्त स्थायित्व प्राप्त गर्नुभयो । हामी सबैको पुग्ने गन्तव्यको चुली हुनुभयो ।

सरकारी जागिरमा लाग्न पुलिसले स्वीकृति दिनु पर्ने, सरकारी अनुशासन पालन गर्न पनि नसकिने, विश्वविद्यालयबाट व्यवस्थाविरोधी भनी निष्काशनमा परेको म एम.ए. दिएपछि के गर्ने भन्ने छट्पटीमा थिएँ । नयाँ शिक्षा नामको योजनाले शिक्षा क्षेत्रमा धेरै जनशक्ति भित्र्याउने निर्णय गर्‍यो । एम.ए. गर्ने सबैजनाले प्रवेश पाउने अनि पुलिस रिपोर्ट नचाहिने अरे भन्ने सुन्नमा आयो । दैवज्ञ काका पनि प्राध्यापन सेवामा लाग्नु भएकाले पनि प्राध्यापन पेसामा लाग्नु उपयुक्त ठानेर उहाँको सल्लाह लिएर मानविकी तथा सामाजिक शास्त्रको डीन कार्यालयबाट नियुक्ति लिई पुतलीसडकको डेराबाट २०३० श्रावण १६ गते वीरगन्जको ठाकुरराम क्याम्पसतर्फ लागेको हुँ । यसपछि आउँदाजाँदा वा एउटा विषयका भएकाले शिक्षण प्रशिक्षणका कार्यमा भेट हुन थाल्यो । काठमाडौंबाट म टाढिएँ । आउनजान पनि कम भयो ।

काठमाडौं छोडेर हिंडेपछि उहाँका जीवनको दिनचर्या आरोह अवरोह जिम्मेवारी के कति थिए ? ती कसरी सम्पादन गर्नु भयो ? सबै विषय मेरो ज्ञानसीमा बाहिर थिए । धेरैपछि दैवज्ञ काकाको सुधा कोइरालासँग विवाह भयो भन्ने सुन्नमा आयो । रीता काकी र परिवारका सदस्य सबैबाट धेरै नमिठो गुनासो व्यक्त भयो भन्ने सुनेँ । दैवज्ञ काकाले शालीन धैर्यवान् पति, दाइ, भाइ, पिता, पुरुषका रूपमा त्यो परिस्थितिको सामना गर्नुभयो । रीता काकीको क्यान्सरकै कारणले असमयमै देहावसान भयो । अर्को पीडामा पर्नु भयो । मान्छे भनेकै कमजोरी खेप्नै पर्नेको संयोजन हो । असहज र कतिपयलाई रुचिकर नहुने काम पनि उसले गर्नु पर्ने हुन्छ र गर्छ । त्यस कमजोरीलाई उत्तम पुरुषले अरूको अन्तरहृदयस्थित स्थितिबोध गर्छ, क्रोध गर्दैन । सहारा खोज्ने अरूका निम्ति पनि समर्पित हुन्छ । विपद्मा धैर्य धारण गर्दै सद्भाव नबिथोली आउने उज्याला दिनको प्रतीक्षा गर्छ । यो उत्तम पुरुषको स्वभाव राखेर आफूभित्रका अनेकन पीडा व्यथा चपाएर असहजता पार गर्नु भएको प्रसङ्ग सन्दर्भ सुनिएको थियो ।

अर्चनाको विवाह तथा भूषण र उज्वल पढ्न विदेश गएपछि सुधा काकी र भाइ सौरभ गैरीगाउँमा आफ्नो घर बनाएर बसेका बखत पनि उहाँ बानेश्वरकै घरमा बस्ने गर्नुहुन्थ्यो– एउटा खाना बनाउने सहयोगी केटो राखेर । २०६२ भदौ १५ मा राति प्रेसरले बेहोस बनाएछ, लड्नु भएछ, बिहानीपख मात्र साथ बसेको केटाले खवर गर्‍यो । केदार काका, सुधा काकीले शिक्षण अस्पताल पुर्‍याउनु भयो । होस खुल्यो । राम्रो सञ्चो हुने आशा पलायो । संयोगले म पनि काठमाडौं आएकाले उहाँलाई हेर्न पुगेँ । जति मन आत्तिएको थियो त्यस्तो स्थिति देखिँदैनथ्यो, बोली स्पष्ट नै थियो । डाक्टरी विद्याले के के देखिरहेथ्यो, पक्षाघातको बिरामी ठहर गर्‍यो ।

६ वर्षसम्म बिमारीको पीडा खप्तै भेटघाट र घर परिवारका समारोहमा पुग्नुभयो । उज्ज्वलको विवाह सम्पन्न गराउनुभयो । एउटा स्वस्थ सुन्दर दैवज्ञको मनले अस्वस्थताका बिचमा पनि सुन्दर स्वस्थ्य जीवनका कार्य सम्पन्न गरिरह्यो । अझै बाँच्ने र लेख्ने प्रयत्न मन शरीर दुवैले गरिरहे । सुधा काकीको सेवा र बहिनी कविताका भरमा पछिल्लो समय बिताउनु भयो । प्रारब्ध वा पूर्वजन्मका अनेकन कर्म संयोगको भोग हो यो जुनी । सायद यिनै सञ्चित कर्महरूले नै पहाडीे प्रकृतिको कोमलताले हुर्किएको दैवज्ञ काठमाडौं सहरको कठोरता खेप्न सक्ने, नेपाल राष्ट्रको गौरवशाली व्यक्ति बन्न सफल भएझैं त्यही कर्मफलले रुग्णताको जीवन बिताउनु परेको हो भन्दै आफन्तले चित्त बुझाउनु परेको छ । जतिसुकै निरोगी भए पनि कसैको शरीर अजर अमर हुँदैन । रोगी नै भए पनि उसका कामले अजर अमर हुन्छ ।

दैवज्ञ न्यौपाने आफ्ना कविता, काव्य, बाल साहित्य समालोचना, शैक्षणिक, सामाजिक, धार्मिक कार्य र प्रजातन्त्रकप्रतिका अजर निष्ठाका कारणले आफ्नो उत्प्रेरणाबाट, सहयोगबाट उठेका बन्धुबान्धव, सम्बन्धी, शिष्य–शिष्या, साहित्य सर्जकहरूका कृतज्ञ मनहरू लिएर जुगजुगसम्म अमर हुनुभएको छ । उहाँ असल व्यक्तित्वका कारणले राष्ट्रियस्तरका अनेकन सम्मानले विभूषित हुने, आबालवृद्ध सबैले चिन्ने, ईश्वरीय हार्दिकताले बनेका, सबैले आदर, श्रद्धा, प्रेम प्रकट गरिएका व्यक्ति हुनुहुन्छ । न्यौपाने–कुलभूषण, नेपाली साहित्यका उज्ज्वल नक्षत्र, व्यवहार कुशलताका सौरभ, शिक्षाक्षेत्रका सदा अर्चनायोग्य व्यक्तित्व सबै सबैका मनमा आनन्द बर्षाउने सुधा भएर रहनु हुनेछ भन्ने विश्वाससाथ प्रेरणा पुरुष कवि दैवज्ञमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । ॐ नमः शिवाय ।

२०६९ भदौ

टंकी सिनवारी–२, विराटनगर, मोरङ