कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दुई थुङ्गा शब्दश्रद्धाञ्जलि !

कृष्ण सुवेदी 'निराकार'

कवि शिरोमणि लेखनाथ पौड्यालको १२१ औं जन्मजयन्ती परेको थियो त्यो दिन । २०६१ साल पौष २६ गतेको कुरा हो । लेखनाथ पुस्तकालयको निम्तोलाई स्वीकार्दै चन्द्रगढी, भद्रपुर लगायत झापा, मोरङ, सुनसरी क्षेत्रका साहित्यकार, पत्रकार, शिक्षक, विद्यार्थी, प्राध्यापक र समाजका विभिन्न तह र तप्कामा रहेका मानिसहरू समेतको आगमन धमाधम हुँदै थियो चन्द्रगढीस्थित लेखनाथ चोकमा । यसरी आउने क्रममा लेखनाथ चोकमा दक्षिणतिरको बाटोबाट एकजना गोरो वर्ण, खाइलाग्दो शरीर, अग्लो कदका हँसिला व्यक्ति दुई–तीन जना आफन्तहरूका साथमा आउँदै थिए । मैले त चिन्न सकिंन, हेरिरहेँ मात्र । मेरो नजिकै गुरु चूडामणि रेग्मी हुनुहुन्थ्यो, उहाँले भन्नुभयो– “ऊ दैवज्ञजी आउनुभयो । तपाईँहरूले निम्तो गर्नु भएको थियो कि थिएन ?” “को दैवज्ञ ?” मैले सोधेँ । मैले त उनै दैवज्ञ जो धेरै कृतिका धनी अनि बालसाहित्यका सर्जक भन्ने सुनेको थिएँ । मैले फेरि सोधेँ– “सर, दैवज्ञराज न्यौपाने ? बाल साहित्यकार ?”, “हो त ! उनै त हुन् !” चूडामणि गुरुले भन्नुभयो ।

उहाँ झापा आउनु भएको मलाई थाहा थिएन, म अत्तालिएजस्तो भएँछु । दैवज्ञ सरप्रति मेरो अगाध श्रद्धा जागेर आयो । उहाँलाई झापामा पाउनु, त्यसमा पनि लेखनाथ जयन्तीको दिन । यो साह्रै खुसीको कुरा थियो । मैले हतार–हतार आफ्नो झोलाबाट एउटा खाली निम्तोपत्र निकाल्दै उहाँको नाम लेखेर उहाँछेउ आपूफ पुस्तकालयको सचिव रहेको परिचय सहित जम्लेहात नमस्कार गरेँ, अनि निम्तोपत्र पनि थमाएँ । उहाँले मेरो साहित्यिक लेखन र कृतिबारे सोध्नुभयो । मैले दुइटा कृति प्रकाशित गरेको, जसमध्ये “सानो छँदा” नामक बाल कविता संग्रह पनि प्रकाशित गरेको कुरा जानकारी गराएपछि उहाँ झन् खुसी हुनु भयो । हामी सबै त्यो दिन लेखनाथ चोकमा भेला भयौं । कवि शिरोमणिको सालिकमा माल्यार्पण सहित नगर परिक्रमाको शोभायात्रा आरम्भ भयो । दैवज्ञ सर हामीसँगै शोभायात्रामा सरिक हुनुभयो ।

शोभायात्रा वीरेन्द्र नमुना उच्च मा.वि.को सभाहलमा पुगेर सभामा परिणत भयो । त्यसदिन कवि, साहित्यकार, चित्रकार उपेन्द्र पागलको सम्मान भव्य रूपमा सम्पन्न भयो । प्रमुख अतिथि समालोचक अनिरुद्ध तिम्सिना हुनुहुन्थ्यो भने विशेष अतिथि हामीले दैवज्ञ सरलाई नै बनाएका थियौं । कार्यक्रमको सञ्चालन पुस्तकालयको सचिवको नाताले मैले नै गरेको थिएँ । खडानन्द वाशिष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो उक्त कार्यक्रम । जब दैवज्ञ सरको बोल्ने पालो आयो, सबै हल शान्तमय–सुनसान भयो । उहाँले आफ्ना साहित्यिक गतिविधिका कुरा, काठमाडौं र मोफसलका साहित्यबारे धेरै चर्चा गर्नुभयो । चन्द्रगढीसँग आफ्नो पुरानो नाता रहेको कुरा पनि खुलासा गर्नुभयो । कार्यक्रम सकिएपछि सदाझैं हामी सबै यत्रतत्र भयौं ।

दैवज्ञ सरसँगको यो छोटो भेटले म अघाइँन । भोलिपल्ट फेरि उहाँका भाइ प्रद्युम्न न्यौपानेको घरमा त्यसदिन बस्नुभएको कुरा पत्ता लगाएर म बिहानै पुगँें । धेरैबेर उहाँसँग कुराकानी भयो । मैले आफ्ना कृतिहरू अर्पण गरेँ, र बिदा भएँ । उहाँले सबै पढ्नु भएछ मेरा कृतिहरू । पछि फेरि मेरै घरको बाटो चन्द्रगढीतिर जाँदा भेट भयो । मौखिक रूपमा मेरा कृतिहरूको समीक्षा गर्नुभयो, सुझाउहरू दिनुभयो । मैले धेरै खुसी हुँदै कृति समीक्षाप्रति आभार व्यक्त गर्दै कतै कुनै पत्रिकामा प्रकाशनार्थ लिखित समीक्षाका लागि पनि अनुरोध गरेँ । उहाँले काठमाडौं गएपछि म लेखौंला भन्नुभयो । पछि काठमाडौंंं गएको बेला भेट्न खोजेँ, उहाँ उपचारमा बाहिर जानु भएको खबर पाएँ तर भेट हुन सकेन । धेरै पछि फेरि २०६५ साल असारमा विराटनगरमा दैवज्ञराज न्यौपानेज्यूलाई पुरस्कृत र सम्मान गरिने कुरा थाहा पाएँ । तत्कालीन शिक्षामन्त्री प्रदीप नेपालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा दैवज्ञ सर बिरामीका कारण उपस्थित हुन सक्नु भएन र उहाँकी श्रीमती सुधा न्यौपानेज्यूले उक्त पुरस्कार ग्रहण गर्नुभएको थियो । मेरो पनि त्यसै समारोहमा “निराकार उवाच” नामक हास्यव्यङ्ग्य संग्रहको लोकार्पण गरिएको थियो ।

दुःखको कुरा, लामो समयसम्म रोगको सिकार भएर २०६८ साल पौष २ गते उहाँ यस संसारबाट बिदा हुनु भएको कुरा सञ्चार माध्यमहरूबाट सर्वत्र छायो । हामी सबै स्तब्ध भयौं । मैले दैवज्ञ सरलाई लेखनाथ चोकमा भेटेको दृश्य झलझली सम्झिएँ । उहाँका “तोतेबोली, जोर मुरली” पनि सम्झिएँ । मेरा स्कूलका स–साना नानीहरूले भाका हालेर गाएको “के कहाँ बस्छ !” शीर्षकको बालकविता सम्झेँ, अनि –

चम्क–चम्क नौलाख तारा

आकाश सिङ्गै भरिदेऊ

धरती हाम्रो उज्यालो पार्छौं

किरण नौलो छरिदेऊ !

यिनै कविता मनमनै गुनगुनाउँदै उहाँको आत्माको चिरशान्तिको कामना गरेँ । सादा जीवन उच्च विचारका धनी दैवज्ञ सर राष्ट्रप्रति अगाध माया गर्ने व्यक्ति हुनुहुन्थ्यो, देशमा असल र दूरदृष्टियुक्त नेता नभएको, अनि नेताले देश बिगारेकोमा चिन्तित पनि हुनुहुन्थ्यो । उहाँकै शव्दमा भन्नुपर्दा –

संसार भरमा राम्रो हो प्रजातन्त्र तैपनि

नेता छैन भने राम्रो केही हुन्न कतै पनि ।

....

बढ्दैछ मनमा त्रास हो यस्तै छ परिस्थिति

खै ! प्रजातन्त्र आएर देशको सुध्र्रियो गति ?

सम्झनाको धरातलबाट (पृ.४८)

यी हरफहरूबाट पनि दैवज्ञ सरले आफ्नो देशको अगाध माया गर्नुहुन्थ्यो भन्ने कुरा पुष्टि हुन्छ । यस्ता भावनाका धनी हाम्रा श्रद्धेय साहित्यिक अग्रज गुरु दैवज्ञ सर आज हामीबीच हुनुहुन्न । उहाँको अभाव सबैतिर खट्किएको छ । तर खै ! हामी शब्दका दुई थुङ्गा श्रद्धाञ्जलीभन्दा अरू के नै पो सुम्पन सक्छौं र ! धन्य छ दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठान जसले दैवज्ञ सरलाई लाखौं–लाख वर्षपर्यन्त बचाइराख्ने छ ।

निराकार बसिबियाँलो

चन्द्रगढी, झापा

E-mail :- nirakar_krishna@yahoo.com

थिएँ पैले सानो छुकछुक गरी बाल्य वयमा

पुगेँ खेल्दाखेल्दै मधुरमय कैशोर तहमा

बढेँ, आए उर्ली मद भरिदिने यौवन-दिन

जवानी पानी भो सलसल बगूँ लाग्दछ किन ?

दैवज्ञराज न्यौपाने

'युवा आकाङ्क्षा'