कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

इतिहासको पटाक्षेपभित्र : गुरु दैवज्ञ

डा. कृष्णराज डी सी

अनन्त चेतना दिने अपार चेतका धनी

मबाट वेदना लिने अनन्य काव्यका गुणी

सुरम्य सिर्जना दिने अनन्त तिर्सना—ध्वनि,

अशेष जीवनी दिने अगम्य ईशभैँफ बनी !

म सिर्जना जगाउँथेँ हजूरकै कमानमा

स्वदेशमा रमाउँथेँ हजूरकै इमानमा

म जन्म–जन्मको ऋणी पिएर भावनाहरू

हजूरमा चढाउँथेँ अपार कामनाहरू !

हिँडाउँदै कमानमा अगाडि लम्क भन्नु भो

अघोर, घोर रातमा नि ! चम्क चम्क भन्नु भो

विशेष प्रेरणा दिई अशेष प्रेमभावको

सुतेर अल्पकालमै हजूरको त साँझ भो !

नीतिशास्त्रमा गुरुलाई “ब्रह्मा”, “विष्णु” र “महेश्वर” को एकाकारका रूपमा परब्रह्म भनी सम्बोधन गरिएको पाइन्छ । आमाबाबुले यस धर्तीमा हामीलाई अवतरण गराएर जीवनदान दिनुहुन्छ भने गुरुले हामीभित्रको अज्ञान र अन्धकारलाई हटाएर भाग्य प्रदान गर्नुहुन्छ । यस अर्थमा हिन्दु दर्शनमा गुरु र मातापितालाई समानस्तरमा राखिने गरिएको हो । तसर्थ, मैले आफ्नो जन्म दुईपटक भएको अनुभूति गरेको छु । पहिलो जन्म माताको कोखबाट र दोस्रो जन्म गुरुबाट प्राप्त ज्ञानबाट अर्थात् गुरुबाट नै । तसर्थ म मातापिता र गुरुको वर्णसङ्कर (ठिमाहा) सन्तान हुँ । मैले आफ्नो जीवनमा धेरै दुःखकष्टहरू भोग्नु परे पनि गुरुदेवको परम कृपा र अशेष वरदानको कारणले आफूलाई भाग्यवान् सम्झेको छु । यस क्रममा प्रा.दैवज्ञराज न्यौपाने, प्रा.डा.हेमाङ्गराज अधिकारी र प्रा.कुलप्रसाद कोइरालाको नाम म जीवनपर्यन्त लिन चाहन्छु । डा.अधिकारीबाट मैले विद्यावारिधिको निर्देशन र न्यौपानेज्यूबाट स्नातकोत्तर तथा विद्यावारिधि उपाधिका लागि निर्देशन पाएको हुँ । त्यसै गरी प्रा. कोइरालाज्यूबाट उच्चशिक्षा हासिल गर्ने प्रेरणा र राजनीतिक तथा साहित्यिक चेतना प्राप्त गरेको हुँ ।

तर दुर्भाग्यको कुरा प्रा.न्यौपानेज्यूको असामयिक निधनले नेपाली साहित्यलाई नै मर्माहत बनाएको छ । उहाँको संस्मरणमा तयार पारिने ग्रन्थको प्रयोजनार्थ यो सामग्री लेख्दैछु । तर, कलम अगाडि चल्दैन किनभने यस्तो लेख लेख्नु कसैलई नपरोस् । त्यस्ता स्वनामधन्य व्यक्तित्वको हामीले अभिनन्दन ग्रन्थ लेख्न पाउनुपर्थ्यो तर नियतिले हामीलाई त्यस्तो अवसर प्रदान गर्न सकेन । प्रा.न्यौपानेज्यूसँग मेरो पहिलो चिनजान २०४६ सालमा योगी नरहरिनाथले दाङमा लगाउनु भएको कोटीहोम चौघेरामा भएको हो । उहाँ त्यतिबेलाका नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका कुलपति माधव घिमिरेसँग दाङ आउनु भएको थियो । त्यसपछि त्रि.वि. कीर्तिपुरमा २०४७ मा म उहाँको छात्र बनेको थिएँ । र, उहाँकै निर्देशनमा “मरुभूमिको फूल” सिर्जनापत्र तयार पारेको हुँ । विद्यावारिधिको अध्ययनमा शोधनिर्देशक प्रा.डा. हेमाङ्गराज अधिकारी र शोध विशेषज्ञहरू प्रा. घनश्याम कँडेल र प्रा. दैवज्ञराज न्यौपाने हुनुहुन्थ्यो । २०६२ कार्तिक १४ गतेका दिन मैले उहाँलाई भोलिपल्ट २०६२ कार्तिक १५ गते हुने मेरो विद्यावारिधि उपाधिको अन्तरवार्ताका लागि शोध विशेषज्ञका हैसियतले उपस्थित हुन शोध निर्देशकज्यूको निर्देशन अनुसार टेलिफोन निमन्त्रणा गरेँ । र, उहाँलाई त्रि.वि.ले पठाएको पत्र पनि मसँग नै भएको कुरा जानकारी गराएँ । प्रत्युत्तरमा उहाँले आफू बिरामी भए पनि तपाईंको अन्तर्वार्तामा म आउँछु भन्नुभयो । मलाई केही खुसी र केही दुःख पनि लाग्यो । खुसी यस अर्थमा मेरो सफलताका लागि गुरुको उपस्थिति हुनु । तर, दुःख यस कारणले लाग्यो कि उहाँ जस्तो त्यस्तो राम्रो स्वस्थ तथा मोटोघाटो मान्छे के बिरामी भएको हुनुहोला भन्ने जिज्ञासा मनमनै जाग्यो । २०६२ कार्तिक १५ गते लक्ष्मीपूजाका दिन थापाथलीको एउटा कलेजमा मेरो विद्यावारिधि उपाधिका लागि अन्तर्वार्ता हुँदै थियो । सम्पूर्ण गुरुवर्ग तथा शोध निर्देशक डा. अधिकारीज्यू पनि आइसक्नु भएको थियो । केही मिनेटपछि लट्ठी टेक्दै उहाँ कान्छा छोराको सहयोगमा आइपुग्नु भयो । मैले सोचेभन्दा उहाँ बढी बिरामी हुनुहुँदो रहेछ । स्पष्टसँग बोल्न नसक्ने, हिँड्न नसक्ने र राम्रोसँग आँखा पनि नदेख्ने, कालो चश्मा लगाउनु भएको थियो । मेरो अन्तर्वार्तापछि उहाँ म जान्छु बाबु भनेर छोराकै सहयोगमा फर्कनु भयो । मैले भगवानलाई प्रार्थना गरेँ – ईश्वर ! तिम्रो लीला अपार छ ! हिजोको त्यस्तो मानिस आज यस्तो कसरी हुनुभयो ?

त्यसको एक वर्षपछि म उहाँलाई भेट्न उहाँकै निवासमा पुगेको थिएँ । त्यतिबेला उहाँले आँखाबाट आँसु झार्दै मसँग स्पष्ट नबुझिने स्वरमा के छ हालखबर ? भनेर सोध्नुभयो र आफ्नो एउटा छोरो जापानमा पिएच्.डी. गर्न गएको कुरा समेत बताउनु भयो । म्याडमले भन्नुभयो – “उहाँ यसरी उठेर कुरा गर्न सक्नुहुन्नथ्यो, आज तपाईंलाई देखेर यति धेरै कुरा गर्नुभयो ।” मैले पनि प्रत्युत्तरमा आफ्ना केही तीतामीठा कुराहरू गुरुलाई सुनाएँ । मेरो जेठो छोरालाई डाक्टर उपेन्द्र देवकोटाले अनावश्यक अपरेशन गरी अपाङ्ग गराइदिएको र अहिले उनी ह्विल चियरको भरमा हिँड्ने गर्छन् भन्ने खबर सुनाएँ । यो खबरले उहाँ निकै दुःखी बन्नुभयो । धेरैबेरको कुराकानीपछि एकजना सहयोगीले उहाँलाई काटेका फलफुलहरू चम्चाले खुवाउन थाल्नुभयो, मैले पनि चियानास्ता खाएँ । फलफुलपछि उहाँलाई औषधी पनि खुवाइयो । समय बितिसकेको थियो र सूर्य डुब्नै आँटेको थियो । म पनि गुरुसँग बिदा माग्दै श्रद्धाका दुई थोपा आँसु खसालेर फर्किएँ ।

केही समयपछि एउटा पत्रिकामा उहाँको शारीरिक अवस्था गम्भीर बन्दै गएको भन्ने खबर र उहाँको तस्वीर समेत छापिएको देख्दा असह्य पीडा भयो । त्यसको केही महिनापछि उहाँको स्वर्गारोहण भयो भन्ने खबर सुनेँ । म “रेडियो स्वर्गद्वारी” दाङमा विगत दश वर्षदेखि कार्यक्रम साहित्य सिर्जना सञ्चालन गर्दै आएको छु । रेडियोको एउटा कार्यक्रममा मैले परमपुज्य गुरु कवि दैवज्ञराज न्यौपानेको संस्मरण तथा साहित्यिक व्यक्तित्व र कृतित्वलाई प्रस्तुत गरेँ । मलाई हेक्का छ, मैले गुरुलाई उहाँकै निवासमा भेटेर फर्कँदा गुरुले दाङका साथीहरू भैरवप्रसाद मजगैंयाँ आदिलाई सम्झेको छ भन्ने खबर सुनाइदिन भन्नुभएको थियो । मैले उहाँको खबर गुरु भैरवप्रसाद मजगैंयाँलाई सुनाएको थिएँ । सायद मजगैंयाँजीले दैवज्ञ गुरुसँग फोन सम्पर्क गर्नु भयो होला ...... ! प्रा.दैवज्ञराज न्यौपानेसँगका अन्य केही स्मरणयोग्य अनुभूतिहरू पनि मसँग छन् । एकपटक स्नातकोत्तर तहको शोधपत्र प्रस्तुत गर्ने दिनको भोलिपल्ट मेरो मध्यपश्चिमाञ्चल विकास क्षेत्र सुर्खेतमा स्थायी जागिरका लागि अन्तर्वार्ता हुँदै थियो । त्यतिबेला प्रा.डा.वासुदेव त्रिपाठी नेपाली विभागका विभागीय प्रमुख हुनुहुन्थ्यो । मेरो काम समयमै नसकिए सुर्खेतको लागि छुट्ने रात्रिबस छुट्थ्यो । तर, गुरुकृपाले मेरो एम.ए.को अन्तर्वार्ता समयमै सकियो, जसको बाह्य परीक्षक केदार न्यौपानेज्यू हुनुहुन्थ्यो र उहाँका भाइ महेश्वर न्यौपानेज्यूसँग पनि मेरो त्यतिबेला नै परिचय भएको हो । अनि त्यसपछि मैले सुर्खेतको काम पनि भ्याएँ ।

त्यसै गरी विद्यावारिधि उपाधिका लागि शोध प्रबन्ध प्रस्तुत गर्ने अन्तिम म्यादको एक दिन पहिले दैवज्ञ गुरुलाई मैले फोन सम्पर्क गरेँ उहाँले आफू बिराटनगर भएको कुरा सुनाउनु भयो । मेरो शोध प्रबन्धमा शोध निर्देशकज्यू र दुई जना शोध विशेषज्ञको हस्ताक्षर अनिवार्य रूपमा हुनै पर्थ्यो । तर, दैवज्ञ गुरुले उपर्युक्त शोधप्रबन्ध आफूले हेरिसकेको हुँदा आफूले गर्नुपर्ने हस्ताक्षर काठमाडौं आएपछि गरिदिने भनेपछि मात्र त्रिभुवन विश्वविद्यालयले मेरो काम अगाडि बढाएको हो ।

दैवज्ञ गुरुले बिराटनगरका क्याम्पस प्रमुखलाई म भनिदिन्छु त्यहाँ पढाउन जानुहोस् पनि भन्नुहुन्थ्यो । तर, आफ्नो विवशताले म असमर्थ भएँ । जे होस् आज यी सबै प्रसङ्गहरू इतिहासको पटाक्षेपभित्रका गुरु दैवज्ञराज न्यौपाने जस्तै बनेका छन् ।

अन्तमा पाठकवर्गसँग कवि न्यौपानेका केही कवितात्मक अभिव्यक्तिसँगै म यो कलम बन्द गर्ने अनुमति माग्दछु ।

यो धर्तीमा समय रहँदै बीज राम्रो नरोपे

यो माटामा अमर रहने प्रीति चोखो नखोपे

स्थायी बन्ने चिर दिन यहाँ हैन हाम्रो जवानी

हाँसी खेली दुइ दिन कहाँ जान्छ यो जिन्दगानी ?

बाटो हेर्लिन् विरह दिनका नित्य औँला गनेर

सुस्केरामै मिरमिर हुनन् रात कोल्टो फिरेर

तिम्रै जस्तो म पनि दिनहूँ देख्छु संसारलाई

भन्ने मेरो खबर लगिद्यौ कल्पँदी वैंशलाई

फुल्ने फूल नफक्रिँदै विरहको आँसू यहाँ फुल्दछ

झुल्को घाम नफैलिँदै हृदयको आँसु यहाँ झुल्दछ

सेतो रूप हिमालमा पलपलै जम्दो छ आँसू यहाँ

खोलासाथ तरङ्गमा लहरिँदै बग्दो छ आँसू यहाँ !