कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

दैवज्ञराज न्यौपाने : परिवेश, प्रभाव र प्रवृत्ति

डा. केदार न्यौपाने

संसारमा मान्छे सिधै नामसँग मात्र गाँसिएर आएको हुँदैन । मान्छे आफ्नो गाउँ, ठाउँ, परिवार, समाज, राष्ट्र र विश्वसँग नै गाँसिएर आएको हुन्छ । सामाजिक रहन, सहन, संस्कृति, प्रकृति मान्छेका जीवनका परिपूरक तत्त्वहरू हुन् । अभिभावक, आफन्त र सबै परिवारजनले पनि मान्छेको अस्मितालाई उठाएको हुन्छ र यस किसिमका उपकरणबाट झाँगिएर व्यापकता ग्रहण गर्छ, आफ्नो आयतन फैलाउँछ । दैवज्ञराज न्यौपाने प्रारम्भमा स्थानेश्वर अनि दैबु र त्यसपछि बिरुवामा बढ्दै हुर्कदै दैवज्ञमा विस्तारित भएको एउटा विशाल व्यक्तित्वरूपी विराट् वृक्षको प्रतीक बन्न पुगेको पाइन्छ । मैले उहाँबाट आदरणीय दाजुको अभिभावकत्व, माया, ममता मात्र पाइनँ आवश्यक निर्देशन र असीम प्ररेणा पनि पाएको छु ।

खोल्सीको सुमधुर संयोग, वरिपरि खेत र मिलेका बारीका पाटाहरू मास्तिर नजिकै खर्क, चारैतिरबाट स्पष्ट देख्न सकिने पारिलो पाटो, हिमाली मुस्कानले आगँनमै स्वागत गर्ने अनुपम बस्तीको संयोजन भएको भोजपुर, गोगनेको स्वच्छ प्राकृतिक परिवेशले दाजु दैवज्ञको बाल्यकाल र किशोरावस्था हेरचाह गरेको थियो भने कुलीन खान्दानी बिर्तावाल संस्कारको मूल धारबाट खारिँदै, माभिंफदै आएको आध्यात्मिक सनातनी संस्कारका उन्नायक न्यौपाने वंशका पण्डित परम्पराको दुई मूल पारिवारिक पुस्ता लहरमध्ये छविलाल, हरिप्रसाद, गणेशप्रसाद, वासुदेव र केशवानन्दको एक लहरमा पर्ने पण्डित छविलाल उपाध्याय न्यौपानेका नाति गणेशप्रसाद न्यौपानेका छोरा, पण्डित केशवानन्दका भाइ दैवज्ञराज (उपाध्याय) न्यौपानेको पारिवारिक परिवेश ज्यादै आदर्श एवं अनुशासित थियो । अर्कातर्पफ हरिवंश, पद्मलाल, विष्णुप्रसाद, खगेश्वर, वासुदेवको पारिवारिक पुस्ता पर्दछ र त्यो लहर पनि त्यतिकै विशिष्ट छ । त्यो दुई पुस्ताबाहेक पनि एकदर्जनभन्दा बढी घोषित (पुराणवाचक) पण्डितका नामहरू र संस्कृत परिपाटीको पठनपाठन गर्दै मध्यमा, शास्त्री र आचार्यसम्म अध्ययन गर्ने प्रशस्तै नामहरूलाई अघोषित पण्डितको रूपमा लिन सकिन्छ । यस सन्दर्भमा पण्डितहरू नन्दलाल, नेत्रप्रसाद, नीलकण्ठ, परशुराम, दुर्गाप्रसाद आदि व्यक्तित्वहरूको नाम उल्लेखनीय रूपमा लिन सकिन्छ । गोगनेका न्यौपानेहरूमा सर्वप्रथम शास्त्री उत्तीर्ण गर्ने तीर्थराज न्यौपाने र दोस्रोमा शास्त्रीसम्मको अध्ययन गर्ने मुरलीभूषण उपाध्याय पनि सन्दर्भमा स्मरणीय र विद्वत्परम्परामा आदरणीय छन् ।

शिक्षित संस्कार तथा बिर्तावालको मर्यादाले पनि आफ्नै किसिमको प्रतिष्ठा र भूमिका निर्वाह गरेको देखिन्छ । न्यौपानेहरू बिर्तावाल हुन् । सो बिर्ता कुनै बकस, दान, दशदान वा ग्रहणदानबाट प्राप्त भएका सामान्य दानजस्तो नभएर कुश बिर्ता भएको र यस किसिमको बिर्ता ग्रहण गरेबापत सम्बन्धित क्षेत्रको धार्मिक, व्यावहारिक कार्यमा योगदान गर्ने र न्यायनिसाफ, सरसाइत आदि सबै विषयमा सही निर्णयको भूमिका निर्वांह गर्ने, आफ्ना मातहतको तिरो रकम बुझने बुझाउने जिम्मेवारी हुन्थ्यो ।

यस किसिमका कार्यको सही जिम्मेवारी वहन गरेबापत् न्यौपानेले इष्टमित्र, नलनाताहरूको आदर सद्भाव, मान प्रतिष्ठा पाएको, वरपरका कुलीन र संस्कार प्राप्त इष्टमित्रसँग विशेष सम्बन्ध भएको पृष्ठभूमिमा हुर्केबढेका दैवज्ञराज न्यौपानेको औपचारिक पठनपाठन गोगने विद्येश्वर संस्कृत पाठशाला, षडानन्द संस्कृत पाठशाला, दाङको संस्कृत पाठशाला हुंदै काठमाडौंको राजकीय संस्कृत महाविद्यालय र त्रिभुवन विश्वविद्यालयमा पूरा हुन्छ । राष्ट्रिय सर्न्दभमा यो समय प्रजातन्त्रको आगमनको प्रारम्भ बिन्दुदेखि बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको समापन गरी निर्दलीय पञ्चायती व्यवस्था र अनुदार राजतन्त्रले प्रजातन्त्रको नाममा गरिएका अनेक प्रयोग परीक्षणका बाहानामा एकलौटी ढङ्गले राज गरिएको समय हो भने अन्तर्राष्ट्रिय सर्न्दभमा मानवतावादी प्रजातन्त्रिक संस्कार, शासन प्रणाली र आचरणका लागि समर्पित भावना र गतिविधिको संस्कार एवं संघर्ष विस्तारको समय पनि हो । यस किसिमका गतिविधिको उद्गम जहाँ भए पनि नेपालमा तिनको निकास प्रायः भारतीय स्रोतबाट हुने अवस्था थियो र त्यसैको माध्यमबाट नियन्त्रित हुन्थ्यो । यस किसिमका पारिवारिक, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा दाजु दैवज्ञराजको संवेदनशील व्यक्तित्व राम्ररी प्रभावित भएको छ । यस किसिमको समग्र राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश र परिस्थितिका साथै घरपरिवारमा नमिठो नबोल्ने, सानै भए पनि आफूभन्दा जेठालाई तँ, तिमी नभनी आदर सम्मानको व्यवहार गर्ने, घरमा आएका पाहुनाहरूलाई ठुलो सम्मान गर्ने, पण्डित, साधु, ब्राह्मणको आदर गर्ने गुरु, भाञ्जाभाञ्जी, ज्वाइँ आए गोडा धुने, चिल्लो लगाउने, बाबा–आमाहरूलाई बिहान बेलुकै ढोग्नेजस्ता आचरणका साथै साँझ, बिहान खाँदा, सुत्दा, उठ्दा सम्झने, वाचन गरिने देवदेवीका नामको संस्मरण मन्त्रहरूको उच्चारण, सन्ध्या, पूजा र पाठ आदिबाट संस्कारित सनातनी पारिवारिक संस्कार दाजु दैवज्ञका लागि अवश्य उत्पे्ररक बनेको पाइन्छ ।

गृहस्थ योगी पिता गणेशप्रसादले आफ्ना जिम्माको तिरो रसिद काट्दा, तरतमसुक गरी लेनदनको कारोवार गर्दा रुपैयाँ पैसा ब्याजमा लाउँदा अन्याय पर्छ भन्ने ठानी लेनदेन गर्ने औंठाछाप लाउने, लाउन लगाउने केही पनि गर्नुभएन । हजुरबुवाबाट सिधै नाति जयप्रसादमा त्यो व्यवहार सर्‍यो । मन भए पनि धरै खर्च गर्न नसक्ने भक्तका भावनालाई बुझी पिता गणेशप्रसादले घरबाट पूजासामान धूपबत्ती आदि लगेर सप्ताह पुराण भन्नुभयो । कहिल्यै पनि रुपैयाँ पैसामा मोह देखाउनु भएन, त्यसमा आशक्ति प्रकट गर्नुभएन । हजुरबुवा छविलाल हक्की स्वभावको स्वाभिमानी पण्डित र कवि भएको प्रमाण धेरैका मुखबाट सुन्न पाइन्थ्यो, बुढी माइली दिदीका मुखमा त उहाँले लेखेका केही कविताहरू कण्ठस्थ नै थिए । केही लेखोटहरूको सम्पादन दाजु दैवज्ञबाट भएको र केही कविताको चर्चा प्राज्ञ ज्ञानमणि नेपालबाट पनि भएको पाइन्छ । पिता एवं पितामहको यस्तो प्रवृत्ति र आमाको अनुशासन दाजुका लागि प्रभावका शिखर खुड्किला थिए । प्रत्येक दिन एक अध्याय चण्डी नपढी नानीलाई भात खान दिन्नथेँ भन्ने आमाको भनाइ हामीले सुनेका छौं र साँझबत्ती बाल्दा, तुलसाको पूजा गर्दा, जल चढाउँदा, सूर्यलाई अर्घ दिँदा बेलुका सुत्नेबेला र बिहान उठ्ने बेला सबै समयमा देवदेवी, धरती, आकाशको स्मरण गरिने श्लोकको वाचन वा आमा र ठुल्दाजुबाट सुनेको प्रभाव तथा हजुरबुवाले साँझ, बिहान उच्चारण गरेका भागवत रामगीता, गीता आदि ग्रन्थबाट उद्धृत पद्यहरूको श्रवण पनि उत्तिकै मनमोहक हुन्थ्यो । हजुरबुवा छविलालको मुखारविन्दबाट उच्चारित श्लोकहरूमध्ये निम्नलिखित पद्यका सुन्दर अभिव्यक्तिको याद म पनि अहिलेसम्म गरिरहेको छु ः–

श्रीराम राम रघुनन्दन राम राम, श्रीराम राम भरताग्रज राम राम,

श्रीराम राम रणकर्कश राम राम, श्रीराम राम शरणं भव राम राम

श्रीरामचन्द्रचरणौ मनसा स्मरामि, श्रीरामचन्द्रचरणौ वचसा गृणामि

श्रीरामचन्द्रचरणौ शिरसा नमामि, श्रीरामचन्द्रचरणौ शरणं प्रपद्ये ।

यस किसिमका प्रसङ्ग अनेक छन् जसको नैतिक मनोवैज्ञानिक प्रभाव हामी सबैमा सम्प्रेषित हुन सकोस् तर सञ्चेतनाको पारदर्शक अनुभूति सबमा दुर्लभ हुन्छ । दाजु दैवज्ञमा सञ्चेतनाको कुनै कमी थिएन । यस्ता प्रसङ्गहरू अनगिन्ती भए पनि यहाँ एकादुई प्रसङ्गको मात्र उद्धरण गर्नु सार्न्दभिक ठान्दछु ।

कुनै उत्सव, पर्वको अवसरमा वा खास कार्यमा जमघट हुनु गाउँको सामान्य चलन हो । यस्तो समयमा लक्षित कार्य बाहेक बुढापाका अनुभवीका कुरा सुन्ने, मनन गन,े केही नयाँ कुरा राख्ने परम्परा सबै सभ्य समाजमा चलेकै हुन्छ । हाम्रा पूर्वजहरूले पनि त्यसलाई अनुसरण गर्दै आएको अनुभव हुन्छ । यही सर्न्दभमा न्यौपाने कुलका एउटा मणिसमान हजुरबुवा तहबिलदार नरनाथले कुराकानीका प्रसङ्गमा पुराणको चर्चा हुँदा– पुराण भन्नु त पण्डित माधवले जस्तो पो भन्नु अब त ऊ बुढो भयो, खै उसको भाकामा अब सुन्न पाइन्छ कि पाइँदैन भन्नु भएको रहेछ । त्यसै सर्न्दभमा नजिकै बस्नुभएको फुच्चे दैवज्ञराज न्यौपानेलाई देखेर यो केटो ज्यादै तर्कशील, चङ्ख र स्वाभिमानी रहेछ, मलाई अस्ति पानी लाउँदा अकाट्य तर्क र हकका कुरा गर्‍यो, हप्काउँदा पनि हप्केन भनी २, ३ दिनअघि खेतमा पानी लाउँदा भएका घटनाको उल्लेख गर्नुभएछ । बेलुका यस किसिमका अनेक कुरा भए होलान्, जमघट सकियो, घरमा दाजु दैवज्ञले माधव पण्डितको चिनारी माग्नुभएछ । आमा बातिर हेरेर हाँस्नुभयो, बाले केही भन्नुभएन । आमाले फेरि स्पष्ट गर्न तेरा बा भन्नुभएछ । दाजुले बालाई गौर गरेर हेर्नुभयो । सायद पछि पानीको प्रसङ्ग झिक्दा हेपेर पानी लाउन नदिएको भनी दाजुले जिकिर गर्न खोज्दा बाले भन्नुभएछ– उहाँ ठुलो मान्छे, हजुरबुवा, उहाँमा धेरै आदर्श गुण र विशेषता छन्, उहाँको हामीले सम्मान गर्नुपर्छ । यी प्रसङ्गले जिज्ञासु, सौन्दर्यानुरागी र समानताका प्रवृत्तिबाट जागरित तीक्ष्ण प्रतिभा भएका बालक दैवज्ञमा परेको मनोवैज्ञानिक प्रभाव झल्किन्छ । साथै राम्रो पण्डितको परिचय थाहा पाउने चाहना र समान अधिकारप्रतिको सचेष्टता पनि स्पष्टिन्छ ।

पारिवारिक सर्न्दभको एउटा अर्को घटना त्यत्तिकै उत्प्रेरक हुन गएको अनुमान हुन्छ । बिर्ताको आफ्नो क्षेत्रमा रहेका गाउँलेले तिरो बुझाउँदा धेरैजसो मुखिया जिम्वालले रसिद दिने बेलामा अतिरिक्त रकमका रूपमा रुपैयाँ मोहोर लिने चलन बसाएको र त्यसमा अभ्यस्त गाउँलेहरूले सहज रूपमा रसिद काटेबापत् दिन ल्याएको रकम ठुल्दाजुले फिर्ता दिने गर्नुभएको रहेछ । यो कुरा थाहा नपाई भाइ महेश्वरले सहज रूपमा ग्रहण गरेकोमा पछि दाजुबाट हप्काइ खानुपरेको र गरिबको दुई पैसा पनि लिनु हँुदैन भनी फिर्ता दिनुपरेको घटना तत्कालको किशोर भाइ महेश्वरका लागि जति प्रेरक छ त्यस्तो घटना दाजु दैवज्ञका लागि पनि अनुकरणीय थियो, हामी पनि यस्ता घटनाहरूलाई बिर्सन सक्दैनौं । यस किसिमको प्रवृत्ति बा, आमा, दाजुहरूमा मात्र सीमित नभई सबै काका बाबुहरूमा पनि सम्प्रेषित थियो, जुन संस्कार हामीले पनि देख्तै, भोग्दै र सुन्दै आयौं ।

यस किसिमको पारिवारिक आदर्शका परिवेशको प्रभावले पोषित दाजु दैवज्ञमा सामाजिक आदर्शको बोध पनि सानैदेखि हुनु स्वाभाविक देखिन्छ । पूर्वका शिक्षित, सभ्य, कुलीन र खानदानी संस्कार बोकेका ब्राह्मण, क्षेत्री र माझकिराँतकै आधिपत्य ग्रहण गर्ने विशिष्ट राई परिवारका साथै अन्य जाति जनजातिबाट आदर गरिएका विद्वान्, विवेकी, कुलीन वंशको रूपमा स्वीकृत हुँदै आएको मान, प्रतिष्ठा र गौरव संरक्षण गर्ने न्यौपानेहरूको प्रतिष्ठाको सामाजिक प्रभाव उहाँमा पर्‍यो । पूर्वका विशिष्ट व्यक्तिहरूसँगको सम्पर्क आवतजावत विचारविर्मश सरसहयोग तथा नीतिनिर्णयका दस्तावेजहरूबाट यो कुराको पुष्टि हुन्छ ।

संवेदनशील हृदय र प्रतिभाका धनी दैवज्ञराज न्यौपानेको किशोरवस्थामा बा, हजुरबाबाट र दाजुहरूले वाचन गरेका उल्लिखित श्लोकको प्रभावका साथै तत्काल उपलब्ध नेपाली पद्य कविताले कविता विधामा उहाँलाई आकर्षित पार्‍यो भने अध्ययनको क्रममा गोगनेदेखि दिङ्ला हुँदै त्यहाँबाट प्रथमासम्मको अध्ययन सकी धरान र काशीको शैक्षिक वातावरण अवलोकन गर्दै दाङमा बसेर पूर्वमध्यमा अध्ययन गरी काठमाडाँैमा आएर उत्तरमध्यमा, शास्त्री, आचार्यसम्म र एम.ए. अध्ययन गर्ने क्रममा गोगने र दिङ्लामा छँदादेखि नै प्रभाव पार्ने जयदेव अधिकारी, ज्ञानमणि नेपाल, आबाल ब्रह्मचारी बालसन्त षडानन्द अधिकारी, वैयाकरण नेपालका साथै नेपाली साहित्यमा आधुनिकताको जग निर्माण गर्ने भानुभक्त आचार्य, उदायनन्द अर्ज्याल, मोतीराम भट्ट, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा लगायतका सिद्यहस्त आधुनिक कविहरू विशेषतः माधवप्रसाद घिमिरेको प्रभावलाई आत्मसात् गरी आफ्नो साहित्यिक प्रभाव विस्तार गर्न सक्षम दैवज्ञराज न्यौपानेमा साहित्येतर विधामा समेत त्यतिकै ठुलो योगदान दिने राष्ट्रनिर्माणका सशक्त प्रतिभा पृथ्वीनारायण शाह, भीमशेन थापा, बहादुर शाहजस्ता देशभक्त राष्ट्रचिन्तकहरू र विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता प्रजातन्त्रवादी नेताका साथै अर्न्तराष्ट्रिय स्तरका विशिष्ट चिन्तक एवं साहित्यकारबाट प्रभावित भई तिनको जीवनी पढ्ने, जीवितसँग सङ्गत गर्ने र तिनलाई आफ्नो कृतिमा उतार्ने तथा अभिनयमा प्रस्तुत गर्ने क्रियाकलापले उहाँलाई अध्ययन, अध्यापन, चिन्तनमा लेखनका साथ गहिरिने, राजनैतिक समस्याप्रति सजग हुने स्थितिमा पनि प्रवेश गरायो र विद्यार्थी हक, अधिकार, स्वच्छ सामाजिक शैक्षिक नैतिक संस्कार र राजनैतिक स्वतन्त्रताका लागि पहल गर्ने संघसंस्थासँगको संलग्नता र नेताका स्वस्थ सकारात्मक अभियानमा उहाँले सहयोग पुर्‍याएको कुरा स्पष्ट छ । यस किसिमका योगदानको विस्तृत विवरण स्मृतिग्रन्थका अन्य कतिपय लेखहरूमा समावेश भइसकेकाले यहाँ पुनरुक्ति गरिरहनु आवश्यक हुँदैन ।

दैवज्ञराज न्यौपानको प्रवृत्ति भन्नाले उहाँको स्वभाव, आनीबानी बरव्यवहारका साथै रचनागत विशेषतालाई बुझनुपर्ने हुन्छ । स्वभावगत आधारमा हेर्दा उहाँ सौम्य, शिष्ट, सज्जन स्वभावका व्यक्तिहरूमध्ये अग्रस्थानमा रहेको कुरा निर्विवाद छ । सधँै मुस्कुराएर बोल्ने, ख्यालठट्टा गर्ने, आफन्तहरू सबैसँग भेटघाट, शिष्टाचार गर्ने, भेट नहुदाँ टाढैबाट सोधीखोजी गर्ने उहाँको स्वभाव थियो । कहिलेकाहीँ ख्यालठट्टाको घुमाउरो शैली नबुझेर वा त्यस किसिमको अभिव्यक्ति रुचिकर नलागेर कसैकसैले तत्काल असहज माने पनि वास्तवमा उहाँको सहज ठट्टाले व्यङ्ग्य होइन हास्यरसकै चटनी चखाएको कुरा सबैमा महसुस हुन्थ्यो । उदाहरणका लागि तलको दृष्टान्तलाई अघि सार्न सकिन्छ ।

पुस्तौँ पहिलेदेखिको सम्बन्ध भएका नैष्ठिक पुरोहित खानदानका एकजना पाहुनाले दाजुले स्क्वासको बोतल लिँदा जिब्रो काडेको र पछि उनलाई जिस्क्याउने क्रममा दाइ तपाईंलाई त लाग्छ कि लाग्दैन ? हामीले त ठाडो घाँटी लगाउन थाल्यौँ त भन्दा पाहुनाको मुख बिगिए्रको र पछि सर्वत भन्ने बुझेपछि दङ्ग परेको प्रसङ्ग र घरैको हेडमास्टर छोडेर खर्दार, सुब्बाको सरकारी जागिरमा जान खोज्ने बलराम पोख्रेललाई भाइ तिमीहरू पोख्रेल न हौ, सरकारी जागिर भए त घोडा घिस्याउने सयस भए पनि भै गो नि भनेको व्यङ्ग्यात्मक भाषालाई उदाहरणको रूपमा दर्साउन सकिन्छ ।

खानपानमा सौखिन भए पनि मादक पदार्थ, खैनी, चुरोट, पानपरागजस्ता कुनै कुरामा उहाँले कहिल्यै चाख राख्नुभएन । तयारी खाद्यपदार्थभन्दा ताजा र काँचै खानेकुरा खान उहाँ रुचाउनुहुन्थ्यो । उहाँ नहड्बडाउने, नआत्तिने स्वभावको हुनुहुन्थ्यो, सानातिना स्वास्थ्यका समस्याले केटाकेटीहरूलाई निकै साह्रो पार्दा पनि उहाँ कत्ति विचलित हुनुहुन्नथ्यो । कहिले काहीँ केटाकेटी बिरामी परेर उनीहरूलाई भाउजू र मैले अस्पताल पुर्‍याइसक्दा पनि उहाँमा हडबड देखिँदैनथ्यो । एक त उहाँको व्यस्तता, अर्को सहनशीलता । एकपल्ट अर्चनालाई निमोनिया (श्वासप्रश्वासको समस्या) ले सिकिस्त पार्‍यो । उहाँमा शैक्षिक कार्य र अन्य जिम्मवारीको चटारो थियो । भाउजूलाई पालो दिन म शान्तभवन अस्पताल पुगँे । अर्चना अक्सिजनको तार नै चँुडाएर छाँद हाल्न आइपुगी । बिस्तारै दाजु आइपुग्नुभयो र भन्नुभयो – यो धेरै आत्तिएकी छ । एक पटक उज्ज्वल हराएर हामी कहिले रडियो कहिले टेलिफोनतिर दौडँदा उहाँ भाउजूलाई भरोसा दिएर बस्नुभो । यद्यपि त्यस दिन उहाँभित्र आतेसको ठुलो हुरी चलेको थियो तर हामी समस्तमा देखाउनु भएन, दबाएर राख्नुभयो । यस किसिमको धैर्यशील प्रवृत्तिका साथै स्वाभिमान उहाँको अद्वितीय विशेषता हो । विद्यालय अवस्थादेखि नै स्वाभिमान संरक्षणमा दृढ धारणा राख्दै आउनुभएका दैवज्ञराज न्यौपानेले आजीवन आफ्नो स्वाभिमान नुहुन दिनुभएन । नेपालको तात्कालिक राजनीतिक वृत्तबाट दिन खोजिएको प्रलोभनले उहाँ कत्ति पनि आकर्षित नभएको प्रसङ्गलाई एउटा उदाहरणका रूपमा लिन सकिन्छ ।

ठुलो आर्थिक कारोवार, व्यापार व्यवसाय, उद्योगधन्दा होस् वा ठुलो घर गृहस्थीकै पनि जिम्मेवारी लिन नपरेकाले बरव्यवहारको जटिलता उहाँमा प्रकट हुदैनथ्यो तर जति बरव्यवहार, लेनदेन, इमानजमानका कुरा भए तिनमा कुशलता पाइन्थ्यो । शुद्य सफा प्रवृत्तिले उहाँलाई कहिल्यै छोडेन, इमान्दारी उहाँको जीवनको मुख्य मन्त्र थियो । संघसंस्थामा आफ्ना विचार व्यक्त गर्दा प्रायः उहाँ महाभारत, पुराणहरूका भनाइ उद्धृत गरी अर्थशुचि अर्थात् आर्थिक क्षेत्रको शुद्धता नै मान्छेको ठुलो शुचि वा शुद्धता हो भन्ने गर्नुहुन्थ्यो । साथीभाइ लगायत आफूमा आश्रित सवैसँगको बरव्यवहारमा उहाँ उदार सहयोगीको रूपमा चिनिनुभयो भने परिवारका सानाठुला सबैमा उहाँको व्यक्तित्वको छवि अलौकिक नै रह्यो ।

म आचार्य, एम.ए पढ्दादेखि लगभग ५ वर्ष र पछि दशवर्ष जति दाजुसँगै बसेँ । त्यति लामो समयमा कुनै दिन पनि मलाई प्रतिबन्धात्मक निर्देशन दिनुभएन । मैले आफ्नो विवेकले आफ्नो आर्जन घर खर्चमा लगाएँ र यति निकाल पनि भन्नुभएन । पैसा, कर्तव्य, जिम्मेवारीमा आदेश दिनुभएन, मेरो विवेक र इमान्दारिताप्रति पूर्ण भरोसा राख्नुभयो ।

पूर्वबाट पठनपाठन गर्न, जागिर खान र तीर्थ गर्न आउने अधिकांश नलनाता, दाजुभाइको प्रथम आश्रय स्थलका रूपमा विख्यात हाम्रो डेरा र पछि घरमा आउने जोसुकैसँग सरसहयोग र सद्व्यवहार गर्ने प्रमुख दायित्व दाजुकै थियो । घरतिर आपूफ जाँदा या हामीलाई पढाउँदा गच्छे अनुसार लुगाफाटो वा केही कोसेलीपात लिएर आदर र स्नेहसाथ मान्यजन तथा केटाकेटीलाई भेट गर्ने गाउँका सबै आदरणीय बुढापाकालाई अभिवादन गर्ने, सबै गाउलेसँग मर्यादानुकूल बोलचाल र शिष्ट हासपरिहास गर्ने र आवश्यक पर्दा आफ्ना पहुँचले भ्याउनेसम्मको कामका लागि सिफारिस गर्न सम्बन्धित कार्यालय वा पदाधिकारीसमक्ष पहुँच पुर्‍याउन पछि नहट्ने प्रवृत्ति उहाँमा थियो । किशोरावस्थादेखि नै कवितामा अङ्कुराउन कवि दैवज्ञराज न्यौपानेले प्रारम्भमा हजुरबुवा पं छविलाल उपाध्याय न्यौपाने र बा पंं. गणेशप्रसाद उपाध्याय न्यौपानेबाट वाचित भागवत, रामगीता लगायत अनेक छन्दप्रधान स्तुति श्लोकहरू सुनेर उत्प्रेरणा लिएको र अझ हजुरबुवा पं. छविलालबाट नेपालीमा प्रस्तुत गरिएका पद्य कविताबाट समेत उहाँ प्रभावित भएका कुराको उल्लेख भइसकेको छ ।

त्यसैले उक्त प्राकृतिक, पारिवारिक तथा सामाजिक परिवेश र राष्ट्रमा व्याप्त सङ्कीर्ण राजनैतिक अवस्थाका कारणले त्यतिखेर मौलिक चिन्तनको अभाव नै थियो । चेतनाको लहर भारतबाट फिल्टर भएर आउँथ्यो तर पञ्चायती व्यवस्थाको नाममा राइँदाइँ गर्नेहरूका क्रियाकलापबाट उनीहरूको राजनैतिक हक अधिकारलाई सीमित राख्ने नीति एवं गतिविधिबाट उदासीन् नेपाली जनमानसको सम्वेदनशील अवस्थालाई बुझी प्रजातन्त्रको लागि सहयोग पुर्‍याउने राष्ट्रहरूको चासो बढ्यो र नेपालीहरूको पहुँच विस्तार भारतका अतिरिक्त अन्य एसियन, युरोपियन, अमेरिकन, अप्रिफकन लगायतका मुलुकमा भयो । त्यसबाट शैक्षिक, व्यापारिक, व्यावसायिक क्षेत्रमा विविधता आई सहयोग र सद्भावको विस्तार भयो, तर त्यसबाट उनीहरूले आफ्ना धार्मिक, संास्कृतिक, राजनैतिक गतिविधि विस्तार गर्ने निर्वाध बाटो पनि प्राप्त गरे । नेपालमा सहयोग अभियानका साथसाथै निगुढ इच्छाहरूको खेती गर्ने उपयुक्त अवसर पनि उनीहरूलाई मिल्यो । फलस्वरूप नेपालको धर्म, संस्कृति–भाषामा ऐँजुरु पलायो र उद्योग व्यवसाय पनि अपाङ्ग बन्न पुग्यो । केही उदार मानवीय प्रकृतिका मूल्य मान्यताहरू पनि नदेखिएको होइन तर तिनमा हाम्रो मौलिकता फष्टाउन सकिराखेको देखिएन । यस किसिमको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई आत्मसात् गर्दै सिर्जनात्मक चिन्तनशीलताका माध्यमबाट उहाँले प्रस्तुत गर्नुभएको अभिव्यञ्जनात्मक अभिव्यक्तिमा कलात्मकता र चिन्तनशीलताको सन्तुलित नमुना झल्किएको पाइन्छ ।

दैवज्ञराज न्यौपानेले धर्तीको माटोलाई छाम्न थालेदेखि भौतिक जीवनबाट विश्राम लिएसम्मको नेपाली राष्ट्रिय परिवेशको सार यस्तै रहेको थियो । यस्तो परिवेशको प्रभावलाई उक्त बमोजिम ग्रहण गरी आफ्ना स्वाभाविक र सिर्जनात्मक प्रवृत्तिले समाजलाई प्रतिविम्बित पार्दै नेपाली साहित्यका अमरपुष्पहरूको अम्लान सौन्दर्य छर्ने उत्कृष्ट सफलता उहाँले प्राप्त गरेको देखिन्छ । संस्कृत साहित्यका अमर कवि कालिदास र बङ्गाली साहित्यका रवीन्द्रनाथ ठाकुरले अँगालेको भावमय सरल भावधाराको लहरलाई नेपालीमा जीवन्त पार्ने राष्ट्रकवि माधवप्रसाद घिमिरेको शैलीलाई सशक्त पार्न कवि दाजु दैवज्ञराजको सिर्जनशील प्रवृत्ति सफल भएको छ ।

समग्रमा प्रखर काव्यचेतना, उत्कृष्ट प्राध्यापन र उदाहरणीय समाजसेवाको त्रिवेणीमा आफ्नो स्वाभिमानको ऊर्जा उत्पादन गरेर नेपाली समाजलाई आलोकित पार्ने हाम्रा प्रेरणा पुरुष दैवज्ञराज न्यौपानेको यशस्वी व्यक्तित्व अजरामर रहने विश्वासका साथ आस्था र स्वाभिमानका शिखर पुरुषप्रति हृदयको श्रद्धापुष्प समर्पण गर्दछु ।

हिउँ जमे ढुङ्गो बन्छ, हिउँ पग्ले पानी

आँगनीमा खेल्न जाऊँ सानी सानी नानी

हाम्रो नेपाल भन्ने राखौँ त्यो घरको नाउँ

हामी ठुला बन्दा पनि त्यसकै धुरी छाऊँ।

दैवज्ञराज न्यौपाने