न्यौपाने, गोगने र दैवज्ञ
आमूलाग्रं रसस्तिष्ठन्नास्ते न स्वाद्यते यथा
संभूय स पृथग्भूतः फले विश्वमनो हरः
(श्रीमद्भागवत)
यो सूक्ति वचन सम्भँफदै र मनन गर्दै न्यौपानेहरूको कुल परम्परा, गोगनेको स्थिति अनि भाइ दैवज्ञराजका विषयमा विवेचना गर्न लागेको छु । उनी आफ्ना कुलका एवं गोगने बिर्ताका मनोहर फूल हुन् । उनी मेचीमहाकाली न्यौपाने उपवनबाट समग्र राष्ट्रमा कवित्व, विद्वत्ता र सुजनताको सुगन्ध फैलाउन समर्थ भएका छन् । यस कालखण्डमा गोगने, पूर्वखण्डबाट उनी कालको अखण्डतामाथि नेपाल राष्ट्रकै अखण्ड व्यक्तित्व बनेका छन् । हामी दैवज्ञसमेत देशभरका न्यौपानेहरूको वंशावली तयार गर्नु पर्दछ भन्नेमा लागेका थियौं । यस काममा लागिरहन चाँडो यसलाई सम्पन्न गर्नु पर्दछ भन्नेमा भाइको पनि विशेष चासो थियो । २० मा उनले मलाई लेखेको पत्रले यस कुराको पुष्टि गर्दछ । यसमा उनले सुर्खेत गएँ “थानी” हरूले नामावली दिन्छौं भनेका छन्, लमजुङ पुगेर आएँ, ललितपुर, काठमाडौंको केही पाएँ । मुगुको लक्ष्मीनारायणले पठाउँछु भनेका छन्, डम्बरूजीलाई पनि हतार गर्न लाउनु पर्ला, लेखेका छन् । यही वंशावली तयार गर्ने क्रममा न्यौपानेहरूको थर व्युत्पत्ति, आचरण, व्यक्तित्व र बोखिम बिर्ता हुँदै गोगने बिर्ता प्राप्ति सम्बन्धमा हामीले प्राप्त गरेका विवरण साथ दैवज्ञको वंशवृक्षलाई यहाँ प्रस्तुत गर्न लागेको छु ।
अघि प्राचीनकालमा कान्यकुब्ज निवासी उपाध्याय कुलोत्पन्न सच्चिदानन्द भट्ट र सदानन्द भट्ट नामक सहोदर दाजुभाइ त्यहाँ तुरुस्क शासक वर्गबाट वैदिक वर्णाश्रम धर्मावलम्वी ब्राम्हणहरूप्रति गर्न लागेको अत्याचार अन्यायबाट त्रसित भै आफ्नो स्वधर्म रक्षार्थ “देशत्यागेन दुर्जनम्” भन्ने नीति अनुसरण गरी धर्म र न्यायको रक्षा हुने ठाउँ खोज्दै खोज्दै जाँदा आफ्नो वैदिक वर्णाश्रमको परिपालक क्षत्रिय राजाले राज्य गरेको जुम्ला भन्ने राज्य (नेपाल) मा आइपुगेछन् । त्यहाँका राजाको आचरणबाट प्रभावित भै “यथा राजा तथा प्रजा” भन्ने सम्झी ती दुई दाजुभाइ त्यहीँ बस्न लागे । भर्खर मात्र आएका उति सबैतिर परिचय नै नभएका दाजुभाइ केही दिन बसेपछि कुनै दिन त्यहाँका राजा रणकेशर सिंहले राजाले अवश्य गर्नु पर्ने राजसूय नामक यज्ञ गर्ने विचार गरी सबैसँग सरसल्लाह गरी विधिपूर्वक सो यज्ञ प्रारम्भ गरेछन् । सो यज्ञका निमित्त नयाँ आगाको आवश्यकता महसुस गरी ब्राम्हणहरू अरणी मन्थन गरी काठबाट अग्नि प्रादुर्भाव गर्न लागे । यसरी कष्टसाध्य अरणी मन्थन गरेको देखेर मौकाको बोलीको महत्त्व बुझेका दाजुभाइले विनम्रतासाथ भने— “गुरुवर्ग ! हवनका निमित्त अग्नि निकाल्न यस्तो कष्ट किन ? अग्नि कुण्डमा विधिपूर्वक समिधा राखी शुद्धजल सिंचन गरे अग्नि बलिहाल्छ नि । ब्राम्हणलाई आगो बाल्न पनि यत्रो गाह्रो त ! वेद मन्त्रबाट शुद्ध जल सेचन गरे आगो बलिहाल्छ नि, केको कष्ट भनी विश्वासपूर्वक विचार राखे । खैलावैला मच्चियो । यस्तो कुरा सुनी अरू ब्राम्हणहरूले उपहास गर्दै भने “खै हामीमा यस्तो क्षमता छैन । तपाईहरूसँग त्यस्तो सामर्थ्य भए विद्वत्ता भए देखाई दिनुहोस्” । यसरी “मन्त्रबाट आगो निकाली दिनुभयो भने हाम्रो यो यज्ञको आचार्य पद तपाईँहरूलाई नै दिन्छौं, तपाईहरूलाई गुरु मान्छौं” भन्ने कुरा जनाए । यो कुरा राजाको कानमा पनि पुग्यो र राजा स्वयं उपस्थित भै उनीहरूको तेजस्वी वचन, अनुहारबाट प्रभावित भै राजाले पनि यदि हजुरहरूले वैदिक मन्त्रोच्चारणबाट नै आगो निकाली दिनुभयो भने मेरो राज्यमा सदाको लागि नै तपाईँहरूलाई आचार्य पद स्थिर गरिदिन्छु भनेको सुनी सकृत् जल्पन्ति राजानः सकृत् जल्पन्ति पण्डिताः भन्ने सम्झी राजाका वाणीमा विश्वस्त भै दाजु सच्चिदानन्दका आदेश अनुसार भाइ सदानन्दले भूमिमा अलिकति खोस्री खाल्टो बनाई वरुण देवताको वैदिक मन्त्र उच्चारण गरी जलको आह्वान गर्नासाथ यसो भूमिको कुण्डबाट भुलभुल पानी निस्क्यो र त्यही शुद्ध जल अग्निकुण्डमा राखेका समिधामा अग्नि देवको आह्वानपूर्वक वैदिक मन्त्रले पानी सिंचन गर्नासाथ भर्रभर्र अग्नि बलेको देखी राजासहित सबै सभा नै आश्चर्यचकित भै छक्क परे । राजा रणकेशर सिंहले दुवै भाइलाई साष्टाङ्ग प्रणाम गरी दाजु सच्चिदानन्दलाई आचार्य पदवी र भाइ सदानन्दलाई नयाँ पानी आविष्कार गरेकाले (नवपानीय) पदवी प्रदान गरे । यसको अपभ्रंशबाट नेउपाने; न्यौपाने हुन गयो । यसैबाट आचार्य र न्यौपाने सगोत्रीय थर भए भन्ने कुरा प्रसिद्ध छ । जुम्लामा राजगुरु भए । अनि विद्वान् सर्वत्र पूज्यते भने अनुसार आफ्नै सनातन वैदिक धर्मको पालना गर्दै सुप्रसिद्ध भएर सुखपूर्वक आनन्दसाथ त्यहीँ रहन थाले ।
केही दिनपछि जुम्ला निवासी पं.वेदभक्त उपाध्याय ढुङ्गेलकी छोरी इन्द्रावती दाजु सच्चिदानन्दले र उनका भाइ हरिभक्त ढुङ्गेलकी छोरी नन्दा विवाह गरी भाइ सदानन्द रूपाकोट विर्तामा सरे । यस्तो यो जल आविष्कार, अग्नि प्रादुर्भावबाट आचार्य र न्यौपाने थरको कुरालाई आधुनिकहरूले मान्न सक्दैनन् होला तर पनि हाम्रो वैदिक मन्त्रको प्रभाव शक्ति विचार गर्दा प्राचीन कालका ब्राह्मणहरूबाट वैदिक मन्त्रको उच्चारण गरी अहिले सोच्न नसकिने धेरै कुरा भए गरेका हाम्रा प्राचीन इतिहास, पुराणबाट सुन्न पाइन्छ । तसर्थ, यदि इतिहास, पुराणमा विश्वास गर्छौं भने हामीले हाम्रा थरका यी कुरा मान्नैपर्छ । आफ्ना पुर्खाको शक्तिबाट गौरवान्वित हुँदै श्रद्धा विश्वासका साथ वैदिक कर्ममा प्रवृत्त हुँदा नै भावी सन्तति र समाजको कल्याण हुने कुरा निर्विवाद सम्झनुपर्छ । यस्ता विद्वान् राजकार्यमा निपुण सदानन्द भट्ट (नवपानीय) न्यौपानेका सन्तति पछि जुम्लाबाट लमजुङ राज्यमा राजाका गुरु पुरोहित हुँदै राजाको सहयोगी भई अन्दाजी वि.सं. १५०० तिर लमजुङ आई बसेछन् । जुम्लाबाट आएर बसेकाले लमजुङमा दुराडाँडा भन्ने ठाउँमा जुम्ली स्वारो भन्ने न्यौपानेको वस्तीलाई भनिदैंछ ।
यिनैका सन्तान विशुपाध्या वि.सं. १५०५ देखि १६१५ तिर पाल्पाली राजा मुकुन्द सेन पूर्वतर्फ राज्य विस्तार गर्दै आउँदा विशुपाध्याले गुरु पुरोहितका रूपमा पूर्ण सहयोग गर्दै आएकाले पूर्ण विजय भएपछि पूर्व ओडार्या खोल्सी, पश्चिम सेरा खोलो, उत्तर ढुङ्ग्या बिसाउनु, दक्षिण ओडार्या दोभान ४ किल्ला हाली भोजपुरको बोखिम भन्ने गाउँ पालुवा खर्क समेत विशुपाध्यालाई बिर्ता गरी मोहर गरी दिएकाले परोपकाराय सतां विभूतयः भन्ने वंशानुगत छाप हृदयमा परेका विशुपाध्याले बोखिमको मूलबाटामा पक्की इँटाले राम्रो धारो पानीको व्यवस्था गरी मास्तिर बारीमा ठुलो पाटी बनाई आउने जाने सबै बटुवालाई भातभान्साको व्यवस्था गरी सदाबर्त चलाएछन् । यो सदाबर्त पृथ्वीनारायण शाहको एकीकरणपछि १८८२ सालतक चलेको देखिन्छ । १८८२ सालमा त्रिलोचन उपाध्याय न्यौपानेको पालामा कालचक्रको भँुमरीमा परी सो बोखिम बिर्ता सदावर्त समेतको अवसान भयो ।
यसपछि न्यौपानेहरू कालो हि दुरतिक्रमः भन्दै चित्त बुझाई १८७७ सालमा राजेन्द्र शाहबाट त्रिलोचन उपाध्यायका नाममा लालमोहर गरी प्राप्त भएको गोगने बिर्तामा आई बसेछन् । बोखिम छँदाको चकचकी गोगने आई जगजगी अनुभव गर्दै ते हि नो दिवसा गताः भन्दै बोखिमतिर नहेरी गोगनेको रमिते डाँडामा पश्चिमतर्फ फर्की बस्ने गरेको, त्रिलोचन उपाध्यायका छोरा जमदार बलभद्र न्यौपाने बोखिमको बाटो नगै तल दाह्रेगाँैडाको बाटोको प्रयोग गरी भोजपुर अड्डामा जाने गरेको कुरा सुनिन्छ । सदाबर्त चलाउन निम्ति बनाएको बोखिमका धाराको पानी हरुवा धाराको पानी भनी गोगनेका न्यौपाने नारायण पाध्याका सन्तानले खाने गरेका छैनन् । यो कुरा अद्यावधि पालन भइरहेको छ । यही वंशवृक्षका दैवज्ञ न्यौपानेमा परोपकारी, दृढ निश्चयी, आफ्ना अडानमा दृढप्रतिज्ञ रहन,े नझुक्ने स्वभाव यही संस्कारले पनि प्रदान गरेको थियो भन्ने मैले ठानेको छु ।
त्रिलोचन उपाध्यायका छोरा बलभद्र उपाध्यायका दुइटी पत्नी थिए । दुइटी पत्नीमध्ये कान्छी चन्द्रवदना थिइन् । उनी त्यस समयका प्रसिद्ध कवि पं.उदयानन्द अर्ज्यालकी छोरी थिइन् । चन्द्रवदनाका तर्फबाट ५ भाइ छोरा भए । कान्छा छोरा श्रीकान्त थिए । यिनको विवाह आबाल ब्रह्मचारी षडानन्द अधिकारी जन्मेका प्रसिद्ध पवित्र मानित अधिकारी कुलका देवीचरण अधिकारीकी सुपुत्री महाकुमारीका साथ सम्पन्न भयो । श्रीकान्त महाकुमारीका सुपुत्र पं.छविलाल भए । उनका सुपुत्र पं.गणेश प्रसाद हुन् । उनकी जेठी पत्नीबाट २ भाइ छोरा जयप्रसाद र केशवानन्दको जन्म भएपछि पत्नीको निधन भएको हुँदा पुनः खार्पा कुभिण्डेका प्रसिद्ध विष्णुप्रसाद पोख्रेलका नाति चूडामणि र अम्बिकाकी सुपुत्री उमा पोखरेलसँग विवाह भयो । उनीहरूबाट १९९९ सालमा ज्येष्ठ पुत्रका रूपमा कवि दैवज्ञराज न्यौपानेको जन्म भएको थियो ।
गोगने बिर्ता नजिकै जोडिएको धाइपा खोलापारि किराँतको किपट जग्गा राईबाट सोह्राना गरी खरिद गरी लिएको जग्गामा बाजेहरू गै बसेका हुनाले उनका बाउबाजेहरूले धाइपाली पण्डित भन्ने गोगनेमा प्रसिद्धि पाएका छन् । उहाँहरू शान्त प्रकृतिका सरल स्वभाव, छलकपट नजान्ने त्यसमध्ये पनि पं.गणेशप्रसादलाई त कुनै कुराको दोष लाउने कोही पनि त्यस बखत थिएनन् । मैले लघुकौमुदी पढ्न प्रारम्भ गरेको पनि उहासँगै हो । उहाँको स्वभाव व्यवहार सम्भँफदा म आश्चर्य हुन्छु । त्यस्तो सज्जन मानिस बिरलै पाइन्छ ।
न्यौपाने कुलका विद्वद्वर सिद्धपुरुष सदानन्दको शाखामा जमदार बलभद्रका छोरा श्रीकान्त, श्रीकान्तका छोरा छविलाल, छविलालका छोरा पं. गणेशप्रसादका पुत्ररत्नमा उत्पन्न हुने दैवज्ञ मातृकुलमा षडानन्द अधिकारी उत्पन्न भएको कुल, महाकाव्यकार प्रसिद्ध कवि उदयानन्दकै कुल अनि खार्पा कुभिण्डेका प्रसिद्ध जनतालाई जनार्दन ठान्ने विष्णुप्रसाद पोख्रेलको कुलको पवित्रता र सामर्थ्य संस्कारले दैवज्ञलाई न्यौपाने कुलमा मात्र होइन नेपालमा जग्मगाई रहने ज्योतिर्मान् शक्तिमा पुर्याएको अनुभव हुन्छ । अनि फेरि सम्झन्छु ।
आमूलागं्र रसस्तिष्ठन्नास्ते न स्वाद्यते यथा
संभूय स पृथग्भूतः फले विश्वमनो हरः
भनेझैं सबैका सबैमा भएका रूप, गुण, औदार्य, सम्पन्न कवित्व, प्रजातन्त्रप्रति निष्ठा, संगठन गर्ने क्षमता विनयशीलता, सज्जनता एउटै दैवज्ञमा फलेको हो कि ?
जीवनभरि कर्तव्य कहिल्यै सकिँदैनन् । कर्तव्य गर्दा गर्दै केही गर्न बाँकी छ भन्दै जीवन लीला समाप्त हुनु जीवनको सार्थकता हो । दैवज्ञले आफ्नो जीवन सार्थक बनाए मात्र होइन आफ्ना सन्तानहरूका साथ न्यौपाने परिवारको प्रेरणास्रोत र कयौं नेपालीलाई बाटो देखाउन,े सहयोग गर्ने व्यक्ति भएर गए । उनी कीर्तिरूपल,े सिर्जना स्वरूपले, सुयोग्य कर्म कर्तव्यले पछिसम्मन् बाँचिरहनेछन् भन्ने म ठान्दछु । मलाई सँधै श्रद्धा आदर गर्ने हुनाले व्यवहार सँगै गरौं भन्ने भावनाले पनि टंकी सिनुवारीमा सँगै घडेरी समेत किनेका कुरा पनि उनको प्रेमभावको उदाहरण रूपमा मनमनै सोचिरहेको छु ।
यस्तो महान् व्यक्तित्वमा पनि परिणाम त्यस्तो रोगले आक्रमण गर्यो कि त्यो तेजिलो रूप मिठास बोली नै बिगारिदियो । २०६८ सालमा काठमाडौं गएर मैले उनका घरमा भेटेँ । त्यो अनुहार, बोली बिग्रिएको देखेर दिक्क लाग्यो । हाम्रो पूर्वीय धर्मशास्त्रमा ३ किसिमका कर्म बताइएको छ । संचित कर्म, प्रारव्ध कर्म, वर्तमान कर्म, यी तीन कर्ममा दान, धम, तीर्थ, व्रत, प्रायश्चित्तले संचित दुष्कर्म, वर्तमान दुष्कर्म नष्ट हुन्छ तर प्रारव्ध कर्म भोग्नैपर्छ भन्ने सिद्धान्त छ । यो नै पक्का रहेछ भन्ने मनले निश्चय गरेर चित्त बुझाउनु परेको थियो ।
आज दैवज्ञ छैनन् । उनका पुस्तकहरू छन् । छन् सुयोग्य पत्नी, पुत्रपुत्रीहरू, भाइहरू पुत्रबधू । उनको कहिल्यै नधमिलिएको उज्यालो चरित्र छ । राष्ट्रबाट सम्मानित श्रद्धा फैलिएको छ । साथी सँगाती र उनका गुरुजनको अपार स्नेहश्रद्धा तरङ्गित भएको छ । त्यही तरङ्गमा भावविभोर भएर भाइबन्धुहरूले दैवज्ञको नाममा खोलेको प्रतिष्ठान उनका व्यक्तित्व र कृतित्वको चर्चा, परिचर्चाद्वारा मनुष्य समाजलाई असल मार्ग प्राप्तितर्फ उन्मुख गराउन समर्थ बनोस् भन्ने कामना गर्दछु । अन्तमा, यिनै शब्दपुष्प समर्पण गर्दै भाइ दैवज्ञराजप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । अस्तु ।
२०६९ असार
टंकी सिनवारी, विराटनगर, मोरङ