संस्मरणको उज्यालोमा कवि दैवज्ञ
युवावस्थाको उकाली सँगसँगै कविता लेखनको आरोहणमा लम्किनु हुने भावपूर्ण र हृदयस्पर्शी कवि प्रतिभाका धनी कविवर दैवज्ञराज न्यौपानेको साहचर्यको सम्झना मनमा उठ्नासाथ म सनातन धर्म सेवा समितिको समर्पण भावपूर्ण सक्रिय क्रियाकलाप र त्यसमा कविवर दैवज्ञराज न्यौपानेको सहयोगका ती क्षणहरू सम्झिन पुग्छु । समितिका क्रियाकलापहरू राष्ट्रिय जीवनमा विशेष मान्य रहेका धार्मिक पर्वहरूमा हुने गर्दथे । सनातन धर्म सेवा समिति स्थापना कालसँगसँगै तीव्रगतिले क्रियाशील बनेको थियो । दैवज्ञजी पनि पहिले सदस्य र पछि बिस्तारै सहसचिवको तहसम्म पुगी समितिका कार्यक्रमहरूलाई सक्रियताका साथ अघि बढाउन मद्दत पुर्याउनु हुन्थ्यो । समय समयमा कविगोष्ठीहरू पनि हुने गर्थे र तिनको संयोजनको भूमिकामा दैवज्ञजी नै अगुवाइ गर्नुहुन्थ्यो ।
समितिको स्थापनाले समाजमा उब्जाएको साँस्कृतिक चेतनाको लहरले धार्मिक नाटक मञ्चन गर्ने क्रम अघि बढ्न लागेको थियो । लामो रिहर्सलपछि राष्ट्रिय नाचघर, राष्ट्रिय सभागृह र कहलिएका भवनहरूमा हुने गरेका ती विभिन्न पात्रहरूको भूमिका निर्वाह गर्न तम्सिएका कार्यकर्ताहरूलाई उहाँ सिकाई सम्झाई गरेर अभिनयलाई प्रभावशाली बनाउन प्रेरित गर्नुहुन्थ्यो । कविवर श्यामदास वैष्णव र प्रा. विद्यानाथ भट्टका साथसाथ संवादको औचित्यपूर्ण प्रस्तुति सम्बन्धमा मार्गदर्शन गर्नुहुन्थ्यो । वर्षहरू बित्तै जाँदा उहाँ बिस्तारै रोगग्रस्त बन्दै जान लाग्नुभएको दुःखद प्रसङ्गले पछिपछिका कार्यक्रमहरूमा उहाँको सहभागिता बिस्तारै घट्दै गयो ।
कविताको मीठो, स्पष्ट र प्रेरक अभिव्यक्तिद्वारा गोष्ठीमा रौनक थप्न दैवज्ञजी खप्पिस हुनुहुन्थ्यो । उहाँका कवितामा युवा जोश मात्र होइन जीवनव्यापी मूल्य र महत्त्वका सुन्दर स्वरहरू पनि हुन्थे । कुनै न कुनै मिठो प्रेरणा तिनले पोखेकै हुन्थे । तीक्ष्ण भएर पनि एक खालको अनौठो मिठासपूर्ण संवेदना उहाँका कवितामा पाइन्थ्यो । त्यो मीठो र प्रेरक संवेदना मिश्रित अभिव्यक्ति नै उहाँको वैशिष्ट्य थियो ।
हाम्राबीच अहिले उहाँ हुनुहुन्न भन्नु पर्दा हृदय मर्माहत हुन्छ । विश्वको विधानमा स्वयं ईश्वरले नै केही गर्न सक्दछन् । अरूले त चिन्तनमननमै सीमित नभई हुँदैन । उहाँको आत्मा सधैँ शान्तिको अनुभूतिमा रमाइरहन सकोस्– यही प्रार्थना छ ।
सिफल, काठमाडौं
बाटी बाला कुसुम तरुका पातको केशपास
मेट्ती होलिन् रहर गिरिजा चैत-वैशाख मास
उन्को हाँसो उपर शिरमा फूल छर्ला सुवास
हे बैनी हो ! रिबन चुँडिद्यौ स्यूर लाली गुराँस।
दैवज्ञराज न्यौपाने
'स्यूर लाली गुराँस'