कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

अव्यक्त पीडाको स्तम्भ : दैवज्ञराज न्यौपाने

गीताकेशरी

सानै उमेरदेखि काव्यसँग खेल्दै मन र मस्तिष्कमा उम्रेका भावना र विचारलाई कविताको रूपमा व्यक्त गर्न थालेका कवि दैवज्ञराजले परिपक्क मन र मस्तिष्क भएपछि बोली र कलमलाई थन्क्याउनु पर्दा त्यहाँभित्र कुर्लिएर उठेका भावना र विचारलाई कसरी थुम्थुम्याएर राखे होलान् भन्ने सम्झँदा पनि उहाँका ती अव्यक्त पीडाले हाम्रा मनलाई छुन्थ्यो र आँखा रसाउँथे । उहाँको त्यो पक्षाघातले गर्दा सहारा अपेक्षित भएको शरीर र भावनाको क्रीडास्थल बन्न पुगेको त्यो सौम्य अनुहार हेर्न हामीलाई गाह्रो हुन्थ्यो । पाँच वर्षको उमेरमा अक्षरारम्भ गरेका, दस वर्ष पुग्दा नै कविता रच्न थालेका, यो उमेरमा नै यस्तो गतिले जीवन गुजार्नु परेको देख्दा उहाँले व्यतीत गरेका जीवनयात्राको सम्झना आउन थाल्थ्यो । उहाँसँग भएको भेटघाट, कुराकानीहरू ताजा भएर आउँथे । सायद, हामीलाई देख्दा पनि उहाँलाई त्यस्तै हुँदो हो उहाँको अनुहारको रङ्ग बदलिन्थ्यो र त्यो नै हाम्रा लागि प्रतिक्रिया बनेको हुन्थ्यो ।

उहाँसँग मेरो पहिलो भेट २०२० सालमा काठमाडौंमा महाविद्यालयमा पढ्ने उद्देश्य दिएर दाङबाट पूर्वमध्यमा पास गरी आउँदा र सोको व्यवस्था नमिलेसम्म बानेश्वर हाइटमा डेरा लिएर बस्नुभएको बेलामा हुन गएको थियो । दैवज्ञजी ज्यादै मिलनसार, मृदुभाषी र स्वाभिमानी हुनुहुन्थ्यो । कसैलाई सहयोग गर्नुपर्‍यो भने उहाँ पछि सर्नुहुन्नथ्यो र आपूफभन्दा अग्रजलाई आदर गर्न पनि बिर्सनुहुन्नथ्यो । मेरो जेठो भाइको उमेर पनि झन्डै उस्तै भएकाले र विद्यार्थी जीवनमा इमान्दारीको साथ लागेकाले मलाई उहाँप्रति श्रद्धा लाग्थ्यो र “भाइ” भनेर सम्बोधन गर्थेँ । त्यसबेला मैले पनि भर्खरै जस्तो एम.ए. गरी बानेश्वरकै स्कूलमा अध्यापन सुरु गरेकी थिएँ । मेरो विवाह भइसकेको थियो । मेरा श्रीमान् राजविराजका भएकाले काठमाडौंँमा हाम्रो घर थिएन र घर बनाइहाल्ने औकात पनि भइसकेको थिएन । यसैले हामी पनि डेरामा नै बस्थ्यौँ । एउटै चोकमा दुइटा छुट्टाछुट्टै घर थिए । सानोमा दैवज्ञजी बस्नुहुन्थ्यो र हामी ठुलोपट्टिको तीन तले घरको बीचको तलामा बस्थ्यौँ । उहाँ समय पायो कि कविता गुनगुनाउनु हुन्थ्यो । मलाई पनि साहित्यतर्पफ रुचि भएकाले साहित्यिक रुचिले गर्दा नै हामी नजिक हुनपुग्यौँ । साहित्यसम्बन्धी विषयलाई लिएर निकै चर्चा गर्थ्यौँ । म त्यसताका कथा र रेडियो नाटकहरू लेख्थेँ र ती रचनाहरू उहाँलाई सुनाउथेँ । बीचबीचमा छलफल पनि हुन्थ्यो । उहाँ पनि छन्दोबद्ध कविताहरू लय हालेर सुनाउनुहुन्थ्यो । कविता लेख्न गाह्रो लाग्ने तर छन्दोबद्ध कविताहरू सुन्न मन लाग्ने भएकाले उहाँका सरल मिठासपूर्ण प्राकृतिक वर्णन भएका कविताहरू सुनेर म खुसी हुन्थेँ । मेरो पहिलो कथा “अपराधी को ?” २०२० सालमा अरुणोदयमा लगेर छपाई सहयोग गरिदिनु भएको पनि उहाँले नै हो । यसरी मेरा रचनाहरू सुनिदिने र लगेर पत्रपत्रिकामा छापिदिने काम गर्नु भई मलाई साहित्य रचनामा निकै हौसला दिलाउनु भएको थियो । २०२० सालमै उहाँको पनि कविता “उनीमा निम्तो” अरुणोदय पत्रिकाको तेस्रो अङ्कमा प्रकाशित भएको थियो । यो उहाँको पहिलो प्रकाशित रचना थियो । केही महिनापछि रानीपोखरीको तीन धारा संस्कृत छात्रावासमा बसी वाल्मीकि विद्यापीठमा भर्ना भई महाविद्यालयीय शिक्षा थाल्नुभयो र हाम्रो सम्पर्क धेरै वर्षसम्म छुट्यो । यसैबीच मैले पनि अध्यापक पेसा छोडी नेपाल वायु सेवा निगममा नोकरी सुरु गरेँ । मेरो यो नोकरीको क्षेत्र पूरै अर्को थियो । कहाँ साहित्य र प्राध्यापनमा लागेका विद्वान्हरूसँग भेटघाट हुन पाउनु झ् कहाँ कति यात्रु कहाँ जाने, कुन वेला जहाज उड्छ, मौसम कस्तो छ झ्झ् भन्नेमा मात्र सीमित हुनुपर्ने अवस्था झ्झ्

दैवज्ञजीसँग परिचय हुँदा उहाँले छोटकरीमा आफ्नो जीवनीको परिचय दिँदै आफ्नो साहित्य र शिक्षाको यात्राबारे बताउनुभएको थियो । यस्तो बयान गर्दा उहाँको परिवारप्रतिको माया र श्रद्धा प्रशस्त झल्कन्थ्यो । आफ्नो जन्मथलोको आकर्षण उहाँमा निकै थियो । संयुक्त परिवारमा हुर्किएकाले उहाँमा सहिष्णुता अति धेरै थियो र उहाँ सधँै चिन्तनशील र शान्त प्रकृतिका देखिनुहुन्थ्यो । भन्नुहुन्थ्यो– “हाम्रो वंश कर्णालीदेखि आएर भोजपुरको गोगने गाउँमा बसोवास भएको रहेछ । पछि त हामी त्यहीँकै रैथाने भयौँ । पहाडमा त्यस्तै हो । मेरा बाबुले दुई विवाह गर्नुभएको थियो र म कान्छीपट्टिको जेठो छोरो भएकाले धेरै माया र रेखदेख पाएको थिएँ । यही मौका पारी मैले झट्ट सोधेकी थिएँ, “गाउँकै चलन त्यस्तो भए तपाईँको पनि गाउँ छोडेर पढ्न निस्कँदा विवाह भइसकेको होला नि ?” उहाँले अलिकति लाज मानेर भए पनि सत्य कुरा भन्नुभएको थियो, “विवाह भएको दुई तीन वर्ष भइसकेको थियो । तर... ।” भनेर उहाँ अड्किनुभयो । त्यसपछि मैले यस विषयमा कहिल्यै सोधिन ।

दैवज्ञजीले भन्नुभएको थियो– उहाँको गाउँमा शिक्षाप्रतिको चेतना भएकाहरूमा उहाँका बाबुबाजेहरूलाई गनिन्थ्यो । हुन पनि उहाँहरूले गाउँले बालकहरूले पनि पढ्नुपर्छ भनेर आफ्नै पिँढीमा स्कूल सञ्चालन गर्नु भएको थियो । त्यही पिँढीको स्कूलमा मैले पनि पहिले पढेको थिएँ । गोगनेको विद्यालयमा ५ कक्षा पूरा गरेपछि दिङ्लाको षडानन्द संस्कृत विद्यालयमा भर्ना भएँ । त्यहाँ नौ कक्षा पूरा गरी दस कक्षाको अध्ययन पूरा गर्न दाङको बिजौरीस्थित जनता प्रधान पाठशालामा पुगेँ र त्यहाँबाट पूर्वमध्यमा परीक्षा उत्तीर्ण गरेर यहाँ आएको हुँ । यहाँ पनि आफ्नो पढाइ चालु राख्नलाई नै आएको हुँ । मैले पेफरि सोधेकी थिएँ, “त्यस्तो माया गर्ने बाबुबाजेले तपाईँलाई एक्लै यति टाढा कसरी पठाउनु भयो त ? उहाँले हाँसेर भन्नुभएको थियो–“विद्या आर्जनका लागि छोराले जहाँ पनि जान सक्नुपर्छ । हामीले तँलाई माया गरेर नै पछिको राम्राका लागि पढ्न पठाएका हौँ । यहाँ बसेर अहिले नै परिवारमा लुटुरपुटुर गर्न लागिस् भने के उन्नति गर्लास् र ?” भनेर सम्झाएर पठाउनु भएको थियो । मलाई यति माया गर्नु हुन्छ कि के भन्नु । दाङमा पढ्न बस्दा मैले लङजम्प र हाइजम्पको खेलमा भाग लिएको थिएँ र म यी खेलमा पहिला भएपछि घरमा लेखेर पठाएको थिएँ । तर उहाँहरूले चिन्तित भएर लेखेर पठाउनुभयो – तलाईँ हामीले त्यहाँ पढ्न पठाएका हौँ, खेल्नलाई होइन । त्यसरी उप्रफँदा हातखुट्टा भाँचेर अपाङ्ग होलास् । यसतर्पफ पनि ध्यान दिएस् ।

दैवज्ञजीले यसरी बताउँदै जाँदा म भने सोचिरहेकी थिएँ– उन्नतिका लागि शिक्षा र ज्ञानको आवश्यकता छोरालाई मात्र रे झ् छोरीको लागि भने सेवा नै परमधर्म रे ! नारीप्रति कस्तो नमिल्दो तर्क लिएको छ हाम्रो समाजले भनेझैँ लागेको थियो ।

समय बित्न कति लाग्छ र ? जीवनको व्यस्तताले बिर्साइहाल्छ । यस्तै २०४८ सालतिर नै होला । एकदिन हाम्रो भेट टिचिङ अस्पताल, महाराजगञ्जमा भयो । दैवज्ञजी र उहाँको परिवार रातभर विरामीलाई कुरेर बस्नुभएको थियो क्यारे । निकै गलित देखिनुहुन्थ्यो । मैले सोधिहालेँ – “कसलाई के भएर ल्याउनु भएको ?” उहाँले मधुरो स्वरमा भन्नुभयो– “मेरी श्रीमतीलाई ल्याएको, क्यान्सरको बिरामी, लाष्ट स्टेज भन्छन्, के हुने हो के ?” मैले त्यसपछि केही सोध्न सकिन । एकैछिनमा एउटी महिला आइन् । म उनलाई देखेर छक्क परेँ । उनी उही राम्री हँसिली केटी थिइन् जसलाई दैवज्ञजीले एकपटक मेरी श्रीमती भनेर चिनाउनुभएको थियो । अनुमान गरेँ – यी बिरामी भएकी चाहिँ उही गाउँकी नै होलिन् । यसपछि मैले अरू केही सोधिन । उनलाई धैर्य धारण गर्न सम्झाएर हिडेँ । तर वास्तविकता के रहेछ भने तिनी त तिनै राम्री केटी सुधा रहिछन् जससँग मेरो परिचय दैवज्ञजीले गराउनु भएको थियो ।

आज पेफरि यति लामो समय बितेपछि “दैवज्ञराज न्यौपानेः जीवनी, कृतित्व तथा अभिनन्दन” को पुस्तक पढेर थाहा पाएँ, दैवज्ञजीले वाध्यताबस तीन पटक विवाह गर्नुपरेको रहेछ । उहाँले भोग्नु परेका समस्याहरू सम्झँदा उहाँप्रति सहानुभूति लाग्यो । साथै उहाँलाई त्यस अवस्थामा साथ दिन तयार भएर आपूफलाई प्रस्तुत गर्न सक्ने ती अर्की नारी सुधाजीमाथि पनि श्रद्धा जाग्यो । यिनी ती नारी हुन पुगिन् जसले बालबालिकालाई ममता बाँडेर तिनीहरूको जीवन सार्थक बनाउन तयार भइन् भने जीवनसाथीका रूपमा अनन्तसम्म माया, सेवा र सहारा दिन समर्पित भइन् ।

मधुमेह र उच्च रक्तचापले पक्षाघात भई बिच्छौनामा परेका ती विद्वान् कविलाई देख्दा, हृदयका कुरा बाहिर निकाल्न नसकी थरथराएका उहाँका ती ओठलाई हेर्दा कसले अनुमान गर्न सक्छ उनी हाइ र लङजम्पमा पहिला भएका थिए ? त्यस्तै कसले सोच्न सक्छ, तिनै ओठबाट निस्केका मधुर वाणीले कविता पाठ गरी साहित्यसभालाई मुग्ध पारेको थियो । लेखेर दर्जनौँ पुरस्कार पाएका थिए । जीवन समयसँगको खेल रहेछ जसलाई समयले नै टिपेर लग्यो । दैवज्ञजीको अमर आत्माले शान्ति पाइरहोस् । यही हाम्रो प्रार्थना छ ।