कवि दैवज्ञ दर्पणदैवज्ञराज न्यौपाने

संस्मरण

त्यो हँसिलो अनुहारको सम्झना

गोविन्द गिरी 'प्रेरणा'

जबजब म दैवज्ञ सरलाई सम्झन्छु, उहाँको त्यो हँसिलो अनुहारको झल्झली याद आउँछ, जुन मैले उहाँलाई पहिलोपल्ट भेट्दा देखेको थिएँ । वि. स. २०३६ को विद्यार्थी आन्दोलनपछि राजा वीरेन्द्रद्वारा घोषित ऐतिहासिक जनमत संग्रहमा बहुदलको पक्षमा भएको सडक कविता क्रान्तिको सहभागीका नाताले म नयाँ पुराना दुवै पुस्ताका साहित्यकारहरूको नजिक हुने अवसरप्राप्त गर्ने भाग्यमानी युवा कवि हुन पुगेको थिएँ । विभिन्न साना–ठुला गोष्ठीमा भाग लिनका लागि प्रवेशद्वार खुलेको थियो । मैले सम्झेसम्म कवि केदारमान व्यथितले आफ्नो निवासमा आयोजना गर्नुभएको अन्तरङ्ग गोष्ठीमा मैले दैवज्ञ सरको मुखबाट कविता सुन्ने अवसर पाएको थिएँ । पछि जीवन आचार्य, राजेन्द्र शलभ र मैले संयुक्त रूपमा संचालन गरेको छन्द कविता गोष्ठीमा पनि उहाँले प्रभावकारी रूपमा छन्दको कविता वाचन गर्नुभएको म सम्झन्छु । त्यो गोष्ठीमा पढिएका छन्द कवितालाई नेपाल टेलिभिजनको साहित्यिक कार्यक्रममा पनि प्रसारण गर्ने व्यवस्था मिलाइएको थियो । साह्रै मिठो स्वरमा छन्द कविता वाचन गर्ने उहाँको आफ्नै प्रकारको शैली र शिप थियो जुन मेरो लागि अद्यापि अविस्मरणीय रूपमा रहेको छ । म उहाँको बानेश्वरको घरमा पनि पुगेको छु । त्यतिवेला दैवज्ञ सर र उहाँका भाइ डा.केदार न्यौपानेको घर सँगै थियो जस्तो लाग्छ । उहाँको सिर्जनाको लहर गीति कविता साझा प्रकाशनवाट प्रकाशित भएको थियो र त्यो संग्रह मैले रुचाएर पढेको हुँ । म आफू कवि भए पनि छन्दको ज्ञान ममा नभएकोले उहाँको मुखारवृन्दवाट श्रवण गरेजस्तो मज्जा चाहिँ मैले ती कविता पढ्दा पाउन सकिन । यो मेरो छन्द ज्ञानको अभावको कारणले मात्र हो भन्ने मलाई लाग्दछ ।

दैवज्ञ सरसँग म परिचित भए पनि, उहाँको अपनत्व पाए पनि, उहाँलाई अत्यन्त श्रद्धा गरे पनि हामी परिस्थितिबस निकटतम भने हुन सकेनौ,ं घनिष्ठ हुन सकेनौं । कतिसम्म भने उहाँ वानेश्वर छाडेर गैरीगाउँमा बस्न थाल्नुभयो । जीवनमा आफ्नो कमाइले किनेको मेरो पहिलो घर पनि संयोगबस गैरीगाउँमै थियो । वाग्मती नदीको किनार करिडर कच्ची बाटोबाट साँझबिहान उहाँ जानु–आउनुभएको देख्दथें । तर उहाँको गैरीगाउँको त्यो घरमा पाइला हाल्ने अवसर मलाई जुटेन, न उहाँलाई निम्त्याएर मेरो घर पवित्र नै पार्न सकें । पछि थाहा भो– उहाँ पक्षाघातबाट पीडित हुनुभयो । तर म विदेशको चक्करमा बाहिरबाहिर भएँ । काठमाण्डुमा पाहुनाझैँ पुग्दा उहाँलाई भेट गर्ने अवसर जुटाउन सकिंन । मलाई यो कुराले मन अमिलो हुन्छ । अब त उहाँको सम्झना मात्र रहने भयो । विचित्रको संयोग, सन् २०१२ को नोभेम्बरमा अमेरिकाको टेक्सास राज्यको डेण्टन सहरमा मैले कहिल्यै देखभेट गर्न अवसर नपाएकी उहाँकी सुपुत्री अर्चनासँग अचानक भेट गर्ने सुयोग जुर्‍यो र यी केही हरफ दैवज्ञ सरको नाममा कोर्न पाएँ । छोरी अर्चनाको अनुहारमा पनि मैले दैवज्ञ सरको झल्को पाएँ । पुनः सम्झना ताजा भयो– दैवज्ञ सरको त्यो हँसिलो अनुहार झ् र उहाँको बिछट्ट राम्रो कविता वाचन शैली झ्

१२ डिसेम्वर २०१२,

मनासस, अमेरिका